धर्तीको परिक्रमा
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । भाइ गणेशको जन्म भएपछि कार्तिकेयले आफ्ना आमाबाबाका काखमा बस्न पाउन छोडे र उनी दुखी भएका थिए । कार्तिकेय शान्त स्वभावका थिए भने बालक गणेश अत्यन्त चतुर र चञ्चल पनि थिए । गणेश ठूलो भूडी भएका,लामो नाक र मोटो शरीर भएका थिए ,तर कार्तिकेय छरिता र बलिया पनि थिए । हठी स्वभावका गणेशका सामु कार्तिकेयको केही नचल्ने,भाइको जीत हुनैपर्ने ।
एकदिन कार्तिकेयले कसरी गणेशलाई मनाएर आमाबाका काखमा बसौँ भन्ने चिन्तन गरे । लर्तरो हिसाबले गणेशलाई मनाउन नसकिने भएकाले पिता भोलेनाथसँग आफ्नो पीडा सुनाए ।
कार्तिकेयको उमेर सानै भएकाले आफ्ना आमाबाबाबाट टाढा हुनु परेको दुखलाई बुझेर भोलेनाथले समस्याको समाधान खोज्ने आश्वासन दिए । न्याय पनि दिनु छ,धर्मको पालन पनि गर्नु छ ,के गरौँ भन्ने चिन्तनमा परे ।
काखमा बस्ने अधिकार सानाको नै हुन्छ,ठूलाको धर्म हो आफू शान्त रहेर सानाको हेरचाह गर्नु । त्यसैले साप पनि मर्ने लट्ठी पनि नभाँचिने उपाय निकाले शिवले । एकदिन बिहानै दुवै बालकहरूलाई बोलाएर एउटा प्रतियोगिताको आयोजन गरिदिए ।
गणेश चतुर छ प्रतियोगिता उसले नै जित्नेछ भन्ने कुरो शिवलाई थाह थ्यो,तर पनि कार्तिकेयलाई शिक्षा दिनु र उनको चित्त बुझाउनु पनि थ्यो । त्यसैले प्रतियोगिताको नियम सुनाउँदै शिवले भने- “ पैदल हिँड्दै बिचमा नबिसाईकन जसले पृथ्वीको छिटो परिक्रमा गरेर आइपुग्छ, त्यही व्यक्ति हाम्रा काखमा बस्न पाउनेछ ।”
कार्तिकेय अब प्रतियोगिता कसरी जित्ने भन्ने शोचमा परे । कहीँ गणेशले कुनै चतुराइ गरेर स्पर्धा नजितोस् भनेर पितालाई आ-आफ्ना वाहनमा नै परिक्रमा गर्न पाउने अनुमति मागे । उनलाई लाग्यो गणेशको चतुराइबाट बच्न यही एउटा उपाय छ,किनकि उनको वाहन मयुर थ्यो,जो उड्न पनि सक्थ्यो । उता गणेशको वाहन मूसो भएकाले जतिनै उफ्रिए पनि प्रतियोगिता मैलेनै जित्छु भनेर मक्ख पर्दै कार्तिकेयले भने-“ पिताजी यत्रो विशाल धर्तीलाई पैदल परिक्रमा गर्दा हामी कोमल बालक थाक्ने छौँ । अर्को कुरो भाइ गणेश आफ्नो पेटका कारण छिटो हिँड्न पनि सक्दैन,त्यसैले हामीलाई आ-आफ्ना वाहनमा नै परिक्रमा गर्ने अनुमति दिनुपर्यो ।’ त्रिकालदर्शी शिवलाई कार्तिकेयको चतुराइ बुझ्न गाह्रो थिएन,उनले मुसुमुसु हाँस्दै तथास्तु भनिदिए ।
गणेश चुपचाप बसेर सबै कुराहरू सुनिरहेका थिए । उनी मनमनै ‘दाजुले उडेर धर्तीको परिक्रमा गरेर मलाइ जित्ने योजना बनायो’ भन्ने चिन्तन गर्दै भने -“ ठिकै छ दाजै प्रश्न प्रतियोगिताको हो,जो छिटो आउँछ उसैले जित्छ,सायद जीत तपाइको नै हुनेछ आज । तपाइको प्रस्ताव मलाइ पनि स्वीकार छ” ।
दाजुभाइ दुवै जना आमाबाबाको आशीर्वाद लिएर बाटो लागे । कार्तिकेय डाँडा परी छेलिनै लागेकाथिए गणेश फनक्क फर्किएर आए । उनी सरासर शिवपार्वती बसेका स्थानमा आएर जम्ल्याहा गरेर मातापिताको परिक्रमा गर्न थाले । पार्वतीलाई लाग्यो यो त गएनछ,अब यसले हाम्रो काख गुमाउने भयो । भोलेनाथ मुसुमुसु हाँस्दै गणेशलाई नै हेरिरहेका थिए । फटाफट तीनबार परिक्रमा सकेर गणेशले मातापितालाई प्रणाम गरेर बसे । अनि भने “पिताश्री मैले धर्तीको एक पटक होइन तीन पटक परिक्रमा गरिसकेँ । पार्वतीले छक्क पर्दै भनिन् ‘होइन तिमीले यो के गरेको गणेश ? दाजु खोइ ? । गणेशले उत्तर दिए -“माते दाजु आउँदै हुनुहुन्छ होला । शिव ध्यानमग्न भएर बसे । दिनभरि भइसक्यो कार्तिकेय घर न आइपुग्दा पार्वतीलाई चिन्ता भयो ।
साँझ पर्नै लागेको थ्यो थाकेर लखतरान हुँदै कार्तिकेय आइपुगे । गणेशलाई त्यहीँ बसिरहेको देखेर छक्क पर्दै भने ‘यो गणेशले पिताको आज्ञालाई मानेन आज,परतिर डाँडाबाट फनक्क फर्कियो । तर मैले पुरा धर्तीको परिक्रमा गरेर यो प्रतियोगिताको दायित्व पुरा गरेँ । कार्तिकेयको कुरा सुनेर शिवको ध्यान भङ्ग भयो ।
कार्तिकेयले पितालाई प्रणाम गर्दै भने-“पिताश्री अब त प्रतियोगिता जितेको हुँनाले तपाईकन काखमा बस्ने अधिकारी भएँ म । शिवले भने होइन बाबु कार्तिकेय प्रतियोगिता त भाइ लेनै जित्यो,किनकि तिमी भर्खर आइपुग्दछौ,गणेश बिहानै आफ्नो काम सकेर बसेको छ । त्यो कसरी पिताजी ? आश्चर्य हुँदै कार्तिकेयले प्रश्न गरे ।
भोले शंकरले प्रतियोगिताको निर्णय सुनाउँदै भने- सन्तानका लागि आफ्ना मातापिता भन्दा ठूलो र महत्त्वको वस्तु यो संसारमाअरू केही छैन । गणेशले आफ्नो विवेकको प्रयोग गर्दै तीन पटक हाम्रो परिक्रमा गरेर एकैक्षणमा त्यही फल प्राप्त गरे जुन फल तिमीले दिनभरि परिश्रम गरेर प्राप्त गरेका छौ । त्यसै पनि तिम्री माता पार्वती नै यो धर्ती स्वरूप हुन् । त्यसैले आजको प्रतियोगिताको विजयी गणेश हुन् । तर पनि तिमीले मेरो आज्ञालाई पालन गरेका छौ,त्यसैले तिमि पनि हाम्रा काखमा बस्न सक्छौ ।
कार्तिकेयलाई ज्ञान उदायो । मातापितालाई प्रणाम गरेर भाइ गणेशलाई अङ्कमाल गर्दै भने भाइ तिम्रो बुद्धि विवेकमा मलाइ गर्व छ,तिमी धन्य छौ । तिम्रा कारणले आज मलाइ पनि ठूलो ज्ञान मिल्यो । अब म सदैव मातापिताको सेवा गर्ने छु,तिमि त्यसै पनि सानो भाइ हौ,जाऊ मातापिताका काखमा बस !