धिक्कार छ ढँट्वारे !
विकाश धमला ‘प्रान्जल’
अस्ट्रेलिया
जब दिन अँधेरीको काखभित्र
लपक्क परेर निदाउन थाल्छ
अनि त्यो परको सामुद्रिक क्षितिजमा
जब धर्तीबाट सूर्यका जीवित किरणहरु
एकाएक मुर्दा बनेर बिलय हुन्छन्,
अनि जब संसार,
अँधेरिकै बरबर्ताभित्र रमाउन थाल्छ,
आज पनि,
सधैं झैं
त्यो अनौठो दृश्य
मेरो कोठाको बार्दलीमा
छताछुल्ल बनेर छाइरहेछ,
म सदियौंदेखि
यही अनौठो दृश्य देखेर
पिरोलिरहेको छु,
सधैं झैं आज पनि
यसको रहस्य थाहा पाउन,
म यसमाथि अनुमानका क्षेप्यास्त्रहरु
बर्षाइरहेछु !
म सानै घटनाले परिशान् बन्ने मान्छे
म अँधेरीदेखि डरपोक मान्छे
महोदय,
विचार गर्नुहोस्
म कसरी निडर बन्न सकूँ ?
म आत्मसमर्पण गर्ने मान्छे ।
म थोरै डराएको छु,
मेरो छातिभित्रको ढुक्ढुकी
आवाज बनेर बाहिर निस्कँदैछ,
म आफूभित्रको निडर मान्छेलाई
ब्युँझाउन खोज्छु,
म आफूलाई निडर राख्न मुट्ठी कस्छु
तर,
म असफलता रोज्ने मान्छे,
मेरो निधारमा
चिट-चिट पसिना आउन थाल्छन् ।
रात्रीको मौनता चिर्न सक्दिन म,
शरीर काँप्न थाल्छ,
बार्दलीमा देखापरेको त्यो
छायाँरूपी मानव आकृति
आज अनौठो किसिमले
मानौं,
असन्तुष्ट भएझैं
मलाई नै एकोहोरो नियालिरहेछ ।
म देखिरहेछु,
उ मलाई एकोहोरो हेरिरहेछु,
बुढापाकाले भनेझैं
‘त्यो’ भाग्छ कि भन्ने आशाले
आफूले लगाएको छोटो सुरुवाल्
अलिकति तल सार्दै
अनि,
श्वासप्रश्वासलाई वशमा राख्ने प्रयास गर्दै
ढुक्ढुकीको गतिलाई शान्त पार्दै
म निदाउन खोजिरहेछु,
बिपनाको अँध्यारो घुम्टो ओड़ेको म
जब सपनाको उज्यालोतर्फ प्रवेश गर्दैथिएँ
तब बल्ल मैले उसको पहिचान पाएँ ।
ऊ असन्तुष्ट थियो मलाई देख्दा,
ऊ मलिन अनुहारमा भन्दैथ्यो ,
हामीले उसलाई अपमान गर्यौं रे
उसलाई एक्लो बनायौं रे
गतिशीलतामा बगिरहेको
अदम्य क्रान्तिको तुफानमा
उसको एक्लो बलिदानी रोज्यौं रे,
यतिसम्म कि,
उसलाई श्रद्धाञ्जली दिएनौं रे ।
ऊ असन्तुष्ट थियो,
हामीले छल गर्यौं रे
क्रान्तिलाई सर्वोपरी ठान्दै,
हामीले जलजलाका
फोस्रा कथा लेख्यौं रे,
आफूलाई बाघ भन्ने हामीले
बिरालोझैं,
अरुको जुठो दूध ढुक्यौं रे,
हो,
उसले भनेझैं
म स्वार्थी बनेकै हो,
मैले सुखको पछि दौडेर
तेस्रा मान्छेहरुको दासता स्वीकारेकै हो,
मैले उसलाई श्रद्धाञ्जली नदिएको साँचो हो ।
धिक्कार छ !
म जस्तो डरपोक ‘क्रान्तिकारी’लाई
गरीब र भोकानांगाको निम्ति,
अजय क्रान्ति गर्छु भन्ने ,
मजस्ता ढँट्वारेलाई,
अनि धिक्कार छ !
ति बिरेहरुलाई बीच बाटोमा
एक्लै छोड्दै
‘क्रान्ति अझै आवश्यक छ’ भन्दै
बिदेशका ‘क्वीन बेड’ मा बसेर
कफीको सुर्को तान्दै,
आफू अगाड़िको कम्प्युटरमा,
तिनै बिरे र कमलाका
अतीत बल्झाउने,
कथा र कविता ट़ाइप गर्ने,
‘पलायनबादी’हरुलाई ।
साच्ची प्रन्जल भाईले भने जस्तै छ हाम्रो कथा …………. लामो समय को पर्खाई पछी मैले प्रन्जाल को होला भन्ने संका को सन्तुस्ता मेटेको छु….बिकाश जी पो….kabita एकदम सहि छ …………… .कबि लाई मेरो सलाम छ ………..
सारो मज्जाले मिलाएर छटके हानेको कविता….एस मा त नेता भुटानी नेता लाइ दरो भनेको हो ??? गुड मलाई कविता सारै मन् पारो….keep postiing hai bhai…………
बिकाश भाई!
I liked the way you have fixed the diction to put your emotions into this ironical piece. Its strong, piercing and after all a true one. Hope you will let us read more of your creations in the days to come.
Dom K
Adelaide.
कविता यस्तो हुनु पर्दछ , जुन सही अनि सत्य कथामा आधारित छ / बिकाश जी, तपाईको रचनाले
ती बकम्फुसे फोस्रा मान्छेहरुको चरित्रलाई उजागर गरिएको छ / यसकालागि धन्यवाद !!!