धिप्री र सलाई
खेम रिजाल
ओहायो, अमेरिका
पौषको महिना, चिसो बतासले नाङ्गा पिडुला चिल्दै थियो । सानो भाइ मनोजलाई लिएर, आमा गाईबस्तुलाई पानी खुवाउन हिटी धारातिर लाग्नुभयो । माइलो भाइ अनुज र म खेल्दै थियौँ आँगनमा । जाडो बढ्दै थियो । मैले अनुजलाई आगो बालेर ताप्न आग्रह गरेँ । ढुङ्गाको गारेघर, तेस्मापनि भोटेताला झुन्ड्याएको थियो । त्यो काठको पक्की ढोका खोल्ने क्षमता थिएन हामीमा । बालमस्तिष्कमा अचानक चोरबुद्धिले राज गर्यो ।
भाइ बारदलीबाट, खड्पल हुँदै तलोमाथि चढ्यो र झ्यालबाट भित्र छिर्यो अनि सिँढी हुँदै भुईंतला पुग्यो । समय नबित्दै धिप्री र सलाईको खोल मेरा हातमा थमायो र लाछीको बलोबाट सुल्किदै आटमा ओर्लियो । उत्साहित हामी केराऊ, तोरी र बोडीको थुप्रो कुल्चँदै, धानको कुन्यू छिचोल्दै मतान छेउ पुग्यौँ । तेल पेल्ने ठुलो जरुवा ढुङ्गाको आसपासका झिरिमिटि झिक्रा र सुकेका पातपतिङ्गर थुपारेर मट्टितेलको सहारामा आगो बालेर ताप्न थाल्यौँ । आहा ! साँच्चै न्यानो भयो तर, आगो निभ्न लाग्यो । अलि धेरै घस्मल थप्यौँ अनि मज्जाले आगो बल्न थाल्यो ! हामी दुवै खुसीले उफ्रन थाल्यौँ ।
केही क्षणमै धानको कुन्यू सल्कियो । आगोले भयङ्कर रूप लियो, सबैतिर धुवाँको कुइरीमण्डल छायो । धन्न छरछिमेकले देखिहालेछन् र होहल्ला गर्दै दौडिएर आए । हामीलाई हपार्दै, बेपारिका सेउलाले दन्केको ज्वालो मार्न थाले । त्यतिकैमा आमा आत्तिँदै आइपुग्नु भयो । सानो भाइलाई मजेत्रोले बाँधेर पिठ्युँमा बोक्नुभएको थियो । सकिनसकी तामेगाग्रोको पानी घरको छानो तिर छ्याप्नु भयो । आमालाई भने घरको चिन्ता थियो । अरू केही आफन्तले पालि जोगाइ दिए । करिब आगो निभिसकेको थियो, बुवा रिसले राँको हुँदै आउनु भयो । एकैचोटि भाइ अनुजलाई टिपेर सिकुवाबाट आँगनमा फाल्नुभयो ।
मेरो सातोपुत्लो उड्यो र थरथर काम्दै कुलेलम ठोकेँ । ठुलो साँझसम्म इस्कुसको झ्यालभित्र ओडारमा लुकेँ । मनमनै सोचेँ, अजिङ्गरले निल्ने पो हो कि ? भूतप्रेतले तर्साउने पो हो कि ?, डर लुकाउने ठाउँ काहीँ भएन । अन्तिममा, छ बर्से दिमागले गाईको गोवाली सुरक्षित ठान्यो । दिनभरिको उपद्रोले थाकेको रहेछु क्यार, परालको न्यानो भुईँ, बाछाको चटाइसँगै फुस्स निदाएछु । बिहानी पख घामको झुल्कासँगै आङ तान्न पुगेँ । खक् थू…, खक् थू…, बुवाको आवाजले मुटु कमायो केही क्षण । देवलको आडमा छेपारो झैँ मूल सास रोकेर टास्सिरहेँ । बुवाका लामा लामा पाइला खेततिर लागेको देखेँ । भोकले मेरो अनुहार निचोरेको निबुवा जस्तो भएको थियो । हत्तपत्त घरभित्र पसेँ, र मूलखाबोमा छेलिएँ । भाइहरूले देखिहाले ।
आमाको मन न हो, हिजोदेखि भागेको छोरो घर आउँदा भित्रभित्रै खुसी त पक्कै हुनुभयो होला ! तर, त्यत्रो बिगार सहनु कसरी ? सब्जी चलाउँदै गरेको डाडुले टाउकोमा एक ठक हिर्काउनु भयो । केही बेर गाली गर्नु भयो । “धान जति सबै डढाई हालेऊ, अब के खानु ?” आँखा रसिला बनाउनु भयो र दुई चोइली, अट्टे धानको भात पस्केर, कुँडेको दूध हालिदिनु भयो । तात्ततातै हातले मुछेर, सप्रयाङ्ग सप्रयाङ्ग पार्दै भरपेट खाएँ र कुइनोबाट बगेको दूधको रेखा, सट्को फेरोले पुछेँ । त्यसपछि म सधैँ झैँ भाइहरूसँग खेल्न थालेँ, आमा हिजोको अच्पिल्टो खरानी फ्याल्दै हुनुहुन्थ्यो !