ध्यानको महिमा
गङ्गा लामिटारे
अमेरिका
केही वर्षअघि जापानको नागागासी सहरको एउटा गगनचुम्बी भवनको बिच तलामा एउटा विशाल भिक्षु सम्मेलनको आयोजना गरिएको थियो । त्यस सम्मेलनमा विभिन्न देशबाट बौद्ध भिक्षुकहरूलाई निमन्त्रणा गरिएको थियो । जापानका एक धनाढ्य व्यापारीले त्यो सम्मेलनको आयोजना गरेका थिए । एक ठुला लामा गुरुले विपस्याना ध्यानको महत्त्वबारे प्रवचन गरिरहेका थिए । मन्त्रमुग्ध भएर भक्तहरू प्रवचन सुनिरहेको थिए । अचानक घर नै ध्वस्त हुने गरी भुईँचालो आयो । चारैतिर मानिसहरूको हाहाकार र भागाभाग मच्चियो । ज्यान बचाउन मानिसहरू जता पायो त्यतैबाट हाम फाल्न थाले । भाग्ने क्रममा कोही सिडीमा भिडले चेप्टिएर मरे भने कयौँ मानिसहरू झ्यालबाट हाम फालेर भुइँतलामा खसेर मरे । स्थिति हृदय विदारक बन्यो । मानिसहरूको कोलाहल र चिच्च्याहट पुरै सहर आतङ्कित भयो ।
मानिसहरूमा करुणा,दया र शान्ति सबै खलबल्याइदियो,पापी भूकम्पले । भूकम्प गएको २ घण्टा पछि सायरन बजाउँदै आपत्कालीन सेवाका गाडीहरू सडकमा गुड्न थाले र अकासै ढाकेर हेलिकप्टरहरू उड्न थाले । बचाउ र उद्धारको काम तीव्र गतिमा हुन थाल्यो । उद्धारकर्मीहरूले मरेकाहरूलाई टिपेर गाडीमा लाद्न थाले भने घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजान थाले ।
स्थिति केही शान्त भयो । भवनबाहिर निस्केका धनाढ्यलाई झल्यास महात्माको सम्झना भयो । उनले भुइंतलामा जम्मा भएका मानिसहरूलाई सरसरती हेरे । त्यस भयभीत भीडमा प्रवचन गर्ने लामालाई खोजे,आँखा तन्काइ तन्काइ । तर कतै पनि नदेखे पछि “लौन नि गुरुजीलाई के भयो होला नि” भन्दै उनी प्रवचन कोठामा पुगे । प्रवचन कक्षा बिलकुलै सुनसान थियो तर जुन ठाउँमा बसेर लामा-गुरु २ घण्ट अघि प्रवचन गर्द्थिए, त्यही स्थानमा अविचल भएर उनी ध्यान मग्न भएको देखे,धनाढ्यले । नजिकै गएर “गुरुदेव,भनी” बोलाए । मरेको हो कि जिउँदो कुनै प्रतिक्रिया नआएपछि उनले महात्मालाई झकझक्याए । केही क्षणपछि गुरुले आँखा खोले । यता उति हेरे,सुसान र चकमन्न थियो,वातावरण । आफ्नो अघि उभिएका धनाढ्यलाई देखेर महात्माले किन झकझक्याउनु भो ?महासय भनी सोधे । सबै ज्यान बचाउन हामी भुइँतलामा झर्यौं तर हजुर झर्नुभएन किन ? “किन भने महासय, भागेर वा लुकेर मृत्युबाट कोही पनि बाँच्न सक्दैन । भनौँ संसार नै मृत्युमय छ । त्यसैले मृत्युबाट बच्न चाहने हो भने बाहिरतिर होइन भित्रतिर भाग्नुपर्छ” भनी महात्माले जबाफ दिए । महात्माको यस्तो विचित्रको सन्देशबाट ती धनाढ्यले जीवनमा पहिलो पटक ध्यानको महत्त्व र महिमा थाह पाए ।