ध्रुवलाल
शान्ता रिजाल
काठमाडौं
बाँसको भाटाले बारेको झुपडीको एक भित्ताको सानो चारकोसे झ्यालद्वारभित्र चिहाइरहेका छिमेकीले भने “ध्रुवलाल ऐले भविष्य हेर्न फर्कियो”। “अघिसम्म त अतीत हेरिरहेको थियो त,” अर्कोले थप्यो । यसरी वाहिरबाट हेरेरै धुवलालले अतीत वा वर्तमान हेरेको छुट्याऊन केही गाह्रो छैन । ध्रुवलाल आजभोलि झुपडीभित्रै रहन रुचाउँछ वा विवश छ । तर सबैलाई स्पष्ट छ ध्रुवलालको भविष्य र अतीत ।
उसको भविष्य ऊ आफैं छोट्याउने दाऊमा छ, उसले भनेजस्तै भयो भने ऊ चाँडै झुण्डिएर भए पनि देहत्याग गर्दैछ । ऊ अहिलै त्यो साहित पर्खिरहेछ जुनदिन ऊसकी श्रीमती र छोराहरु जहाजमा चढ्नेछन् र त्यो दिन एक हप्तादेखि एक मैना भित्रै आउँदैछ ।
उसको अतीत लामो छ । जब ऊ कोल्टो परेर सुत्छ, त्यही लामो अतीतमा डुब्न पुग्छ । सन् ऊन्नाईस् सय साठीको दशक हुँदो हो, ऊ फुच्चे केटो थियो, टाठो, उज्यालो, सबैसंग बोल्न सक्ने । भूटानको सानो गाउँमा जन्मिएर हुर्की त्यही परिवेशले फूर्तिलो बनाएको । सरकारले शिक्षाको ज्योती बाल्न, गाउँ गाउँबाट केटाकेटी खोज्दै राजधानी ठिम्मु (हालको थिम्पू)मा राजपरिवार सदस्यका छोराछोरी पढ्ने विद्यालयको छात्रावासमा राखेर पढाउन थालेको थियो । त्यसमा ध्रुवलाल पनि प-यो । चार वर्ष जति राम्रै पढ्यो, अङ्ग्रेजी, बोल्ने र पढ्ने भयो । जङ्गली जनवारको आक्रमणबाट बाबुको निधन भयो र घरायसी समस्याको कारण पढाइ छुट्यो ।
गाउँमा लेनदेनको कारोबार चिठीपत्र, तमसुक लेख्ने काममा सारै सजिलो व्यक्तिको रुपमा चर्चित भयो । ऊ गाउँलेहरुको प्रिय पात्र बन्यो । ध्रुवलाल वयस्क भयो । चाँढै विवाह बन्धनमा बाँधियो । समय बित्दै जाँदा दुई छोराहरुको बाबु भयो । ध्रुवलालको जीवनमा आएका परिवर्तनसंगै देशमा पनि धेरै परिवर्तनहरु आए । त्यसै क्रममा भेल आयो प्रजातन्त्रको । गाउँ-गाउँ, शहर-शहरमा प्रजातन्त्र आउने खबरले कसैलाई तर्सायो, कसैलाई मच्चायो त कसैलाई हल्लायो । ध्रुवलालको जीवनलाई पनि प्रजातन्त्रको बहारले छोयो । सिमापारी राजनैतिक पार्टी खोलेर देशभित्र प्रजातन्त्र भित्र्याउन ठूलै जमात कटिबद्ध रह्यो । त्यही समूहले आफ्नो प्रभाव गाउँ-गाउँ पु-याउन ध्रुवलालजस्ता गाउँमा राम्रो पकड भएका व्यक्तिको खोजी गर्न थाल्यो । उनीहरुको आकर्षक भाषण सुनेर त्यसको पात्र बन्न तयार भयो ध्रुवलाल । ऊ आफ्नो गाउँको प्रतिनिधि बन्यो । उसलाई सुम्पिएको जिम्मेवारी थियो गाउँलेहरुलाई प्रजातन्त्रको ज्ञान दिनु र चन्दा उठाउनु । ध्रुवलालले भनेपछि गाउँलेहरुले नमान्ने कुरै थिएन । अरु गाँउमाझ रातमा सभा, भेला राखेन उसले । ऊ त दिउँसै भेला गथ्र्यो र भन्थ्यो राम्रो काम गर्न किन डराउनु?
एकदिन उसले संकलन गरेको रकम लिएर पार्टीलाई बुझाउन सिमापारि गयो । पार्टीका मान्छले भने, अहिलेसम्मको सबैभन्दा धेरै चन्दा उसका गाउँबाट आयो । उसले घण्टौं लगाएर चन्दाको रसिदमा गाउँलेहरुको नाम लेख्यो । हर्षले गदगद् हुँदै फर्कियो गाँउ, बाटामा भेटेजति मान्छेलाई समाचार सुनाउँदै घर पुग्यो । गाउँलेहरु प्रजातन्त्र आएको हेर्न लालायित थिए । कोही अब हप्ता दिनभित्रै आइपुग्छ भन्छन्, कोही एक महिना त लाग्छ होला भन्छन् । सबै रमाएका छन् मानौं माघेसंक्र्रान्ति मेला आएझैं, दूर्गापूजा आएझैं, अनि देउसीभैलो खेल्ने तिहार आएझैं । तर कसैलाई थाहा छैन प्रजातन्त्र दशैं तिहार जस्तो हो कि शहरमा घुमाइने सिंगारिएको हात्ती जस्तो हो ? त्यही भएर सबै प्रजातन्त्र आएको हेर्न आतुर छन् ।
दिन छोटिँदै गए, प्रजातन्त्र आउन चार दिनमात्र बाँकी थियो । ठूलो हल्ला आयो, छ इन्च घटाउने । गाउँ हल्लियो, गाउँलेहरु तर्सिए । प्रजातन्त्र लिन नजानेको टुप्पीबाट नापेर छ इन्च घटाइदिने । अन्दाज लगाउँदा त ठ्याक्कै घाँटी रेट्ने कुरा पो आयो गाँठे ! ध्रुवलाल पनि केही तर्सियो र केही साथी लिएर पार्टी कार्यालय पुग्यो जहाँ सयौं मानिसहरु व्यस्त थिए । कोही व्यानर छाप्न, कोही नयाँ झण्डामा डण्डा हाल्न । यस्तै केही झण्डा, पर्चा र व्यानर लिएर फर्कियो ध्रुवलालको समूह ।
अनि आयो प्रजातन्त्र आउने दिन, सबै गाउँलेहरु प्रजातन्त्र हेर्न अनि छ इन्च पनि बचाउँन बिहानैबाट तयार भए । राति नै पार्टीका केही केटाहरु गाउँ आइपुगेका रहेछन् । उनीहरुले जे–जे भने सबैले त्यस– त्यसै गरे । ठूल्ठूला स्वरमा कराउँदै र चिच्याउँदै हाकिम कार्यालय पुगे । केही क्षणमै गाउँ गाउँबाट हुलका हुल मान्छे भेला भए । जनसागर जुट्यो । दिन कराउँदा कराउँदै बित्यो । साँझपख गाउँलेहरु घर फर्के । तर उनीहरुलाई थाहै छैन प्रजातन्त्र आयो कि आउनै बाँकी छ । घरमा बूढापाका र केटाकेटीले प्रजातन्त्र कस्तो रहेछ? भनी सोद्धा उनीहरु उत्तर दिन्थे– “ए, मान्छे, मान्छे । प्रजातन्त्र देख्नै पाइएन ।”
गाउँलेहरुमा उत्सुकता सेलाएकै थिएन । त्यसको केही दिन पछि दुई व्यक्ति गिरफ्तार भए–सरकारी सेनाले समातेछन् । ध्रुवलाल हारगुहार माग्न पार्टी कार्यालय पुग्यो, जहाँ उसले आश्वासन पायो । हामी भन्दिन्छौं, छोडिहाल्छ नि । एक, दुई हप्ता हेरौं । नत्र हामी एक हूल केटाहरु पठाइदिन्छौँ, छुटाइ हाल्छन् नि । यही आश्वसन परिवारलाई सुनाउन जाँदै थियो, ऊ पनि पक्राऊ प-यो । उसलाई पिट्नु पिटे, खुट्टा भूईँमा, टाउको निहुराएर, हात पछाडि कसेर, झ्यालमा बाँधेर, रातभरि चिसो कोठामा राखियो । भोलिपल्ट, दुई जना पुलिस आएर सोध्न थाले, ककसले कतिकति चन्दा दिएको देखि लिएर जुलुसमा कोको सहभागी भएको सम्म । दिनरात कुटाइ र यातनाका साथ छ महिना एउटै कोठामा बित्यो । एक रात एकजनाले सुनायो उसलाई जन्म कैद गरियो । ऊ श्रीमती र छोराहरु सम्झेर बेस्सरी रोयो । धेरै दिन पछि अर्को दयालु पुलिसले बुद्धि दियो, “देश छोडेर जान्छु भन्यो भने छाडिदिन्छ, नत्र जेलभित्रै कुहिन्छौ ध्रुवलाल” । ध्रुवलालले देश छोडेर जाने इच्छा हाकिम समक्ष पु-याइ दिन अनुरोध ग-यो । लिखित निवेदन दिएर ऊ छुट्यो पनि ।
दुई छोराहरु र श्रीमती च्यापेर भारत हानियो र सोध्दै र गाडी फेर्दै नेपालको माईबगरमा पुग्यो । केही हप्तामा उसकी आमा, छिमेकी र आफन्तहरुको धुइरो लाग्यो । माईबगरबाट हालको क्याम्पमा सरे । उसलाई सहयोग गर्न धेरै जुटे । एक समूहले काठमाडौं लगेर उपचार गरे । उसलाई नियमित औषधी दिन संस्थाका मान्छे प्रत्येक दिन पुग्थे । कहिलेकाँही लामो समयसम्म अन्तरवार्ता लिन्थे । पछि ध्रुवलालले अनौपचारिक प्रौढ कक्षामा पढाउने मौका पायो र ध्रुवलाल “सर” बन्यो । यही बीचमा उसको तेस्रो सन्तान पनि भयो ।
एकदिन अचानक ऊ बिरामी प-यो, उसको पुरानै रोग–पेट र घुँडाको कारण । केही उपचारपछि आरामको लागि ऊ झुपडीमै सुतिरहेको थियो । ऊ अस्वस्थ्य भएर शयनमा सुतिरहेको थियो, उसलाई सँधै अन्तरवार्ता लिने कुनै संस्थाकी स्वयंसेविका केही लेखिरहेकी थिई, अनायसै बाहिर ठूलै होहल्ला चल्यो । हल्ला थियो— “ध्रुवलालले त्यो स्वयंसेविका मेडमलाई अँगालो हाल्यो रे ।” होहल्लाले ठूलै भिड जमायो । जमातले ध्रुवलाल र त्यो स्वयंसेविकालाई बीचमा राखेर नाना भाँति कुरा सोधे र फैसला अनुसार ध्रुवलालमाथि स्वयंसेविका भिराइयो । रात घरझगडा मै बित्यो । जे भयो, भयो । अब दोस्रो विवाह गरेको आरोपमा ध्रुवलाल जेल नपरोस् भनेर नयाँ जुक्ति निकालियो । जसअनुसार पहिली श्रीमतीले पारापाचुके दिने, र त्यसै भयो । ध्रुवलाललाई दोस्री श्रीमतीसँग अलि टाढा असी नब्बे झुपडिको दूरीमा सारियो । उसको सानो जागिर छुट्यो । उसको नयाँ विवाह लामो समयसम्म टिकेन । माइत गएकी स्वयंसेविका फर्किँदै फर्किन । यता पहिली श्रीमती र छोराहरुले आवतजावत र बोलचाल बन्द गरे । ध्रुवलालको दिनचार्य ओछ्यानमा सीमित भयो–एउटा बीस लिटरे पानी भर्ने जारकिन, केही भाँडाकुँडा बाहेक उसंग केही रहेन, र आमदानी शून्य ।
यस्तैमा घरफिर्ती आन्दोलन चर्कियो, ऊ फेरि एकपटक सक्रिय भयो । मानवसागर लाग्यो भूटानतर्फ तर रोकियो नेपाल–भारत सिमाको मेचीपुलमाथि । ठूलठूला नेताहरुले चोटिला भाषण छाँटे । उसले पनि मौका माग्यो, र लामो समयसम्म उकुसमुकुस भएको मन हलुङ्गो हुने गरी चिच्यायो । उसको भाषण कुनै अनुभवी नेताको भन्दा कम थिएन । तर, त्यो भाषणको फल भनौ नयाँ विल्ला पायो “आतंकवादी”। आदोलन तुहियो, अरुहरुसँगै ध्रुवलाल पनि झुपडी फर्कियो । एउटै हल्ला चर्कियो, ध्रुवलाल पनि आतंकवादी रहेछ । हाम्रो छाप्रोको भित्तामा कसले पोष्टर टाँस्छ भनेको त? दिनभर, दिनभर किन सुत्छ भनेको त? आदि, इत्यादि । विरामी ध्रुवलालको दिनचार्या सुत्नु मात्रै छ । सुत्ता, सुत्ता उसले सुताइ, कोल्टो फर्काइ र सोचाइ बीचको सम्बन्ध पत्ता लगाएको छ । उसका अनुसार— जब मानिस सुतेको अवस्थामा अतीतको सोचाइमा डुब्छ शरीर स्वतः वायाँ तर्फ फर्कन्छ र जब उसको सोचाइ केही गर्ने वा भविष्य बारेमा सोच्न थाल्छ तब शरीर स्वतः दायाँ फर्कन्छ । उसले उत्तानो र घोप्टो सुताइको पनि रहस्य पत्ता लगाएको छ । स्वस्थ्य र भयरहित अवस्थामा मात्र मान्छे उत्तानो सुत्न सक्छ र पीडा वा कमजोरी लुकाउन घोप्टो सुत्छ ।
त्यसपछि आयो अमेरिका जाने होड । उसकी श्रीमती र छोराहरु पनि जाने भएका छन् तर उसलाई “आतंकवादी” भनेर बन्देज लगाइयो।। केही दिनमै उसका आफन्तहरु अमेरिकाको लागि उड्दैछन् …….।
उसको अतीत लामो भएकाले ऊ बढी दायाँ फर्केर सुत्छ । बायाँ फर्कनलाई ऊसँग सोच्ने, धेर सपना छैनन् । जुनदिन आझ्नी श्रीमती र तीन छोराहरु अमेरिकाको लागि जहाजमा चढ्नेछन्, त्यो दिन ऊ झुण्डिएर भए पनि देहत्याग गर्नेछ । सम्बन्ध विच्छेदले सम्झना विच्छेद गर्न सकेन । उसको जेठो छोरो, जसबाट ऊ धेरै आशा गर्छ, “जाऔं बाबा हामी सँगै” भन्दै ढोकामा आएको देख्छ । हतपत ढोकातर्फ हेर्छ, तर त्यहाँ कोही हुन्न । कहिले काहीँ उसले असाध्यै सम्झने कान्छो छोरोले आमा दाजुहरुसँग “बाबालाई नलग्ने भए म पनि जान्नँ” भन्दै जिद्दी गरेर दगुर्दे उसको बाहुपासमा टाँसिन आएको भानमा पर्छ र छोरालाई हेर्न कोल्टो फेर्छ । तर यथार्थ, बाँसको भाटाले बारेको झुपडीको एक भित्ताको सानो चारकोसे झ्यालद्वारभित्र उसलाई चिहाइरेका छिमेकी भन्छन् — “ ध्रुवलाल अहिले भविष्य हेर्न फर्कियो ‘‘।।
हाल: फिलिपिन्स
wastavikta lekhda katti lai katha jasto vaan paryo hola tara malai satya padera affnu atit yaad aayo. In reality I don’t know who is Santa Rizal but the story is not a story but a reality. Thank you so much Santa ji. Every Bhutanese has not the same story but similar to Dhrubalal. You gave a new life to Dhrubalal. He will never die if his family comes to US. He is our HERO and a HERO never dies. Nayak ammar huncha chier kaal samma.
Govinda Phuyel
Chicago IL America
good tara patyar lagdoo long .Try to convay transparent msg in short la.
Dhrubhalal lai aatankavadiko sangya dine ani unlai bahubivaha tira dhakelne haru ko lagi yo wastabik jivan bhogaiko katha kasto lagla?
Jiyesh Rizal
Lexington,KY,USA