नब्बेका घाउहरु लोकार्पण

भूटानी शरणार्थी शिविरमा नब्बेका घाउहरू कविता कृति आज अक्टोबर २ तारिख लोकार्पण भएको छ । तेस्रो मुलुक पुनर्वासपछि शरणार्थी शिविरमा साहित्यिक गतिविधि न्यून बन्दै गएको अवस्थामा कवि दिल भूटानीकृत नब्बेका घाउहरू नामक कविता सङ्ग्रहको लोकार्पण भएको हो ।

प्रकाशक साहित्य परिषद्-भूटान  र ‘द लिटिरेरि सोसाइटी अफ भूटान‘को संयुक्त आयोजना रहेको कृति लोकार्पण कार्यक्रममा समालोचक शिव रेग्मी(प्रणत) र कवि तथा लेखक प्रकाश बुढाथोकीले कृतिमाथि टिप्पणी गर्नु भएको थियो ।

आफ्नो टिप्पणी राख्ने क्रममा समालोचक शिव रेग्मी(प्रणत) ले कृतिमा भूटानी राष्ट्रियता र पहिचानको सवाल सशक्त रूपमा उठाइएको बताउनु भयो । सारमा कृति भूटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनर्वासप्रति असन्तुष्ट रहेको पनि उहाँले बताउनु भयो । त्यस्तै कवि तथा लेखक प्रकाश बुढाथोकीले भूटानीहरुका सपना पूरा हुन बाँकी रहेको उल्लेख गर्दै सपना एक दिन पूरा हुने कुरामा कविताहरू दृढ रहेको बताउनु भयो ।

कार्यक्रममा प्रकाशकको तर्फबाट गजलकार याम थुलुङले शुभकामना मन्तव्य राख्नु भएको थियो भने साहित्य परिषद्-भूटानका अध्यक्ष गङ्गाराम लामिटारेले पठाउनु भएको शुभकामना सन्देश पनि कार्यक्रम सञ्चालकले वाचन गरेर सुनाउनु भयो ।

डा. भम्पा राईको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता ‘द लिटिरेरि सोसाइटी अफ भूटान’का अध्यक्ष तिलक राईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन एक्जाइल्ड भूट्नीजले गर्नु भएको थियो ।
कार्यक्रममा शरणार्थी बुद्धिजीवी, भूटानी स्रष्टाहरू साथै स्थानीय नेपाली साहित्यकारहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *