नब्बेको आर्तनाद
मदन दुलाल
अमेरिका
सबैलाई मात हान्छु भन्ने मानव जातीलाई कोरोनाले तिरिखिरी मात्र नपारेर लातै हान्यो । सानो छँदा “खोइ मुसो? दुलो भित्र पस्यो” पढेको अहिले स्वयं मान्छे दुलो पस्नुको बाहेक अर्को विकल्प रहेन । मुसा मुसीहरू मानवको यो हर्कत हेरेर कतै कन्फरेन्स गर्दै होलान् कि!
क्यालेन्डरको ठुलो अङ्क २०१९, डिसेम्बर महिना चीनको केन्द्र सरकार अन्तर्गत रहने हुवई प्रान्तको एउटा सहर वुहान र, वुहानलाई केन्द्रबिन्दु बनाएर व्याधि फैलियो।कोभिड-१९। जसलाई कोरोना भनेर मण्डित गरियो र यसै नामले विख्यात रह्यो।
छोटो समयमा आफूलाई खतरनाक साबित गरेर व्याधिबाट महाव्याधिको उपमा पाउन सफल भयो । दिन दुई गुणा रात चौ गुणाको दरलाई लोप्पा खुवाई १०० गुणाको गतिको फैलावट असामान्य हो ।मान्नु हुन्छ नि ? यहाँले पक्कै नमान्ने कुरै भएन ।
यति सम्मकी मान्छेका नाक आफ्नै हातबाट त्रस्त।भयातुर र भया क्रान्त।खैर,मुसा झैँ दुलो पस्नु नै उत्तम विकल्प ठहरियो।
यसै जीवाणुको प्रभाव या असर भनौँ । सम्पूर्ण बन्दको अवस्थामा छन्। स्वतन्त्र छु भनेर हरक्षण कुर्ली रहने मानिस एउटा बन्द कोठा भित्र कैदजस्तै भएको छ । अचम्म ! मान्छेको घमन्ड तोडिएको देख्दा म न रुन सक्छु न हाँस्न नै ।
व्यापार , स्कुल र कलेज बन्द छन् । अत्यावश्यक उद्योग र हस्पिटल बाहेक सबै सबै बन्द छन् । यो समय संसार भरि के-के बन्द छन् मैले भनिरहन पर्दैन ।
हक्की स्वभाव भनौँ कि सन्काहा भनौँ । चिमोटिएको भनौँ या नाप्पिएको । एउटा बहुलठ्ठी लठुवा देशको शासक बनेर हुँक्कार हिन्हिनाउॅंथ्यो। कहाँ भन्नु होला ? जगजाहेर छ नि अमेरिकामा । अहिले नाम त भनी रहन नपर्ला ।
शासक संवेदना शून्य भयो भने ऊ शासक रहँदैन । के रहन्छ ?भन्नुहोला । उत्तरमा मैले शोषक भनौँला । हजुरहरूले पत्याउनु होला त ? अहँ कतिले पत्याउनु भएन होला । पत्याए पनि के र नपत्याए पनि के ? तर सत्य यही हो ।
शोषक जो शासक हुँ भनेर भुटानको थिम्पुमा विराजमान थियो । के थियो भन्नु र अझ छ । नाम र वंश के हो चाहिए सोध्नु । नभए गुगल छ । सर्च गर्नु । त्यसकै बुद्धि स्खलन हुनाले हो लाखौँ भुटानी नागरिक भूमिबाट उच्छेदित भएका।ती मुला झैँ उखेलिएका भुटानीहरू अहिले अमेरिका लगायत अन्य देशहरूमा छन् ।
महामारीका कारण केटाकेटी छन् फुर्सदिला । हामी को हौँ ? के हौँ ? र, हाम्रो इतिहास के हो सोधिएको छ । अघिपछि पनि सोध्नसक्थे तर सोधी हालेका थिएनन् ।
किन? भन्ने हुँदो हो।
थाहा नै छ आजका भुरालाई टिभी र मोबाइल बाहेक अन्यको सुद्धी रहँदैन।अपवाद छन् कतै भने टर्च बालेर खोज्न पर्ला।
आज नै सोध्नुमा चैँ कोभिडको अनिश्चित बन्दले टिभी र मोबाइल हेर्दा हेर्दा हैरान भएर हो ।
१९-को धरालाई महामारीले गाँजेको छ ।ठिक त्यसरी नै ९० ताका भुटानमा शोषकले गाँजेको थियो ।जसरी भोको सिंहले गाँज्दछ मृग।यद्यपि गाँजैकै छ गॅंजडीले।
१९-को आँखीझ्यालबाट ९०-लाई चिहाउॅंदै गर्दा यस्तो देखिन्छ ।
साल १९८८ थिम्पुमा पार्लियामेन्टको अधिवेशन बोलाइयो। ६६ औँ सेसनको लागि। दागो छिरिङ तत्कालीन भुटानको राजा पछिको शक्तिशाली व्यक्ति ।विल पास गर्यो। विलले १९५८ र १९७७ सालको नेस्नल सिटिजनसिप एक्ट खारेज गर्यो ।र लागु गर्यो ८८ मा पचासीमा ड्राफ्टेड नयाँ सिटिजनसिप एक्ट।
८५ साल पछि ईस्यु गरिएको नागरिकता होल्डर भुटानी नागरिक रहने घोषणा गर्यो । अचम्म त्यति खेर भयो । जब उक्त एक्ट विशेष गरी दक्षिण भुटानमा लक्षित गरी कार्यान्वयन गर्ने भनियो ।
थिम्पु अनुहारमा मोसो दलेर ओर्लने भयो दक्षिणको हर घरमा, हर गोठमा ।दक्षिण ‘क्षीण’ नभएर सङ्गठित भयो । राजालाई ज्ञापन पत्र बुझायो । अन्याय भयो भनेर सचेत गरायो । राजालाई अभिभावक सम्झ्यो ।
राजाले एक बोरा आश्वासन बाँड्यो । बाँड्नलाई मात्र बाँडिएको आश्वासनले यस अघि नै गर्जमान गुरुङ र महासुर क्षेत्रीलाई निलिसकेको थियो ।
बेसार मन तातो पानीमा घोल्ने र पिउने।छिउॅं गर्ने र गला खोकल्ने।तारनतार हात धुने।सेनिटाईजर् प्रयोग गर्ने । यस्ता तुक बेतुकका आश्वासन बाँड्दाको समय कोरोनाले मर्नु पर्ने ह्विप जारी गर्यो।र भेटे सम्मका प्रायलाई एकै ग्रास गर्यो।
शासन सत्ताले दिने भनेको आश्वासन मात्र हो।आश्वासनको आश्ले अवसानको मार्ग प्रशस्त गर्दछ।कोरोनाले यो मार्गमा अग्रसर हर कोहीलाई लपेट्यो अँगालोमा।जसरी लेपेटेथ्यो थिम्पुले दक्षिणलाई।
सोही साल पार्लियामेन्टको ६७ औँ सेसन बोलाइयो । र, राजाको थ्रो बाट थुमथुम्याउने प्रयास भयो । द्वैत चरित्र सर्व विनाशकारी हुन्छ भन्थे बुढापाकाले हो रहेछ । देखियो । भोगियो । राजा स्वयं पनि रक्षक नभई भक्षक बनेर कुरुक्षेत्रमा शंखनाद गर्न लागे ।
लगत्तै सुनकोस अन्यायको नयाँ मोडेल “चा-वा-सुम” बोकेर ओरालो बग्यो। मानस रौद्रताको उच्छट नृत्य प्रस्तुत गर्न लाग्यो ।क्षण क्षणमा अन्यायको मेलोडी फेरिन्थ्यो। अत्याचारको परिष्कृत धुनले लट्ठ बनाउॅंथ्यो ।
“अचानक”* एक दिन।हल्ला चल्छ/फैलन्छ।सीता मोथे आत्महत्या प्रकरणको।यो हल्ला एक कान दुई कान मैदान बन्छ।
[ घटना घटाउन पर्दा पछाडि अनेक रिहर्सल गरिएको हुन्छ।तर घटना घटिसकेपछि हरकोहीलाई हठात् र अचानक जस्तो लाग्छ – यो मानवीय लो कि हो ]
हामी जिउँदै गरेको जुग हल्लै हल्लाको युग हो।कोरोनाको कहरमा हल्लाले अहम् भूमिका निर्वहण गरेको छ।
चिराङ घर भएकी भुटानी नागरिक सीता मोथेको आत्महत्याको खबरले दक्षिण भुटान डगमगायो । समथल भूभाग काँप उठ्यो ।
राजाको दर्बिलो उपस्थिति र दागोको कुलषित प्रोपगण्डाले अचेत नागरिकलाई सचेत गरायो । सचेतनाको यस घडीले आगो ओकल्यो।
आगो हो नि पोल्छ।चाहे त्यो झिल्को होस्।चाहे त्यो दनदन दन्किएको आगो नै किन नहोस्।चाहे तातो कोइला होस् ।या त हजारौँ मिल टाढा स्थित घाम नै किन नहोस् ..पोल्छ ।पोल्छ। यसरी नै कुनै दिन सरकार र सरकारले लिएको संरचनात्मक विभेदको नितिली पोल्यो।र पोल्यो कोरोनाको कहरले।
रूप, रङ्ग र अवस्था जस्तो होस् गुण सर्वोपरि । यसर्थ आगोले पोल्छ । पोल्यो पनि, पोल्दै पनि छ ।
एकातिर सन् ५८ र ७७ को सिटिजनसिप एक्टको खारेजी । अर्को तिर दागोको डंकालाई मलजल गर्न ल्याइएको एक देश एक नरेशको अवधारणा । खुइल्याउनु खुइल्यायो। र, सके जति सेक्यो ल्होत्छाम्पालाई ।
दक्षिणलाई चेप्नु चेप्यो । जसरी बोकोलाई खसी पारिन्छ । ठिक त्यसरी चेपेर अररो बनाउने प्रयास गरियो ।
खसी बनाउन प्रयोग गरिएको “चा-वा- सुम” नामक चेपुवाका दुई स्वरूप पेस गरेँ ।
१- सिटिजनसिप एक्ट स्वतः निष्क्रिय हुने घोषणा
२-राजाद्वारा जनता पुर्न/मार्न ल्याइएको एक देश एक भेष र एक नरेशको अवधारणा।
मान्छे हो नि। अन्याय र अत्याचार भएको बुझ्छ । बुझ्यो । र, उठे निहत्था हात । आवाज लिएर । वैचारिक कोप लिएर । पहिला भन्दा अझ सङ्गठित भएर । अझ सशक्त भएर ।
९० मा दन्कियो देश । जनताले पाउनु पर्ने आधारभूत राजनैतिक जुन सहुलियत छ, त्यो पाउनु पर्ने र स-सम्मान पूर्ण स्वतन्त्रता सहितको मानव अधिकारको ग्यारेन्टी हुनु पर्ने मागले बलेको थियो भुटान ।
राजा सहित दागो दम्किँदो भुटानको नियन्त्रण चाहन्थे ।दक्षिणलाई काबुमा आएको चाहन्थे । हिंस्रक जनावरले हातबाट सिकार किन छुट्न दिन्थ्यो र । दिएन । दागो र राजा यति बेला भोकाएका लुरे सिंह जस्ता थिए । लप्लपाउॅंदो जिब्रोले तातो रगत चुस्न,चाट्न र पिउन चाहन्थे ।
रातारात सैनिक मार्सल पास गराइयो ।कुलषित विचार एकपछि अर्को बर्बरता जन्माउन उद्यमरत थियो । अनि त भोका स्याल, ब्वाँसा, बाघ, भालु सैनिक भेषमा दिनदहाडै गाउँ पस्यो । छोरी चेलीका स्तन नापियो । योनीमा नङ्ग्रा गाडियो । आमाहरूको कोखमा बुट बजारियो । बाबाहरूको कन्चटमा गोली दागियो ।
उप्रान्त;
टेक्ने खुट्टा काट्यो – धरा
लेख्ने हात काट्यो – कलम
बोल्ने जिब्रो काट्यो – भाषा
देख्ने आँखा फुटायो – सपना
नपुगेर यतिले घर मुलीलाई गिरफ्तार गर्यो । घर बुढीलाई मानसिक तनाव दियो । ऐन मौकामा भावनामा खेलबाड गर्यो । भावनात्मक शोषण गर्यो । र, भोलियन्टरी फर्म भरायो । देश निकाला गर्ने उद्योग फलिभूत हुँदै गयो ।
मान्छे मारिएको खबर आई रहन्थे । माथि आकाशमा गिद्ध, चिल र बाजका हुल कोकोहोलो कराई रहन्थे । जमिनमा स्याल र ब्वाँसाहरूको जत्था निरीहको दोहन गरिरहन्थे । शक्तिको अघि समनताको आवाज क्षीण भई रहेको थियो । लाग्थ्यो, मानौँ लियोपोल्ड द्वितीयको नवीन संस्करण भुटानमा जन्मिसकेको छ । लाग्थ्यो, क्यालिगुला, हिटलर र मुसोलिनी हुङ्कार हिनहिनाई रहेछन् ।
हेपाहाको धर्म हेप्नु रहेछ । हेपिरह्यो । जसरी लहांचेले रूख ठुँग्छ ।ठिक त्यसरी नै ठुगीरह्यो । मर्मस्थलमा । हेपाइको हरिभजन गाई रह्यो ।कैले सिटिजनसिप एक्ट ल्याएर हेप्छ । कैले वान नेसन, वान किङको अवधारणा ल्याएर हेप्छ ।
कैले सेन्चेसको नाममा परिवारको एभ्रि ईन्डिभ्यूजललाई एफ -१ देखी लिएर एफ ७ को केटोगरि बनाई वर्गीकृत गर्छ । र, हेप्छ ।बाउ जेनिउन भुटानी । मतलब एफ १ । आमा अन्य केही । र परिवारका हर एक सदस्य भिन्न भिन्न ।
*स्मरण रहोस्* [माथि उद्धृत भएको सीता मोथेको आत्महत्या यसै वर्गीकरणको कारण भएको थियो । र, ९० को आन्दोलन यसैको जगमा उठेको थियो]
यतिले नपुगेर दक्षिण बोर्डर सुरक्षार्थ भन्दै ग्रिन बेल्टको अवधारणा ल्याएर अझ घाँटी मै न्याक्यो । न गर्न सहज छ । न मर्न सहज ।
शक्तिको प्रेम सरकारलाई यति प्रिय भयो कि उसले आँखामा पट्टि बाँध्यो । गान्धी पट्टि । नदेख्ने भएपछि बुद्धको शरीरमा जथाभाबी प्रहार गर्यो । क्षतविक्षत गरायो । बुद्धको अहिंसाको मार्गलाई तिलाञ्जलि दियो । जलाञ्जलि दियो ।
सिटिजनसिप एक्टको राजनीतिक मसला र वान नेसस, वान पिपुलको अवधारणाको चेपुवामा परेपछि ऐया ! भन्नै पर्यो।एकातिर राजनीतिक अर्को तिर सांस्कृतिक अतिक्रमण तीव्र गतिमा अघि बढ्यो । मान्छेले हरकिसिमका दुःख सहन गर्न सक्छ । तर, सांस्कृतिक अतिक्रमण अहँ सक्दैन । संस्कृति सभ्यता हो । सभ्यता सबैलाई प्रिय हुन्छ।
भाषामाथि निर्मम प्रहार भयो । स्कुलमा नेपाली पठनपाठन बन्द गर्यो । नेपाली भाषाको पुस्तक जलाइयो । विरोध स्वरूप गेलेफूगमा विशाल प्रदर्शन भयो।
सरकारको भाषा माथिको प्रहारले उग्र रूप लियो । यति सम्मकी पहिलो पल्ट भुटानी राष्ट्रिय पोसाक जलाएर खरानी बनाइयो ।जनताको कोप धुवाँ बनेर आकाशमा व्याप्त भयो । सरकार यस पटक तालीवान् शैलीमा रण मैदानमा उत्रियो।
तालीवान् शैली?
हो तालीवान् शैली । बुझाई रहन पर्छ र । बुझ्नु भयो नि हैन।
सरकार रगतमा अहाल बस्यो । बन्दुकले मृत्युको आह्वान गर्यो ।दागो छिरिङले रगतको होली खेल्यो । राजाको डिनरमा रातो रक्त सहित जनताको मुटु थियो । चित्कार रोजाना बढ्दै गयो ।अत्याचार दिन दुई गुणा रात चौ गुणा बढ्यो । थिम्पु रगतको मादकतामा प्रफुल्लित थियो । बन्दुकको पटटट धुनमा गोलीले लय समात्यो । गोली र बन्दुकको ताण्डव नृत्यले प्रलय महाप्रलयको गति लियो।
शनै:शनै देश रक्तिम लहुमा चुर्लुम्म डुब्यो । उत्रिनै नसक्नेगरि।
बिस्तारै सङ्गठित आवाज पतनको मार्गमा अग्रसर भयो।ल्होत्साम्पाली जनमा फुट आयो ।आफैँ आफैँको छ इन्च घटाउने उद्यममा रमाउन थाले । रमाए बेस्कन । संस्थापन पक्ष जे चाहन्थ्यो त्यही भयो।
संस्थापन पक्षको हातमा चिची पनि भयो । पापा पनि भयो । मावो खोला मलिन अनुहार लाएर ऊ बेला देखि यो बेला सम्म ओरालो बगेको बग्गै छ । ललाई खोला तक्लाई खोला सँग मिलेर विरही गीत गाउॅंदै दक्षिण बगिरह्यो।
र, बगी रह्यो ओरालै ओरालो एउटा युग अनिर्णयको बन्दी बनेर।
समग्रतामा कहानी एकै हो।
चाहे त्यो शून्य र एक बिचको होस् या एक अनि शून्यकै किन नहोस्।
१९- को आँखीझ्याल उघारेर ९० को आर्तनाद हेर्दा यस्तै देखियो।
म शून्यमा शून्य सरी बिलाएँ।