नभरिने बटुको
गङ्गा लामिटारे
अमेरिका
कुनै समयमा भारतको पाटलीपुत्र भन्ने देशमा एक दानवीर राजा राज गर्थे । उनको नाम परं दानवीर राजा सूर्यमान सेन थियो । प्रत्येक दिन दुखी,दरिद्रीलाई अन्न,वस्त्र र भोजन पानी नगरी उनी खाना खाँदैन थिए । उनका दरबारमा हरेक दिन बिहान साधु-सन्त,मगन्ते र भिखारीहरूको भीड लागिरहन्थ्यो । उनको यस प्रकारको दयालुता र दानवीरताको चर्चा संसार भरि फैलियो ।
उनको दानवीरता र दयालुताको चर्चा सुनेर मद्रास देशको एक भिखारी भिक्षा माग्न सूर्य सेन राजको दरबारका पुग्यो । उ, पाटलीपुत्र सहरमा पुग्दा साँझ परेको थियो । त्यसैले त्यो रात साधु-सन्तहरूको आश्रममा विश्राम गर्यो, उसले । बिहानै उठेर नुहाइ-धुवाइ गर्यो र साधु-सन्त र भीखकारीहरूसँगै उ पनि राजाको दरबारमा पुग्यो । राजा सेन खाद्य-भण्डारको ढोकामा उभिएर साधु-सन्तहरूको स्वागत गरिरहेका थिए । सेनाहरूले भिखारी जतिलाई एउटा पङ्तिमा र साधु-सन्तहरूलाइ अर्को पङ्तिमा पक्तिंवद्ध भएर बस्न अनुरोध गरेपछि मद्रासबाट आएको नयाँ भिखारी मगन्तेहरूको पङ्क्तिको अन्तिममा गएर बस्यो । विभिन्न प्रकारका भोजनहरू तयार गरिएको थियो । सैनिकहरूलाई स्वयम् राजाले खाना बाँड्न सगाए । खान-पिनको कार्यक्रम सकिएपछि राजाले धोती-कपडा र राम्रा राम्रा कमलहरू बाँडे । भोजन पानीको कार्यक्रम सकिएपछि राजाले सबैलाई टिका लगाइदिए । र दक्षिणाको रूपमा एक एक वटा स्वर्ण मुद्रा दिएर साधु-सन्त र भिखारीहरूलाई भोलि पनि आउन निवेदन गर्दै बिदा गरे ।
सबै राजाको जय जयकार र प्रशस्ति गाउँदै त्यहाँबाट बिदा भए । तर मद्रासबाट आएको नयाँ भिखारी भने अविचल भएर त्यहीँ उभिइरह्यो । अविचल भएर उभिएको नयाँ भिखारीलाई देखेर राजाले सोधेँ“ हे महासय,तपाईँलाई थप के सेवा गरौँ, निर्धक्क भन्नुहोस्” उसले भिरेको थोत्रे झोलाबाट एउटा सानु कटौरो निकाल्यो र राजालाई देखाउँदै भन्यो “ महाराज ३५ वर्ष भयो, मैले भिक्षा मागेको तर कसैले पनि आजसम्म मेरो यो सानु कटौरो भर्न सकेनन्, पक्कै पनि भर्दिनु हुन्छ भनेर म हजुरको दानवीरता सुनेर यहाँ आएको” त्यति सानु कटौरो पनि भर्न नसक्ने कस्ता दाताहरूका अघि हात पसार्नु भएछ तपाइले भनेर भिखारीलाई सहानुभूति गर्दै राजाले फेरि भने,“ मेरो दरबारमा त्यस्तो हुने छैन । म तपाइको त्यो पात्र मात्र होइन स्वर्ण मुद्राले तपाइले भिरेको झोला पनि भरिदिनेछु । तपाइले अब कतै माग्न हिँड्नुपर्दैन”,भनी राजाले आश्वस्त पारे ।
दरबारका अर्थ सचिवलाई भण्डारबाट स्वर्ण मुद्रा ल्याउन आज्ञा गरे, राजाले । तुरुन्त सचिवले एक डालो स्वर्ण मुद्रा ल्याएर राजालाई दिए । राजाले त्यो स्वर्ण मुद्रा नयाँ भिखारीका कटौरामा एक एक गर्दै खसाउन थाले । डालो रित्तिइयो तर कटौरो भरिएन । राजाले थप स्वर्ण मुद्रा ल्याउन सचिवलाई भने । फेरि सचिवले थुन्सेभरि स्वर्ण मुद्रा लगेर राजालाई दिए । त्यसले पनि भरिएन । राजाको ढुकुटी रित्तिइयो तर पनि भिखारीको कटौरो भरिएन । दिँदा दिँदा राजा पनि थकित भए। यस्तो अद्भुत र अदम्भको न भिखारी नै राजाले सुनेका थिए न त देखेका नै । त्यहाँ उपस्थित मन्त्री र राज कर्मचारीहरू पनि आश्चर्य चकित भएर यो दृश्य हेरिरहेका थिए । राजाको सबै धन्सार र ढुकुटीहरू खाली भए । अब केही पनि रहेन ।
आफूले दिएको वचन पुरा गर्न नसकेकोमा राजा धेरै लज्जित भए, अनि क्षमा माग्दै भिखारीलाई सोधे“ तपाइ अवश्य पनि साधारण भिखारी होइन,सत्य भन्नुहोस्,तपाईँ को हुनुहुन्छ” राजाको दानवीरता र दयालुपनको घमन्ड चुरचुर भएर धुलिएको थाहा पाएपछि भिखारीले“राजन, यो कचौरा कुनै काँसको पात्र होइन,मानव खोपडी हो,कहिले तृप्त नहुने वासना हो,असीमित तृष्णाहरूको ढुकुटी हो र म तिनै वासना र तृष्णाहरूलाई नचाउँदै हिँड्ने चन्चले मन हुँ” भिखारीको यस्तो अदम्भको उत्तर सुनेर राजा तीन छक्क मात्र भएनन् उनको दानवीरतको दम्भ र अहङ्कार पनि धुलो-पीठो भएर उड्यो ।