नयाँ वर्ष २०२० को हार्दिक शुभकामना: साहित्य परिषद भूटान

आदरणीय मित्रहरू,
समय गतिशील छ। परिवर्तनशील र शाश्वत पनि छ । समयको महत्त्व र महिमा बुझ्ने र समयसँगै  हिँड्नेहरू धेरै माथि पुगे । तर समयलाई नपछ्याउने र नबुझ्नेहरू जहिले पछि नै परिरहे । समयको न रङ छ न रूप नै । तर पनि विश्वलाई चलायमान गरेको छ । प्रगति र समुन्नति गर्न चाहनेहरूकालागि समय एउटा उत्प्रेरक र गतिशील ऊर्जा पनि हो । जीवनलाई समय सापेक्ष ढाल्न र गाल्न सकियो भने मात्र केही उपलब्धि प्राप्त गर्न सकिएला ।जीवनको सफलता र असफलता मापन गर्ने एउटा तराजु पनि हो समय । समयको यही शाश्वत सत्यसँगको सङ्घर्ष कै क्रममा हामी जन्मभूमिबाट विस्थापित भयौँ । विस्थापनका ती कहालीलाग्दा विपत्ति र दुर्दिनहरूसँग दुई दशकसम्म भिडायो र लडायो, यही समयले ! कहिले खुसीले हँसायो ! कहिले आँसु बनेर बगायो । विस्थापनका अनेकौँ समस्या र चुनौतीहरूसँग जुध्न र भिड्न पनि यसैले सिकायो । जति नै ठुला विपत्ति र कठिनाइहरूमा पनि हाम्रो साथ छुटेन, हात छुटेन र भावना पनि फुटेन । तर पुनर्वासको भूकम्पले वर्षौँदेखिको साथ छुट्यो, हात फुस्क्यो र हृदयमा पराकम्प हुन पुग्यो । साथ छुटे पनि, हात छुटे पनि अब संसारभरि छरिएका हामीलाई पुनः समयले मानसिक र वैचारिकतासँग सङ्गठित गर्दै छ । हिम्मत र ऊर्जाहरू थप्दै छ । सिर्जनात्मक कार्य र इतिहास निर्माणकालागि हामीलाई चुनौतीका साथै सही अवसरहरू पनि प्रदान गर्दै छ ।

त्यसैले भौतिक रूपमा सँगै नभए पनि मानसिक र वैचारिकतामा हामी जहिले पनि सँगै छौँ । प्रविधिले हामीलाई झन् नजिक, झन् निकट र अभिन्नतासँग जोड्दिएको छ । आज मानिस एक्लै छ, तर हजारौँसँग उसको निकटता छ । घनिष्ठता बढेको छ । नयाँ नयाँ मित्र र साथीहरूसँगको सम्पर्क बनाउने र फेर्ने क्रम चलेको छ । यो सबै सम्भव समय र प्रविधिको चमत्कारबाट नै हो । अहिले हामी न भूटानमा छौँ न नेपालमा । हामी विज्ञान र प्रविधिको युगमा छौँ । र त्यसै अनुसार अघिवढेर प्रगति र समुन्नतिको शिखर चुम्नु पर्छ । यही नै हाम्रा लागि समय-सापेक्ष कर्तव्य पनि हो ।

विभिन्न उतार- चढ़ावका साथ २०१९ हामीबाट बिदा भयो । र नयाँ वर्षको शुभागमन हुँदै छ ! जानेलाई बिदा र आउने स्वागत गर्नुपर्छ ! नयाँ वर्ष २०२० सबैकालागि ऊर्जाशील बनोस् ! सृजनशील बनोस् ! सुस्वास्थ्य बनोस् ! शान्ति र समृद्धि बनोस्, यही शुभकामना सबै शुभचिन्तक मित्रहरूमा !

गङ्गाराम लामिटारे
अध्यक्ष
साहित्य परिषद् भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *