नयाँ घर [लघुकथा]

केशु बिरही

कथाकार

नयाँ घर बन्ने कुरा सुनेपछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आशा पाले । आहा ! नयाँ घर बनेपछि हामीहरूले पनि एउटा एउटा कोठा पाउने छौं । त्यतिमात्र होइन उनीहरू नयाँ घरको नयाँ कोठालाई कसरी सजाउने । टिभी कता राख्ने । पलङ कता राख्दा ठीक होला । झ्याल कता फर्काउँदा राम्रो होला भन्नेबारेमा सोच्न थाले ।
नभन्दै घरमा सबैजनाको एउटै मत भयो । नयाँ घर बन्नेमा पक्का पक्की नै भयो । घर त बनाउने तर कति कोठाको ? कोठा कस्ता बनाउने । अझ घर कति तलाको बनाउने भन्नेबारेमा त उनीहरुको एकमत हुनै सकेनन् । सबैले आ-आफ्ना अडान छाडेनन् ।
घर पुरानै भए पनि त्यति कमजोर भने छैन । अलि कोठा नमिलेको मात्र हो । अहिले हामीसंग रुपयाँ पैसा पनि छैन । रुपयाँ पैसा जोरजाम गरेर मात्र घर भत्काउनु पर्छ । त्यसैले अहिले यही घरलाई रङरोगन गरी बस्नुपर्छ । घरको एकजना सदस्यले यस्ता प्रस्ताव राख्यो ।
उसको कोठा गतिलै छ । ठूलो र फराकिलो पनि उतिकै छ । पूर्वतर्फ फर्किएको एउटा वरण्डाको कोठा पनि उसले ओगटेको छ । अनि उसलाई नयाँ घरको त्यति जरुरत नै किन पर्छ र…? भनेर अर्कोले विरोध जनायो । हुन पनि घर त अरुलाई चाहिएको थियो । अरुले कोठै पाएका थिएनन् । कोही मतान कोही गाईगोठमा त कोही बाख्राको खोरनेर चिमले बारेर सानो ठाउँमा अँटाएर बसेका थिए । भएका कोठाहरु पनि समान आकारका थिएनन् । कुनै ठूला थिए त कुनै ज्यादै साना । मथिल्लो तलाका कोठाहरु अनुपातिक रुपमा तल्लो तलाका भन्दा कमजोर थिए । वर्षायाममा पानी चुहिएर उतिकै हैरान पार्थ्यो । त्यसैले उसको प्रस्ताव सही नहुँदा नहुँदै पनि खर्चबर्चका डरले सबैले सहमति जनाउन पुगे । असहमतिका बीचमा पनि सहमति बन्यो ।
रङरोगन त गर्ने तर, कुन रङ्ग लगाउने । कस्तो रङ्ग लगाउने । कसरी लगाउने । त्यस कुरामा पनि समस्या आइलाग्यो । सबैलाई एउटै रङ्ग मनपर्ने कुरो पनि आएन । कसैलाई रातो रङ्ग मन पर्‍यो भने कसैलाई सेतो । केहीले त पहेंलो रङ्ग लगाउनुपर्छ भन्ने प्रस्ताव पनि राखे । हरियो र निलो मन पराउने पनि लिक्लिए । कसैको एकमत हुन सकेन । विवाद चलिरह्यो ।
नयाँ घर बनला र आ-आफ्नो कोठामा बस्न पाइएला । आफ्नै चाहना अनुसारको सजावट गरौंला भन्ने रहर पालेका केटाकेटीहरु हेरेका हेर्‍यै भए । उनीहरूको रहर रहरमै सीमित भइरहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *