नयाँ वर्षको हार्दिक शुभकामना


आदरणीय मित्रहरू! भाषा तथा साहित्यिक स्रष्टाहरू,

पुनर्वासको १० वर्षमै १० वर्षमुनिका बालबच्चाले नेपाली भाषा बोल्न छाडेका छन् भने अर्कोतिर हाम्रो इतिहासिक विरासतको विस्मृति पनि चुनौतिकारूपमा उत्पन्न भएको छ । यस चुनौतीको समाधान गर्ने महान् जिम्मेवारी आज हाम्रा काँधमा आएको छ । अवसरहरू चुम्नकालागि मात्र होइन जीवन, जीवन चुनौती र समस्याहरूको सामना गरेर अवसरहरू निर्माण गर्नु पनि हो । अब यस चुनौतीसँग जुध्ने बेला आएको छ परिस्थितिले हामीलाई वैभव र विरासतको संरक्षण गर्ने महान् दायित्व सुम्पिएको छ । आज हामी यस्तो एउटा गम्भीर कालखण्डमा उभिएका छौँ, जहाँ पुर्खाले जोगाइ ल्याएको वैभवको रक्षा र भावी सन्ततिको पहिचान निर्माणको दोसाँधमा । अब पनि चुकियौँ भने पुरूखाको श्राप र सन्ततिको धिक्कारबाट हामी बच्न सक्ने छैनौँ । भाषा नै जातीय चिनारीको मूल आधार भएकाले यसको संरक्षण र प्रवर्धन गर्नु अनिवार्य ठहरिएको छ । फेरि नेपाली भाषा हाम्रा विभिन्न जात, जाति र भाषा-भाषीहरूमध्य साझा सम्पर्क र विचार-विनिमय कायम गर्ने भएकाले पनि यस भाषिक अभियानमा सबैको सहयोग समर्थन पनि नितान्त आवश्यक छ । अब यो कार्य एकल प्रयासबाट मात्र सम्भव छैन, सामूहिक प्रयासको आवश्यकता छ । यस महान् जिम्मेवारी र दायित्वबाट अब कोही पनि भाग्न सक्दैन । सक्नुहुन्छ भने आफ्ना सहर नगरहरूमा सञ्चालित नेपाली कक्षाहरूमा नानीहरूलाई पुर्याइदिनुहोस । सक्नुहुन्न, आफ्नै घरमा पढाउनुहोस् र बच्चाहरूसँग नेपाली मै बोलचाल गर्नुहोस् ! प्रयोग भए मात्र भाषा बाँच्छ भन्ने सिद्धान्तलाई बुझ्नु होस । त्यसैले आउनुहोस्, उठ्नुहोस् र यस पहिचानको महासङ्ग्रामको एउटा साँचो सिपाही बन्नुहहोस् भन्ने सबैलाई आग्रह गर्न चाहन्छु । अन्तमा भाषा संरक्षणको दिशामा नयाँवर्ष २०१९ नयाँ बिहानी बनोस् । नेपाली साहित्य-परिषद् भुटानको इतिहास निर्माणमा सहभागी हुने र परिषदलाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने निवर्तमान, वर्तमान कार्यकर्ता मित्रहरू र नेपाली भाषी शुभचिन्तकहरूमा नयाँ वर्ष २०१९ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

 

गङ्गाराम लामिटारे
अद्ध्यक्ष
साहित्य परिषद् भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *