नातिनीको चिठी

प्रतिमान सिवा
ओहायो, अमेरिका

रिया आज निक्कै दुखी देखिन्थिन् । सधैँ पूर्णिमाको चन्द्रमा झैँ उज्यालो मुहार बनाएर मीठो मुस्कान छर्दै सबै सङ्ग हाई-हेल्लो गर्दै हिँड्ने नानी आज निन्याउरो अनुहार लगाएर गाडीमा बसिन् । बाबा सङ्ग पनि केही बोलिनन् ।
“छोरी ! आज किन धेरै दुखी देखिन्छौ नि, के भयो ?” बाबाले सोधे ।
“अनि आज ‘ग्र्याण्ड प्यारेण्ट्स डे’ थियो नि त । तपाईँलाई तेती पनि थाहा भएन ?” रियाले रिसाएको स्वभावमा बाबालाई उत्तर दिइन् ।

“ए ! सरी छोरी !” बाबाले क्षमा मागे ।

रिया एलिमेण्टरी स्कूलामा थर्ड ग्रेडमा पढ्छिन् । नेपालबाट आउँदा केवल अढाई वर्षकी थिइन् । एक वर्ष प्री-स्कूल पढेपछि किन्डर गार्डेन देखिनै त्यही एलिमेण्टरी स्कूलामा पढ्दै आएकी हुन् । सानै देखि स्कूल जान भनेपछि सारै खुसी हुन्थिन् । रमाउँदै जान्थिन् । अझै पनि त्यसरी नै जान्छिन् । तर आज पहिलो चोटि दुखी छिन् । घर आइपुगेपछि पनि सरासर आफ्नो कोठामा गइन् । आमाले खाजा खान बोलाउँदा पनि आज भोक लगेको छैन भनी टारिन् । अनि ढोका थुनेर रोइन्, खुब रोइन् । ओछ्यानमा घोप्टो परेर धेरै बेर रोएपछि आँसु पनि बग्न छोडिसकेको थियो । केवल घुक् घुक् मात्र आवाज आउँथ्यो । यतिकै गलेर लुगा पनि नफेरी निदाइछिन् ।

मलाई थाहा छ तपाईँलाई मन पर्ने गुन्द्रुकको झोल र टमाटरको अचार त्याहा कसैले पनि बनाई दिँदैन । सेलरोटी त झन् देख्न पनि पाउनु हुन्न । त्याका मान्छेले बोलेको पनि बुझ्नु हुन्न । तपाईँ त ठूली मान्छे, रुनु हुन्न होला । तर म त सारो रुन्छु, एकान्तमा लुकेर ।

कोठा मिलाउन भनी आमा भित्र छिरिन् । छोरीको हालत देखेर छक्क परिन् । हुन त अघि नै उनलाई शङ्का त लागेको थियो कि आज छोरीले किन धेरै मन दुखाई भनेर । भुइँमा फ्याँकेको ब्याग टिपिन र खोतलिन् भित्र केही भेटिन्छ कि झैँ गरेर । केही नभेटे पछि ब्याग फ्यात्त फ्याँकिन् र छोरीलाई सुम्सुम्याउँन लागिन् । छोरीको हातमा कुच्चिएको एउटा कागज देखिन् र के रहेछ भनी तानेर हेर्न लागिन् । आँसुले भिजेर केही अक्षरहरू लत्पतिएका केही हरफहरू सिकौरे नेपालीमा लेखिएको रहेछ । पढ्न लागिन् ।

हजुरी,
अर्को हप्ताको टुस्डे हाम्रो स्कूलमा ‘ग्र्याण्ड प्यारेन्ट्स डे’ छ । सबैका हजुरबा र हजुरआमा आउँछन् । सबैले मलाई जिस्काउँछन् तेरी हजुरआमा छैनन् भनेर । उनीहरू त हजुरआमाको औँला समाएर हिँड्छन् अनि फोटो पनि खिच्छन् । मलाई पनि तपाईसँग फोटो खिच्नु छ अनि मेरी पनि हजुरआमा हुनुहुन्छ भनेर देखाउँनु छ । तपाईँ पनि आउनुहोस है । म बाबालाई भनेर लिन आउँछु । तपाईँ आउनु भएन भने त फेरि म सारो रुन्छु नि । के तपाईँलाई म रोएको हेर्न मन लाग्छ ?

हजुरी, मलाई तपाईँको सारै माया लाग्छ । म तपाईँलाई धेरै मिस गर्छु ।
मसँगै पढ्ने रिदिमाको पनि हजुरआमा हुनुहुन्छ । कत्ती माया गर्नुहुन्छ रिदिमालाई । ढुक्कै रिदिमासँग खेल्नुहुन्छ । नेपालका अनि भूटानका कस्ता राम्रा राम्रा कथाहरू भन्नु हुन्छ रे, रिदिमाले भनेकी । स्कूल जाने बेलामा कपाल पनि कोरिदिनुहुन्छ, मैले आफै देखेको । तपाईँ पनि हामीसँगै बस्नु नि, किन त्याहा जानु भा’को ? मलाई पनि नेपालको अनि भूटानको कथा सुन्न कस्तो मन लागेको छ । झन् सुनकेसरी रानीको कथा त कस्तो राम्रो छ रे । प्लिज, प्लिज, हजुरआमा, आउनु न । म बाबालाई अनि मम्मीलाई नकराउनु भन्छु नि । तपाईँको लुगापनि म आफै लन्ड्रीमा धोई दिन्छु अनि तपाईँले खाएको थालपनि माझी दिन्छु नि, हुन्न हजुरआमा ?

तपाईँलाई देख्न कस्तो मन लागेको थियो अस्ति र बाबालाई जाउँन भनेको, टाइम छैन भन्नु भयो । मम्मीले भनेकी तपाईँलाई त्यही राम्रो छ अरे, हो ?
बाबामम्मीले ढाँट्नु हुन्छ, मलाई थाहा छ । लास्ट यियर तपाईँलाई नर्सिङहोम पुर्‍याए पछि कत्ती खुसी हुनु भएको थियो । मलाई चैँ सारै मन दुखेको थियो । त्यो दिन मैले खानापनि खाइनँ । धेरै रोएँ ।

मलाई थाहा छ तपाईँलाई मन पर्ने गुन्द्रुकको झोल र टमाटरको अचार त्याहा कसैले पनि बनाई दिँदैन । सेलरोटी त झन् देख्नपनि पाउनु हुन्न । त्याका मान्छेले बोलेकोपनि बुझ्नु हुन्न । तपाईँ त ठूली मान्छे, रुनु हुन्न होला । तर म त सारो रुन्छु, एकान्तमा लुकेर ।

यो चिठ्ठी नेपालीमा मैले लेखेकी होइन । मैले इङ्लिशमा लेखेर रिदिमाका दाइलाई नेपालीमा लेख्न लगाएकी हुँ । अनि मैले धेरै प्र्याक्टिस गरेर सारेकी हुँ । मलाई नेपाली कसले सिकाउँछ र ? बाबा जहिले बिजी, मम्मीपनि भ्याउँदिन भन्नु हुन्छ । फेरि, नेपाली किन चाइयो? इङ्लिश जाने भइगयो नि भन्नु हुन्छ । रिदिमाले त आफै नेपालीमा नाम पनि लेख्न सक्छे । हजुरआमाले सिकाएको भन्दै फुर्किन्छे । कोही कोही बेला त मलाई ‘जेलस फिल’ हुन्छ ।

नसुर्ताउनु होस हजुरआमा । म ठूली हुँदै छु । बाबामम्मी जत्रै भएपछि तपाइलाई मेरै घरमा राख्छु अनि बाबामम्मीलाई त्याहा राखिदिन्छु । हामी दुईजना बस्नु पर्छ । म गुन्द्रुक पकाउन सिक्छु, रोटी पोल्न सिक्न्छु ।
हजुरआमा, तर ‘ग्र्याण्ड प्यारन्ट्स डे’मा चैँ पक्का आउनु है । नत्र म टुहुरी जस्तै हुने छु । अनि यो चिठी पढेर नरुनु ल । मपनि रुन्न । साँच्ची भनेको ।

म नेपाली लेख्न र पढ्न रिदिमाको दाइसँग सिक्दै छु । जानेपछि धेरै धेरै लेख्छु है । अनि भोलि नै यो चिठी म पोस्टम्यानलाई दिन्छु अनि उसले तपाईँलाई दिन्छ । न रोईकन पढ्नु है । अनि मैले यो चिठी लेखेको बाबा-मम्मीलाई बन्दै नसुनाउँनु है । अहिलेलाई बाई ।

ए साँची, तपाईँलाई थाहा छ ? बाबाले हाम्रो घरमा ठूलो ‘पेट डग’ ल्याउनु भा’को छ । त्यसको नाम ज्याकी राख्नु भा’को छ । तपाईँ नहुँदा म त्यही ज्याकीसँग खेलेर टाइम पास गर्छु । तर तपाईँ भए जस्तो पटक्कै हुँदैन ।

बाई बाई, मिस यु हजुरी ।

उही प्यारी नातिनी
रिया ।

छोरीको चिठी पढी सकेपछि उनका आँखाबाट अरू दुई ढिका आँसु झरे र बाँकी अक्षरहरू पनि लत्पतिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *