नातिनीलाई अर्ती

कवि
कवि

डेभ सिवा
पेन्सिलभेनिया, अमेरिका

विदेशको ठाउँ अनि नौलो परिवेश
अलपत्र अनि अन्योल पर्‍यो भाषा र भेष
यो अन्योल र अलपत्रले ल्यायो यहाँ त्रास
त्यसैले त भनिदिएँ नातिनीलाई
अब देखि सधैँ नेपाली बोलेस्।

भेष-भूषाको त कुरै नगरौँ यहाँ
यत्रतत्र अलपत्र धुजा-धुजा भई फाटेका
ठुला अनि साना, मासु देखिने दुला
केही भन्यो कि, फ्यासन हो भनी बाजेका
त्यसैले त भनिदिए नातिनीलाई
तैँले चैँ नाक जोगाएस्।

मौलायो यहाँ जात, यो ठुलो त्यो सानो
भाषा त गयो भाडमा तर, जात होइन
जातीय पहिचान त रहनु पर्‍यो नि यहाँ
को छुत को अछुत मानिस सबै बराबर होइन र ?
त्यसैले भनिदिए नातिनीलाई
अधिकार आफ्नो सधैँ लढेस्।

रोजगारको कष्ट एकापट्टी,
घर भाडा र लोन अर्को पट्टी
छोरा, बुहारी, नाति दिनरात व्यस्त हुन्छन्
छाडी मलाई केवल एउटा लाठी।
महिना मर्छ, सुन्छु विवाद,
बुहारी सोध्छिन् कमाइ गयो कतापट्टी ?
छोरो सर्छ सिटिङ रुममा, बुहारी घुँक्क घुँक्क
म अचम्म अनि नाति गोरी साईलीको भट्टी
त्यसैले त भनिदिए नातिनीलाई
तिमी चैँ क्यासिनो न छिरेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *