नादी

कुबेर कुईकेल (भुवानेटारे)
मासाचुसेट्स, अमेरिका

नगर बगर नादी नीद खोल्दै उ जाग्यो
शहर सदनमा त्यो गर्न संघर्ष लाग्यो
चहक दमनको त्यो चीर्न नादी छ आगो
हर घर नर नारी नाद त्यो बोल्न खागो

चरम दमन गर्छन् दीनताका सूत्रधार
खबर खबरदारी लेख लेख्छन् पत्रकार
कलम र मसिनीले प्रश्न रैतीहरूको
समर खबर चर्को नाद नादीहरूको

मरण प्रति तयारी देश रक्षा हितैषी
नरम गरम बोल्दै न्याय खोज्दै स्वदेशी
गरिब दलित कैदी रङ्क आवाज नादी
दमन सगर तोड्दै नीति खोज्दै निनादी

परिधि भरि धराको न्याय रक्षा छ चर्को
अजर अमर बोली नीति रक्षा जमर्को
अत हक जनताको दीनता फाल्न बोल्छ
अमर सहिद बोली पक्षमा न्याय खोज्छ

जनगण नर नारी देश नाका सुरक्षा
फर फर पतका होस् शौर्य देशी सदिच्छा
हर पल हक खोज्दै शङ्ख नादी छ फुक्दै
असफल दरबारी माफ माग्ने छ झुक्दै

ध्वनि जनगण दु:खी दीन दासीहरूको
सरदर हक खोज्दै नाद झुप्राहरूको
दिल मन जनताको वीर नादी तिरै भो
हित हक अभिलाषा शूर नादी सितै भो

अहम दमन दम्भी दीन मार्दै मजामा
सकल कलम यात्री नाद लेख्छन् ध्वजामा
निरत निहित नौलो ऐन प्रेमी निनादी
अब उठ जनता हो भन्छ त्यो फाल्न गादी

छन्द- मालिनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *