नारद तिम्सिना र उनका कृतिहरू

डिल्लीराम शर्मा आचार्य ।
ओहायो, अमेरिका

जन्म वि.स. २०१२ दागापेला भूटान ।
निकै अघिदेखि मलाई केही लेखिदिन र पुस्तकहरू हेरिदिन भनिरहनु भएको थियो । म पनि समयसँग सङ्घर्ष गरिरहेको मान्छे । यसो फुर्सदको समय निकालेर उहाँबाट लिएका केही पुस्तकहरू केलाएँ; गहिरिएर पढ्ने समय भने मिलेको छैन । सबै पुस्तक पढ्न महिनौँ खर्चनु पर्छ र समीक्षा गर्न त निकै समय लागिहाल्छ । मलाई लाग्यो यी पुस्तकको समीक्षा होइन जानकारी मूलक विषयलाई मात्र पस्किनु वा प्रस्तुत गर्नु उचित हुन्छ ।

लेखक र लेखका सम्बन्धमा:
गद्य र पद्य दुवै विधामा कलम चलाउने सिद्धहस्त तिम्सिनाले भूटानी मूलका नेपाली भाषीहरूको साहित्यिक भण्डारमा गरेको योगदान उल्लेख्य मान्नु पर्दछ । सङ्ख्यात्मक दृष्टिले तिम्सिनाले नेपाली साहित्य भण्डारमा पनि गतिलो इँटा थप्ने काम गरेका छन् ।
उनका विधागत कृतिहरूलाई तीन भागमा राखेर हेर्न सकिन्छ । उनले विशुद्ध साहित्यका अलावा धार्मिक साहित्य र ऐतिहासिकतालाई पनि उत्तिकै प्राथमिकता दिएको पाइन्छ । वि.स. २०५७ सालबाट पुस्तकका रूपमा देखा परेका कवि तिम्सिनाले हालसम्ममा १७ वटा पुस्तक प्रकाशनमा ल्याई सकेका छन् । “भूटान प्राचीन इतिहास २०५७ पहिलो कृति हो भने नाति कविता सङ्ग्रह भाग १ र २ , नाति कथा सङ्ग्रह भाग १.र २, नाति निबन्ध सङ्ग्रह, डम्बरकुमारी स्मारिका, भाकल मिश्रित सङ्ग्रह, पूर्णब्रह्मात्मबोधोपदेश भाग १-र २, नाति देउसी काव्य, मधु सङ्गिनी, सानो भयो कविता सङ्ग्रह, मधु-टोमा स्मारिका , ऐतिहासिक यात्रा स्मरण,सनातन भजन सङ्कलन, नाति कथा सङ्ग्रह” वि.स. २०७६ उनको पछिल्लो प्रकाशित पुस्तक रहेको छ । प्रकाशोन्मुख कृति पनि उत्तिकै तयारी अवस्थामा रहेका छन् ।
हुन त यसरी ओझेलमा परेर बसेका भोटाङेली साहित्यकारहरू नारद तिम्सिना मात्र छैनन् । यस अघिका थुप्रै भूटानी मूलका नेपाली भाषी साहित्यकारहरूलाई समाजले चिन्न नसकेका प्रत्यक्ष उदाहरणहरू छन् जस्तै- इन्द्र खवास, टीकादत्त धिताल, दधिराम लामिटारे जस्ता अनेकौँ सर्जक र कृतिहरू समय एवं परिस्थितिले छोपिन बाध्य भएका छन् ।

समीक्षात्मक प्रणालीलाई सर्सर्ति हेर्दा:
यसरी सर्सरति हेर्दा हाम्रा भूटानी मूलका नेपाली भाषी साहित्यकारहरूले लेखेका नेपाली साहित्य धेरै ओझेलमा परेका त छँदै छ अपितु हामीसँग समीक्षक वा समालोचकहरूको पनि उत्तिकै अभाव खट्किएको महसुस हामीलाई भइरहेको छ । भाषा साहित्यको विकास भनेकै आलोचना, समालोचना, समीक्षा, चर्चा परिचर्चा हो । पूर्ण विकास भइनसकेको भोटाङेली मूलका नेपाली भाषीहरूको साहित्यिक फाँटमा समालोचनाको विकास वा जन्म नहुनु कुनै अनौठो कुरा होइन । शरणार्थी जस्तो अभावै अभावमा गुज्रिएको २० वर्षे लामो जीवन र त्यसपछिको बसाइँ सराइले ल्याएको चुनौतीहरूसँगको मुकाबिला एवं सङ्घर्षले यो विषयलाई ओझेलमा पारेको हो भन्ने सबैको बुझाइमा दुई मत नहोला । तथापि अबको जीवन भने केही मात्रामा सहज हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै हामीले मिलेर सदुपयोग गर्ने हो भने अवश्यै यसलाई उन्नति र विकासतर्फ लैजान सक्ने नै छौँ ।

अब कुरो रह्यो समालोचकको:
समालोचकका पनि भित्री विविध कारण र आफ्नै समस्याहरू देखा परिरहेका छन् । व्यवसायिकरूपमा समालोचना गर्ने पाटो छुट्टै हुन्छ । अर्को अध्ययनको सिलसिलामा र स्वयं सेवा ।
यी माथिका दुइटा विषय अहिले हामीसँग उपलब्ध छैनन् । रह्यो स्वयं सेवाको कुरो । व्यस्त जीवन, परिश्रमको थकान पारिवारिक तनाव, आलस्य, समयको अभाव, त्यस भित्र पनि दक्ष जनशक्तिको कमी र यदाकदा द्वेषका भावनाहरू नै हाम्रा मुख्य बाधक तत्त्वहरू बनिरहेका छन् ।
समीक्षा गर्नु सजिलो विषय भने पक्कै होइन । कुनै बस्तुको समीक्षा गर्न त्यसलाई आद्योपान्त बुझेर मात्र त्यसको समीक्षा गरिन्छ । कहिलेकहीँ समीक्षकले पनि चर्को आलोचना खेप्नु पर्ने हुन्छ । र, ऊसँग सहनशीलता एवं आत्मबल बलियो हुन उत्तिकै आवश्यक पर्दछ । व्यक्तिसँगको सम्बन्धलाई हटाएर साहित्यलाई राजनीतिकरण नगरीकन उसले गरेका योगदानको मूल्याङ्कन र चर्चा गर्ने परिपाटी र बानी बसालेनौँ भने हामी जहाँको त्यहीँ रहने त निश्चित छ नै इतिहासले पनि हामीलाई माफी नगर्ला ।

[ यस लेखमा व्यक्त धारणाहरू लेखकका निजी विचार हुन्। यी विचारहरूले Bhutaneseliterature.com को आधिकारिक अवधारणा प्रतिबिम्बित गर्दैनन् – सम्पादन समिति ]  

Leave a Reply

Your email address will not be published. Required fields are marked *