नियति, चिन्तन, वर्तमान र वकालत
चेतना पिएर आदर्शको
ढाड टेकेर सभ्यताको
छाती चिरेर चरित्रको
सबै सबैको दशामा लगातार
दुनियाँ यति विघ्न गरी
ओरालो लागेपछि संसारबाट
विचित्रताको ऐनामा मानवता
यसरी झर्यापझुरुप फुटेपछि
म सधैं अफसोचको दुनियाँमा
एक्लो, फगत एक्लै उभिन्छु संसारमा ।
मैले ऐना हेरेर भनें
“तँ कति अभागि छस् दुनियाँमा ! ”
ऐनाभित्र संसारको सबैभन्दा नाङ्गो मान्छे
मुसुक्क हाँसी मात्र रह्यो
मानौं ऊ नै संसार सबैमा धनी छ
म एक झोंक आक्रोस पोखिन्छु ऊमाथि
“उफ्, कस्तो वेवकुफ मान्छे तँ ता !
तँलाई तेरो साथी भनाउँदाहरुले
मसिनिकरणको खलाँतीमा सिर्फ एक्लो
मियो लतारेको बिर्सिस् क्या हो ?
तैंले तेरो नाकमाथि पहाड खसेको भुलिस् ?
जतिबेला तँ वेचैनसाथ
अन्त्येष्टिको चिहान खोज्दै थिइस्
तेरो पार्थिव अस्तित्व बिसाउनलाई
आफ्नो एक पाइलो जमिन सम्झेर रूँदै गर्दा
तैंले तेरो मातृभूमि नराम्ररी भोकाएको थिइस्
ती सबैसबै बिर्सिस् तैंले ?”
“तैंले के चाँहि भोगिनस् एक्लैएक्लै ?
के सहिनस् बाँच्ने बहानामा ?
यसरी तेरो स्वाभिमानको पहाड
चोइटिएर समथर बन्दासम्म
लालित्य भत्किएर उजाड बन्दासम्म
आँखाहरु अनाहकै चोरिँदासम्म
मनका खण्डहरहरु बलात्कृत हुँदासम्म
जो तँ आफ्नो भन्छस् सबैसबै
लुटिँदा, चोरिँदा, हड्पिँदा, नंग्यार्इंदासम्म
अझै पनि तँ किन हिमालझैं अटल छस् ?
समुद्रझैं शान्त छस् किन ?
तैंले आफ्नो स्वाभिमान बाँच्नु छैन ?
तेरो देश स्वर्ग हुँदै पैतालाहरु हिंडनु छैन ?
तैंले मुक्तिका लागि स्वतन्त्रता भोकाउनु छैन ?
तेरो छातीमा तेरो देशको शिरानी छैन ?
अस्तित्वका खातिर अन्याय भोगिरहेकी
तेरी आमालाई प्रशव पीडामा फँसाएर
किन जन्मिनु थियो तैंले यस संसारमा ?
बिद्रोह, मुक्ति र स्वतन्त्रता उमार्न होइन ?
तँलाई तेस्र्याएर मित्रताको भाँजोमा
तेरा साथी भनाउँदाहरु भनिरहेकै छन्
तँ दुनियाँमा कसैको प्राण हडप्छस्
अनि आफू बाँचेको ढाडस् पिट्छस्
तँ कसैको गाँस खोस्छस्
र स्वावलम्बनको गीतार हुइक्याउँछस्
तँलाई थाहा छ, उनीहरु भन्छन्
तँ कसैको नोकरी लुटेर
दुनियाँका आँखा अघाउँछस् ।”
यसरी उसको दिमागलाई
प्रलय गराएर बदल्न
मैले, मलाई
अनेकौं कोशिसहरुमा असफल बनाएँ ।
धत्तेरिका ! कस्तो अग्लो दिमाग भएको मान्छे ?
ऊ त अझै पो सभ्य मुस्कानमा छ
यसरी पत्थर पग्लिँदा पनि
किन ऊ हल न चल छ स्वाभिमानमा ?
म अझै अलिक पोखिन्छु आक्रोशमा–
“तँलाई थाहा छ ?
तँ ता सास् पनि अर्कैको फेर्दैछस् रे
तँ जसलाई साथी भन्दैछस्
ऊ त तेरो साख्खै यमराज हो भन्छन्
तँ बाँचेको अस्तित्व पनि तेरो होइन
जुन मुस्कान, तँ बेजोड हाँसिरहेको छस्
त्यो तेरो आफ्नो हुँदैहोइन
त्यही भएर आज तेरो अस्तित्वलाई
तेरो हाकिमले पनि निर्धक्कसँग नै
नवीन बाढी र मृत्यु बिस्कुन प्रहार ग¥यो ।
तैले सुनिस् के ?
तेरो प्राण नै उसको हत्केलामा छ रे
जागिर खानु जिउनुको सवाल छ
खाँदाखाँदै गिर्नुको दहन अर्कै छ ।
समाजवाद मार्क्ससँगै मरेर गयो
परोपकार बुद्धले नै लिएर गए संसारबाट
मानवता हराइसकेको छ दुनियाँमा
तँ, ता सिर्फ एउटा आप्रबासीमात्र होस्
र जमाना स्वार्थी छ
के पाउन सकिस् तैंले ?
लुटिएर यसरी आफैंबाट
अन्याय सहने पनि अपराधी नै हो भने
के पाउन सक्छस् चुलिएर भित्रभित्रै ?
के पाइस् अहिलेसम्म भत्किएर एकोहोरो ?”
उसको चेहरामा रङ्ग भरिएर आयो
कपाल चलमलायो अलिअलि
जब ऊ असहजझैं देखियो
सोचें बल्ल उसमा चेतना आयो
उसका ठूलाठूला गोलाकार आँखाहरुमा
उत्तेजनाका आलुबखडाहरु फूल खेल्दै थिए
अफ्सोच सबै सबै गलत गरेर
ऊ त पुनः स्वर्गिक मुस्कानबाट पोखियो
“ए ! तँ मान्छे नै होस् ?”
मैले मेरो आक्रोस सिंहनाद गरें ।
तर उसले ऐनाको आयातन ढाकेर
जाजल्यमानको हाँसोमा मलाई नै बगायो
म अझै एकचोटि जाइलाग्छु उसमाथि –
“यसरी एक्लैएक्लै हाँसेर तैंले
संसारको कुन कुनो जित्नसक्छस् ?
प्राकृतिक प्रकोप ? गरीबी ? भोकमारी ?
अर्थात् मृत्यु ? कि सबैसबै ?
कथम्कदाचित तँ अहिल्यै मरिस् भने
खोइ कहाँ छन् तेरा मलामीहरु ?
तेरो चिता बस्ने आफ्नो देश खोइ ?
कुन अर्थमा तेरो हाँसो सार्थक छ ?
तँ दुःखेको नियती कोही बुझ्दैन
दुनियाँले तँलाई इकारस देख्दैन
तैंले मित्रतामा भावनात्मक
हर्षोल्लासको स्वागरात मनाएर के हुन्छ ?
तेरो अस्तित्व दुनियाँमा शून्य छ
तैंले त्यागेर गुमाएर अनि हराएर
कहिले एकलकाँटे टेढा आँखाहरुलाई
सत्यको पक्षमा उभ्याउन सक्छस् ?
व्यर्थ छ तेरो वर्तमान
अनर्थ छ तेरो हाँसो
च्यातिँदै, भाग्दै, फुत्किँदै र उछिट्टिँदै
तटस्थताबाट वर्तमानसम्म विमुक्त आइज
अनि मेरो कवितामा चडेर हिड
तैले तेरो हराएको देश पाउने छस्
गुमेको अस्तित्व भेट्ने छस्
तँ मर्दा पनि बाँचेर उभिने छस्
तेरा पैतालाले टेकेको देश
तेरो आफ्नै देश, स्वर्ग हुने छ
तैंले आफैं बनाएको फूलबारीमा
स्वर्णिमता सजिएको तेरो चिता हुने छ
तँ स्वतन्त्र हुने छस् मर्न या बाँच्न
बल्ल त्यतिबेला यही हाँसो हाँसेर हेर
तँ कति सार्थक हुने छस् सदासदालाई
नत्र भने सौन्दर्यता भोकाइसकेको लोकमा
जहाँ जा संसारका कुनाकुनामा
तँ जस्ता जिउँदा लासहरु
हाँसे पनि, कराए पनि, रोए पनि
या चिच्याए जे गरे पनि
सडिएर गनाइरहेकै हुने छन् ।
This has something to “learn.” I read it and still like to read it coz the more I read, the further I derive “different” meanings and its SUPERB. Keep writing!
Regards and Namaste
TP-M