निर्णय त उसले जान्दैन

वैदिक अत्री
दमक

कुनै एक  प्रहर, एक साँझ
म अँधेरीलाई विजय गर्न
आधा बैंस ढलिसकेको
आस्थाको एउटै टुकी समाएर
प्रकाश मेरो सामु ल्याउने कोशिश गरें
हल्लिएर एकाएक ऐंजेरु, अग्निपिण्डजस्तै आकृति रचेर
मेरो हात वरिपरि झर्यो,
म मेरो आस्थाको विपरीतादेखि आत्तिएँ
हतासामा भयभित हुँदै आँखाहरुले सोधे
तिम्रो जिन्दगीको महत्तम उद्देश्य नै
अरुलाई जिन्दगी दिने हैन र ?
तर, अचम्ममा नै डराएँ,
किन मेरै विनाशको मात्रै षड्यन्त्र लेख्दछौ
तिमीभित्रको अथाह शक्तिलाई  सबैले मान्छन्
सम्मान लेख्छन्,
कमजोरीमाथि मन बल्यो
तिमी आगो हौ, शक्तिले विद्यमान ऊर्जा हौ,
समय जटिल बन्यो होला
समय कमजोर पनि बन्यो होला ,
तर, सत्य हो टुकीको आगोको कथा पनि,
ज्वलामुखीजस्तै प्रचण्ड हो
अनि अन्त्य सत्य लेख्दै छु
बलेको बत्तीले उज्यालो दिन्छ,
बलेको बत्तीले सबैलाई जलाउन पनि सक्छ !
कारण, आगोले मात्रै जल्न र जलाउन जानेको हुन्छ,
निर्णय त उसले जान्दैन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *