नेपालीलाई नेपालीकै पत्र हिन्दीमा

सुदर्शन शर्मा

नेपालको एउटा वैदिक गुरुकुल (संस्कृत पाठशाला) का पदाधिकारीहरूले भारतमा रहने एक जना नेपालीभाषीलाई हिन्दी भाषामा औपचारिक पत्र लेखेर नेपाली भाषाप्रतिको गम्भीर उपेक्षा दर्साएका छन् ।

नेपालको झापा जिल्लास्थित ‘श्रीशंकराचार्यपीठ’ नामक गुरुकुल पाठशालाका पदाधिकारीहरूले वाराणसीस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका दर्शन सङ्काय प्रमुख डा. हरिप्रसाद अधिकारीलाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा गर्दै सो पत्र लेखेका हुन् ।

Letter to Dr. Hari Prasad adhikariकुनै व्यक्तिगत विषयमा यस्तो पत्र लेखिएको भए यसबारे चर्चा आवश्यक थिएन । संसारका मानिसहरुबीच जुनसुकै भाषामा पनि विचारको आदान-प्रदान हुनसक्छ । तर, नेपालभूमिमा हुने सार्वजनिक कार्यक्रममा एक जना नेपालीभाषी विद्वानको उपस्थितिका निम्ति निमन्त्रणा हिन्दी भाषामा पत्र लेखिएकोले यहाँ नेपाली भाषाप्रति अवहेलना भएको सङ्केत पाइन्छ ।

‘पत्र लेख्ने नेपाली, पत्र पाउने नेपालीभाषी, बोलाइएको स्थान नेपाल तर, पत्रचाहिँ हिन्दीमा किन?’ यस्तो प्रश्नमा डा. हरिप्रसाद अधिकारीले विश्वविद्यालयबाट छुट्टी मिलाउन सजिलो हुने हुँदा हिन्दीमा पत्र लेखिएको बताउनु भएको जानकारी यस पंक्तिकारलाई स्रोतले दिएको छ ।

भारतमा लाखौँ नेपालीभाषीहरु बस्छन् । केही राज्यहरूमा सरकारी कामकाजको भाषा नेपाली नै छ । केही विश्वविद्यालयले आफ्नो पाठ्यक्रम विषय पनि नेपाली भाषालाई बनाएका छन् । राष्ट्रिय तहमा साहित्य अकादमी छ जसले भारतभरिबाट नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिहरूलाई पुरस्कार पनि प्रदान गर्दछ । कुरो यतिमात्र होइन, भारतीय संविधानको आठौँ अनुसूचीमा पञ्जिकृत नेपाली भाषा भारतको राष्ट्रिय भाषा पनि हो । भारतमा नेपाली भाषा आधिकारिक भएको कुरा सम्पूर्णानन्द विश्वविद्यालय र डा. हरिप्रसाद अधिकारीलाई जानकारी नहुने कुरै भएन ।

यदि सो पत्र नेपाली भाषामा लेखिएको भए सं.वि.वि. प्रशासनले अनुवाद गर्न सक्तैन थियो त? भाषाहरूको अन्तर्राष्ट्रिय मर्यादा र देशको मूल राष्ट्रिय स्वाभिमानको सवाल गाँसिएको छ यस विषयमा । नेपाल एउटा देश हो । त्यस देशको विद्यालय भनेको शैक्षिक उद्देश्यमा स्थापित संस्थान हो । शैक्षिक संस्थानले भाषाको मर्मलाई देशको राष्ट्रियतासित एकाकार गराउन सक्नुपर्छ । यतिमात्रै होइन, जसले पत्र लिने हो उनी पनि नेपालीभाषी विद्वान हुन् । के नेपालीहरूको आफ्नो भाषाप्रतिको आत्मविश्वास यति दुर्बल छ ? कि कुनै भञ्ज्याङ, खोला, डिल नाघेपछि पुरै रुपान्तरित हुनुपर्छ ?

यहाँनेर अन्योल कहाँ आयो भने आयोजकहरूले पत्र लेख्तै गर्दा आफैँ हिन्दी भाषामा लेखे कि कुन भाषामा कसरी लेखौँ भनेर डा.हरिप्रसाद अधिकारीलाई सोधे ? यदि उहाँलाई सोधेर उहाँकै सल्लाह अनुसार पत्र हिन्दी भाषामा लेखिएको भए डा.हरिप्रसाद अधिकारी र सम्पूर्णानन्द विश्वविद्यालयले नेपाली भाषाको उपयोगिताप्रति कस्तो विचार राख्छन् भन्ने खरो प्रश्न खडा भएको छ । सम्पूर्णानन्द विश्वविद्यालयका एक उच्च प्रतिष्ठित विद्वानले भाषाको मर्म र संवेदनशीलता नबुझ्ने कुराको कल्पना पनि गर्न सकिँदैन ।

यदि आयोजक पक्षले नै सरासर हिन्दी भाषामा सार्वजनिक पत्र लेखेको भए त्यो नेपाली भाषाप्रतिको गम्भीर उपेक्षा हो ! नेपाल-भारतबिच सीमास्तम्भ पुनर्निर्माणको सिलसिलामा नेपालको भूमि मिचिएको विवाद चलिरहेको वर्तमान परिस्थितिमा देखिएको यो पराधीन नेपाली मानसिकताको नमुना हो । सम्पूर्ण स्वत्व हराइसकेका परजीवी प्राणी जस्ता नेपालीहरू भएमा त्यो अवस्था संसारभरिका कुनै पनि नेपालीभाषीको लागि खुसीको विषय हुन सक्तैन ।

सूत्रधार जोसुकै होस् तर, नेपाली भाषाप्रतिको मर्म र संवेदनशीलतामाथि यसरी नखेलियोस् । डा. हरिप्रसाद अधिकारीको व्यक्तिगत हैसियतप्रति अनादर पनि नहोस् । तर, एउटा विश्वविद्यालयको प्रोफेसर बनिसकेका नेपालीभाषीको गरिमामाथि भाषिक विषयले आँच नपुऱ्यावस् । अनि धार्मिक शिक्षादीक्षा र पौराणिक अनुशासनको दृष्टान्तमार्फत नै आधुनिक नेपालको राष्ट्रियता जोगाउँछौँ भन्ने नारा लागिरहेको बेला धार्मिक र शैक्षिक क्षेत्रका अग्रजहरूको बौद्धिक दुर्बलता पनि यसरी छताछुल्ल नपोखियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *