नेपाली पाठ्यपुस्तक “हाम्रो नेपाली भाषा” र वेवसाइट “हाम्रो पाठशाला” विमोचित
नेपाली भाषा संरक्षण गर्ने अभियानअन्तर्गत अमेरिकामा भर्खरै पुन: अर्को पाठ्य पुस्तकको लोकार्पण भएको छ। मिनिसोटा निवासी खिम खतिवडाले तयार पारेको “हाम्रो नेपाली भाषा” नामक पुस्तक अप्रैल १५ का दिन लोकार्पित भएको छ। आयोवा राज्यअन्तर्गत डिमोइन सहरमा ‘हिन्दु सांस्कृतिक तथा शैक्षिक केन्द्र’ तथा सी.आर्.सी. को संयुक्त आयोजनामा आयोजित नयाँ वर्षको सांस्कृतिक कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो।
कार्यक्रमका आयोजक र लेखक स्वयंद्वारा प्रकाशित गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- “पुस्तक ‘हाम्रो नेपाली भाषा’ नामक पाठ्य पुस्तक शृङ्खलाको दोस्रो भाग हो।” यस पुस्तकको पहिलो भाग गत वर्ष मिनिसोटामा लोकार्पित भएको थियो।
यस पुस्तकको विमोचन श्री टंक धितालको सभापतित्वमा र डिमोइन सहरका मेयर फ्रेन्कलिन क्याउनीको मुख्य आतिथ्यमा भव्य नेपाली सांस्कृतिक कार्यक्रमकाबीच भएको थियो। यस कार्यक्रममा भूटानी समाजका वयोवृद्ध विद्वान पं.शिवप्रसाद पोखरेललगायत आयोवा राज्य सिनेटर म्याट म्याकोइ, नागरिक तथा मानव अधिकारका निर्देशक जोसुवा भी. बार आदि विशिष्ट व्यक्तित्वहरूद्वारा उक्त पुस्तकको विमोचन गरिएको थियो।
कार्यक्रममा पुस्तक विमोचनका साथै ‘हाम्रो पाठशाला” नामक वेबसाइटको पनि उद्घाटन भएको कुरो विज्ञप्तिमा जनाइएको छ। उक्त विज्ञप्तिमा “यो वेबसाइट पुस्तकका लेखक खिम खतिवडाले नेपाली भाषा शिक्षणलाई सहज बनाउन अनलाइन पढाइने उद्देश्यले निर्माण गरेका हुन्” भनिएको छ। लेखको भनाइ अनुसार गीता, नैतिक शिक्षा र भाषा शिक्षालाई एकै साथ एकै स्थानबाट संचालन गर्ने योजनाअन्तर्गत यसो गरिएको बताइएको छ।
कार्यक्रममा स्थानीय कलाकारहरू लगायत ढकाल ब्रदर्स आदि कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने अतिथि वक्ताहरूले नेपाली भाषी भूटानीहरू आफ्नो भाषा र संस्कृतिका लागि समर्पि देखिनु राम्रो पक्ष हो भन्दै आफूहरुले सकेसम्म सो अभियानमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए। लेखक खतिवडाले आफ्नो वक्तव्यमा भूटानीहरू पुनर्स्थापित भएका देशहरूमा नेपाली भाषा लोपोन्मुख हुँदै गरेको अवस्थामा एक नाति र हजुरवा बीचको टुट्दै गरेको भाषिक सम्बादलाई मलजल गर्न सकियोस् भन्ने आफ्नो उद्देश्य रहेको बताएका थिए। “तपाईँहरूको साथ रहेमा आगामी शृङ्खलाहरू पनि तयार पार्नेछु,” उनले भने।
खतिवडाले पुस्तक पुस्तक सहज, सरल र अभ्यासात्मक पद्धतिमा आत्याधुनिक शैलीमा लेखिने प्रयास भएको बताए। उनले पुस्तकको निर्माण, सम्पादन र प्रकाशनमा सहयोग गर्ने डा.लक्ष्मीनारायण ढकाल लगायत कदमकदममा साथ दिने उनकै श्रीमती खिना खतिवडा, सम्पूर्ण ज्ञात-अज्ञात सहयोगीहरू र कार्यक्रमका आयोजकहरूलाई धनयवाद ज्ञापन गरेका थिए।