नेपाली साहित्य परिषद-भूटानका संस्थापक अध्यक्षको वक्तव्य
भक्त घिमिरेज्यू,
अध्यक्ष
भूटान साहित्य परिषद् |
संग्रामी अभिवादन,
प्रवासी भूटानी नेपालीहरुको भाषा,साहित्य र संस्कृति संरक्षणको ठूलो दायित्व बहन गर्ने एउटा जिम्मेवार तथा गरिमामय संस्था नेपाली साहित्य परिषद भूटानको अध्यक्षको रुपमा निर्वाचित हुनुभएको सुन्न पाउँदा साह्रै खुशीको अनुभव भइरहेको छ । त्यसैले सर्वप्रथम यहाँ र यहाँका सहकर्मी योद्धाहरुलाई हार्दिक शुभकामना एवं वधाइ ज्ञापन गर्न चाहन्छु । नेपाली साहित्य परिषद भूटानले वर्तमान हाम्रो परिस्थिति तथा युगको चाहना अनुरुपको नेतृत्व पाएको छ । यसमा दुई मत छैन । नेपाली साहित्य परिषदका लागि तपार्इंहरु जस्ता जागरुक स्रष्टाहरुको आवश्यकता पनि अब दोब्बर भएको छ ।
कागजी खेतमा मसीको मल छरेर कलमरुपी हलोले जोतेर भाषाको बिऊ रोपेर साहित्यरुपी बाली उत्पादन गर्नु कम चानचुने कुरा होइन । यो काम भनेको भाषा,साहित्य,समाज र संस्कृतिप्रति आस्था एवं विश्वास राख्ने सचेत वर्गको हो । समाजको सचेत वर्ग भनेकै लेखक,कवि,साहित्यकार,कलाकार एवं सिर्जनाकारहरु हुन् । भाषा हरायो भने न समाज नै रहन्छ नत संस्कृति नै । भाषाको विकास नभई न सिर्जना नै हुनसक्छ नत परिपक्व साहित्यको नै जन्म हुनसक्छ । त्यसैले भाषाको जगेडा गर्नु हामी सचेत वर्गको पहिलो कर्तव्य हो ।
आफ्नै पौरखमा बाँचेका र आफ्नै पनमा रमाएका हामी बनमाराका सन्तानहरुलाई परिस्थितिले तितरवितर बनाएको अवस्था छ अहिले । भूगोलका विभिन्न देश तथा महादेशहरुमा स्वाभिमानी भूटानी आमाका सन्तानहरु आज विलयको संघारमा पुगेका छन् । पहिलाको जस्तो हातमा हात र काँधमा काँध लगाएर अघि बढ्ने कुरा भौगोलिक विकटताको कारण असम्भव भएको छ आज । हाम्रा विचार,मान्यता र आस्थाहरु पनि पृथक भएका छन् । अवसर र चुनौतिहरु पनि साझा रहेनन् हाम्रा । अवसरभन्दा पनि धेर चुनौतिहरुको पहाड हाम्रा अघि उभिएको छ । तीन पुस्ते द्वन्दबाट परिवारिक अखण्डता विछिन्न भएको छ । नयाँ समाज, नयाँ देश र परिवेशमा हराइरहेका भूटानीहरुलाई धर्मान्तरणको खतरा पनि त्यतिकै बढिरहेको छ एकातिर भने अर्कोतिर भूटान र नेपालमा हासिल गरेका सीप र शिक्षाले पुनर्स्थापित देशहरुमा त्यति काम नगरेकाले प्राय शिक्षितवर्ग हतोत्साहित बनेको अवस्था छ । खुम्चिएर एउटा बन्दकोठामा बस्न विवश बुढा बुढीहरुको समस्या र खुला तथा स्वतन्त्र विश्वपरिवेशलाई आत्मसात गर्न आतुर किशोर तथा युवा भाइ बहिनीहरुले आफनो संस्कार र संस्कृति बिर्सिन्छन् कि भन्ने खतराप्रति पनि त्यतिकै चिन्तित हुनु परेको छ पुनर्स्थापितहरुले यतिबेला । काम, माम र रोजगारीको समस्याको समाधानमा व्यस्त भएका भूटानीहरु सामाजिकरुपमा संगठितसमेत हुनसकिरहेका छैनन् । भाषा संरक्षणको अभियानलाई जीवनमा कामै नलाग्ने कार्य भनेर त्यसका निम्ति स्रोत र साधन खर्चिनु त्यति सान्दर्भिक छैन भन्नेहरुको एउटा जमात पनि तयार भइरहेको छ भने अर्को जमात भाषा हरायो भने जातीय पहिचान समाप्त हुन्छ भन्ने खतराप्रति पनि त्यतिकै चिन्ताग्रस्त छ । आजको दशवर्षपछि हामी सवै आर्थिक तथा प्राविधिकरुपमा सम्पन्न हुने छौ तर केही गरिएन भने त्यतिबेलासम्म न हाम्रो भाषा नै रहनेछ नत सामाजिक पहिचान नै । विद्यमान यत्राविघ्न चुनौतिहरुका बाबजुद पनि पुनर्स्थापित भूटानीहरुको भाषिक तथा सांस्कृतिक पहिचानलाई जिवन्त राख्नको निम्ति नेपाली साहित्य परिषद् भूटानको आवश्यकता अनिवार्य ठान्ने तमाम शुभचिन्तक, लेखक, कवि, साहित्यकार, कलाकार एवं भाषा एवं जातिप्रेमी सज्जन मित्रजनहरुको आग्रह र अनुरोधलाई ध्यानमा राख्दै मैले परिषद्को पुनर्गठन वा पुर्नसंरचनाको पक्षमा सहमति जाहेर गरिसकेको थिएँ । मैले पुनर्सरचनाको लागि घोषणा गर्नुभन्दा पहिला नै परिषद्को निर्वाचन भइसको रहेछ र पषिदको पुर्नगठित अध्यक्षको जिमेवारी शिवलाल दाहाल हुँदै भक्त घिमिरेको काँधसम्म आइसकेछ । र पुनर्गठित संरचनाको ढाँचा पनि सार्वजकि गरिसक्नु भएको रहेछ । सम्भवत: परिषदको यो ढाचा सबैको लागि स्वीकार योग्य हुनसक्छ ।
अहिलेको अवस्थामा भाषा, साहित्य र संस्कृतिको जगेडा गर्नको निम्ति एउटा भाषिक तथा सांस्कृतिक संगठनको नितान्त आवश्यक भएको ठहर गर्दै नेपाली साहित्य परिषद् भूटानलाई पुनर्संरचनाको प्रक्रियाबाट सशक्त,प्रभावशाली र गतिशील बनाएर शीघ्र अघिबढ्नु पर्छ भन्ने भूटानी मित्रहरुको आग्रहह अनुरोध अब सार्थक बनेको छ । यसरी लामो अनुभव, १६ वर्षे इतिहास बोकेको र समस्त भूटानीहरुको पहिचानको साझा माध्यम बन्दै आएको एउटा सिर्जनशील संस्थालाई यसरी मुर्छित अवस्थामा राखिराख्न हुँदैन भनेर सबै शुभचिम्तक एवं मित्रहरुसँग सम्पर्क गर्ने प्रयास गरें तर त्यसमा पनि असमर्थ भएँ । मैँले परिषद्को जिम्मेवारी कपिलमुनिज्यूलाई सुम्पिएर म त्यहाँबाट हिँडेको थिएँ । त्यसपछि परिषद कसरी अघि बढ्दैछ भन्ने मलाई औपचारिरुपमा थहा भएन । मैले नेपाल छाडेको लगभग २ वर्षपछि भोला सापकोटा, खेम काफले र ईश्वरी मिश्र अमेरिका आइपुगे छन् । भोला सापकोटाकै मुखबाट कपिलमुनि दाहाल पुनर्स्थापनाकै क्रममा अष्ट्रेलिया पुगेको जानकारी पाएँ । भोलाजी र मिश्रजीसँग शुरुमा दुई पटकसम्म त सम्पर्क भएको थियो तर खेम काफलेज्यूसँग भने अझसम्म सम्पर्क हुनसकेको छैन । मेरो सम्पर्कको संघर्ष जारिनै छ ।
त्यसैले पुनर्संरचनाको प्रक्रियाबाट यसलाई बिंम्ताएर गतिशील र प्रभावकारी बनाउनु नै आजको आवश्यकता हो भन्ने मैले ठानेको थिएँ र भयो पनि । ढिलै भए पनि मेरो धृष्टता अब सार्थक भएको मैले अनुभव गरेको छु । अब मेरो निर्णय ठिक बेठिकभन्दा पनि अब परिषद्को सम्भावित कार्यक्रमहरु कस्तो हुनुपर्छ र कार्यक्रमहरुका माध्यमबाट सबैलाई समेटेर कसरी यसलाई अगाडि बढाउन सकिन्छ भन्नेबारेमा आवश्यक सल्लाह,सुझाव र सकारात्मक प्रतिक्रियाको वढी आवश्यकता छ । त्यसैले भूटानी समुदायको पहिचान र उनीहरुको भाषिक तथा सांस्कृतिक धरोहरको संरक्षण, उतरोत्तर प्रगति र समुनतिको निम्ति सबैको प्रेरणादायी सल्लाह, सुझाव र सहयोगको नितान्त खाँचो छ । यस खाँचो पुर्ति गर्नको निम्ति नेपाली साहित्य परिषद् भूटानका वर्तमान तथा निवर्तमान कार्यकताहरु, संस्थापक सदस्यहरु, कवि, कलाकार, लेखक, साहित्यकार, तमाम साहित्यका विद्यार्थीलगायत शुभचिन्तक एवं भाषा प्रेमी सम्पूर्ण भूटानीहरुमा म पुन अनुरोध गर्न चाहन्छु ।
मिति: ६ । १६ । ११
शुभचिन्तक
गंगा लामिटारे
संस्थापक अध्यक्ष
नेपाली साहित्य परिषद्, भूटान