नैतिक जीवन :- किन र कसरी
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
मानव चेतनशील प्राणी हो I चेतनशील भन्नुको अर्थ हो बुद्धि विवेकयुक्त प्राणी I साथै वाक् क्षमता भएको प्राणी पनि मानव मात्र हो I मानवले आफ्ना भावना, विचार र प्रतिभाहरूलाई बोलेर अभिव्यक्त गर्न सक्दछ, तर अन्य प्राणीहरूमा यी क्षमताहरू हुँदैनन् I तर बुद्धि भन्ने तत्त्व मुटु, फोक्सो, दिमाग जस्तो आन्तरिक अङ्ग अवश्य होइन I बुद्धिलाई हतियार उद्द्याए झैँ बारबार उद्ध्याइरहनु पर्दछ र मात्र उसको विकास भइरहन्छ I बुद्धिलाई उद्याउने काम शिक्षाले, चिन्तन मननले गर्दछ I त्यो चिन्तन मननपनि सकारात्मक जब हुन्छ तब मात्र मानव अनुकूल बुद्धिको विकास हुने हो I त्यसैले मानवलाई सही अर्थमा मानव बन्न केही मूलभूत कार्यहरू र आवश्यक शिक्षाको सदैव खाँचो हुन्छ I मानवले ज्ञानार्जनद्वारा आफ्नो उन्नति र अन्य जीवनको हित, रक्षा र सम्मान गर्नु पर्दछ I यदि मानवले त्यसो गर्न सकेन भने चेतनशीलताको दुरुपयोग हुन्छ I अतः मानवलाई मानव भएर बाँच्न र अरूको हित गर्न ज्ञान, विज्ञान र नैतिक मूल्यको धारण गर्न परम आवश्यक हुन्छ I त्यसैले मानवलाई नैतिक मूल्यको बोध हुन जरुरी देखिन्छ I
‘मूल्य’ शब्दका सामन्य र विशिष्ट गरी दुई अर्थ हुन्छन् I सामान्य अर्थमा मूल्य भनेको रकम, दाम, ‘कस्ट’ भन्ने बुझिन्छ जो पैसासँग सम्बन्धित हुन्छ I तर जब त्यही मूल्य विशिष्ट अर्थमा जीवनसँग जोडिन्छ, त्यो ‘जीवनमूल्य’ कहलाउँछ I जीवनमूल्य भन्नाले जीवनको उच्च उद्देश्य, उच्च विचार, सकारात्मक चिन्तन र उच्च आदर्श नै हो, जसद्वारा संसार अवलोकित हुन्छ, प्रकाशित बन्दछ I उच्च जीवनमूल्यलाई सजाउने काम नैतिक गुणले, नैतिक मूल्यले थामेको हुन्छ I त्यसैले मानवलाई नैतिक शिक्षाको खाँचो सदैव भइरहन्छ I अतः मानवले सही अर्थमा मानव बन्न नैतिक जीवनको लामो अभ्यास गर्न आवश्यक छ I
नैतिक जीवन भन्नाले दैनिक जीवनमा अपनाइने मानवोचित गुण, व्यवहार र सकारात्मक चिन्तन, विशुद्ध जीवनवृत्ति बुझिन्छ I ज्ञान पुस्तकबाट मात्र प्राप्त हुँदैन I ज्ञानका विभिन्न आयाम छन्, विभिन्न स्वरूप हुन्छन् I वस्तुत: मानवले पुस्तकबाट पढेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग साटेन भने त्यो पुस्तकीय ज्ञान नैतिकताबाट टाढिन्छ I त्यसैले शिक्षा-व्यवस्थामा नैतिक पाठलाई समेट्ने मानक हुन आवश्यक हुन्छ I मानवले विद्यालयीय शिक्षाबाट जब बुद्धिको विकास गर्न थाल्दछ त्यतिबेला उसलाई नैतिक जीवनमूल्य के हो भन्ने जान्न आवश्यक हुन्छ I यसका साथ-साथै व्यक्ति जब व्यवहारमा प्रवेश गर्दछ त्यतिवेला हिजो उसले विद्यालयमा पढेका विषयहरूलाई समाजमा प्रयोग गर्न थाल्दछ I अतः मानवले संसारबाट, समाजबाट, दैनिक व्यवहारबाट र जीवनबाट पनि धेरै कुराहरू सिक्दछ I यही सिकेको कुरो प्रयोग गर्दै अनुभवमा परिणत हुन्छ र त्यसको दृढीकारण हुन्छ I यद्यपि मानवले समाजबाट राम्रा कुरापनि सिक्दछ, नराम्रा कुरापनि सिक्दछ I राम्रा विषयहरूबाट र राम्रा सङ्गतबाट राम्रा कुरा सिक्दछ भने नराम्रा परिवेशबाट नराम्रा कुरा नै सिक्ने गर्दछ I तर, बुद्धिरुपी चाल्नामा (फिल्टर) चालेर सत्यको कसौटीमा त्यस विषयलाई निर्णयात्मक निष्कर्ष निकाल्नु चेतनशीलताको परिणति हुन जान्छ I
“मानव मन एउटा उद्दण्ड स्वभावको वायुपंखी घोडा जस्तै हो, उ जताततै दगुर्ने प्रयास गर्छ”
वस्तुत: जीवन निरन्तर सिक्ने थलो हो I मानिसले जीवनभर नै केही न केही सिकिरहन्छ I शिक्षा शास्त्रमा सम्पूर्ण जीवनलाई शैक्षिक प्रक्रिया भनिन्छ भने त्यही कुरालाई अङ्ग्रेजीमा learning proses भनिन्छ I राम्रा व्यवहार जति सबै नैतिक हुन्छन्, तर नकारात्मक व्यवहार जति सबै अनैतिक मानिन्छन् I अनैतिक कुराले समस्या, कुसंस्कार र दु:खलाई उत्पन्न गराउँछ I सकारात्मक चिन्तनबाट उत्पन्न प्रत्येक विषयले आत्मसन्तुष्टि, नैतिकता, ज्ञान, आदर्श, सुसंस्कार, सुख र शान्तिलाई जन्माउँछ I अतः सकारात्मक, लोकोपकारी उच्च आदर्शयुक्त जीवनशैली, स्वस्थ परिवेश र स्वस्थ शिक्षाबाट प्रष्फुटित जीवनलाई नैतिक जीवन भन्न सकिन्छ I त्यही जीवन सुखी र शान्त जीवन बन्दछ I
यही विषयलाई अर्का भाषामा भन्ने हो भने धर्म र अधर्म पनि भन्न सकिन्छ I किनकि धर्म भनेको मानवीय सद् व्यवहार नै हो, जो उसको स्वभाव हो, उसको प्रकृति हो I यो प्रकृतिरुपी धर्म बाह्य शरीरको नभएर आन्तरिक शरीरको हो I आन्तरिक शरीर भनेको नै चेतन तत्त्व हो, उसको स्वरूप, स्वभाव र शक्तिलाई चिन्न सक्नु र तदनुरूप जीवनशैलीको अभ्यास गर्नु मानवको कर्तव्य हो I त्यो अभ्यास जब पर्मार्थका लागि (अत्मोन्नतिका निम्ति) प्रयोग हुन्छ तब त्यसले आध्यात्मिक धर्मको नाम धारण गर्दछ I तर, जब त्यो अभ्यास परार्थकालागि प्रयोग हुन्छ त्यसलाई व्यवहारिक धर्म भनिन्छ I
यी सबै सकारात्मक पक्षलाई आफ्ना दैनिक व्यवहारमा ढाल्नु र त्यसको बारम्बार अभ्यासद्वारा सभ्य र सफल जीवन जिउनु नै नैतिक जीवन हो I शब्दान्तरमा भन्ने हो भने नैतिक जीवनलाई नै आदर्श जीवन भन्न सकिन्छ I
मानव जीवनमा राम्रा कुरा त्यति छिटो आउँदैनन् अर्थात् मानवले राम्रा कुरा सिक्न निकै ठुलो सत्प्रयास गरिरहनु पर्दछ, तर नराम्रा कुरा साह्रै छिट्टो टिप्दछ I यसको कारण वातावरण नै हो I मानवीय प्रवृत्ति वातावरणले छिट्टो प्रभावित हुने गर्दछ I मानवीय इन्द्रियहरू रटिरटाऊ विषय भन्दा दैनिक व्यवहारमा भइरहेका विषय, दृश्य र वातावरणबाट सहज रूपमा विषयहरूलाई ग्रहण गर्ने गर्दछन् I व्यवहारमा हुने राम्रा कुरामा भन्दा नराम्रा कुरामा छिटो प्रभावित हुनु इन्द्रियहरूको स्वभाव हो, मनको दुर्बलता हो I मनको र बुद्धिको निर्णयात्मक क्षमतामा ह्रास आउनाले हाम्रा बाह्य इन्द्रीयहरूपनि भोगी बन्दछन्, भोगवृत्तिमा रमाउन थाल्दछन् I त्यसैले जीवनमा मन, बुद्धि र इन्द्रियहरूको परिमार्जन, धोई पखाली गर्दै गर्न आवश्यक हुन्छ I त्यसकालागि सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान दुवैको अर्जन आवश्यक देखिन्छ I तदर्थ स्वाध्याय, सत्सङ्ग, सेमिनार, अनुसन्धान र अभ्यास भइरहनु पर्दछ I नत्र मानवले आफ्नो बाटो छोड्दछ, आफ्नो कर्तव्य बिर्सिन्छ, आफ्नो धर्म त्याग्दछ I
मानव मन एउटा उद्दण्ड स्वभावको वायुपंखी घोडा जस्तै हो, उ जताततै दगुर्ने प्रयास गर्छ I बुद्धिरुपी सारथिले त्यस चञ्चले घोडालाई लगाम लगाउन सक्नु पर्छ I तब मात्र उसलाई स्थिर र नियन्त्रण गर्न सकिन्छ I दु:ख र सुखको कारणपनि यही मनलाई नै मानिछ I अतः मनको नियन्त्रण गरे मानवले आवेग, संवेग, क्रोध, ईर्ष्या, लोभ, भोग आदि दुर्गुणहरूबाट बच्न सक्दछ I दु:ख र अशान्तिका कारक यिनै दुर्गुणहरू हुन् I यिनै दुर्गुण र सद्गुणहरूलाई चिनाउने काम नैतिक शिक्षाले गर्दछ I यिनै जीवनका शत्रुहरूलाई चिनाउने काम चेतन तत्त्वले गर्न सक्नु पर्दछ I त्यसैले नै हो मानवलाई चेतनशील प्राणी भनिएको I यो चेतनतत्त्व नै बुद्धितत्त्व हो I यही चेतनतत्त्वले नै राम्रो र नराम्रो छुट्ट्याउन सक्नु पर्दछ I यदि बुद्धिले सही र गलत छुट्ट्याउन सकेन भने बुद्धिको उपचार गराउनु पर्दछ I बुद्धिको उपचार सकारात्मक, ज्ञान, चिन्तन मनन र अभ्यासद्वारा मात्र सम्भव छ I मानवले म को हुँ, मेरो कर्तव्य के हो र मेरो जीवनको सीमारेखा कहाँसम्म छ भन्ने बुझेन भने समस्यामा फस्दछ I अतः बोली-वचन, रहन-सहन, खान-पान, पहिरन, भाषा आदि विषयहरूमा सावधान रहनु पर्दछ I ग्रहण गर्न योग्य कुरालाई ग्रहण गर्न र त्याग्नु पर्ने कुरालाई त्याग्न तत्परता देखाउनु पर्दछ I सदैव उच्च लक्ष्य राख्दै सकारात्मक बन्नु पर्दछ I परिश्रमको फल सदैव मीठो हुन्छ I हतोत्साह र कर्मको त्याग मानवको धर्म होइन I
मानवबाट गल्ती हुनु स्वाभाविक हो, तर त्यही गल्तीलाई पुन दोहोर्याउनु गलत हो, त्यसलाई तुरुन्त सच्याई हाल्न सक्नु पर्दछ I त्यसैले त भनिन्छ गल्तीबाट सिकिन्छ I यदि यति कुरालाई ध्यानमा राखेर अघि बढ्ने हो भने मानवले अमृत नै अमृत प्राप्त गर्न सक्दछ, त्यसो गर्न नसक्दा जीवन नै विष बन्दछ I
ठुला बडा र अभिभावकको दायित्व –
भागवत गीतामा श्रीकृष्णले भनेका छन् –
यद्यदाचरति श्रेष्ठ तत्तदेवेतरो जन: I
स: यत्प्रमाणं कुरुते लोकस्तदनुवर्त्तते II
अर्थात् आफू भन्दा ठुला, शिक्षित, ज्ञानी, अनुभवि र परिवारका ज्येष्ठ सदस्यहरूलाई संसारले अनुसरण गर्ने गर्दछ I उनीहरूले जुन कुरा सही हो भन्छन्, जसलाई प्रमाणित गर्दछन्, सामान्य वर्गले त्यस कुरालाई अनुसरण या स्वीकार गर्ने गर्दछ, यो संसारको स्वभाव हो I त्यसैले समाज लगायत आफ्ना बालबालिकालाई सही मार्ग देखाउनु ज्येष्ठ जनको उत्तरदायित्व हुन्छ I अतः भावी पुस्ता र आफ्ना शिष्य, विद्यार्थी र अनुसरण गर्ने व्यक्तिहरूलाई सद् मार्ग , आदर्श जीवन र नैतिक आचरण सिकाउनु उनीहरूको कर्तव्य हो, धर्म हो I त्यसैले समाजका ती प्रत्येक बुद्धिजीवीले अत्यन्त सतर्कताकासाथ सिङ्गो समाजको हितलाई ध्यानमा राखेर जीवन दर्शन, भाषा, संस्कृति, उच्च आदर्श, नैतिक शिक्षा आदि अमूल्य विषयहरूलाई पस्किन सदैव तत्पर रहनु पर्दछ I
सतर्कता-
धेरै परिवारमा यदाकदा सा-साना बालबालिकाहरूलाई अप्रिय शब्दहरूको प्रयोग गरेको सुनिन्छ I मायाले नै भनिएता पनि काले, बज्या, गुइँठे आदि शब्दहरूको प्रयोग गरिनु हुँदैन, किनकि बाल स्वभाव नै सिक्ने स्वभाव हो I जस्तो सुन्छन् त्यसै सिक्छन् अनि भोलिपल्टदेखि त्यस्तै प्रयोग गर्न थाल्दछन् I अतः शब्द प्रयोग गर्दा नाप-तौल गरेर, काट छाँट गरीवरी, अर्थ र परिस्थिति अनुकूल प्रयोग गरिनु नै शिक्षित व्यक्तिको लक्षण हुन जान्छ I अतः जीवनमा सकारात्मक शिक्षाको ठुलो महत्त्व हुन्छ I
यसरी जीवनका हरेक मोडमा सतर्कता अपनाउने हो भने, सकारात्मक भावना, प्रिय बोली, सत्यानुशारण गर्ने हो भने सुन्दर समाजको परिकल्पना हुन सक्छ I उच्च जीवन आदर्श स्थापित हुनसक्छ I
अर्को महत्त्वपूर्ण विषय हो चरित्रको संरक्षण I आदर्श बन्न सत् चरित्र चाहिन्छ I चरित्रको संरक्षण नै आदर्श जीवन तथा सफल जीवनको मूल मन्त्र हो I नैतिक पतनले आफ्नो स्वयंको उन्नतिमा पूर्णविराम त लाग्छ नै समाज पनि दूषित बन्दछ I सुन्दर र सात्विक खान-पान, उचित आहार-विहार, सुन्दर मानसिक तथा शारीरिक स्वास्थ्यका मूल कारक हुन् I
यी उपर्युक विषय बाहेक मानवलाई नैतिक मूल्यलाई चिनाउन संस्कृतिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ I हामी जब आफ्नो भाषा, साहित्य र संस्कृतिगत वातावरणबाट विभिन्न कारणले टाढिन्छौँ बिस्तारै हामी स्थानीय बहुसङ्ख्यक भाषा संस्कृतिका प्रभावले प्रभावित हुन थाल्दछौँ I यस प्रभावले आफ्नो रगत सँग गाँसिएको संस्कार, संस्कृति, परम्परा र सभ्यतालाई भुल्न थाल्छौँ, जसले हाम्रो आदर्श र नैतिक जीवनमूल्यमा ह्रास आउन थाल्दछ I वर्तमानमा हामी र हाम्रो नयाँ पुस्ता यस रोगको सिकार बन्दैछौं I अतः नैतिकवान बन्न भाषा-संस्कृतिको रक्षा परम आवश्यक छ I
मानवलाई आजको तनावग्रस्त जीवनशैलीमा मानसिक स्वास्थ्य, उच्च मनोबल, उच्च आदर्श, नैतिक शिक्षा र आध्यात्मिक अभ्यासको ठुलो खाँचो देखिन्छ I हामीले नैतिक जीवनमूल्यलाई स्थापित गर्न घरबाटै अभियान आरम्भ न गरे सुन्दर समाज, सुन्दर राष्ट्र र स्वस्थ विश्वको परिकल्पना गर्न सकिँदैन I अतः आउनुहोस् आजैबाट नैतिक जीवन जिउन र त्यसका कारक तत्त्वहरूको अध्ययन, अनुसन्धान र संरक्षणको अभ्यास गरौँ I