न घरबासी न शरणार्थी
(अस्तित्वको विभाजन र परिचयको खोजी एकसाथ पोखिएको प्रस्तुत लेख कान्तिपुरबाट साभार गरिएको हो । थोरै मात्र विश्वमानवले भोग्दै गरेको विशेष परिस्थितिको खास चित्र हो यो।)
देवेन्द्र भट्टराई
विश्व शरणार्थी दिवसका अवसरमा राष्ट्रसंघीय शरणार्थी आयोगको काठमाडौं कार्यालयले भृकुटीमण्डपमा आयोजना गरेको तस्वीर प्रदर्शनीमा नारदमुनि भेटिएका थिए । शरणार्थी मोडेलको घर बनाएर प्रदर्शनीमा राख्न उनीसहित बेलडाँगी शिविरका इन्द्रलाल र लोकनाथ तिमिल्सिनालाई ल्याइएको रहेछ । खरले छाएको सानो झुप्रे घरको अगाडि शरणार्थीले पाउने दैनिक गुजाराका सामानको सूची थियो- चामल, नुन, तरकारी, मट्टतिेल, लिटो, साबुन, खानेतेल आदि । ‘यो दुनियाँमा ममात्रै यस्तो अनागरिक बनेको हुँला भन्ने थियो । तर यहाँ तस्वीर देखियो, कुरा सुनियो- चार करोड मान्छे त हामीजस्तै शरणार्थी रहेछन्’, नारदमुनिले बुझेको कुरा थियो- ‘यहाँ तस्वीरमा अफ्गानी, तिब्बती, सोमालियन, पाकिस्तानीसहितको सूचीमा हामी भुटानी नेपाली पनि शरणार्थी पंक्तिमा दालचामल माग्न उभिएका रहेछौं ।’ शरणार्थीलाई घर फिर्ताको साटो अमेरिका, अष्ट्रेलियाजस्ता मुलुकमा बसोबासमा लैजाने कुरामा बितेको एक वर्षसम्म नारदमुनिलाई चित्त बुझेको रहेनछ । आफ्नो जन्म, कर्मभूमि छाडेर अर्को बिरानो देशमा जाने भन्नसाथ उनी लामिडाँडाको अलैंचीबारी, गाईवस्तु र आफ्नो गाउँठाउँ हुरुक्क बनेर सम्भिmँदा रहेछन् । ‘तर हेर्यौं, साराका सारा पराई ठाउँमा हिँडिरहेका छन् । छोराछोरी र नातिनातिनाको भविष्य बनाउने भनेर सबै हामफालिरहेका छन्, अनि म पनि भेँडाको हुलमा पछाडि लागेझैं भएको छु’, छोरातर्फबाट दुई नातिका हजुरबा बनेका ६० वर्षे नारदमुनिको बुझाइ थियो । उनी छोरानातिले भनेको कुरा र दिएको
सुझावका पछि लागेर तेस्रो देश जाने निर्णयमा पुगेका रहेछन् ।
१८ वर्षअघि रातारात ट्रकमा कोचेर फुन्चोलिङ हुँदै भारतको सिलिगुढी नाकाबाट मेची पुलमा उतारिएको दिनरात हिजैजस्तो लाग्नेरहेछ, नारदमुनिलाई । अरूभन्दा पनि भुटानी शरणार्थी मामिलालाई नेपाल र भुटानबीचको मुद्दा भनिए पनि यी दुई देशबीचमा पर्ने ५० किलोमिटरभन्दा लामो भारतीय भूभाग हुँदै नेपाल झारिएका शरणार्थीका कुरामा भारतको ‘पन्छाई’ सम्झँदा उनलाई उदेक लाग्नेरहेछ । ‘दुनियाँलाई थाहा छ- नेपाल र भुटानका बीचमा भारत छ, त्यो पनि एक-दुई गजको मात्रै भारतभूमि हो र ?’ उनी थोरै आक्रोशमा थिए- ‘एक लाखको संख्यामा त्यही भारतको बाटो हुँदै मेची पुलमा ल्याएर खसाल्ने, अनि त्यही भारतले यो विषयमा हाम्रो भूमिका छैन, हात छैन, खुट्टा छैन भनिरहने ?’ संसारको ‘ठूलो प्रजातन्त्र’ मानिने भारतले दुनियाँका सामु लाजमर्दो कुरा गरिरहेको उनको सोझो र स्पष्ट बुझाइ थियो ।
शरणार्थी आयोगको नेपाल सम्पर्क कार्यालयकी प्रमुख डेजी डेलले हालै पत्रिकामा भनेको कुरामा उनी सहमत रहेछन् । ‘नेपालमा रहेका अधिकांश भुटानी शरणार्थी आफ्नो घर फिर्न चाहन्थे, घरफिर्तीको प्रक्रिया सफल भइदिएको भए अधिकांश घर फिर्नेमा हुन्थे’ भनेर राखेको धारणामा उनी निकै सहमत देखिन्थे । ‘तर एकातिर भारतले सधैं अर्घेलो गरिरह्यो, अर्कातिर हाम्रा भुटानी नेताहरू बेकामे निस्किए- मिलेर जान नसक्ने’, उनको अर्को बुझाइ थियो । खासमा पन्ध्र चरणसम्म भएका दुईदेशीय मन्त्रीस्तरीय वार्ता र सधैंका जस-अपजसका कारण नारदमुनिहरू निराश बनेका रहेछन् । त्यसमाथि शरणार्थीलाई बाटो देखाउने भनाउँदा नेताहरू कोही घरफिर्तीका पक्षमा र विदेश जाने पक्षमा बाँडिएपछि स्थिति थप बिगि्रएको हो, उनका बुझाइमा ।
नारदमुनिले जीवनमा साक्षर हुनेसम्मको बाहेक अरू पढाइ गरेका छैनन् । अहिले शरणार्थी शिविरमा बाँसको चोया काढ्ने, खर मुठा पार्ने र लुथरन वल्र्ड सर्भिसले दिएको निमेकमा झुप्रा शरणार्थी घर बनाउने जस्ता काम उनी गरिरहेका छन् । उनका लागि विदेश जानु भनेको अथवा अमेरिका, अष्ट्रेलियाको सपना देख्नु भनेको अन्धोले हात्ती छामेसरह रहेछ । ‘सपना देख्न कहिल्यै सिकिएन, छोराछोरी-घरपरिवार भन्दाभन्दै उमेर बित्यो’, ती भन्दै थिए- ‘अब भने छोरानातिले सपना देख्न चाहेका छन्, म उनीहरूलाई साथ दिँदैछु ।’ यसअघि अष्ट्रेलियामा केही आफन्त बसोबासमा गइसकेकाले उनीहरूकै सल्लाहमा त्यो मुलुकलाई बसोबासको रोजाइ बनाएको उनले बताए ।
तस्वीर प्रदर्शनीको एउटा कुनोमा आफ्नो पराले झुपडीको मोडेलसामु नारदमुनि उभिएका थिए भने पर्तिर तस्वीरमा बेलडाँगी शिविरकै २३ वषर्ीया खिनमाया मिश्र पनि थिइन् । १४ वर्षमै स्थानीय नेपाली
-गैरभुटानी) सँग बिहा गरेकी उनले नौ महिना अघिमात्रै सम्बन्धविच्छेद गरेकी रहिछन् । अमेरिका बसोबासमा जानैका लागि पनि यो विच्छेद जरुरी रहेछ । ‘म छोराछोरीको भविष्य चाहन्छु’, फोटोग्राफर नयनतारा गुरुङ कक्षपतिसँग उनले भनेकी रहिछन् ।
जताबाट, जसरी गरे पनि कुरो सपनाको थियो । ६० वर्षे नारदमुनिदेखि २३ वषर्ीया खिनमायासम्म सबै छोरानातिको भविष्य सम्भिmरहेका थिए । ‘सपनाहीन बनेर झुप्रोमा बस्नु अथवा भुटानले घर फिर्न नदिनुमात्रै शरणार्थीको चिनारी होइन’, नयनताराको बुझाइ थियो- ‘यी लाखौं अनुहारको जीवन र जगत कहाँ छ भनेर खोज्ने काम पनि शरणार्थी शब्दको व्याख्याभित्र लुकेको छ ।’
फेरि कुरा शरणार्थी आयोगको नेपाल सम्पर्क कार्यालयकी प्रमुख डेजी डेलको अन्तर्वार्ताको निस्किएको थियो । ‘पुनःबसोबासमा गएका भुटानी शरणार्थी पनि भविष्यमा कुनै दिन आफ्नो घर फिर्न सक्नेछन् । तर सम्बन्धित बसोबासवाला मुलुकको नागरिकता त्यागेको र भुटानले स्वीकार गरेको अवस्थामा उनीहरू फिर्न सक्नेछन्’ भनेर राखेको अभिव्यक्तिमा नारदमुनि घोत्लिरहेका थिए । ‘यो जीवनमा एकपटक मात्रै भए पनि त्यो लामिडाँडा पुग्न पाए हुन्थ्यो, त्यही पाखाको माटो छुन पाए हुन्थ्यो भन्ने भित्री इच्छा छ’, नारदमुनि भन्दै थिए- ‘तर भुटानले स्वीकार्नुपर्ने अथवा नागरिकता त्याग्नुपर्ने जस्ता कुराहरू अहिलेबाटै सुनिएकाले झन् उदेक लागिरहेको छ ।’
यसरी एक लाख आठ हजार भुटानी शरणार्थीका प्रतीक-पात्रझैं भेटिए, नारदमुनि । जो अन्योल र अनिश्चयको मुद्रामा बढी डुबेका थिए र एकसाथ सुदूर भविष्यको सुखद कल्पनामा पनि आनन्दित थिएनन् । ‘यो जिन्दगी बडो असाध्ये रहेछ भाइ, चिताएर चिताउन नसकिने’, ठूलदाइ उमेरका नारदमुनिले खुइ काढेको स्वरमा सुनाए- ‘उता लामिडाँडामा भुटानी थिएँ, यता बेलडाँगीमा शरणार्थी भएँ । अब त्यो पराई देशमा गएर के भनिने हुँ, मलाई नै थाहा छैन ।’