पचासिऔं-जन्मोत्सव

कवि

यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया

साँझ पर्दै गएको छ जिन्दगीको,
जिन्दगीको यो पचासिऔं तलाबाट
हेर्न मन लागेको छ
उ पर क्षितिजसम्म फैलिएको
महानगरको किनार,
र रहर जागेको छ हेर्न एक चोटी
यो कठघराजस्तो छतको रेलिंग समाई
अलिकति छाती र टाउको निहुराई
त्यो भैं तला
जहाँबाट मैले
जिन्दगी विरुद्धको लडाईं सुरु गरेको थिएँ
रिंगटा लागे पनि लागोस्,
ईश्वरको अदालतमा चलिरहेछ सुनवाई
स्वर्ग वा नर्क हो भएपछि रिहाइ
यो पचासिऔं तलामा नजरबन्द
मलाई नजराना त्यही हुनेछ
मान्छेहरूले रातो भने पनि
मेरा लागि कालो देखिने वाइन
खन्याउ प्यालामा
र सँगै ‘चियर्स’ भनौं,
एकै क्षणमा सब हुनसक्छ
यो जन्मोत्सवमै
यो शरीर शव हुन सक्छ
बजाऊ गंगाजलभन्दा शुद्ध
गुल्जारका गज़ल अनि
मृत जगजितका जीवित संगीत,
हुन्,
जो मेरा लागि पञ्चामृत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *