पढ्दै जाँदा जे भेटियो
डिल्लीराम शर्मा आचार्य
नर्वे
“लेखककी छोरी” यो कथा सङ्ग्रह भित्र १४ वटा कथा संग्रहीत छन् । “मार्च आठदेखि एरिक ऊ र ग्राहक”मा कथा टुङ्गिन्छन् । यस भित्रका शीर्षकहरू पनि अनौठा र नसुने झैँ लाग्छ । शीर्षक जस्तै भित्र कथा पनि पढ्न पाइन्छ । यी १४ वटा कथाले लेखककै शब्दमा भन्नु पर्दा “चौधवटैले चौधतिरै आफ्ना अनुहार फर्काएका छन् । विशेषतः अमेरिकी जीवनशैलीलाई बढी ध्यान दिएर अहिलेका युवा मनोविज्ञानलाई यथोचित ढङ्गबाट समेट्ने प्रयत्न गरिएको पाइन्छ । यो लगायत भूटान र नेपाललाई पनि छोडेका छैनन् । यसको भाषा अत्यन्तै मौलिक र सरल छ । शब्दशब्दको कोमलतामा सुहाउने रस, अलङ्कार पनि उत्तिकै प्रभाभित छ र भावपक्ष पनि कसिलो रहेको छ ।
कतिपय कथाहरूमा पात्रहरू नेपाली भाषी र अनेपाली भाषीलाई खडा गरेर संवाद गराइएको छ । यसरी संवाद गराउँदा अङ्ग्रेजी शब्दलाई नेपाली अक्षरले बनाइएका शब्दहरू उच्चारणमा सामान्य पाठकहरूलाई भने कठिन अवश्यै हुनेछ । अझ ठाउँहरूको उच्चारणमा पनि उस्तै महसुस गर्ने नै छन् । देश, काल, परिस्थितिले जन्माएका शब्दहरू बाहेक अरू शब्द बुझ्न कुनै कठिनाइ र भावार्थ गर्नु नपर्ला । प्राकृतिक दृष्टिले कथामा बाहिरी प्राकृतिक चित्रण कमै पाइन्छ । यसको भावपक्ष बलियो छ र घटना प्रधान छ ।
यसका पात्रहरूमा शिक्षित युवा युवतीलाई उभ्याएर संवाद गराइएको छ भने कतै लेखक स्वयम् पात्रको रूपमा उभिएका छन् । यदाकदा भाषाको कठिनाइमा अनुवादसम्म गर्नु पर्ने बाध्यताहरू देखाएको छ। कथाहरूमा द्वितीय र तृतीय पुरुषको प्रयोग बढी पाइन्छ । कथाको द्वन्द्व सार गर्भित छ, वास्तविक छ र सत्य तथ्यमा आधारित छ । कथामा हुनुपर्ने गुणहरू- पात्रको चरित्र चित्रण यथोचित ढङ्गले गरिएको छ । संवाद सकुशल गराइएका छन् । देश काल परिस्थितिलाई राम्ररी समेटिएको छ । चरित्र अनुसारको द्वन्द्व गराउन पनि लेखक सफल छन् र प्रत्येक कथाहरू उद्देश्यमूलक रचना भएको पाइन्छ ।
एक बसाईमा पढी सिद्ध्याउने प्रत्येक कथाहरू पढ्न रोचकिला छन्, भाव प्रधान छन् र उद्देश्यमूलक पनि ।
यो कथा सङ्ग्रह भित्रका कथाहरू एक फेरा पढी सिद्ध्याउँदा भारतीय लेखक तथा कथाकार रूपनारायण सिंह र इन्द्रबहादुर राईलाई मैले सम्झिन पुगेँ । उहाँकै कथा लेखन शैलीमा लेखिएको कथा जस्तै लाग्यो मलाई, अझ यदाकदा औपन्यासिक शैलीहरू पनि मिसिएर कथालाई अझ रोचकता र उत्कृष्टता प्रदान गरेको अनुभव पनि भयो ।
यो कथा सङ्ग्रहले भूटानी नेपाली साहित्य फाँटमा गजबले फड्को मार्न सफल भएको मैले अनुभव गरेको छु र, नेपाली साहित्य जगतको पनि एउटा ठुलो उपलब्धि हो भन्ने मित्रहरूले पनि महसुस गर्नु नै हुनेछ ।
अब म धेरै भन्दिन यो भन्ने गर्ने काम समालोचकको हो । जे.एन. दाहाल भाइको प्रगति दिनानुदिन यसरी नै बढ्दै गएको हेर्न, सुन्न र पढ्न इच्छा छ मेरो । अस्तु ।