पत्रमञ्जुषा

स्तम्भकार

देशभक्त

आदरणीय पाठक जमात,
सादर नमस्कार !

मलाई आज धेरै आन्नदको आभाष भइरहेको छ । मैले गए महिना सम्प्रेषण गरेको पत्र मेरी आमा, भूटान भए ठाउँसम्म सकुशल पुगेछ । अधिनायकवादी राजतन्त्रत्मकताको जाँतोमा अस्तित्व पिसिएर अच्कल्टो बाँचिरहेकी मेरी आमाले झण्डै दुई दशक पछाडि आफ्नो पुत्रलाई पत्राचार गरेकी छिन् । कम्तिमा मेरो घरमा मानिसलाई बोल्न सक्ने, आफ्नो मनको गथासो, विरहवेदना प्रकट गर्नसम्म स्वतन्त्रता छ भन्ने आमाको पत्र पढेर मलाई लागेको छ । तर पत्रमा व्यक्त मेरी आमाको मनोस्थिति पढ्दा मलाई मेरो घरको मानवतामा उत्कट लाग्दो कृतिमता झाँगिएको प्रष्ट हुन्छ । सुन्योजित तरिकाले लादिएको हाँसोमा कुनै किसिमको खुसी लेपन हुन्छ भने त्यो गैर व्यबहारिक र औचित्यहीन हुन्छ भन्ने मेरो ठहर हो । मेरो घरमा वैदिक खुसी संस्कारण भइरहेको हल्ला विश्वभरि चलिरहँदा पनि मेरी आमाले पूरापूरी दुई दशकसम्म विदेशमा टुहुरो जस्तो बाँचेको आफ्नो छोरोलाई घर आऊ सम्म भन्न सकिनन् । मेरो घरको खुसी कतिसम्म नाटकीय र कृतिम छ भन्ने यहीबाट प्रष्ट हुन्छ । हुन त मानवताका तस्करहरुले निरीह मानिसको अस्तित्व सखाप पार्न कतिसम्म नीच व्यवहार गर्छन् भन्ने कुरा विदितै छ । मेरी आमाले बीस वर्ष पछाडि लेखेको पत्रले मेरो प्रवासी दिमागमा यही असर पर्‍यो कि मेरो घरमा अझै पनि राक्षसहरुद्वारा मेरी आमाको चिरहरण गर्ने काम लागातार भइरहेको छ । रुन्चेहाँसो सहित गतसाता मेरी आमा, भूटानले पठाएको पत्रको पूर्ण अंश ऐतिहासिक दस्ता निर्माणकोलागि यहाँ समावेश गर्न उचित ठानिएको छ ।

आमाद्वारा पत्रमा लेखिएको छ …….

“प्रिय पुत्र देशभक्त,

तिमीले गए महिना संप्रेषण गरेको दोस्रो पत्र वितेको साता हात लाग्यो । पहिलो पत्रको उत्तर लेख्न सकिन र पुनः अर्को पत्र पठाएकोमा धेरै धन्यवाद छ, पुत्र तिमीलाई । अहिलेसम्म जेनतेन बाँचेकै छु । मनमा शान्ति छैन भन्ने तिमीले राम्ररी बुझेका छौ भन्ने पत्रमा लेख्नसम्म पाउँदा पनि मेरो छाती गर्वले ढकमक्क फुलेको छ । तिमीलाई कस्तो छ छोरा ? तिम्रो पढाइ कस्तो चल्दै छ ? स्वास्थ्यावस्था कस्तो छ ? प्रवासको जनजीवन कस्तो छ ? तिम्रा दाजुहरु के गर्दैछन् ?  तिम्रो पहिलो पत्र पढ्दा मलाई केटौले आक्रोश र चिन्तन मननको सिकारु उत्तेजना प्रस्फुटन भएको भान भएको थियो यद्यपि तिमीले त्यो पत्रमार्फत मेरो छातीमा घन्चक्करको रनभुल्ल पटकपटक निर्माण गरेका थियौ । जब तिम्रो दोस्रो पत्र हात लाग्यो, त्यो पत्र पढिरहँदा मेरो मातृत्वमा बढो सन्तुष्टि फुल खेलेको आभास प्रत्याभूत भइरहयो ।  । तिमीले पत्रमा मेरोबारे निक्कै चासो र चिन्ता व्यक्त गरेका रहेछौ । तिम्रो देशभक्तिबाट मैँले मभन्दा टाडा बाँच्न विवश मेरो सन्तानहरुको स्वदेशप्रतिको अदम्य माया अनुभूत गरिरहेकी छु ।

हुन त देशभक्त, मलाई वर्तमान बाँच्न पनि कतिसम्म सकस छ भन्ने कुरा म व्यक्त गर्न असमर्थ छु । मेरा सन्तानहरुले अपेक्षा गरेको जहानीय अदिनायकवादी राजतन्त्रात्मकताको संक्रमण मुक्तिको सपना मैँले आँफै फुल खेल्नु पर्छ भन्ने मान्यतालाई शिरोपर गरेर मात्र चिहानमाथि पुगिसकेको यो मेरो क्यारकासमा सासको सन्तुलन गर्ने प्रण जगाइराखेकी छु । तर तिम्रो पछिल्लो पत्रले मलाई सन्ताप र मानसिक ज्वरभाटाहरुको दलदलमा जकडेको पाएकी छु । मैँले जीवनलाई मृत्युको भूखारमा वेप्रबाह फँसाएर तिमीहरुलाई मातृत्व प्रदान गरेकी हुँ  भन्ने कुरा तिमीहरुले व्यक्तिगत स्वार्थका गर्तहरुमा हाम फालेर मिथ्या सावित गरेका छौ, देहभक्त !

मलाई कत्रो आस थियो तिमीहरुमाथि ! कत्रो भरोसा थियो मलाई तिमीहरुमाथि !! मैँले मेरो जवानी तिमीहरुको भविष्यका खाँतिर एउटी सुत्केरी बाघिनीलेझैं समर्पित भएर सिध्याएकी छु, तिमीहरुले भुल्यौ ? हैन भने कहाँबाट आयो यो सन्तान विभाजन र सन्तान थरीथरीका भन्ने मातृत्वघाती कुरा ? देशभक्त ! तिमीले साँच्चै भनेका हौं, मेरा सन्तान थरीथरी छन भनेर ? तिमीहरु साँच्चै थरीथरीका सन्तान भएको हौ त ? एउटी आमाको कर्तव्यमा मैँले कहाँ खोट राखेँ र यस्तो भयो देशभक्त ? मैँले तिमीहरुको मर्मलाई कहाँनिर अनाहक गरें र तिमीहरु थरीथरीमा विभाजित भयौ, देशभक्त ? मैँले पूर्वीय पुरुषत्वको दासत्वमा आफनो सिङ्गो जीवन जस्केलो थापेर पनि तिमीहरुलाई खुसी पार्न सकूँ भन्ने तपस्या गरेकी र गरिरहेकी छु । के पुगेन देशभक्त तिमीहरुलाई ? मबाट के कम्जोरी भयो र तिमीहरु मेरो छातीमा कुरुक्षेत्र लर्ने  मनस्थितिहरुमा महाभारत बोकेर हिँडिरहेका छौ ?

मैँले त तिमीहरु पढेर मेरो मुहारमा हाँसो रोपौला भन्ने अपेक्षा गरेकी थिएँ । मेरो खुसीकै खाँतिर तिमीहरु महाभारत निम्त्यउँदै छौ भने, म सन्तानको नरसंहार गर्ने भीष्म हैन, धृतराष्ट्रझैं अन्धी पनि छैन र एकथरी सन्तानहरुको खुसीकालागि अर्कोथरी सन्तारहरु गृहयुद्धमा बली चढाएर आह्वान गरिने गान्धारीको जस्तो मातृत्वको खुसी मलाई चाहिएन देशभक्त ! गरुढ पुराणकी गोकर्ण माता धुन्धलीझैं थरीथरीका सन्तानहरुकी पतित आमा हुनुभन्दा मलाई यही दासत्वमा आन्नद छ बरु । तिमीहरु पतनको परिणामका खाँतिर विभाजन हुने दुनियाँ त्याग देशभक्त ! मेरा सन्तानहरु कहाँ के गर्दै छन् त मलाई पूर्ण जानकारी छैन तर मलाई विश्वास छ मेरा सन्तानहरु थरीथरीका हुँदैनन् । उनीहरु हचुवा सिद्धान्तका पछाडि हौसिएर युद्धको आह्वान गरी भ्रातृत्वलाई तिलाञ्जली दिन सक्तैनन् भन्ने मेरो बुजाइ हो तर मैँले तिमी गलत छौ पनि भन्न सकिरहेकी छैन, किन भने म आफैं पनि युद्धका नराम्रा छापहरु सपनामा देख्न थालेकी छु ।

मलाई लाग्छ मैँले केही इमान्दार देशभक्त सन्तानहरु जन्माएकी छु र मेरो मातृत्वको भक्ति तिनीहरुले गर्ने छन् । सबै असल हुन्छन् भन्ने त मलाई पनि लाग्दैन तर महाशुर क्षत्री पछाडि पनि मैँले केही भूमिपुत्रहरु जनमाएकी छु । देशभक्त, तिमीले केही वर्ष यता मेरा सन्तानहरु विभाजनको शिकार बनी फूटको संयन्त्रमा फँसेका छन् भनिरहँदा सन्तान थरीथरीका हुँदा एउटी आमाको मन कति रुँदो हो भन्ने उनीहरुले महशुस गरेको बुजेनौ ? नभए पनि देशभक्त तिमीले मेरो पीडालाई गत पत्रमा व्यक्त गरिसकेका छौ । उनीहरु भविष्यमा आमाको अस्तित्वका खाँतिर पनि एकताको शुत्रमा सम्वद्ध हुने छन । यसको कामना गरी तिमीले मेरा सारा सन्तानहरुलाई सञ्चार गरिदिनु ।

प्रिय देशभक्त ! मलाई आजभोलि अलिक डर लाग्न थालेको छ । मेरा सन्तानहरु यसरी विभाजित होलान् भन्ने मैँले कहिल्यै पनि सोचिन तर नसोचे पनि आखिर त्यही भयो भन्ने तिमीले लेखेका छौ, गत पत्रमा । उनीहरु दशर्नकालागि विभाजित हुनसक्छन्, सिद्धान्तका खाँतिर विभाजित हुनसक्छन, व्यक्तिगत लिप्सा र पार्टीगत स्वार्थकालागि विभाजित  हुनसक्छन, मपाईत्व र कुर्सीवादकालागि अनीहरु विभाजित  हुनसक्छन । तर उनीहरु यतिसम्म गति छाड्न पुग्छन् भन्ने तिमीले सोचेका थियौ, देशभक्त ?

देशभक्त ! तिमीले सारा सन्तानहरुलाई मेरो सन्देश सुनाइदिनु कि मलाई युद्ध चाहिएको छैन, मेरा सन्तानहरु हाँसीखुसी मेरो काखमा बसुन् । मलाई कुनै खुसी चाहिएको छैन जुन खुसीले मेरा सन्तानहरुको रगतले मेरो चिता बगाउने छ । मलाई कुनै आदर्श चाहिएको छैन, जहाँ मेरै काखमा मेरा सन्तानहरु कुरुक्षेत्र युद्धको विगुल फुक्तै जीवनको निरर्थक आहुति गर्न उद्यत हुनेछन् ।

अन्तमा, देशभक्त ! मेरो बाँकिरहेको अलिकति जीवन सन्तानहरु प्रतिको वितृष्णामा व्यतित गर्नु नपरोस्, मलाई अरु केही चाहिँदैन !! बस्

समयले साथ दिए पुनः पत्रचार गर्ने बाचाकासाथ अहिलेलाई विदा चाहन्छु । जाँदाजाँदै पनि देशभक्त, तिमीहरु मिल्नु र आफ्नो पक्षबाट शान्तिको कामना गर्नु । मेरो आशिर्वाद छ, विश्व व्युझाँउने सेतो हिमालका सन्तान, तिमी शान्तिका दूतहरुलाई ।

तिम्री प्यारी
भूटान आमा । ”

कति नीरिह छन् मेरी आमा ! म त ठूलो फसादमा छु, युद्ध विभीषिकाको घनचक्करमा उभिएर अब मेरी आमालाई के सन्देश पठाउने होला ?

ऊँ फट, जुक्ति आयो !! … … …

देशभक्त
दादघारी, दक्षिण भारत

2 Replies to “पत्रमञ्जुषा”

  1. puranaghare

    This seems a very pleasent interpretation of facts. If you can bring out the real pathos from inside Bhutan, you will have lots of eyes peeping and staring from the behind. Go ahead keep upright !!

  2. B.P. Mainali

    Feel good when I to go through your page. Hope to read the same there in near future. Im no more than ITTAGHARE. Anyway have great time there with you and ur family members.

Leave a Reply

Your email address will not be published. Required fields are marked *