पथरीदेखि अमेरिकासम्म

जे एन दाहाल
पेन्सिल्भिनिया , अमेरिका

रमेश दियालीको छाप्रो नम्बर ५५ मोरङको पथरी शरणार्थी शिविरबाट उठान गरिएको छ । उपन्यास – प्राकृतिक विपत्ति, आकाशमा कालो बादल लाग्नु र पानी पर्नु जस्ता दृश्यबाट आरम्भ हुन्छ । यसले भुटानी शरणार्थीको दैनिकीमा पुरै असर पार्छ । यो पढ्दा त्यहाँको दैनिकी निक्कै कष्टकर थियो, र त्यहाँ बस्ने शरणार्थीको कष्ट अझै पनि छँदै छ भन्ने देखिन्छ ।

कथा भुटानमा जन्मिएकी गङ्गा दमाईको हो, जो बाल्यकालमै शरणार्थी बन्न पुग्छिन् । उनको जीवनको सङ्घर्षको सुरुवात एउटै स्कुल ‘ न्यु हराईजन एकेडेमीमा पढ्ने देवसँगको भेटबाट हुन्छ । जुन पछि प्रेम सम्बन्धमा परिणत भएर कथा अघि बढ्छ ।
गङ्गाको आमा भुटानमै सुत्केरी व्यथाले बित्नु, र देवको पनि बाबा नहुनु दुवैको पारिवारिक कथा एकै खालको देखाउन लेखक निक्कै सफल देखिन्छन् । यसै कारण उपन्यास सरर…..र बग्छ ।

लेखक दियालीले एक ठाउँ ‘ढिब्री’ उज्यालोमा भात खान बसेँ ।’ (पृ.१५) लेखेका छन् । भने सोही भाव बोल्ने कुरा, ‘पिलपिल बलिरहेको धिप्री निभाएर म सुतेँ ।’(पृ.५७) भनेर पात्रबाट भनाएका छन् I जसमा ‘ढिब्री’ शब्द जसको अर्थ मट्टितेलको बत्ती बाल्ने सानो भाँडो, टुकी/डिबिया भनिने हुन्छ । तर सोही कुरा देखाउन बोलचालको भाषामा ‘धिप्री’ शब्दको प्रयोगले लेखकले कुन शब्द चयन गर्न खोजेको हो भन्ने पाठकलाई अल्मल्याउँछ ।
गङ्गालाई प्रेम गरिरहेको देव एकरात जब बागलुङ काम गर्न जान्छ, त्यहाँबाट कथाले फरक मोड लिन्छ र पाठकमा थप उत्सुकता बढ्छ । यो पढिरहँदा पाठकलाई लाग्न सक्छ उपन्यास कसरी लेखिन्छ ?

‘म’ प्रथम पुरुषमा ‘तिमी’ द्धितीय पुरुषमा र ‘उ’ अथवा ‘उनी’ तृतीय पुरुषमा गरी उपन्यास तिन प्रकारले लेख्न सकिन्छ । यहाँ आख्यानकार दियालीले म पात्रको माध्यमद्वारा आफू स्त्री अर्थात् महिला भएर लेख्न चुनौती मोलेका छन् । यो पुस्तकको एक विशेषता हो ।
गङ्गा र देवको साझा कुरा दुवैको छाप्रो नम्बर ५५ भनेर देखाइएको छ । एउटै शिविरका दुई भिन्नै सेक्टर भएका कारण यो संयोग मान्न सकिन्छ । उपन्यासमा देव बागलुङ गएको निक्कै समयपछि गङ्गाको हर्कबहादुर दमाईसँग दमले पीडित उनका बाउले जात, थर मिल्छ भनी बिहे गरी दिन्छन् । गङ्गा विवाहपछि पथरीबाट बेल्डाँगी सर्छिन् । उसले भन्यो- ‘यस समाजमा हुने खानेहरू सबै द्यौता, हामी जस्ता सबै गरिबहरू अछुत, गोल्ठे ढुङ्गा’ यसरी हेर्दा लेखकले जातीय भेदभावको कुरा निक्कै गहिरो रूपमा प्रस्तुत गरेका छन् ।
बिहेपछि गङ्गाको पति हर्कबहादुर गुजरात जान्छन् । उनी सासू ससुराका साथमा बेल्डाँगीमै बस्छिन् । गङ्गाले आफू भन्दा ठुला (बाऊ र श्रीमानलाई ) आदरार्थी शब्द प्रयोग नगरी ‘तिमी’ भन्छिन् । ती पात्रले त्यसरी नै बोल्ने हुँदा, आदरार्थी शब्दको प्रयोग नगरी त्यसरी ‘तिमी’ शब्द चयन गरेर नै पुस्तकमा राख्न सक्नु लेखकीय कला हो भने अर्कापटी लेखकको पारिवारिक बोलचालको चलन त्यस्तै पो थ्यो कि भन्ने सङ्केत गर्दछ ।

छाप्रो नम्बर ५५ :-उपन्यास

६ महिनापछि गङ्गाका बाऊ काजी पथरी शिविरमा बित्छन् । उक्त शोकबाट आँसु ओभाउन नपाउँदै गङ्गाको पति बिरामी अवस्थामा गुजरातबाट घर आइपुग्छन् । थप उपचारका क्रममा बेङ्ग्लोर लगिन्छ । डाक्टर बोले- ‘तपाईँको लोग्नेलाई बचाउन सकेनौँ । ढिलो ल्याउनु भयो । उनले आफ्नै भाषामा भनेका थिए, मैले आशय मात्र बुझेँ’ (पृ १६८ ) यहाँ उनले आफ्नै भाषामा भन्नाले बेङ्गलोरको कन्नड स्थानीय भाषा हो । लेखकले कन्नड भाषा या हिन्दी भाषा देखाउन खोजेका हुन् भन्ने स्पष्ट खुल्न सकेको छैन ।

यसरी गङ्गाको देवले छाडेर बागलुङ जानु, बिहे गराई दिएर बाऊ बित्नु, पछि आफ्नै पति बित्नु जस्ता घटना माथि अर्को घटना घट्दै गङ्गाको कथा वियोगमा बगेको छ । गङ्गाको पतिसँगको वियोग पछि सासू ससुराको गाली खप्नु, समाजले कुनै पुरुषसँग कुरा गर्दै कुरा काट्नु । अर्कातिर दैनिक पुनर्वास भई शिविरको अवस्था पातलिँदै जानु जस्ता कुरा आउँछन् । पुरै उपन्यासको विषयवस्तु नेपाली परिवेश भित्रै फन्को मार्छ ।
पुस्तकमा शिविर भित्रको परिवेश मात्र नभई, बाहिर रहेका स्थानीय समाजका व्यक्तिहरूले कसरी व्यवहार गर्थे त्यो जस्ताको त्यस्तै उतारेका छन् । दियालीको पुस्तक पढ्दै गर्दा निक्कै पात्रहरू आउँछन् । ती पात्रहरू लेखकले जहाँ आकश्यकता पर्‍यो त्यहीँ राखेको देखिन्छ । यो लेखकीय कम्जोरी पक्ष हो ।
आख्यानकार दियालीले सामाजिक दृष्टिकोण जस्तै: मुख्यतय जातीय विभेद, विधवालाई हेर्ने दृष्टिकोण, तेस्रो देशको पुनर्वास आदि विषयलाई उतार्न निक्कै सफल भएका छन् ।

गङ्गाको जीवनको उतारचढावसँगै आउँदा बिचमा आउने उपकथा परिवेश सुहाउँदा छन् । तर ती उपकथाका धेरै जस्तो पात्र पछि गङ्गाको जीवनका नजिक आउँदैनन् । यसरी हेर्दा गङ्गा समाजबाट जातीय रूपमा निक्कै उपेक्षित देखिन्छे ।
छाप्रो नम्बर ५५ मा एउटा उपन्यासमा हुने मुख्य कुरा कथा, पात्र, घटना, विषय, परिवेश, द्वन्द्व सबै छन् । उठान, उत्कर्ष र विश्रान्त पनि राम्रो छ । विधवा गङ्गा एक्लै अमेरिका आउँछिन् र यहाँ देवलाई केसवर्करका रूपमा भेट्छिन् । त्यो कुराले पाठकमा थप उत्सुकता थपिदिन्छ । तर देवले बताउँछ तिम्रो बिहेपछि तिमी बेल्डाँगी गयौ । मेरी आमा बितिन् त्यसपछि म अमेरिका आएँ । पथरी शिविरमा भएकी गङ्गालाई देव अमेरिकाको वासिङ्टन सियाटल आएको पत्तोसम्म हुँदैन । उपन्यास पढ्दा पाठक गङ्गाका लागि खुसी हुन्छन् । त्यसपछि देवले गङ्गालाई बिहेको प्रस्ताव राख्छन् । दुवैले बिहे गर्छन् र गङ्गाको पेटमा देवको बच्चा हुर्कदैछ । यो पढी रहँदा यहाँ लेखकले नेपाली समाजको विधवाले बिहे गर्न नमिल्ने भन्ने गलत दृष्टिकोणलाई भत्काई दिएका छन् ।

यस्तै पुरा पुस्तक पढिसक्दा पनि अङ्ग्रेजी शब्दको प्रयोग नदेखिँदा कलेवरको शब्द ‘नम्बर’ अङ्ग्रेजी नराख्दै सुन्दर देखिन्थ्यो भन्ने पाठकलाई लाग्छ ।
गङ्गाकी छिमेकी मगर्नी काकी पात्रको मुख्य सहयोगी छन् I तिनलाई विवाह अघि हरेक ठाउँमा देखाइएको छ, तर विवाह पछि उपन्यासको अन्त्यसम्म कहीँ कतै पढ्न पाइन्न । यसरी हेर्दा लेखकले आवश्यकतामा मात्र उनलाई प्रयोग गरेको थाहा पाइन्छ । उनैले पहिलो बिहे हर्कबहादुर दमाईसँग हुँदा बेहुलीले घुम्टो निहुर्याएर बस्नु भन्ने सिकाएकी थिइन् । बाउ बिरामी हुँदा आलुवा चामल, पैसा दिएकी थिइन्। त्यसैले गङ्गाले मगर्नी काकीलाई देवसँगको बिहेमा सम्झन सक्थी । दियालीले आगामी दिनमा यी कुरामा ध्यान पुर्‍याउन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *