परदेशीको चौतारो
परदेशी कान्छो
एट्लान्टा, जर्जिया
परदेशीले आजभोलि जर्जियाको राजधानी एट्लान्टा शहरको मध्यभाग, फाइव पोइन्ट्स्मा चौतारो बनाएको छ । यसो गर्नको धेरै कारणहरु छन् । यो बिन्दू भएर दक्षिणको रेल्वे सेवा ज्याक्सन्भिल् अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तरको नर्थ स्प्रिङ र डोराभिलसम्म जाने गर्दछ । यसैगरी पूर्वका इन्डियन क्रिक् र क्यान्ड्लर पार्कदेखि पश्चिममा एच.ई. होम्स् र ब्याङ्कहेडसम्म जाने गर्दछन् । यस क्षेत्रमा जर्जियाको राज्यस्तरिय प्रमुख कार्यलयहरु पनि पर्दछन् । विश्व प्रसिद्ध टेलिभिजन समाचार च्यानल, सि.एन.एन.को प्रमुख कार्यालय पनि यहाँ छ । जर्जिया डुम, अन्डरग्राउन्ड एट्लान्टा, जर्जिया एक्वारियम, कोकोकोलाको प्रमूख कार्यलय पनि यहाँ छ । एट्लान्टाको मूख्य शहर डाउन् टाउन, जर्जियाकै प्रख्यात अस्पताल ग्रेडीअस्पताल, विश्वप्रख्यात इमोरी विश्वविद्यालय, जर्जिया टेक, सेन्टेनियल पार्क, आदि यहाँ भएकाले यो बिन्दू चौबीसै घन्टा खचाखच हुने गर्दछ । काला, सेता, किसिम किसिमका मानिसहरु आवात-जावत गर्दछन् । कोही सरकारी कर्मचारी, कोही कम्पनी कर्मचारी, कोही संस्थाका कर्मचारी, कोही कता कोही कताका । कुनै लुते, ढुङ्गो गोजीमा हालेर डिड्नु पर्ने । कुनै हात्ती, गैडा जस्ता ढलक् ढलक् हिड्नु पर्ने । कोही गुदरगानाका दाना घाँटीमा भिरेर हिडे जस्ता । कुन लोग्ने मानिस, कुन आइमाइ कतिप्रायः ठम्याउनै गाह्रो पर्ने । कतिप्रायः लिङ्ग चिन्न, अगाडी गएर नै हेर्नु पर्ने । कोही एसियाली, अधिक अफ्रिकी, कुनै दक्षिण अमेरिकी त कुनै योरोपियन । भारतीय मूलका मानिस देखे परदेशीलाई दाजुभाइ देखेझैं लाग्छ । बरमेलीहरु हाम्रै दाजुभाइ राइ,लिम्बु जस्तै लागेर परदेशी झुक्किन्छ । तथापि परदेशीले बरमेलीहरुलाई चिन्ने पकड पाएको छ । बरमेलीहरुले उनीको धागोले बुनेको झोला बायाँ काँधबाट दायाँ कम्मरतिर भिरेर हिँड्ने गर्दछन् । केटाकेटी, बुढाबुढी, युवा तन्नेरी सबैले झोला बोक्ने संस्कार बरमेलीहरुमा परदेशीले पाएको छ । परदेशीको कहिले काहीँ आफ्नै समुदायका मन, तन र चेतन नाम गरेका साथीहरुसँग यस चौतारीमा भेटघाट हुन्छ । यस्तै एक भेटमा मनले भनेको थियो “बरमेलीहरु कतिप्रायः त नेपाली नै हुन् । बर्मामा धेरै वर्ष बसेकाले भाषा बद्लिएको हो । एकलै हुँदा र बोल्ने मान्छे नहुँदा पनि भाषा मासिँदो रहेछ ।” आज पनि परदेशी आफ्नो चौतारामा बसेर रमिता हेरिरहेको छ । ती बग्रेल्ती मानिसहरुमा कतै झुक्किएर नेपाली अनुहार देखिएला कि ? भनेर कहिले काहीँ मुन्टो घुमाएर पनि हेर्ने गर्दछ । सलक्क केश, सेतो अनुहार, गाँठीलो र मझौले शारिरिक बनावट देखेमा यो चाहिँ नेपाली रहेछ भन्ने लख काट्ने गर्दछ । कतिप्रायः परदेशी यस्ता लखमा झुक्किएको छ । एक पटक उसको लखमा बोल्दा त मेक्सिकन पो रहेछ ! यी मेक्सिकनका जिजु ख्याब्जुहरु पक्कै हाम्रा पूर्खाका दाजु भाइ नै थिए होला भन्ने अनुमान उसले गरेको छ । भाषामा पनि त हाम्रो दुईलाई “दुवो”, तीनलाई “त्रेस्”, दशलाई “दिएस्” । बोलीमा पनि कतिप्रायः ध्वनिहरु मिल्ने गर्दछन् । काम गर्नका पनि अति फुर्तिला हुँदा रहेछन् मेक्सिकन् ।
परदेशी आजभोलि अमेरिकामा नयाँ नै भएकाले र काम पनि नभएकाले फुर्सदमा यही चौतारामा बस्ने गर्दछ । यहाँ बस्नाको धेरै फायदा पनि छन् । मान्छे चिन्ने, उनीहरुको संस्कृति बारेमा अड्कल काट्ने, बोलेर नभए पनि हेरेर रमाइलो गर्ने, जाती र देश अनुसारको भेष, गरगहना, पहिरन हेर्ने, आदि सोख परदेशीलाई पहिले देखिकै हो । त्यसैले पनि परदेशी यहाँ आउँछ । उसले आफ्नो अमेरिका बसेको छोटो अवधीमा २५/३० वर्ष लगाएर सिकेको अंग्रेजीले कतिप्रायः काम नगरिरहेको अनुमान लगाइरहेको छ । अंग्रेजी पनि त्यस्तो होला जस्तो लागेको थिएन । सबै शब्द आधा आधा मात्र उच्चारण गर्ने । हामीले बोल्ने “ट”, उनीहरुको “ठ” हुने, “त”, “ड” हुने, के–के के–के? नरपति भनेको “ना–(आधा रा)–पा–डी” भन्छन् । भाषाले धेरै समस्या दिएको लख परदेशीको छ । तर परदेशीलाई धेरै कुरा चाहिँ मन परेको छ । मानिसहरु जो जहाँबाट आएको भए पनि एक आपसमा सम्मान दिँदा रहेछन् । बृद्ध, असक्त, बिरामीको असाध्यै ख्याल गर्दा रहेछन् । सकेसम्म अरुलाई पीर नदिँदा रहेछन् । सूरक्षाका नाममा परदेशीको आफ्नो मुलुकमा जस्तो छ्याप्छ्याप्ती पुलिस नदेखिँदा रहेछन् र पनि मानिसहरु प्रायः सूरक्षित रहेछन् । कसरी यसरी सूरक्षा व्यवस्था मिलाएको होला भनेर विचार गर्दा त सम्पूर्ण क्षेत्रनै क्यामारा जढीत हुँदा रहेछन् । कम्प्युटर र क्यामाराले नै प्रहरी र सूरक्षाको काम गर्दा रहेछन् भन्ने कुरो परदेशीले निकै समय लगाएर बुझेको छ । रेल्वे सेवा कतिप्रायः व्यस्त र व्यापारिक क्षेत्रमा जमिनमुनिबाट बनाउनु कति गजब कुरो छ । त्यस्तै मोटरबाटो व्यवस्थापन पनि ज्यादै प्रणालीबद्ध, सहज र सूरक्षित छ । काठमाण्डौंमा जस्तो घण्टौंको जाम र धूलो कहिल्यै परदेशीले यहाँ देखेको छैन । साँच्चै भन्नु पर्छ भने परदेशीले अमेरिका आए पछि धूलो र खुल्ला माटो देखेकै छैन । कति राम्रो व्यवस्थापन !
परदेशीलाई अमेरिकामा आए पछि एउटा कुराको अचम्म चाहिँ के लागेको छ भने अधिकांश यहाँका आवासहरु कच्चा बनावटका छन् । हावाको एकै झोंकमा उढाउला जस्ता । कहिले काहीं त घरहरु हेर्दा अमेरिका आएको भन्ने कुरामा भ्रम भए झैं लाग्दछ । जब परदेशी यहाँ फाइब पोइन्ट, डाउन टाउन र मिड टाउन छिर्छ, र त्यहाँका घरको माथिल्लो भाग हेर्दा गत तिहारमा दिदीले लगाइदिएको ढाका टोपी भूइँमा खसे पछि मात्र अमेरिकामा रहेछु झैँ लाग्दछ ।
परदेशीलाई मन परेका कुरा मध्ये रेल र बसमा सवारी व्यावस्था पनि हो । सार्वजनिक व्यावस्था भए पनि न कतै पैसा उठाउने कन्डक्टर न कुनै खलासी । एउटै चालकले सम्पूर्ण परिचालकको काम गर्दो रहेछ । नेपाल, भूटान अथवा भारतमा जस्तो भाडामा कसैको किचकिच पनि नहुँदो रहेछ । चालक र परिचालकले पैसा खाने डर पनि नहुँदो रहेछ किन भने सम्पूर्ण कुरा कम्प्युटरबाटै हुँदो रहेछ । रेलको स्टेसन नै पिछे, कम्प्युटरले यो ठाउँ आएको छ र अब यो ठाउँ आउने छ भनेर सूचना दिँदो रहेछ । यति मात्र होइन, त्यो ठाउँमा के कस्ता विशेष स्थानहरु छन् भन्ने पनि जानकारी दिइँदो रहेछ । बस पनि रोक्ने निश्चित सङ्केत भएका स्थानमा मात्र रोकिने रहेछ । यात्रुहरु झर्नु परेमा बस रोक्ने तार तानि दिए पछि, त्यसबाट तुरुन्तै आउने बस बिसाउने सङ्केतमा बस रोकिँदो रहेछ । भाडा पनि कति सस्तो ! एकहोरो जति गए पनि दुई डलर । गाडी चलाउन पनि पूर्वको भन्दा परदेशीले सहज देखेको छ । त्यो गियर भनिएको घोचो तानि रहनै नपर्ने । कति मजा !
मन परेका कुरामा सरकारी काम काजहरु पनि पर्दछन् । न कसैलाई घुषनै दिनु परोस् न कसैको भन्सून्नै सुनियोस् । कार्यलय पुग्ने वितिक्कै परिचारिकाले दिएको अंक अनुसार बोलाइँदो रहेछ । कसैलाई पनि पक्षपात नहुने । कति राम्रो प्रणाली । यस्तै परदेशीलाई मन परेका कुराहरु मध्ये सागपात किन्न जाँदा आफैँ मन परेको चीज झिक्न पाइने । परिचार÷परिचारिकाले सामानको बार कोड कम्प्युटरमा देखाउने बितिक्कै मूल्य निस्कने । न कोही ठगियोस् न कतै दलालीनै होस् । यो पनि साह्रै राम्रो लागेको छ परदेशीलाई । यस्तै कुनै जटिल सामानहरु किन्नु पर्दा फोन बाटै पनि हुँदो रहेछ, आम्मै कति मज्जा ! फोनबाट कुरा ग-यो, कम्प्युटरबाट पैसा ति-यो, सामान, दिएको समयमा ढोकामै खुत्रुक्क !
परदेशीलाई अमेरिकाको अस्पतालमा गएर उपचार गर्ने माध्यम चाहिँ पटक्कै मन परेको छैन । पूर्व समयस्वीकृति लिनै पर्ने । आफ्नो सूचीकृत समयमा पुगे पनि पालो आउन घन्टौं बस्नै पर्ने । बल्ल पालो आएर भित्र बोलाइन्छ । परिचारिका (नर्स) आएर विवरण लिइसके पछि अथवा उनले गर्नु पर्ने काम गरिसके पछि डाक्टरको दर्शन पाउन अरु एक घन्टा कुर्नु पर्ने । हरे शिव ! भन्नुहुन्छ, कहिले काहीँ त परदेशीको ताप चढेर सामान्य भन्दा धेरै माथि पुग्छ । एक्लै एउटा कोठामा धुमधुम्ती बसेकाले । कहिले काहीँ त यो अमेरिका हो कि अफ्रिकाको कुनै ढुङ्गेयुगिन जातीय प्रान्त? परदेशीले आफैँलाई चड्किँदै सोधेको थियो । त्यत्रा ठूला–ठूला कलकारखानाहरु चाहिँ सबै यन्त्रले नै चलाउन मिल्ने तर स्वास्थ्य सेवा चाहिँ यस्तो झन्झटिलो ! परदेशीलाई कहिले काहिँ त उदेक नै लाग्छ । औषधी किन्न पनि त्यस्तै समस्या । डाक्टरले दिएको पुर्जा लिएर गयो । पालोमा बस्नु परिहाल्छ । आफ्नो पालो आए पछि पनि कम्तिमा आधा घन्टा त पर्खनु परिहाल्छ । औषधी पनि डाक्टरले लेखिदिए भन्दा एक गोली पनि बढता नपाइने । एउटा पुर्जाले तोकेको समय सम्मलाई मात्र काम गर्ने । फेरि औषधी चाहिए फेरी डाक्टरको नयाँ पुर्जी चाहिने । एउटै औषधी सँधै खाइ रहनेलाई त यस्तो झन्झट् नदिनु नि बाइ ? कस्तो चलन होला ? हेर्नुहोस्न बिरामी सिकिस्त भयो भने आफ्नो डाक्टरले नहेर्ने र आकस्मिक सेवामा पु-याउनै पर्ने । त्यहाँ पनि कुराइ त्यही हो । तर डाक्टरले हेरी सके पछि भने जस्तै दुर्लभ रोग पनि निको चाहिँ पारि छाड्ने । अनि पछि बील नि? २-३ घन्टा आकस्मिक सेवा लिएको २००० भन्दा माथि । त्यो पनि डलरमा । हरे शम्भू !
यसरी आज परदेशी बिभिन्न दृश्य अवलोकन गरि नाना भाँतिका कुरा खेलाउँदै पूर्वतर्फको इन्डियन क्रिक् जाने रेलमा चढेर घर फर्किएको छ ।
लेखन समयः ०३/०१/२०१०