परिवर्तन

बैरागी माइलो
पेन्सिल्भेनिया, अमेरिका

मेरा आँखा बदलिए होलान्,
तर सपनाहरू बदलिएका छैनन् साथी ।
मेरा सिसा कलम जस्ता खुट्टा बदलिएका हुन्
जबदेखि पेटभरि खान पाउन थालेँ
तर बाटो उही छ ।
कलेटी परेका ओठहरू पक्कै परिवर्तन भएका हुन
तर वचन उस्तै छ ।
तिमी त बदली सकेछौ केही पल्ट भन्यौ र रिसायौ पनि ।
करुणा युक्त चीत्कारमा के परिवर्तन हुन्छ ?
हिटलर देखि अहिले सम्मका शासकमा के परिवर्तन देख्यौ ?
सती प्रथाका बेला चितामा पतिको शवसँगै
चढ्न नमान्दा ढुङ्गाले हानेर मार्ने मलामी
र अहिलेको सरकारमा के फरक देख्यौ साथी ??

कयौंपटक निर्दोष कलिला बालबालिकाका कानमा
बारुद झोसे पछि कस्तो परिवर्तन देख्यौ साथी ??
मान्छे मारेर परिवर्तन हुन्छ त ??
हो बदलिएर त भंगालो पनि नदी बन्छ कुनै दिन
बिरुवा ठुलो रुख हुन्छ
बालक वयस्क जवान हुँदै वृद्ध हुन्छ
यो त प्रकृतिको नियम हो साथी

शारीरिक बनावट बदलिएको पक्कै हो साथी
तर बिचार बदलिएको छैन ।
हावा बदलिन सक्छ
पानीले आकार फेर्ला
आगो सानो ठुलो होला
तर मन उही छ साथी
आमा जस्तो माटोको कसम
मलाई लाग्छ तिमी बदलिएर
मलाई पनि बद्लीएको ठान्यौ होला,
तर म जे छु उही छु साथी ,
र उस्तै रहने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *