परिषदलाई सन्देश

Gopal Ghimireगोपाल घिमिरे
दक्षिण अस्ट्रेलिया

आगामी ९ र १० जून २०१८, ओहायोको सिनसिनटीमा हुन गइरहेको महोत्सव तथा साहित्य परिषद्–भुटानको सम्मेलनका समस्त सहभागीहरूमा यो गोपाल घिमिरेको हार्दिक अभिवादन ।

तेस्रो मुलुकलाई स्वदेश बनाउने क्रममा विश्वभरि छरिएर बस्नुहुने समस्त भूटानी नेपाली भाषा-साहित्यलाई माया र जगेरा गर्न सजग भूटानीहरुका लागि यो सम्मेलनले विश्वमानचित्रको छातीमा चिन्हारी बनाउन सफल बनोस् । हाम्रा भावीसन्ततिहरुलाई आफ्नो भाषा र परिचयको सुरक्षा गर्ने प्रेरणा र ऊर्जा प्रदान गरी भाषाप्रतिको माया र उत्तरदायित्व बोध गराउँदै पाठकहरूको सङ्ख्या बढाउँदै लान यस सम्मेलनले ओजपूर्ण भूमिका खेल्न सकोस् भन्ने मेरो हार्दिक शुभकामना छ ।

सन् सत्तरीको दशकपछि भूटानमा नेपाली भाषामा छापिने ‘ड्रुक लोसल’ पत्रिकामा लागिपरेका सिर्जनाका हातहरू; अथक प्रयास र भाषाप्रतिको प्रेमले ओतप्रोत सिर्जना बाघका नंग्राबीचमा परेर सम्पादन हुने र लेख, कथा, कविताका दाँतजति झारेर थोते बनाई छापिएर आउँदा पनि आफ्नो सिर्जना आफ्नै भाषामा पढ्न पाउँदा, पाथी भात खाएजस्तो लाग्थ्यो । पछि नेपालीमा अनुवाद भई छापिने ‘क्युनसेल’ खबर पत्रिका पनि छापिन्थ्यो । क्युनसेलले धेरै वर्ष सम्पादन स्वतन्त्रता नपाई बाँच्यो अनि पछि मऱ्यो ।

हामी शरणार्थी भएपश्चातका भाषा-साहित्यको कुरो उठाउनु पर्दा, नेपालभित्रै बसेर पनि आफ्नै मौलिकता हराइरहेका छौँ र अब केही गर्नुपर्छ भनी, बेल्डाँगी छेउको दुम्से स्कुल नजिकको सालघारीमा सन् १९९३ को फरवरी महिनामा दुईवटा भेला भएका थिए । भेलामा म सबैको नाम लिन नसकुँला (क्षमा याचना गर्दछु) तर, केही भाषाप्रेमी साथीहरू श्री बी.के. राई, श्री गोपाल गुरुङ, श्री सी.बी. भट्टराई, श्री भवानी अधिकारीलगायतका व्यक्तिहरूको उचित परामर्शमा ‘भाषा सुधार समिति’ गठन गरिएको थियो भने ‘नेपाली भाषा परिषद्-भूटान’ को औपचारिक स्थापनापछि भाषा सुधार समिति परिषदमै समाहित भएको थियो । त्यसपछिको अझ उल्लेखनीय कुरो उठाउनुपर्दा, श्री भवानी अधिकारी र श्री गङ्गा लामिटारेको अग्रसरता तथा धेरै जागरुक युवाहरूको सहभागितामा ‘नेपाली साहित्य प्रचार समिति’ सिलगढीको सहयोगमार्फत शिविरव्यापी साहित्यका कक्षाहरू सञ्चालन भए अनि पठन-पाठन सँगसँगै साहित्यिक सिर्जनाहरू पनि हुनथाले । बिस्तारै साहित्यिक क्षेत्र प्रतिस्पर्धात्मक बन्दै गयो, जाँच गरिने व्यवस्था लगायतका हरेक प्रयासले आजको भूटानी-नेपाली साहित्य यसरी झांगिन पाएको हो भन्दा अत्युक्ति नहोला ।

अन्त्यमा, ‘ड्रुक लोसल’ मा ‘मुना ’, ‘प्रभू डाँडो’, ‘युग र नारी’ जस्ता लेख-रचना लेख्ने कुसल हातहरू; आदेशभित्रै पिसिएर भए पनि डटेर धेरै वर्ष ‘क्युनसेल’का नेपाली संस्करण निकाल्ने कलमी योद्धाहरु; शरणार्थी शिविरमा जन्मिएका ‘कोपिला’, ‘सन्देश’, ‘जागरण’लगायत पत्रिकाका स्वयंसेवी सर्जकहरू; भारतभित्र छिरेर नेपाली पत्र-पत्रिकामा उच्चभूमिका राखी आउने लेखक र पत्रकारहरू; लेख, कविता, कथा, काव्य, रुवाई, मुक्तक, गजललगायतका विधामा निरन्तर कलम चलाउँदै आउनुहुने सम्पूर्ण भूटानी सर्जक हातहरू, अब सबै सबै एक साथ जुटेर अँगालो मार्न सकौँ ! सहकार्य र हातेमालो नगरीकन कुनै पनि जीत, वैभव वा इतिहास निर्माणको कल्पना गर्न सकिँदैन । हाम्रा हरेक सिर्जना ताली, माला र वाहवाह-का लागि मात्र नभई समाजको चेतनामा सकारात्मक परिवर्तन गर्दै समयानुकूल साहित्यिक उन्नतितिर सदा अग्रसर भई हाम्रो साहित्यिक पहिचान विश्वमानचित्रमा उभिन लायक बनाऊँ । सम्पूर्ण सहभागी मित्रहरूमा यही सदिच्छा र हार्दिक शुभकामना प्रकट गर्दै, यहाँहरूको निमन्त्रणा पाएर पनि सहभागिता जनाउन नसक्दा मेरा यिनै हरफहरूलाई प्रतिनिधि मानिदिनुहुन हार्दिक निवेदन गरेँ …!

Leave a Reply

Your email address will not be published. Required fields are marked *