पहिचानको सङ्कट

सम्पादकीय

मान्छेका पहिचान गराउने आधारहरू खोज्दै जाँदा धेरै कुराहरू फेला पर्छन् । प्रमुख रूपमा ‘म को हूँ’ भनेर चिन्नु नै पहिचानको मूलाधार हो । यसलाई आध्यात्मिक दृष्टि र भौतिक दृष्टिले दुई भागमा विभाजन गर्न सकिन्छ । आध्यात्मिक दृष्टिमा ‘म को हूँ’ भनेर जान्न भौतिक संसारलाई पुरै बिर्सिएर अन्तर्मुखी हुनुपर्ने हुन्छ । तर भौतिक दृष्टिले पहिचानका आधारहरू थुप्रै हुनसक्छन् । यसरी हेर्दा जन्मपछि हामीसँग जोडिएका नाम,जात,थर,गोत्र,धर्म,संस्कृति, इतिहास,भूगोल, भाषा र राष्ट्र आदि प्रमुख रूपमा पाइन्छन् ।

वस्तुत: मान्छे जताजता बसाइँ सर्छ उसका भाषा,संस्कृति,सभ्यता,धर्म र इतिहास पनि साथसाथै आउँछन् ,किनकि यी तत्त्व विना मानवको भौतिक पहिचान नै रहन सक्दैन ।यद्यपि मानवले यी तत्त्वलाई चाहेर या परिस्थितिवश परिवर्तन गर्ने पनि गर्दछ । तर त्यसो गर्दा मानिसको पहिचान नै खतरामा पर्ने हुन्छ ।जातीय पहिचान भनेको यिनै माथिका विषयहरूसँग जोडिने हुनाले तदनुरूप नै उसलाई चिनाउँछन् ।आफ्नो पूर्खाको भाषा ,संस्कृति र परम्परालाई बद्लिएता पनि उसको रक्तमा या वंशाणुगत आएका कुराहरू र इतिहास बद्लिँदैनन् ,जस्तै अनुहार र जीउको आकार प्रकार । त्यसैले भाषा ,संस्कृति र परम्परा छोड्ने बित्तिकै मानव अनौठो वर्णशंकर झैँ देखिन्छ ।यो धर्म परिवर्तन गर्ने जुन फेसन चलेको छ,त्यो पनि त्यस्तै नै हो । किनकि धर्म परिवर्तनीय हुँदैन ,संस्कृति परिवर्तनीय हुनसक्छ ।किनकि धर्म भनेको वस्तुको वा व्यक्तिको स्वभाव र गुण हो I

हाम्रा सन्दर्भमा कुरा गर्दा हामी तीनचार वटा देशसँग जोडिएका व्यक्तिहरू भएकाले हाम्रो पहिचानको नाल केलाउन त्यति सजिलो देखिन्न ।हामी जुन जुन देशमा नागरिक भैसक्यौं अबको हाम्रो राष्ट्रिय पहिचान पनि त्यही त्यही देशसँग जोडिइसक्यो । अमेरिकामा बस्ने अमेरिकी भयौँ ,अस्ट्रेलियामा बस्नेहरू अस्ट्रेलियाली र क्यानाडामा बस्नेहरू त्यहीँका भयौँ । तर हाम्रो भाषिक,सांस्कृतिक र ऐतिहासिक पहिचान भने हाम्रो पुरानै छ ।तर यो पुरानो पहिचान कहिलेसम्म रहने हो भन्ने कुराको कीटान गर्न चैँ सकिन्न र यो धेरै जटिल पनि छ । किनकि यी हराउन पनि सक्ने रहेछन् । यदि हाम्रा आधारभूत कुराहरू जस्तै भाषा,संस्कृति र परम्परा बचाउन सके हाम्रो भावी पुस्ता वर्णसंकर हुनबाट बच्ने छ नत्र हामी हाँसका बथानमा बकुल्लो जस्तै हुनेछौँ । त्यसैले हाम्रो प्रथम कर्तव्य भनेकै भाषा,संस्कृति र इतिहासलाई जोगाउने ,बढाउने र फलाउने फुलाउने हो I

यस दिशामा अस्ट्रेलियाबाट सुनकोश टिभीले ‘पहिचानको खोजी’ नामक बहसको शृङ्खला आरम्भ गरेको छ । यस कार्यक्रमले एउटा नयाँ र अत्यावश्यक छलफललाई अघि बढाएकाले हाम्रा आधारभूत पहिचानका कुरा खोज्न र जोगाउन हाम्रो समाजलाई प्रेरित गर्ने छ भन्ने कुरामा विमति छैन I

Leave a Reply

Your email address will not be published. Required fields are marked *