पहिचान र साहित्य

सम्पादकीय 

पहिचानको शब्दकोशीय अर्थ चिनाजानी, परिचय वा प्रत्यभिज्ञान हुन्छ । नेपाली बृहत् शब्दकोशले पहिचानलाई कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम भनेर पनि परिभाषित गरेको छ । बृहत्तर अर्थमा पहिचानले कुनै पनि व्यक्तिलाई उसका व्यक्तिगत र व्यवहारिक विशेषताहरूका आधारमा कुनै एउटा निश्चित समूहको सदस्यका रूपमा परिभाषित गर्दछ । जाति, धर्म, भाषा र संस्कृतिमा आधारित रहेर व्यक्तिले आफूलाई अरू समूहभन्दा आफू पृथक् भएको अनुभूति गर्दछ र आफूले यसरी अनुभूतिमा साँचेको आफ्नो पहिचानमा गर्व गर्दछ।

तर पहिचान सधैँ समरूप रहिरहन सक्दैन । समय क्रमसँगै मान्छेको रहनसहनमा परिवर्तन आउँछ । सामाजिक वा भौगोलिक सीमाहरू फराकिला हुँदै जान्छन्, वा भत्कँदै जान्छन् । यसरी काल क्रममा मान्छेको एकभन्दा बढी सांस्कृतिक पहिचान निर्माण हुन पुग्दछ ।

मान्छेहरूको बसाइसराइ र यसले निर्माण गर्ने सामाजिक व्यवस्थालाई तथ्याङ्कका रूपमा ठेलिकाठेली पुस्तकहरूमा सुरक्षित राखिएको छ । यस्ता सामाजिक बनोटहरूका बारेमा धेरै अनुसन्धान भएका छन्, असङ्ख्य पुस्तकहरू लेखिएका छन् । तर साहित्यमा आउने पहिचानका अवयवहरू तथ्याङ्कहरूमा सीमित रहँदैनन् । साहित्यमा मान्छेको भित्री हृदय खोतलिन्छ, मान्छेका दिमागी उतारचढावका तरङ्गहरू समेटिन्छ । साहित्यले मान्छेमाथि लेखिने र पढिने संस्कृतिमा एउटा फराकिलो आयाम निर्माण गर्दछ । यसरी साहित्यले स्वामित्वको अनुभूति सिर्जना गर्दै पहिचान निर्माण गर्दछ जसले अन्ततः सामाजिक तथा राजनैतिक क्रियाकलाप हरू र यसका गतिशीलताहरू परिवर्तन गर्ने सामर्थ्य राख्दछ ।

बारम्बारको बसाइसराइ (यो जुनसुकै रूपमा आएको किन नहोस् ) का कारण हाम्रो पहिचान सधैँ तरल अवस्थामा रहिरह्यो।  तेस्रो देश पुनर्वासपछि त झन् हाम्रो भाषिक, धार्मिक, सामाजिक, सांस्कृतिक पहिचानमा  विविध अर्थमा एक प्रकारको सङ्कट पैदा हुँदैछ।  हामी कुनै न कुनै रूपमा सामूहिक पहिचान निर्माण गर्न कसरत गरिरहेका छौँ। यी सबै कुराहरूलाई हाम्रो साहित्यले कसरी अङ्गीकार गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ।   

अङ्ग्रेजी साहित्यले “प्रवासी साहित्य”लाई आप्रवास, बसाइसराइका आयामहरू र आप्रवासीहरूको नवीन पहिचान निर्माण अन्वेषण गर्ने एउटा छुट्टै साहित्यिक धारका रूपमा विकसित गर्दै छ । उता हाम्रो मूलधार नेपाली साहित्यमा “डायास्पोरिक साहित्य” अन्तर्गत नेपाल देशको राजनैतिक सिमानाबाहिर लेखिएका सबै साहित्यलाई समेट्ने प्रयत्न हुँदैछ । हाम्रो परिप्रेक्ष्यमा पनि पहिचानलाई मूल विषय बनाएर अनौपचारिक नै सही केही छलफल सुरु भएका छन् । यसरी हुने छलफलहरूलाई तार्किक निष्कर्ष मा पुर्‍याउनु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *