पागल मान्छे म
तोडफोड गर्ने प्रयासमा छिन्
घरि भ्यार्र-भ्यार् फोनको घण्टी बजाउँछिन्
घरि ठिङ्ग-टिङ्ग मेसेज पठाउछिन्
घरि पल्लो घरकी मायालाई
मेरो ढोका ढकढक्याउन लगाउँछिन्
यता म भने
केही नै थाहा नपाएको भानमा
आनन्दको खोजमा छु
नाकको टुप्पोमा एकाग्रता होस्
या
फेरि उनकै चम्किलो छविमा होस्
टललल आँखा बलिरहेको देखिन्छ
तर बन्द छ – एकोहोरिएको छ
सायद
यस्तै कार्यमा फस्सिएर होला
मान्छेहरू
मलाई अर्द्धपागल भन्दा-भन्दै
अब त
पागल नै पो भन्न थालेछन्।
उनी बेमौसमी छाल बनेर
पटक-पटक आउँदै-जादै गर्छिन्
घरि डिलसम्मै आएर मन्द मुस्कान छोड्छिन्
घरि परैबाट हात हल्लाउँदै ओझेल पर्छिन्
यता म भने
त्यही छाललाई मेरो मानसपटलमा
कैद गर्न खोज्छु
पछ्याउन खोज्छु
पक्रिन खोज्छु
रोक्न खोज्छु
तर निरन्तर चलिरहने समयजस्तै
त्यही छाल रोकिँदैन
आउने-जानेको खेल खेलिरहन्छ
बेसहारा मेरा हत्केलाहरू
न त रोक्न नै सक्छ
न त छेक्न नै सक्छ
सायद
यस्तै मूर्खतामा भास्सिएर होला
मान्छेहरू
मलाई अर्द्धपागल भन्दा-भन्दै
अब त
पागल नै पो भन्न थालेछन्।
उनी सपनामा हरदम आइरहन्छिन्
घरि यसो गरौँ भन्छिन्
घरि उसो गरौँ भन्छिन्
घरि जिन्दगीको सटीक परिभाषा दिन्छिन्
यता म भने
सपनामै विपनामाझै
बरबराइरहेको हुन्छु
स्वीकार अनि आपत्तिका भावहरू
जनाइरहेको हुन्छु
बेला-बेला उनको नामनै लिएर
चिच्याइरहेको हुन्छु
उनीसित प्रत्यक्ष भलाकुसारी गर्नलाई
ठूलो आवाजमा दिनहरू गनिरहेको हुन्छु
उनकै नाममा सुर-ताल बिना नै
गीत-गजलहरू भरिरहेको हुन्छु
सायद
यस्तै-यस्तै
अनौठा चर्तिकलामै अल्झिएर
मान्छेहरू
मलाई अर्द्धपागल भन्दा-भन्दै
अब त
पागल नै पो भन्न थालेछन्।