पाठ्यक्रमको अवधारणा र उद्देश्य
डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
हामी नेपाली भाषी डायस्पोरिक व्यक्तिहरू यति बेला भाषिक हैजाले ग्रसित छौँ I हाम्रा बालबालिकाले मातृभाषा भुल्न थालेका छन् भने थुप्रै अभिभावकहरू मातृभाषाप्रति जागरुक छैनन् I केही जागरुक व्यक्तिहरूका सक्रियतामा सामुदायिक स्तरमा कमै मात्रामा भए पनि साप्ताहिक भाषाकक्षाहरू सञ्चालित हुँदै छन्,यो सकारात्मक र आशाजनक लक्षण हो I तर स्थानीय स्तरमा स्तरानुरूप केन्द्रीकृत पाठ्यक्रमको, पाठ्य सामग्रीको, पाठ्यपुस्तकको र शैक्षिक प्रविधिको अभाव छ I जसले गर्दा भाषा-शिक्षणको यो अभियानलाई सहज र प्रगतिशील बनाउन हामीले सङ्गठित रूपमा सहकार्य गर्दै एउटा केन्द्रीकृत पाठ्यक्रमको निर्माण गर्नुको कुनै अर्को विकल्प छैन I त्यसैले हामीले पाठ्यक्रम सम्बन्धमा केही जानकारी गर्न आवश्यक छ I यहाँ पाठ्यक्रमका बारेमा केही चर्चा गर्ने जमर्को गरेको छु I विज्ञ वर्गले यो लेख पढेर थप सुझाव अवश्य दिनु नै हुनेछ भन्ने अपेक्षा गर्दै पाठ्यक्रमको सामान्य अवधारणा र उद्देश्यलाई यहाँ पस्किँदै छु I
पाठ्यक्रम भनेको के हो ?
पाठ्यक्रमको परिभाषा/अर्थ
औपचारिक शिक्षामा विद्यालयमा/कक्षामा शिक्षकद्वारा विद्यार्थीलाई पढाइने विषयलाई सहज, सरल र उद्देश्यपूर्ण बनाउन निश्चित समयकालागि निश्चित तहको तैयार गरिएको विषयवस्तुलाई पाठ्यक्रम भन्न सकिन्छ I पाठ्यक्रमले कक्षामा के पढाउने र कति पढाउने भन्ने कुराको निश्चय गर्दछ I यद्यपि कुनै निश्चित स्थानमा पुग्न एउटा मात्र वस्तुको उपयोगले कार्य पुरा हुँदैन I जस्तै गाडी न कुद्ने स्थानमा माथि डाँडामा भएको मन्दिरमा दर्शन गर्नु छ भने त्यहाँ हिँडेर जानुपर्ने हुन्छ I मन्दिर रूपी लक्षमा पुग्न बाटो सबै भन्दा महत्त्वपूर्ण कुरो हुन जान्छ I शिक्षाको उद्देश्यलाई प्राप्त गर्न पनि पूर्व निर्धारित बाटो (पाठ्यक्रम) छ भने सहज रूपमा प्राप्त गर्न सकिन्छ, जसले बिचमा अलमलिने खतरा रहँदैन I अतः पाठ्यक्रम भनेको बाटो मात्र नभएर पिस गरेर बनाइएको ठुलो फराकिलो रोड जस्तै हो I
पाठ्यक्रमका बारेमा अनुसन्धान गर्दै जाँदा विभिन्न शिक्षाविद्हरूले आफ्ना अवधारणाहरू राखेको पाइन्छ I यस विषयमा कुन विद्वानको के भनाइ छ त भन्ने कुरालाई पनि यहाँ संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुन जान्छ I
पाश्चात्य शिक्षाशास्त्री ‘क्रो एन्ड क्रो’ को भनाइ अनुसार – पाठ्यक्रममा विद्यालयभित्र या बाहिर विद्यार्थीहरूको अनुभव र क्रियाकलापहरू समाहित हुन्छन्, जसमा विद्यार्थीको मानसिक, शारीरिक, भावनात्मक, सामाजिक, आध्यात्मिक, नैतिक तथा सर्वांगीण विकासका निम्ति विषयवस्तु निर्धारित गरिन्छ I शिक्षाविद् कनिंघम भन्छन् -शिक्षक एक कलाकार हो, कलाकारका हातमा हुने कलाको एक साधन पाठ्यक्रम हो र उसले आफ्नो स्टुडियो (विद्यालयमा) पदार्थरुपी ( विद्यार्थीसँग) आदर्शका कुराको प्रयोग गर्दछ I ‘मुनरो’ नाम गरेका अर्का शिक्षाशास्त्री लेख्छन् -पाठ्यक्रममा ती सम्पूर्ण क्रियाहरू सम्मिलित हुन्छन्, जसलाई हामी शिक्षाको उद्देश्यलाई प्राप्त गर्न विद्यालयमा प्रयोग गर्दछौँ I त्यस्तै अर्का भाषाविद् फ्रोबेलका मतमा पाठ्यक्रम मानव जातिको सम्पूर्ण ज्ञान र अनुभवहरूको सार हुनु पर्दछ I डी वी नामक अर्का विद्वानले भनेका छन् – सिक्ने, सिकाइने विषयलाई पाठ्यक्रम भनिन्छ I पाठ्यक्रम पदार्थ, विषय र सिद्धान्तको सम्मिश्रण हो, चित्रण हो, जो उद्देश्यपूर्ण हुन्छ र लगातार क्रियाशील हुनुपर्दछ I
पूर्वीय शिक्षाविद्हरूका बिचारलाई हेर्ने हो भने समग्रमा “या विद्या सा विमुक्तये’ भनेर जीवनको अन्तिम लक्ष्य मुक्ति हो र तदनुरूप शिक्षा पस्किने योजना नै पाठ्यक्रम हो भनिएको पाइन्छ I महात्मा गान्धीले आदर्श शिक्षा, नैतिक शिक्षा र सर्वांगीण विकास गर्न सक्ने शैक्षिक योजनालाई नै योग्य पाठ्यक्रम हुनसक्ने कुरामा जोड दिएको पाइन्छ I स्वामी विवेकानन्दले व्यक्तिको नैतिक, चेतानात्मक, व्यक्तित्व विकास गर्न शिक्षा सर्वोपरि साधन हो भनेका छन् भने त्यस्तो शिक्षालाई एक सफल सुसंगठित मनोवैज्ञानिक पाठ्यक्रमले मात्र दिशा दिन सक्ने कुरो बताएका छन् I
यसरी भिन्नाभिन्नै विश्लेषण गरेको पाइए तापनि सामन्य भाषामा भन्नु पर्दा यी सबै परिभाषाका आधारमा के भन्न सकिन्छ भने पाठ्यक्रम भनेको सामान्य रूपमा शिक्षा प्रदान गर्दा विद्यार्थीलाई पढाइने विषयवस्तुलाई जान्ने गर्दछौँ, तर पाठ्यक्रम भनेको यति मात्र होइन I पाठ्यक्रम आफैमा एक व्यापक अर्थलाई बोकेको शब्द हो I स्थूल रूपमा हेर्दा निर्धारित उद्देश्यलाई प्राप्त गर्न, तदनुरूप विषयलाई व्यवस्थित गर्दै अध्येताको स्तर र समयावधि अनुरूपको शिक्षण गराइने विषयवस्तु नै सङ्क्षेप अर्थमा पाठ्यक्रम हो I साथै व्यापक अर्थमा हेर्ने हो भने पाठ्यक्रम अन्तर्गत पाठ्यपुस्तक, सहायक सामग्री, शिक्षण प्रविधि, मूल्याङ्कन प्रक्रिया आदि समस्त क्रियाकलापलाई पनि पाठ्यक्रममा लिन सकिन्छ I यद्यपि सूक्ष्म रूपमा हेर्दा पाठ्यपुस्तक र पाठ्यक्रममा निकै ठुलो अन्तर पनि पाइन्छ I तथापि औपचारिक शिक्षा प्रणाली र अनौपचारिक शिक्षण प्रणालीमा पाठ्यक्रमगत विभिन्नता हुन सक्दछन् I देश, काल र परिस्थिति अनुरूप पाठ्यक्रमका विभिन्न स्वरूप हुन सक्दछन् I समग्रमा हेर्दा शिक्षा- मनोविज्ञानलाई केन्द्रमा राखेर निर्धारित गरिएको पाठ्य-विषयवस्तु नै पाठ्यक्रम हो I
पाठ्यक्रमलाई बज्नु केही प्रश्न वाचक ककारहरूको प्रयोग गर्न सकिन्छ I जस्तै विद्यार्थीलाई के पढाउने ? कति पढाउने ? कसरी पढाउने ? यी प्रश्नहरूको उत्तर खोज्दा पाठ्यक्रमको अर्थ बुझ्न सहज हुन्छ I पाठ्यपुस्तक भनेको उक्त पाठ्यक्रमले मागेको विषयलाई समेट्ने निश्चित आकारप्रकारको प्रयोगात्मक, आभ्यासात्मक सङ्कलन हो I यसरी पाठ्यक्रम र पाठ्यपुस्तक मध्य भेद छ पनि छैन पनि I
शिक्षाको उद्देश्य अनुसार पाठ्यक्रमको स्वरूपमा भिन्नता हुन सक्छ I विषयवस्तुका आधारमा पनि पाठ्यक्रमको स्वरूपमा अन्तर आउन सक्छ I जस्तै विषय शिक्षण र भाषा शिक्षण I शिक्षाको माध्यम भाषा भएकाले भाषा आधारभूत तत्त्व त हुँदै हो,साथै भाषा उद्देश्य या लक्ष्य पनि हुन्छ I अर्थात् भाषाको शिक्षण गर्नुपर्दा भाषा सिकाइका आधारभूत तत्त्वहरू र सीपहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ I अर्थात् भाषाशिक्षणमा भाषा सिकाइका आधारभूत तत्त्व र विषय सामग्रीहरूलाई देश, काल र परिस्थिति अनुरूप क्रमिक रूपमा समेटेको निर्धारित शिक्षक निर्देशिका नै पाठ्यक्रमको मुख्य स्वरूप हुन सक्दछ I
पाठ्यक्रम किन ?
पाठ्यक्रमको उद्देश्य-
पाठ्यक्रमलाई सामान्य रूपमा अर्थ्याई सकेपछि धेरथोर किन ? को उत्तर मिलन थाल्दछ, तर निश्चित र ठोस भने सबैलाई नहुन सक्छ I अतः पाठ्यक्रम हुँदा र नहुँदा के फरक हुने रहेछ भन्ने निधो गर्न त्यसका केही सामन्य उद्देश्यहरूलाई पनि केलाउन आवश्यक देखिन्छ I प्रस्तुत छ पाठ्यक्रमका उद्देश्यहरू:
- पाठ्यक्रमले शिक्षाको उद्देश्यलाई प्राप्त गर्न ठुलो सहयोग गर्दछ !
- पाठ्यक्रमले समयको र ऊर्जाको बचत गर्दछ I विना पाठ्यक्रम शैक्षिक उद्देश्यको परिपूर्ति हुन सक्दैन !
- पाठ्यक्रमले विभिन्न स्थानमा काम गर्ने शिक्षक-शिक्षिकाहरूलाई सहकार्य गर्न सहयोग गर्दछ र कार्यगत शिक्षणगत समानता र एकरुपता कायम गर्न ठुलो भूमिका खेल्छ
- पाठ्यक्रम ज्ञान-विज्ञानको साधन हो I साथै पाठ्यक्रमले छात्रालाई आफ्नो शैक्षिक ज्ञानको स्तर जान्न र थप ज्ञानलाई स्तरानुरूप अभिवृद्धि गर्न सहयोग गर्दछ !
- पाठ्यक्रमले क्रमबद्ध विकासलाई प्रोत्साहित गर्छ र छात्रको नागरिक कर्तव्य बोध गराउँछ I अथवा सामाजिक कर्तव्यलाई चिन्न र निर्धारण गर्न सहयोग गर्दछ !
- प्रगतिशील शिक्षा प्रणालीमा चरित्र विकासलाई पाठ्यक्रमले नै प्रोत्साहित गरेको हुन्छ I अर्थात् पाठ्यक्रमद्वारा चरित्र विकास गर्न सकिन्छ !
- पाठ्यक्रम विकास गर्दा विद्यार्थीको व्यक्तित्व विकासलाई ध्यान दिएर बनाइएको हुन्छ,अतः:पाठ्यक्रमले व्यक्तिको व्यक्तित्वमा परिष्कार र विकास गराउँछ !
- पाठ्यक्रमले छात्रलाई खोज अनुसन्धान गर्न प्रेरित गर्दछ र तदर्थ मार्ग प्रशस्त गर्दछ !
- देश,काल परिस्थिति अनुसार आवश्यक ज्ञान प्रदान गर्न पाठ्यक्रम नै समर्थ हुन्छ !
- बाल-बालिकाहरूको,आर्थिक,सामाजिक,सांस्कृतिक राजनैतिक, धार्मिक विकासलाई मार्ग दर्शन गर्न एक सफल पाठ्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ !
- बालबालिकाको रुचि अनुसारको शिक्षा ,वर्ग निर्धारण,आइक्यू निर्धारण र प्रगति विवरण तैयार गर्न सहयोग गर्दछ I
- पाठ्यक्रमले बालबालिकामा सत्य,त्याग,प्रेम,सेवा,परोपकार आदि नैसर्गिक,चारित्रिक र नैतिक विकास गर्न सहयोग गर्दछ !
- पाठ्यक्रमले मूल्याङ्कन पद्धतिलाई अभिप्रेरित गर्दछ र छात्रको ज्ञान स्तरलाई छुट्ट्याउन सहयोग गर्दछ !
- पाठ्यक्रमले विद्यालय/कक्षागत शैक्षिक व्यवस्थापन गर्न सहयोग गर्दछ !
- पाठ्यक्रमले छात्रको भाषिक कौशलको अभिवृद्धि गर्न थप सहयोग गर्दछ !
यसरी पाठ्यक्रमको अर्थ र उद्देश्यलाई उपर्युक्त छलफल गरिसकेपछि स्पष्ट हुन्छ कि कुनै पनि विषयको अध्यापन, व्यवस्थापन र उद्देश्य प्राप्त गर्न हामीलाई पाठ्यक्रमले नै सहज वातावरणको निर्माण गर्दै कार्यकुशलता भरिदिन्छ I
हामी भाषा शिक्षण गर्दैछौं, त्यो पनि विपरीत परिस्थितिमा I हामीसँग सम्बन्धित साधन र सामग्रीको अभावले हाम्रो अभियानलाई झनै कठिन तुल्याएको छ I गन्तव्य तय भए पनि तैयार मार्गका अभावमा हामी यात्रा गर्न असहज अनुभव गरिरहेका छौँ I हामी सबै नेपाली भाषी प्रवासीहरू एकै प्रकृतिको रोगले ग्रसित छौँ I यो सिङ्गो साझा अभियान भएकाले यसलाई व्यवस्थित, सङ्गठित र प्रगति परक बनाउन हामीले पाठ्यक्रम, पाठ्य सामग्री र पाठ्यपुस्तकहरूको अनुसन्धान, प्रकाशन र प्रयोग गर्न नितान्त आवश्यक छ I साथै दोस्रो चरणमा हामीले हाम्रो भाषिक अभियानको दिशा कता मोड्नु पर्ने हो भन्ने थाहा पाउन जरुरी छ I हामी अल्पसङ्ख्यक आप्रवासी भएकाले पनि हाम्रा उद्देश्यहरू र अभियानहरू अरूका तुलनामा निकै सङ्घर्षमय हुने सम्भावना अधिक रहन्छ I
त्यसरी नै हामी सबै अभियन्ताहरू प्रगतिशील, उत्साहित, प्रशिक्षित र समर्पित हुन पनि आवश्यक रहेको कुरालाई हामीले भुल्नु हुँदैन I अभियानको अर्को पाटो हाम्रा अभिभावकहरू हुन्, उनीहरूलाई भाषाप्रति जागरुक, समर्पित र प्रशिक्षित गराउन सहकार्यको अभ्यास हुन जरुरी देखिन्छ I
साहित्य परिषद्ले भाषा शिक्षण अभियानलाई आफ्ना स्थानबाट सहयोग गर्न पाठ्यक्रम निर्माणको सङ्कल्प लिएको छ I यो अनुसन्धानात्मक अभियान परिषद्ले स्थानीय समुदाय, शिक्षाविद्, भाषाविद् र समाजसेवी बन्धुहरूको सहकार्यमा मात्र पुरा गर्न सक्ने छ I अतः आउनुहोस् हामी स्टेप-बाई-स्टेप अघि बढौँ I
राम्रो कामको सुरुवात हुँदैछ। यो कार्य सफल रहोस्। हालको प्ररिवेशमा पाठ्यक्रम विकास र त्यसको प्रकाशन ठूलो कुरा हो। अग्रीम शुभ कामना !
धन्यवाद जे एन भाइलाई सकारात्मक प्रतिक्रियाको लागि ! पाठ्यक्रमको कार्य गतिशील छ ! साहित्य परिषदको शिक्षा विभागले पहिलो तह प्रकशन गरिसकेको अवस्था छ र अब हामी भाषा शिक्षाका सम्पूर्ण योजनाहरूलाई सबै मिलेर अघि बढाउनुपर्छ !