पाहिला यतै सार

साना साना झुपडिको सानै हुन्छ चाल ।
दु:खै दु:ख भोग्दा भोग्दै बित्यो सत्र साल ।।
झरी वादल हावा हुरी वर्षेनीको दुस्ख ।
बाँसको चित्रो कागचभित्तो किन मान्छौ सुख ।।
बुद्धिजीवि ज्ञानी भद्र कोही छैनन् हेर ।
पुनर्वासको मौका आयो भाग्य जाला खेर ।।
जहाँ गए जता गए संसार एउटै हो नि ।
आफ्ना आफ्ना देशको कानून फरक पर्ने छ नि ।।
जुन देश गए पनि माटो एउटै हो नि ।
कर्म गर पेटभर भाग्य त्यहीँ छ नि ।।
जहाँ बस्दा राम्रो हुन्छ भेदभाव हुन्न ।
त्यही देश आफ्नो हुन्छ दुःखले त छुन्न ।।
जन्म घर आफ्नो हुन्न चेलीलाई त सोध ।
जन्म घर छोडिहाल्यौ कर्म घर रोज ।।
रोज्न सके कर्मघर जीवन राम्रै बित्ला ।
झुपडिमा बस्ने भए भाग्य आफ्नै फुट्ला ।।
गाँस बास कपासको दुःख छैन हेर ।
धुँवा धुलो फोहोर छैन सुख मात्र धेर ।।
साइकल चढ्ने कार चढे डलरको खेति ।
वृद्ध, रोगी, बालक सबै खुश बुझ यति ।।
सभ्य मुलुक सभ्य समाज सभ्य व्यवहार ।
तिमी पनि सभ्य बन्न पाइला यतै सार ।।
काम गरे कर फिर्ता परिवार सुखी ।
वृद्धभत्ता सुरक्षित आमा बाबा खुशी ।।
एक टोक्री चामल र एक बिर्को दाल ।
थाप्दै बस्दा दुःखसँग वित्यो धेरै साल ।।
झुपडीको जीवन त नरक जस्तै छ नि ।
दातृसंस्था हुँदा हूँदै लुट्ने अर्कै छ नि ।।
लुटिई लुटिई किन बस्छौ के छ अधिकार ?
बाहिर गई काम गर्छौ दाम छ बराबर ?
जीवन हाम्रो पानी जस्तै पानी बग्छ हेर ।
झरना खोला भन्दा पनि सागर जल धेर ।।
मूल फूट्यो पानी बग्यो इष्टमित्र सारा ।
जत गए पाइला उतै अब आफ्ना सारा ।।
शितल हावा चोखो वायु प्रदूषण हुन्न ।
आत्मा सुखी भयो भने यमराजले छुन्न ।।
o very good kabita Bhim sir,
Keep on posting
Bhim Guru tapai ko kabita sari ramro lago. keep on posting more articles