पिरै पिर

सि एम निरौला 
अमेरिका

प्रकाश सपुतको ‘पिर’ नामक नयाँ गीत हिजो मार्च १२ तारिख शनिवार रिलिज भएको छ। भिडियोमा दश वर्षे जनयुद्ध पछिको राजनीतिक परिवर्तन अर्थात् जनमुक्ति सेनाको अवस्था चित्रण गरिएको छ। स्वदेशमा कुनै आर्थिक अवस्था नसुध्रिएपछि कसरी नेपाली जनता विदेश जानु परेको छ भन्ने बाध्यता कलात्मक तरिकाले देखाइएको छ ।

यस गीतले साङ्गीतिक क्षेत्र र  सामाजीक सञ्जाजालमा एक खालको बहस र खुल्दुली नै जन्माएको देखिन्छ। हुन त यो गीत र यी बहसहरूले म र मेरो समाजलाई कतैबाट पनि नछुनु पर्ने हो तर खै किन म अछुतो बन्नै सकिन।

सपुतको आफ्नै युट्युब च्यानलबाट रिलिज उक्त  मिउजीक भिडियोको अन्त्य तिर जब प्रकाश देशको माटो रुमालमा पोको पार्दै राष्ट्रिय भावले ओतप्रोत हुँदै बिदेसिन खोज्छन् अनि उनकी ती अबोध छोरीले प्रश्न गर्छिन् “बाबा देश भनेको के हो कहो?” हो यही शब्दले मेरो निको हुन लागेको घाउ पुन: एक पटक पाक्छ, विस्फोट हुन्छ, आङ नै सिरिङ्ग हुन्छ र मेरो विगत सम्झन्छु। म जिउँदो लास भएको महसुस गर्छु ।

भिडियोमा जन युद्ध पछिको लडाकुको जीवन र नेताहरूको व्यवस्ता र फेरिएको जीवन शैली चित्रण गरेता पनि मेरो मन अरू नै कुराले छोयो। जुन भिडियोको अन्त्य तिर नावालिकाको मुखबाट आउँछ।

सपुतले देश भनेको चार किल्ला होइन भनेका छन् । साँच्चै देश भनेको के हो ? यो प्रश्न मनमा गढ्छ ।

सोही भिडियोको अन्त्य तिर उनकी छोरीले सोध्छिन्, “देश भनेको के हो बाबा?” ती नाबालिकाको प्रश्नमा प्रकाश जसरी नाजवाफ थिए, म त्यहीँ पुग्छु। एक्लै छु आशु पुच्छु, डाको छाडेर रुन मन लाग्छ तर समालिन्छु र मनको भावना  लेखमा पोख्छु।

पूर्वी नेपालको झापा र मोरङमा रहेका मसँगका ती देश विहीन बनाइएका भूमि पुत्र, भुटानी जेलमा नारकीय जीवन बिताइरहेका ती राजनीतिक कैदी बन्दी र म जस्ता बाध्य भएर विदेशलाई स्वदेश मान्न तयार भएका सबैलाई सम्झन पुग्छु  र देश भनेको के हो गहिरिएर सोच्छु, उत्तर नै छैन। देश भनेको के हो भनेर जान्न मन हुनेले आज पनि झिनो आस राखेर भुटान फर्कने चाह राखेर तड्पिरहेका ती शिविरका शरणार्थीलाई सोधे हुन्छ। म जस्तै अवसर पाएर पनि सपनाको देश जान्न बरु यही मर्छु यहाँबाट हिँड्नु परे भुटानमै भारी बिसाउँछु भन्ने डा. भम्पा राईहरूलाई सोधे हुन्छ, देश के हो? यसको सटिक उत्तर उनीहरूबाट पाउन सकिन्छ कि!

भोली छोराले मेरो देश अमेरिका भनेर सगौरव गर्छ । तर यहाँ अर्को प्रश्न उठ्छ। के मेरो छोरा या छोराहरूले मेरो भाषा नेपाली भन्ला त? दौरा सुरुवाल, ढाका टोपी, सारी र चोली अनि नौमती बाजामा यिनीहरू रमाउला त? मैले खाने गुन्द्रुक र सिन्की यिनलाई गन्हाउला कि बास्ना चल्ला? म सोच्न बाध्य छु। मेरा पुर्खाले बरु देश छाडे तर ढाका टोपी र दौरा सुरुवाल छाडेनन् । के हाम्रा सन्ततिले यस्तो गर्लान त? अनगिन्ती प्रश्नहरूको पहाडले मलाई सताइ रहेको छ। तर उत्तर कहीँ छैन, छ त सबै प्रश्न नै प्रश्न!

देश भनेको के हो? भाषा के हो? तिथि श्राद्ध के हो? मेमो रियल डेमा तिथि गरे भई गो भन्दिए भने तिनलाई कसरी बुझाउने? बर्सेनि आउने तिथि पश्चिमाहरूलाई नआए म जस्तो हिन्दुधर्ममा आस्था राख्ने हाम्रा सन्ततिलाई पनि नआउने त होइन? यसको असल शिक्षा कसले र कसरी प्रदान गर्ने? प्रकाश सपुतको १६ मिनेट २५ सेकेन्ड लामो  साङ्गीतिक भिडियो  हेरे पश्चात् म निकै चिन्तित छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *