पुत्लिभिर र मेरा बाबा
कृष्ण भण्डारी “काईलो”
ओहायो, अमेरिका
एउटा देश भित्र
मेरा जवान हजुर बालाई
दास बनाउन लगिएको देश
जहाँ घोरेटो र गोरेटो
सम्भवतः कतै-कतै भएको
गाडी गुड्ने त कुरै थिएन
राजधानी थिम्पु जाने बाटो
पुत्लिभिर जुन भिर हो
भेडाहरू, साँढेहरू, गधाहरू
हिँड्न नसक्ने पाखा पखेराहरू
मजदुर, नोकर, चाकर हात टेकेर
लामो सुस्केरा हाल्दै
खुईया !! गर्दा सम्म उक्लन नसक्ने
भित्तो उक्लेर थिम्पु पुग्नेहरूलाई
मैले सम्झँदै सलाम गर्न चाहेँ ।
बाउ छोरा-छोरी र आफ्नासँग
एउटै भाँडामा पाकेको अन्नको
आफ्नै झुप्रा घरहरूका मझेरीमा
कहिल्यै आनन्दको प्रितीभोज भएन ।
सपना बिपना साँझ बिहान र दिन
पुत्लिभिरको बाटो खन्नमा नै
मेरा बाबाको दिनचर्या रहँदथियो
त्यो अनुहारको पसिना सम्झँदा
बलिन्द्र पसिना झरेर
कमिजमा देखिएका दागहरूले
भूटान र पुत्लिभिरको नक्सा
छर्लङ्गै दर्शाउँदथियो
पृथ्वीको रफ्तारले घुमाएर घामलाई पनि
बाबाको डडाल्नु माथि पार्थ्यो कि क्या हो
त्यतिखेर बाबाले खनेको बाटो
अहिले त्यहाँ त्यो सडक माथि
तँ अघि कि म अघि गर्दै
लस्करै गुड्ने गाडीहरूमा
आज छोराहरू पनि गाडी गुडाउँछन्
उनीहरूले त्यो बाटो मात्र देख्छन्
म उनीहरू भन्दा धेरै टाढा छु
म त्यो बाटो र बाबालाई देख्छु
उनीहरू त उतै छन्
बाबा स्वर्गमा म अमेरिकामा
तर किन हो किन
आज पनि म देखि रहेको छु
भूटान र पुत्लिभिरको नक्सा
बाबाको त्यो च्यातिँदै गरेको कमिजमा ।