पुनर्बास प्रक्रिया रोकिँदा…

दागाने काइँलो

पुनर्बास प्रक्रियाले धेरै शरणार्थीलाई नेपालका शिविरको दु:खबाट टाढा बनाइसकेको छ । पुनर्बासमा पुगेका अधिकांश मानिसहरु खुसी नै छन् । करिव ४२,००० हजार शरणार्थीले विभिन्न सम्पन्न मुलुकमा नयाँ जीवन शुरु गरिरहँदा, सोभन्दा पनि बढीको संख्याका शरणार्थीहरु उडानको प्रतिक्षामा रहेको अवस्था हो । पुनर्बासका खेलाडीहरुले भन्ने गरेका छन्, सबै कुरा योजना अनुसार भए अबको पाँच वर्षमा शरणार्थी शिविरमा १०,००० भन्दा बढी मानिस नरहलान् भनेर । तर जति–जति समय लम्बिँदै जाँदै छ, त्यती मात्रामा पुनर्बासको प्रतिक्षामा रहेका शरणार्थीहरु पूरै प्रक्रिया रोकिने हो कि भनेर अलिक बढी आत्तिन थालेका छन् । अझ, गएको साता देखा परेको एउटा घटनाले त सबैको सातो अडायो ।

झापा र मोरङका सात शिविरमा गत शुक्रबारका दिन शरणार्थीहरुमाझ निकै खैलाबैला मच्चिन पुग्यो । त्यसो हुन पछाडिको कारण भने अलिक जटिल नै थियो । अमेरिकाले पुनर्बास प्रक्रिया एकाएक रोकेकाले शरणार्थीहरु बिचल्लीमा पर्ने भन्ने खबर शिविरका प्रायजसो सबै छाप्राहरुमा सनसनी एकाबिहानै छिरेकाले परिस्थितिले अनौठो रुप लिन पुग्यो ।

हुन पनि शिविर छाडेर भद्रपुर विनास्थलतिर हिँडेका शरणार्थीहरु पनि निराश भएर दमकबाटै शिविरतिर फर्केको कारुणिक दृष्यले झन् शरणार्थीहरुमा बढी छटपटी थपेको थियो । पुनर्बासमा हिँडेका साथीभाइ र आफन्तलाई पुनर्बास प्रक्रिया अस्थाइरुपमा रोकिएको भनेर शिविरतिरै फर्काएपछि, अमेरिकालगायत अन्य देशतिर हिँड्नै लागेका अथवा प्रक्रियामा सहभागी शरणार्थीहरु निराश बनेका थिए । त्यती मात्र होइन, शरणार्थी नेता टेकनाथ रिजालदेखि रोङथोङ किन्ले दोर्जीसम्मको सातो गएको थियो । अझ, पुनर्वाश प्रक्रियामा सम्लग्न भइरहेका थिन्ले पेन्जोर र नारद अधिकारीको मन कस्तो भयो होला, त्यो सबैले सोच्ने विषय हो ।

प्रक्रिया रोकिएको खबरसंगै शिविरभित्र अनेकथरी कुराहरु पनि नचलेका होइनन् । कति शरणार्थीले अमेरीकाले शरणार्थीको पुनर्बास प्रक्रिया पुरै स्थगित गरेकाले, त्यसको चाँजोपाँजो मिलाउने अन्तराष्ट्रिय आप्रबासी संगठन (आइओएम्) पनि नेपालबाट भाग्न लागेको हल्ला पनि शरणार्थी माझ मच्चिएको थियो ।

आधा परिवार पुनर्बासमा गइसकेकाले शिविरमा रहनेहरु पुनर्बासमा जान नपाइने भयो भनेर धेरै निराश भएका थिए भने साइबर क्याफे र टेलिफोन बुथमा पनि ठूलो घुइँचो लागेको थियो । अझ कति त डाको छाडेर रोएका थिए । अनि, पुनर्बासको बिरोध गर्नेहरुका लागि भने ताली पिटेर रमाउने वातावरण श्रृजना भएको थियो । नेपालमा चलेको हल्ला केही क्षणमै अमेरिकालगायत मुलुकहरुमा शरणार्थीका आफन्तकामा पुगेको थियो । त्यहाँको पनि अवस्था शिविरमा जस्तै भएको थियो । त्यसले विदेशमा रहेका धेरैलाई रोहाएको थियो ।

तर, एक दिन पनि बित्न नपाउँदै परिस्थितिले नयाँ मोड लियो । शनिवार विहानै आइओएमका गाडी शिविरमा आए र पुनर्वाशमा जाने शरणार्थी बोकेर भद्रपुर विमानस्थलतिर लाग्दा शरणार्थी शिविरको माहोल  फेरि पुरानै रुपमा फर्किएको थियो ।

कतै, यो अवस्था फेरि दोहोरिने त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *