पुनर्वाससंगै आन्दोलनबाट टाडिदैछन् शरणार्थी नेताहरु
दागाने काइँलो
पुनर्वाससंगै भूटानीहरु विभिन्न देशमा छरिँदै गएका छन् । अमेरिका कै कुरा
उठाउने हो भने उनीहरु नयाँ जीवनको खोजी गर्दै ५० राज्यमा बाँडिएका छन् ।
त्यत्रो विशाल देशमा विभिन्न भागमा छरपष्ट भएका भूटानीहरु भोली एकताबद्ध हुन त
कुरै नगरौं को कहाँ पुगेका छन भन्ने पनि थाहा हुन्न । पुनर्वासको अवसर
शिविर छिर्दा नेपाली माटो छाड्नु हुन्न भन्ने शरणार्थीको संख्या पनि धेरै
थियो । पुनर्वास प्रकृयालाई खुलेर समर्थन गर्नेहरुलाई शरणार्थीका विभिन्न
समूह र गुटहरुले चर्को विरोध गरे, जसले गर्दा बेलडाँगी शिविरका दुई
युवाले जीवनसमेत गुमाउनु पर्यो ।
भूटानी आन्दोलनको सुवातसंगै नेतृत्वबीचमा एकताको प्रश्न उठ्ने गर्दथ्यो ।
शरणार्थीहरुको स्वदेश फिर्तीका नाममा चलाइएका विभिन्न प्रकारका आन्दोलनमा
त्यस्तो एकताको तड्कारो आवश्यकता परेको भए ता पनि शरणार्थीहरु नेतृत्वको
एकताप्रति आशावादी बनिरहन सकेनन् । पूर्वीय भूटानी शरणार्थी नेता रोङथोङ
किन्ले दोर्जीदेखि लिएर दक्षिण भूटानका मानव अधिकारवादी नेता टेकनाथ
रिजालको नेतृत्वमा विभिन्न मोर्चाको प्रयास भए र करिव आधा दर्जनको
नामाकरण पनि गरियो । तर त्यस्ता मोर्चामा पनि तानातानीको प्रवृति जारी
रह्यो र आखिरीमा निष्क्रिय बन्न बाध्य भए ।
स्वदेश फिर्तीका नाममा गरिएका विभिन्न प्रकृतिका आन्दोलनहरुमा सोचे जस्तो
नेतृत्व दिन नसक्दा नेताहरुले पनि हार खान बाध्य भए अनि शरणार्थीबीचमा एकता
नभएको आरोप लगाउन थाले । तर कुरा भने त्यस्तो थिएन । एउटा नेताले एक
प्रकारको कुरा गर्ने र अर्काले अर्कै प्रकारको कुरा गरेपछि कुन नेतृत्व
राम्रो हो र कसलाई समर्थन गर्ने भन्ने असमन्जस्यता शरणार्थीहरुमा रही नै
रह्यो । नेताहरु कहिल्यै नमिल्ने देखे पछि शरणार्थीहरुमा पनि घरफिर्तीको
आशा विस्तारै घटेर जान थाल्यो । उनीहरु चरणबद्ध आन्दोलनका कार्यक्रमहरु
बहिष्कार गर्नतिर लागे ।
शरणार्थीहरुको जोशमा कमि देखे पछि नेताहरुलाई दोस लगाउन झन सजिलो हुन
थाल्यो । त्यती मात्र हैन नेतृत्वको सुरक्षामाथिको प्रश्न उठ्न थालेपछि
शिविरबाहिर बस्तै आएका नेताहरु पनि शरणार्थी शिविरमा आँफूहरु सुरक्षित
हुन नसक्ने भन्दै शिविर धाउन छाडे । बरु पुनर्वास प्रकृयाप्रति ध्यान दिन थाले
। शरणार्थीको स्वदेश फिर्तीको आन्दोलनबाट भौतिक रुपमा टाडिने तर
आन्दोलनको नाममा पैसा कमाउन भने नछाड्ने सोच बनाएका नेताहरु कतिपय
आँफै पुनर्वासमा विदेशतिर हिँडे भने कति आफ्ना साखासन्तान र परिवारलाई
विदेश पठाएर उनीहरु काठमाडौंमा बसेका छन् । यसरी हेर्दा पुनर्वास भएका
शरणार्थीले भोली एकजुट भएर भूटानमा परिवर्तनका लागि केही गर्ने सोच बनाए
पनि पुरानै नेतृत्वलाई अंगाल्छन् भन्न चाहिँ सकिन्न ।