पूजादी
सुशील कुमार पोख्रेल,
सिब्सू
[यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः प्रकाशित गरेका छौँ । उबेलाको भाषाको प्रयोग र मौलिक स्वरूपलाई कुनै हेरफेर नगरी राखेका छौँ । आशा छ, हाम्रा पाठकवर्गले ३७ वर्ष अघि लेखिएको यो कथाको भरपुर स्वाद लिनेछन् ।- सम्पादक ]
मेरो शरीर खपिनसक्नु दुःखेको रहेछ । हातपाउ पनि चलाउनु नहुने गरी बेण्डिस बाँधेको सबै सेतै देखिने गरेर । अकस्मात् सपनाबाट ब्यूझे जस्तै लाग्छ मलाई । “म कहाँ आएँ एँ ! मलाई के भयो ! अरे . . यो त. . .अस्पताल पो हो त ! म यहाँ कसरी आएँ ?” मेरा आँखा चकित भावले अस्पतालको कोठामा दौड़न्छन् ।’नसुर्ताऊ बाबु ! अहिले तिमी धेरै बोल्ने योग्य भएका छैनौ’ भन्दै एउटी नर्स मेरो ओछ्यानको सिराने मिलाई रहेकी हुन्छे।
तर. . . . . तर . . . . म म त नालन्दा हेर्न भनेर आएको थिएँ, यहाँ कसरी आएँ त ? म चकित दृष्टिले ती नर्सतर्फ हेर्छु ।
“थाहा कसरी होस् त ! बेहोशमा पनि कसैलाई थाह हुन्छ त ? हिजो बेलुका मेरू गेटमा तिमी उठेको बस दुर्घटनाग्रस्त भयो । धेरै मानिसहरू मरे, तिमी त बाँच्यौ, भाग्यमानी संझ आफूलाई ।” “बस दुर्घटना ! मेरू गेटमा !” यस्तो नर्सको वाणीले मलाई अलि अलि थाह हुन्छ । हिजो म हजारीबागबाट नालन्दाको लागि बसमा उठेको थिएँ । म चकित हुँदै “अनि मलाई यहाँ कसले ल्यायो त !” नर्सलाई सोध्छु ।
नर्सको सहज उत्तर-भाग्यले. . . . । मतलव मैले बुझिन भन्दै नर्ससंग अरू खोजीनिधि गर्न लाग्छु ।
‘मेरो घर मेरू गेट छेउमै छ, हिजो त्यहीं बस दुर्घटना भयो । अनि मैले तिम्रो घायल अवस्थालाई देख्न सकिन’ भन्दै उनी मेरो सामुन्नेको टेबलमा सायद इन्जेक्शन मिलाउन थाल्छिन् । उनको कुरा सुनेर मेरो मन आकाश पाताल हुन्छ । सर्वाङ्ग हेर्छु, भिन्न भए झैँ लाग्छ मलाई । म विस्तराबाट विस्तारै उठ्ने प्रयास गर्छ । हुन्न ! हुन्न ! डाक्टरले मनाही गरेको छ भन्दै उनी मलाई उठ्न दिन्नन् । म पुनः उस्तै भएर बेडमा पल्टन्छु । म सुतेको रूममा अरू पनि तीनजना मानिसहरू भर्ती थिए, आ-आफ्नै रोगले पीड़ित, मृत्युसित संघर्ष गरिरहेका ।
“बाबु प्रकाश . . . ..” म झसङ्ग हुन्छु उनै नर्स हातमा इन्जेक्शन लिएर मतिर अघि बढिरहेकी । उनलाई मेरो नाम कसरी थाह भयो ? म मनमनै छक्क पर्छु । मलाई सोध्न मन लाग्छ । “दिदी मेरो नाम तपाईंलाई कसरी थाह भयो ?” म सोध्छु । तर मेरो भनाइको कुनै प्रतिक्रिया नपरेर हो या नसुनेर, उनी वास्तै गर्दिनन् । मलाई पुनः उही कुरो दोहोरचाउन मन लाग्छ र दोहोरचाउँछु । उनी मलाई एक नजर हेर्दै कुरा काटेर बोल्छिन्-“पहिला यो, अनि भन्ने कुरा जति बेलुकी, मैले भनिसके तिमी धेरै नबोल भनेर, लु यो लाउनुपर्छ अनि खाने दवाई दिन्छु ।” मेरो पाखुरामा इन्जेक्शन लाउँछिन् अनि टेबलेट दिन्छिन् ‘खाऊ’ । म ती टेबलेट क्रमैले निल्छु उनले भने अनुसार । “लौ अब चूपचाप सुत, अधिक चहल पहल नगर्न, भन्ने कुरा जति बेलुका ल ! अहिले मेरो समय छैन” उनी मेरो रूमबाट जान्छिन् ।
मलाई दुःख लाग्छ यो अज्ञात स्थानमा दुर्घटना भएर आफूलाई यो अवस्थामा पाउँदा । आफू एक्लो भए जस्तो अनुभव हुन्छ त्यहाँ । मलाई धेरै पश्चाताप पनि लाग्छ, विस्मित मनले वरिपरि हेर्छु । जीवनमा पहिलोपल्ट अस्पतालमा बसेको । मलाई त्यो नजिकैको एउटा विरामीलाई सोध्न मन लाग्छ ।
यहाँ
दाज्यू. . . . . . . . . तपाई कहिलदखि भर्ती हुनुहुन्छ ?”
”एक महीनादेखि” उसले खोक्दै भन्छ ।
‘यो ठाउको नाम के हो ?’ म फेरि सोध्छु उसलाई ।
‘सैनिक अस्पताल, मेरूकेम्प, हजारीवाग’ भन्दै उ ख्वाक्क खोक्न थाल्छ । सायद उसलाई खोकी लाग्ने विमार भएछ ।
म उसलाई अरू सोध्न चाहन्न, आफ्नै धूनमा डुब्न लाग्छु । “सनिक अस्पताल ; हजारीवाग ! मेरो कलेजदेखि चार सौ किलोमिटर टाढा ?” मलाई कुनै अज्ञात भयले छोपे जस्तै लाग्छ । यहाँ के होला, अझ साह्रो भयो भने कसो गर्ने, आदि सम्भाब्य विपद्को शंका उपशंकामा म डराउन लाग्छु । मलाई नर्सप्रति असीम श्रद्धा बढ़ेर आउछ । कति महान् विचरी ! कति दयालु उनी ! कस्तो आत्मीयता ! उनी नभएको भए मेरो के गति हुने थियो होला ! मलाई लाग्छ बेलुकाको भेटमा सबै कुरा सोधौंला भन्ने ! म सुत्ने प्रयास गर्छु, शरीर धेरै शिथील भइसकेको हुन्छ । म दुःखित मन लिएर निदाउँछु ।
बेलुका एक्कासि म व्यूझन्छु । मेरो सामू नर्स उभिएकी म देख्छु । उनी गम्भीर कुनै सोचमा डुवे झै मलाई लाग्छ ।
“प्रकाश ! कस्तो छ त !” उनै नर्स मेरो बेडको छेउमा बस्तै सोध्छिन् । मेरो नाड़ी छाम्ने उपक्रमको साथै आँखा, छाती, हातपाउको चोटमा एकफेर हेर्छिन् । ठिकै छ दिदी . . . तर… भन्दै मेरो आँखा पलङको वरिपरि दौड़न्छन् । तर के . . . ए. . . अँ तिम्रो अटैची हैन . . . त्यो त सुरक्षित राखिदिएको छु मेरो घरमा कुनै मनोवैज्ञानिक जस्तै भएर मेरो मनको कुरा व्यक्त गछिन् उनी । ‘तर दिदी . . . . बीचैमा कुरा काटेर उनी बोल्छिन् । “तर . . . . केही पनि हैन, तिम्रो अटैचीको लुगा किताब, डायरी, रूपियाँ सबै सुरक्षित राखिदिएकी छु, जाति भएपछि लिएर जानु, हुन्न !” उनको भनाइले सबै छिचोलेको हुनाले म केही भन्ने बाटो पाउँदिन, केवल हुन्छ दिदी’ मात्र भन्छु । केही समयसम्म हामी चूपै रहन्छौं अन्त्यमा म आफै बिहानको कुरा दोहोरचाउँछु ‘दिदी ! मेरो नाम तपाईंलाई कसरी थाह भयो ?’ ‘ल. . . . अझ बुझेनौ ! बहुत सीधा तिमी त । तिम्रो डायरी मेरो साथमा भएपछि थाह हुन्न ?’ उनी अर्ध मुस्कानकोसाथ हिँड्न लागेकी हुन्छिन् । उनको हरपलको कुशलतादेखि म दंग हुन्छु । मेरो हृदय उनीदेखि प्रभावी रहन्छ । अलिपर पुगेर फेरि मेरो छेउमा पाउँछिन् । ‘प्रकाश तिमी धेरै टाढाको मान्छे यो प्रदेशमा यो अवस्था भयो भनेर दुःख नमान्नू ! तिमी आफूलाई एकलो अनुभव गरिरहेछौ जस्तो मलाई लाग्छ, तर तिमी यहाँ एकलो छैनौ । तिम्रा कोही यहाँ छन् । तिमी हिंड़नसक्ने भएपछि मेरो घरमा बसे पनि हुन्छ । वहाँ पनि त मेरा नानीहरू छन् । सायद तिमीलाई यहाँभन्दा त राम्रो लाग्नेछ । वहाँवाट आई दवाइहरू लिएर जाने गर्नु हुन्न !”
उनले एकैचोटी बोलेर सक्ने प्रयास गरे झै लाग्छ मलाई । आज खाना खायौ ?” उनी फेरि सोध्छिन् । “खाएँ दिदी !” ”ठीक छ अब म जान्छु, मैले अरू पनि पेसेन्टहरूलाई हेर्नु छ,” उनी जान लाग्छिन् । उनी गएको हेरिरहन्छु म एकटक लगाएर, मन-मनै सोच्छु ‘कति महान् आइमाई यिनी ! उनका हृदयमा असीम सेवा भाव छ, सबैप्रति उत्तिकै सहानुभूति छ । मलाई पहिले भनेका कुराको स्मरण हुन्छ “तिम्रा कोही छन् यहाँ” यत्तिकैमा मेरा आँखा आफ्ना बेडको एक छेउमा झुण्ड्याएको चार्ट हेर्न पुग्दछन् । म लम्कदै त्यो चाटमा हात पु-याउँछु ।
प्रकाश छेत्री, सर्भाङ-भूटान ।
तर गार्गियनको कलममा कुनै अपरिचित नाम देखेर म छक्क पर्छु । को हुन् पूजादी ?’ मेरो मनमा कौतूहल वढ़छ । के उनै हुन् पूजादी, नर्स ! मेरो मनले मलाई माफै प्रश्न गर्न थाल्छ । के मलाई आफ्नो छोरो समान ठानेर भर्ती गराएकी हुन् ? म त्यो चार्ट नियालेर हेरिरहन्छु ; निकै समय वितुजेलसम्म ।
“ए को हो प्रकाश छेत्री…। अर्की एक शिष्ट महिला मेरो रूममा प्रवेश गर्दै मेरो नजिक आइपुग्छिन् ।
“तपाईंको शुभनाम’ ?
‘प्रकाश’
‘घर भूटान हो ?’
‘हो’,
‘पूजादी तपाईकी आमा हुनुहन्छ ?’
म यो प्रश्नको जवाब दिन अक्मक्किन्छु !
हो दिदी, हो.. हो. . . . हो हो. . . . .इन, मलाई थाह छैन’ एउटा लामो उच्छवास लिन्छु ।
‘तर मलाई थाह छ, तिमी पूजादीको छोरा होइनौ तर उनको मानवतारूपी पुत्र ! तिमीलाई के थाह छ कि पूजा पनि भूटानकै हुन् भन्ने, अनि तिमी पनि उतैको, फलत: तिमी पनि उहाँकै छोरा समान मानौं हुन्न’ । ती महिला गंभीर बन्छिन् ; कुनै अतीतमा डुबेकी झै लाग्छ मलाई । तर त्यो अतीत थियो या वर्तमान त्यो बुझ्न सक्तिनँ।
‘के पूजादीको घर पनि भूटानमै हो’ ! म सोच्छु । मेरो सोधाइले उनी कुनै भावुकताको सतहमा वगे झै मलाई लाग्छ, सायद कुनै अतीतको स्मरण हो जो आजसम्म उनले आफ्नो अन्तरात्मामा समेटेर राखेकी छन् । मलाई एकपल्ट नियालेर हेर्छिन् । सायद त्यो हेराइले मेरो पनि वास्तविकता जान्ने उत्कण्ठा राखेकी थिइन् ।
“भूटान कहाँ हो, त्यो मलाई थाह छैन तर उ यहाँ आएकी पनि धेरै दिन विते, त्यतिखेर तिमी बालककै थियौ ! बड़ो दयनीय अवस्थामा उ आएकी थिई । यही मेरै साथमा रही मसंग यहीं काम गर्न थाली अनि उसको विवाह पनि यही भयो । आजतक दुई नानीहरू पनि भए । भएन नोकरीमा दुवै छन् । विचरी सँधै एकनासे काम गरिरहन्छे, न उज्यालो न अँध्यारो, सँधै – एकै प्रकारको प्राकृति, तड़क-भड़क, हँसी, मज्जा कहिल्यै छैन । कर्तव्यनिष्ठा छे पूजा । तर आजसम्म उसको अन्तर्मन जान्न चाहिं सकिएको छैन । आमा-बाबु, घर-ठाउँ र आफन्तहरूको विषयमा सोध्दा उत्तरमा आँसु मात्र टप्काउँछे अनि मैले पनि सोध्ने जरूरत सम्झिन । जे होस्, जीवन सबैको एकैनासे हुँदैन, कसैको कस्तो, कसैको कस्तो ! आफ्नो दुःख आफूसंगै, परिग्राएको भोग्न पनि पूरूषार्थ हो । “दवाइ हुँदैछ ? आज जाँच भयो कि भएन’ । उनी कुराको प्रसङ्ग बदलिन्छिन् । “ठीकै छ ! नहड़बड़ाऊ, तिमी छिट्टै निको भइहाल्छौ, हामी भरदूर प्रयत्न गरौंला, कुनै कुराको जरूरत परे, चप्रासीलाई भनेर माग्नु ल ! म गएँ !”
अहिले मात्र मलाई ती शिष्ट महिला त हेड सिस्टर पो रहिछन् भन्ने थाहा हुन्छ । तिनको मर्मस्पर्शी पारदर्शी कुरा सुनेर मनमनै दङ्ग पर्छु । मेरो मुखबाट निस्कन्छ-हो त जीवन छोटो हुन्छ, त्यसको कारण पनि मानिस नै हो, कर्ता र कर्मको विमेल हुँदा नै मानवमा विभिन्न समस्या आइपर्छन् । यी समस्याहरूसित हारेर मित्रता गर्न चाहिं कायरता हुन्छ भने बरू लडेर विजय पाउनु नै असल हैन र ! जीवन त एकचक्र जस्तै त हो । कहानीमा पात्रको हारजीत नभए के त्यो कहानी मान सकिएला ? म अझ गम्भीर भएर सोच्छु ‘पूजादीमा परेको अथाह घटना पनि पारिधिक हुन सक्छ या कारण कुनै रहस्यमय पनि हुन सक्छ ।
नौबजे राती खाना पाएको हुन्छ, मलाई व्यंझाएर एउटा बावरचीले खाना दिदै भन्छ “भर्खरै पूजादी पाउनुभएको थियो, तपाईं निदाएकोले फर्केर जानुभयो ।” पूजादी अहिले कहाँ हुनुहन्छ-मेरो प्रश्न ।
‘घर जानुभयो अब भोलि बिहान सातबजे मात्र पाल्नु हुन्छ; लौ खाना खानुहोस् है !’ उ जान थाल्छ, केही जरूरत परे मगाउनु होला । राती म बाहिर वरण्डामा सुत्ने गर्छु सँधै’, यत्तिकैमा बावरची बाहिरिन्छ । मेरो दृष्टि सिर्फ अगाडिको थालीमा पर्छ, म विस्तारै खान थाल्छु तर मलाई खान मन लाग्दैन । तितो अनुभव हुन्छ पूजादी आउँदा निदाएकोले । बलैले अलिकति खान्छु र बचेको खाना थालैसित छेउको टेवलमा राखिदिन्छु । मलाई त्यति चहल-पहल गर्दा पनि शरीर दुःखेको अनुभव हन्छ, विस्तारै ओछ्यानमा पल्टन्छु । निदाउने प्रयास गर्छु तर निद्रा लाग्दैन । मलाई धेरै थरिका प्रश्नले पिरोल्न थाल्छन् । “पूजादी को हुन् ! उनको घर कहाँ हो ? के उनका माता-पिता छैनन् ! उनको म को हुँ र मेरो यत्रो उपकार गरिरहेकी छन् !” यस्तै खलवलीमा धेरै रात बितेपछि मात्र मलाई . निद्रा लाग्छ ।
____ भोलिपल्ट बिहान सातबजे पूजादीसित मेरो भेट हुन्छ । उनी आफै दवाइ लिएर मेरो कोठामा आएकी हुन्छिन् । ‘कस्तो छ अहिले ! तिमीलाई त धेरै उदास देख्छु नि !
आँखा पनि रातो रातो . . . . किन राती निदाएनौ कि कसो ?’ दवाइ मिलाउने क्रममा उनी लाग्छिन् । मेरा आँखा कहिले आफ्नो पलङमा झुण्ड्याएको चार्टमा त कहिले पूजादीमा पर्छ । पूजादी आफ्नै धूनमा हुन्छिन् । मलाई सोध्न मन लाग्छ “पूजा तपाईले गार्जीयनमा आफ्नो नाम किन लगाउनुभयो ?’ पूजादी झस्किदै मपट्टि हेछिन् । उनको हेराइमा म थाह पाउँछु मैले भूल गरें भनेर । अनुहारमा दर्दमिश्रित मुस्कान देखछु म, त्यो दर्द आफ्नो अन्तरभावमा छिपाउने प्रयत्न गछिन्, तर म थाह पाउँछ। उनी विस्तारै मेरो बेडको एक किनारमा बस्तछिन्।
“किन ? त्यसो गर्नु नै भूल हो. . . . ।” पूजादी भावुकताामा बोल्छिन् ।
‘तर. . . दिदी. . . तर ।”
‘तर . . . . . . तर तिमी मेरो कोही हैनौ भनेर. . ।’
‘हैन दिदी ! तपाईं त मेरी आमाभन्दा पनि नजिककी हुनुहुन्छ, तपाईले त मलाई एउटा नयाँ जीवन दिनुभयो’ भन्दै म पूजाको अनुहारमा हेर्छु । आँखामा आँसु हुन्छन् । भरसक छिपाउने प्रयत्न गर्दै भन्छिन् ‘प्रकाश! यो त हामी नर्सहरूको कर्तव्य हो । हामीले पनि परिस्थितिमा तन-मन दिई आफ्नो कर्तब्यलाई पालन गरिदिनुपर्दछ तिमी त मेरो जन्मभूमिको मानिस । मैले जन्मभूमिमा बसेर सेवा गर्ने मौका पाइन । आफ्नैदेशको सेवा गर्ने कर्तव्य हुन्छ हर नागरिकको प्रकाश ! मैले जन्मभूमिको एउटा सपूत भएर सेवा गर्न पाएँ यसमा मलाई सन्तोष छ । भरजीवनको तपस्या आज पूरा भयो ।” पूजाका दुवै आँखाबाट आँसू खस्न थाल्छन् म छक्क पर्छु । मन-मनै भन्छु ‘भरजीवनको तपस्या आज पूरा भयो’ पूजादीले यो के भनेको मलाई विश्वास लाग्दैन, म फेरि सोध्छु-पूजादी ! वास्तविकता तपाईले मदेखि छिपाइरहनुभएको छ जो रहस्यमय भई तपाईमा सीमित रहेको छ झै लाग्छ । केही छैन प्रकाश ! जो थियो त्यति हो भन्दै पूजादी आफू पन्सिने प्रयास गर्छिन् । अनि मेरा हातखुट्टाका चोट जाँच्न थालिछन् । मलाई पूजाले भनेका कुराको स्पष्टीकरण गर्ने उत्सुकता अझ बढ़ छ । म पुनः सोध्छु “दिदी ! तपाईंको घर भूटानमा कहाँ हो ? यहाँ कसरी कहिले पाउनुभयो ?’ मैले यो प्रश्न सरल सम्झेर भनेको थिएँ तर त्यो पूजाको लागि पुरानु घटनाको ताजा स्मृति रहेछ । पूजाले आँसु पुछ्तै भनिन् “प्रकाश, योभन्दा अगाडि मलाई नसोध, मेरो केही जवाफ छैन । आजको तिम्रो पवित्र हृदयलाई यस्तो विकृत कुरा भनेर के गर्नु प्रकाश . . . . ! बरू नसोध, · नसुन । तिमी ता वर्तमान युवापिढ़ींका उदीय पथप्रदर्शक हो, यो समाजलाई मानवीय कर्तव्यतर्फ केन्द्रित गर्ने प्रयास गर, शिक्षित बन र आफूभन्दा पलिकालाई अघि बढ़ाऊ । मानवीय मर्म बुझ र सबैलाई समानताको पाठ सिकाऊ, भविष्य तिम्रो हो, आफ्नै हातमा छ, आफ्नो देशलाई स्वर्ग जस्तो बनाउने स्वर्णीम उद्देश्य सदैव राख, हामी त जस्तो भयौं, भयौं तर तिमीहरूको त समय छ, उत्साह छ जागृति छ ।” पूजा यस्तै के के भनिरहेकी हुन्छिन् । उनको दृष्टि मेरो कोठाको झ्यालबाट पर. . . .पर. . . . देखिने एउटा पहाड़को टापूमा जमेको हुन्छ । म उनको कुरा ध्यानसित सुनिरहेको हुन्छु, समय निकै बित्छ । एक्कासी एउटी नर्स दौड़ेर कोठामा आउँछ-पूजादी, डाक्टर साहब बोलाउँदै हुनुहुन्छ ।” “अहो” भन्दै पूजा मेरो कोठाबाट निस्किन्छिन् । म छक्क पर्छु । हो, मलाई पश्चाताप पनि लाग्छ । मेरो मनले मलाई नै गाली गर्छ । हो, अर्काको व्यक्तिगत जीवन चाहे जस्तो होस् तर त्यति हठी भएर सोध्न किन ! जस्तो भए पनि पूजाले आफ्नो जीवनलाई सकुशल वहन गरेकी छन् । म आफ्नो मनस्थितिलाई नियन्त्रणमा ल्याउँदै सोध्छु-कसको हृदय हृदय नै हुँदोरहेछ । कसैको दुःखमा दुःखी हुनसक्नु पनि त मानवता हो । मलाई पूजादीप्रति किन हो असीम श्रद्धा बढ़ेर आउँछ, अन्तर्हृदयमा पवित्र स्नेह र सहानुभूति जागेर आउँछ ।
यसरी नै दिन-रात बित्तै जान्छन् । अस्पतालको एक कोठामा मलाई ल्याएर राखेको पनि निकै दिन भइसकेको थियो । मेरो शरीरको घाऊ पनि ठीक हुँदै गयो, बेंडिस खोलिएको एक हप्ता बितिसक्यो । म पूजादीप्रति आभारी छु । हामीमा एक नर्स र पेसेन्टमा हुने स्वभाविक व्यवहार नभएर कुनै एक परिवारको जस्तो प्रत्यक्ष सम्वन्ध भइसकेको हुन्छ । पूजाको मप्रति विशेष देख-रेख थियो र सहानुभूति पनि । बाबु प्रकाश ! भन्ने सम्बोधन सुन्दा मलाई वाल्यकालमा कसैले बोलाएको स्मरण हुन्छ । मेरो कोटाका अरू तीनजना पेसेन्ट’हरू पनि विदा भइसकेका थिए । म एक्लै कोठामा पल्टिरहन्थेँ।
पूजादीको उपस्थितिमा घण्टौंभर बात हुन्थ्यो, त कहिले म दिनभर एक्लै . . . . . . . . । कुनै दिन पूजादी भन्थिन-के छ त ! आज त निकै उज्यालो अनुहार देख्छु, निकै जाती भइसवयौ, अब नालन्दा नगएर सीधै कलेज फर्केर जानु कसो . . . . . . . त, छुट्टी पनि बितिसक्यो होला ‘सक्यो दिदी’ छोटो उत्तर दिनु नै मलाई राम्रो लाग्थ्यो । कुनै दिन पूजा मेरो लाउने अर्को जोर कपड़ा लिएर आउँथिन् । ‘लौ ती लाएका त मैला भए यी लाऊ’ भन्दै मेरो अटैचीका कपड़ा मेरो सामू राखिदिन्थिन् । म के भन्ने र ! बाटै थिएन । म पराजित अनुहारले पुलुक्क हेरिदिन्थे । उनको अनुहारमा असीम ममता पाउथे; मलाई लाग्थ्यो त्यो अनुहार मैले कुनै समयमा देखेको अवश्य हुनुपर्छ । कहिले त म त्यो अनुहारमा निकै बेर नियालेर हेरिरहन्थें; मलाई त्यो परिचित अनुहार नै हो जस्तो आभाष हुन्थ्यो । के हेरेको एकटक भएर लाटाले जस्तो भनी मलाई कृत्रिम हँसाइ हँसाउने प्रयास गर्थिन् उनी । क्यै हैन भन्दै म टारिदिन्थें ।
सँधै झै आज पनि पूजा मेरो रूममा आएकी थिइन् । उनको मुखाकृति उज्यालो थियो, कुनै वाञ्छित फल मिले झै प्रफुल्लित हृदय, हँसिलो अनुहार देख्ते म, पूजादीमा । हातमा दवाइहरू लिएर आएकी हुन्थिन् पूजा । प्रकाश ! अब त तिम्रो घाऊ-चोट पनि निको भइसके जस्तो देख्छु भन्दै दवाइ दिन थाल्छिन् । “ज्यूँ . . . .अब हिँड्न डुल्न सक्छु, म थपिदिन्छु । ‘अब भोलिदेखि उता चारदिन मात्र हो दवाई लिनु अनि त पर्दैन होला, ए. . . . . . भरेदेखि चाहिं तिमी मेरो घरमा बस्न जाऊँ होइन !” पूजाका ममतामय आग्रहलाई म टार्न सक्तिन थिएँ र झट्ट ‘हुन्छ’ पनि भन्न सक्तिन । म किमकर्तव्यविमुढ़ हुन्छु । “किन . . . . के सोचेको ! के मेरो घरमा बस्न हुन्न र. . . . ?”
‘किन हुन्न र दिदी ! तपाईको घर मेरो लागि एक पवित्र मन्दिर जस्तै हो अनि तपाईं त्यहाँकी श्रदेय जननी झैं’ । अनि किन हुन्छ नभनेकाे त पूजा बाेल्छिन्’ । मैले हदयले स्वीकार गरिहालेँ मुखले हुन्छ भनि रहनु पर्दैन भन्दै म कुरो स्पष्ट गरिदिन्छु । पूजा स्वस्थ्य हुन्छिन् । म पूजाको अनुहारमा हेर्दै भन्छु ‘पूजादी ! तपाईं त धेरै आत्मीया हुनु हुँदोरहेछ, सीमा भन्दा पनि अधिक ; तपाईंले मलाई चुकाइ नसक्ने भरजीवनको ऋणी बनाउनुभयो ।’
‘मैले अस्ति नै भनि हालें नि, तिमी त लाटो’ उनी अलि-अलि हाँस्छिन् । “प्रतिफलको आशाले कसैको सेवा गर्नु पनि कुनै सेवा हो र ! संसारमा सबभन्दा ठूलो विजय नै निःस्वार्थ सेवा हो । तिमीलाई थाह छ ! सेवा धर्म हो, सेवा मानव कर्तब्य हो जसको फल अनुभवद्वारा हुन्छ ।”
आज म पूजादीको घरमा आएर बसेको पनि दुइदिन बिते । दुइदिनको अन्तरालमा मलाई पूजाको व्यवहारले अझ नजिक ल्यायो । पूजादी दिनभर आफ्नो डिउटीमा जान्थिन् । उनका दुइटा नानीहरू थिए प्रशान्त र सरिता । प्रशान्तका बुबा चाहिं हजारीवागमा कुनै फार्ममा काम गर्नु हुन्थ्यो । विहानदेखि बेलुकासम्म काममा व्यस्त रहने हुनाले उनीसंग मेरो खास बातचित भएको थिएन । म ती नानीहरूसित दिनभर आफ्नो रूममा गफ गर्थे । प्रशान्त धेरै चञ्चले थियो । उ कहिले भित्रबाट भएभरका पत्र पत्रिका ल्याएर मेरो सामू थुपारी दिर्दै “लु . . . . .यो पढ़नुहोस् आमाको किताब, हिजो ल्याएको’ भन्थ्यो । भयो ! भयो । तिमी धेरै उपद्रवी छौ, यतिको उठाएर किन ल्याएको ? म ती पत्रहरूमध्ये एउटा मन परेको हातमा लिदै अरू फर्काइदिन्थें । सरिता चाहिं चूप लागेर मेरो कुरा सुनिरहन्थी । कहिलेकाहीं त्यसै म बसेको रूममा ती दुवैलाई बसाएर कथा सुनाउँथें । तिनीहरू पनि ध्यान लाएर सुन्थे ।
आज मेरो कलेज फकिने दिन । बेलुका हजारीबागबाट रेलमा उठ्नुपर्ने सरसामान अटैची मिलाइराखेर म पूजादीको रूममा जान्छु । “दिदी ! म आज जाँदै छु ।’
“लौ त राम्ररी जानु है, फेरि भेट हुन्छ कि हुँदैन । मेरो घरमा केही कष्ट भए क्षमा गर्नु है ।’
“दिदी, के भन्नु भएको, तपाईंकोमा मलाई दुःख भयो र !” पूजादी र म बाहिर निस्कन्छौं । “लौ त रेलको समयभन्दा पहिला पुग्नु है ल ।” पूजाका आँखामा टिलपिल टिलपिल आँसू देखिन्छन् । उनी अस्पतालतिर लाग्छिन् । मेरा आँखाहरूबाट पनि आँसु रसाएर आए ।
सँधै झै प्रशान्त आज पनि पत्रिका ल्याएर मेरो सामू थुपार्दछ। म ती पत्रिकाहरूको बीचमा एउटा डायरी देख्छु । ‘यो के हो प्रशान्त ?’ म त्यो डायरीको पृष्ठ पल्टाउन थाल्छु । प्रथम पृष्ठमा लेखिएको हुन्छ-मिस कमला छेत्री,
____, सर्भाङ बजार, सर्भाङ, भूटान ।
अचानक मेरो मुखबाट निस्कन्छ “आम्मै…कमला दिदी…’ । मलाई बचपनको स्मरण हुन्छ। कमला दिदीसित ए बी, सी डी र क ख ग पढ़दै, अनि सँधै पिकनिक गएको । कमला मेरै गाउँकी हुन्, मलाई सबैभन्दा धेरै माया गर्ने दिदी । म त्यो डायरीको अरू पृष्ठहरू पढ़्न थाल्छु, निकै पढिसक्छु अनि मलाई त्यो भन्दा अगाडि पढ़्ने अाँट आउँदैन । भक्कानु छुटेर आउँछ, म त्यही घोप्टो परेर रोइरहेको हुन्छु । ती नानीहरू मलाई बोलाइरहेका हुन्छन् “दाज्यू ! दाज्यू ! ! किन रो’ को ! भन्नुहवस् न ।”
बेलुका म हजारीवाग रेलवे स्टेशनमा हुन्छु । समय निकै बित्छ । बाहिर मानिसहरूको भीड लाग्छ; अचानक त्यो भीडमा अस्पतालको चौकीदार मतिर हस्याङ फस्याङ गर्दै आएको देख्छु । उ मेरो सामुन्ने आउँछ । उसले एउटा सेतो लिफा मेरो हातमा राखिदिएर उ त्यो भीडमा हराउँछ। म त्यो लिफा खोलेर पढ़न थाल्छु –
उदीय प्रकाश,
दुइदिनको भेटमा तिमी र म कुनै वाल्यस्मृतिमा डुब्न पुग्यौं सायद, तर त्यो वाल्यस्मति भ्रम हो । तिमीले मेरो वास्तविक परिचय जान्ने धेरै प्रयास गरयौ, तिमी निष्कर्षमा पनि पुग्यौ होला तर म कमला हैन । यदि म कमला नै हाे भने सबै संसारका स्त्रीहरू पनि कमला हुन् र लोग्ने मान्छे जति प्रकाश । बाबु ! तिमीले दुःख मान्यौ भन्ने त अहिले थाहा भयो । प्रशान्तसितको भेटमा मैले अन्दाज पाएँ । मलाई थाहा छ अब तिमी मलाई कमला दिदीकै रूपमा मात्र देख्न चाहन्छौ, तर म ता तिम्री वाल्यकालकी ममतामयी कमला दिदी हुन लायक छैन । मलाई पूजादीमै सीमित रहन देऊ! त्यसैमा म खुशीछु। मलाई त्यति नजिक नल्याऊ, यसैमा श्रेय छ ।
अन्त्यमा-आफ्नो प्रकाशको उज्ज्वलताले सम्पूर्ण विश्व ढाक्न सक ! . . मेरो आशिष ।
पूजादी