प्रचार राष्ट्र शान्तिमा

कुबेर कुईकेल (भुवानेटारे)
अमेरिका

अपार दुःख कष्ट छन् सिकार भ्रष्टतन्त्रको
अचार पिस्न खोज्द छन् विचार रोक्न राष्ट्रको
प्रचार मात्र गर्द छन् विकास छैन देशको
अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको

रछानमा प्रजा धरा नरेश शक्त शक्तिमा
प्रपञ्च जालजेलको परेछ राष्ट्र भक्तिमा
उदाउँदैन सूर्य त्यो स्वतन्त्रता दबावमा
अशान्ति नै अशान्ति भो प्रचार राष्ट्र शान्तिमा

दबाउँदै छ राषट्रमा विचार देश भक्ति त्यो
शहीदको चिहानमा रमाउँदै छ धुर्त त्यो
अनेकता छ देशमा विभेद जाति धर्मको
अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको

परम्परा र संपदामा जहानियाँ दबाव छ
छ नीति पक्षपातको जताततै अभाव छ
प्रसन्नता प्रचारमा झुटो प्रसारतन्त्र छ
अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्ति छ

विभीषिका सखाप त्यो सुशान्तिले गरेन लौ
सहिष्णुता समाजमा जुटाउँ नत्र पर्छ धौ
छ लोकतन्त्र नामको लगाम भूप हातमा
अशान्ति नै अशान्ति भो प्रचार राष्ट्र शान्तिमा

निमग्न रङ्क देशका भलाइ देश गर्दछन्
सपूत वीर पौरखी सिमा सिमा चनाखछन्
मसाल क्रान्तिको जले विकास हुन्छ देशमा
अशान्ति नै अशान्ति भो प्रचार राष्ट्र शान्तिमा

हिमाल हाँस्नु पर्दछ पहाड नाच्नु पर्दछ
तराइ फाँट हाँस्द छन् पवित्र सोच्नु पर्दछ
परिश्रमी किसान हो प्रतीक देश भक्तिको
सुशान्ति हो अमूल्य त्यो प्रचार राष्ट्र शान्तिको

छन्द- चञ्चचामर

Leave a Reply

Your email address will not be published. Required fields are marked *