भूटानको नेपाली भाषा र साहित्यिक आन्दोलनमा बनारसको योगदान

Dr. Laxminarayan Dhakalडा० लक्ष्मीनारायाण ढकाल
केन्टकी, अमेरिका

उद्देश्य

भारतको बनारस भूटानीहरूका लागि लामो समयदेखि एउटा महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा रहिआएको छ । मूलत: संस्कृत र धार्मिक शिक्षाका लागि भारतका विभिन्न शैक्षिक प्रतिष्ठानमा सदियौं अघिदेखि भूटानीहरू जाने गर्थे र अहिले पनि गइरहन्छन्। वास्तवमा, भूटानमा नेपाली भाषा र साहित्यको अध्ययन, लेखन र शिक्षण भारततिर संस्कृत शिक्षाको अध्ययन गर्न गएकाहरूबाट नै भएको हो। त्यस कारण प्रस्तुत कार्यपत्रको उद्देश्य भूटानको नेपाली भाषा-साहित्यिक आन्दोलनमा बनारसको के कस्तो भूमिका रह्यो भन्ने कुराको अध्ययन/विश्लेषण गर्नु हो।

पृष्ठभूमि

दक्षिणमा विशाल भारत र उत्तरमा त्यस्तै विशाल राष्ट्र चीनको अधिनस्थ क्षेत्र तिब्बतका  बिचमा दुई ढुङ्गा बिचको तरुल झैँ अवस्थित सानो देश भूटान धर्म,संस्कृति,भाषा र परम्पराका दृष्टिले मुख्यतः: दुर्इ भागमा विभक्त छ। तिब्बतबाट र भारतका अरुणाचल प्रदेशबाट भित्रिएका डुक्पा जातिको भाषा संस्कृति त्यतै ढल्किएको छ भने नेपाल र भारततिरबाट भूटान पसेका हाम्रा पुर्खा नेपालीभाषी समुदायको शिक्षा, संस्कार र भाषा-साहित्य भारत र नेपालबाट नै प्रभावित छ। लगभग चार सय वर्षको लामो इतिहासलाई अँगाल्दै आएको नेपालीभाषी भूटानी समुदायले इतिहासमा बारम्बार सांस्कृतिक, भाषिक र मानवाधिकार जस्ता आधारभूत कुरामा आक्रमण खेप्तै आएको इतिहास सर्वविदित छ । त्यसको रचम उत्कर्ष हो सन् १९९० को प्रजातान्त्रिक आन्दोलन,जसका कारण झन्डै  एकलाखभन्दा बढी नागरिकले देशबाट निष्कासित हुनु पर्‍यो। तथापि सन् १९९० पछि पनि भारतका बनारस लगायतका ठाउँहरूमा शिक्षा आर्जन गर्न जाने परम्पराले भने निरन्तरता पाइरह्यो। यसरी हेर्दा नब्बेको दशक सर्वाधिक उर्वरक रहेको पाइन्छ।

भूटानको नेपाली भाषा साहित्यको अध्ययन,संकल्पना,शिक्षण,लेखन र प्रसारण गर्दै भूटानीहरूको भिन्नै पहिचानको बीजारोपण र सम्बर्द्धनमा विभिन्न फाँटका व्यक्तिहरूको योगदान रहेको छ । तर पनि ती व्यक्तित्वहरू मध्ये थुप्रै व्यक्तिहरू जो भारतका विभिन्न शिक्षण केन्द्रहरूमा र उक्त केन्द्रहरूको पनि केन्द्रमा रहेको बनारसबाट दीक्षित स्नातकहरूद्वारा हाम्रो भाषा साहित्यिक इतिहासमा निकै महत्त्वपूर्ण कार्य सम्पन्न गरिएको छ । यसै पृष्ठभूमिमा सन् १९९० र  त्यसपछिको परिस्थितिमा भारततिरको विशेषतः बनारसको, भूटानको नेपाली भाषा साहित्यिक आदोलनमा के कस्तो प्रत्यक्ष र परोक्ष प्रभाव रह्यो भन्ने कुराको अनुसन्धान र खुलासा होस् भन्ने उद्देश्यले यो कार्यपत्र प्रस्तुत गरिंदैछ । यस कार्यपत्रको शीर्षकमा बनारसको मात्र नाम राखिएता पनि भारतका विभिन्न स्थान र संस्कृत फाँटमा  शिक्षित सम्पूर्ण  व्यक्तिहरू भन्ने बुझ्नु सान्दर्भिक हुन्छ ।

विषयवस्तुमाथि  विमर्श

वस्तुत: भूटानमा नेपाली भाषाशिक्षाको आरम्भिक औपचारिक श्रोत भनेकै संस्कृत शिक्षा र संस्कृतज्ञहरू रहेको इतिहास साक्षी छ । विशेष गरेर आफ्ना खर्च र बलबुतामा आफ्नो पारम्परिक शिक्षा र भाषा संस्कृतिलाई अध्ययन गर्ने ध्येयले विभिन्न समयमा भूटानी विद्यार्थीहरू भारतका विभिन्न धार्मिक स्थलहरूका महाविद्यालय,विश्वविद्यालय र गुरुकुलहरूमा गएर संस्कृतको शिक्षा ग्रहण गर्ने परम्परा भूटानमा चलेको पाइन्छ । बनारस आदि स्थानहरूमा विशेष गरेर ‘सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय’ र ‘काशी हिन्दु विश्वविद्यालय’ (BHU) ले औपचारिक रूपमा नेपाली भाषालाई विषयको रूपमा मान्यता दिएर पाठ्यक्रममा समावेश गरेको हुनाले त्यहाँबाट अनेक स्नातक र परास्नातक साहित्यकारहरू जन्मिएका छन् । त्यसो त नेपाली साहित्यको प्रारम्भिक कालमा,नेपाल र भारतको दार्जीलिंगतिर पनि साहित्य लेखन र प्रकाशन गर्ने प्रमुख साहित्यकारको पृष्ठभूमि भारतको बनारस नै रहेको पाइन्छ । यसरी भारतबाट संस्कृत विषय र सामान्य कर्मकाण्ड सिकेर भूटान प्रवेश गरेपछि बिस्तारै त्यहाँ पुराण वाचन, कथा-प्रवचन,मन्दिर र पाठशाला सञ्चालन जस्ता कार्यहरू आरम्भ भएपछि नेपाली मातृभाषी जनसमुदायमा शिक्षा र भाषा-साहित्यको अध्ययन अध्यापनको औपचारिक क्रम आरम्भ भएको हो ।

यी संस्कृतज्ञहरूका र अन्य समाजका बुद्धिजीवीहरूका प्रेरणाले नै भूटानमा संस्कृत पाठशालाहरूको स्थापना र सञ्चालन भएका थिए । स्मरणीय छ सम्बत् १९९१ मा सर्वप्रथम चिरांग जिल्लाको लामीडाँडामा संस्कृत पाठशालाको औपचारिक थालनी भएको थियो । अन्य संस्कृत केन्द्रहरू दागापेला,सुरे,न्याउली र बाँणामा रहेका थिए । उक्त पाठशालाहरूमा यद्यपि आरम्भमा संस्कृतका ग्रन्थहरू र कर्मकाण्डको शिक्षा प्रदान गरिए तापनि शिक्षणको माध्यम नेपाली भाषा नै भएकाले भाषा साहित्यमा प्रवेश गराउने ठुलो भूमिका निर्वहण गर्‍यो भने सन् १९६० पछि सरकारी स्तरमा नै औपचारिक रूपमा नेपाली भाषाको पाठ्यक्रम  लागु भयो ।

भूटानको नेपाली साहित्यिक पत्रपत्रिकाको इतिहास नै भारतको बनारससँग जोडिएको छ । सन् १९७१ मा बनारसको भूमिबाट ‘राष्ट्र सेवक भूटानी छात्र सङ्गठन’का मातहतमा हरिप्रसाद अधिकारीद्वारा सम्पादित ‘अमर भूटान’ नामक पत्रिकाको प्रथम अङ्क प्रकाशित हुन्छ । दुर्भाग्यवश पहिलो अङ्कको प्रकाशनपछि भूटान सरकारबाट यो पत्रिकालाई प्रतिबन्ध गराइयो र सम्पादक अधिकारीलाई पुन: नछपाउने अकरनामा पत्रमा हस्ताक्षर सम्म गराइयो । शरणार्थी समस्या उत्पन्न भएपछि सन् १९९१ मा आसामको कोक्राझारबाट उनै सम्पादकका प्रयासमा पी एच एफ आर वी नामक संस्थाद्वारा पुन: प्रकाशन भयो र लगत्तै अर्को साल  सिलिगुडीबाट तेस्रो अङ्क पनि प्रकाशित भए पश्चात् यसको यात्रा टुंगियो । यो अमर भूटान नै भूटानी नेपाली पत्रिकाहरूमा जेठो पत्रिका हो। त्यसो त सन् १९६४ बाट निस्किन थालेको भूटानको प्रथम खबर पत्रिका ‘क्युन्सेल’  पनि आरम्भमा भारतको कालेबुङ्बाट नै छापिएको थियो । पछि  बनारस बाटै अध्ययन गरेर निस्किएका गौरी शङ्कर उपाध्याय,रघु मिश्र र कपिल मुनी दाहालहरूले कार्य सम्हाले पछि भूटानबाटै प्रकाशित भएको हो । सन् १९८६ मा पाठ्यक्रमबाट नेपाली भाषालाई हटाइयो । त्यही बहाना बनाएर अठार पेजबाट घटाउँदै  चार पेजमा झारिएको क्युन्सेलको नेपाली संस्करणलाई  सन् २००१ मा पूर्णरुपले बन्द गराइयो।

सन् १९९० पूर्व लेख्ने भूटानी लेखन्तेहरू प्राय: भारतका बनारस,वृन्दावनतिरका प्रोडक्ट हुन्। तिनीहरूको लेखन स्रोत संस्कृत भाषा साहित्य हो र नेपाल भारततिर भएका भाषिक र साहित्यिक गतिविधिहरूको परोक्ष प्रभाव पनि हो । उसबेलाका लेखन्तेहरूमा नारायणप्रसाद लुइँटेल, गौरीशंकर अधिकारी, रघु मिश्र,डिबी खत्री, सुशील पोखरेल, हरिप्रसाद अधिकारी, डा. हरिप्रसाद अधिकारी, घनश्याम रेग्मी, पुष्प  निरौला, लक्ष्मी प्रसाद निरौला आदिका रचनाहरू पढ्दा उनीहरू संस्कृत साहित्य र आध्यात्म चिन्तनबाट प्रभावित भएको स्पष्ट देखिन्छ । विशेषतः: जीवन दर्शन,नैतिक शिक्षा र सांस्कृतिक पहिचानका सन्दर्भ सामग्रीहरू  यी कृतिहरूमा पाइने  महत्त्वपूर्ण पक्ष हो।

त्यसो त भूटानको नेपाली भाषा-साहित्यको उदयमा सन् १९७० को आसपासतिर भूटानमा आरम्भ गरिएको नेपाली पाठ्यक्रमको प्रभाव पनि नपरेको होइन,तर त्यस पाठ्यक्रमलाई पढाउने अध्यापक भने संस्कृत मूलकै हुन्थे। त्यस्तै  सन् १९७९ देखि भूटानको सूचना प्रसारण विभागबाट निस्कन थालेको ‘ड्रुक लोसेल’ र सन् १९८० बाट तीन अङ्कसम्म निस्केको शेरब्चे कलेज बार्षिकी मा पनि संस्कृत शिक्षाको छाप प्रस्टसँग देख्न पाइन्छ। यद्यपि ड्रुक लोसेल पत्रिका थिम्पूबाट नै प्रकाशित भएता पनि यसको ऊर्जा र संकल्पना वाराणसी कै देन मान्नुपर्दछ । त्यसै गरी गौरी शङ्कर र रघुनाथ मिश्रका सम्पादकत्वमा प्रकाशित  ‘क्युन्सेल’ को नेपाली संस्करण पनि उल्लेखनीय छ।  स्मरणीय के छ भने भूटानका लागि नेपाली पाठ्यक्रमको निर्माण पनि भारतकै प्रसिद्ध नेपाली लेखक श्री पारसमणि प्रधानले गरेका थिए ।

सन् १९९० पूर्व भारतबाट निस्केका पत्रिका र कृतिहरूमा हरिप्रसाद अधिकारीद्वारा सम्पादित ‘अमर भूटान,गौरी शङ्कर उपाध्यायको ‘शङ्कर महाकाव्य’(सन्१९८७), हिमाल कविता सङ्ग्रह’(सन्१९८७), नारायणप्रसाद लुइँटेलका ‘शिवालयमहात्मय’(१९७२), मध्यम षोडशी, नारायोणपदेश(?), घनश्याम रेग्मीको ‘कल्पत्रयी’ खण्डकाव्य  (सं.२०४५), डा.हरिप्रसाद अधिकारीको ‘सामाजिक चिन्तन (१९८८) र संसारिक चिन्तन (१९८७) र  लक्ष्मीप्रसाद निरौलाको सयपत्रीको थुँगो  (? )  रहेका छन्।

शरणार्थी समस्या उत्पन्न पछि वाराणसीमा पुन: भूटानी विद्यार्थीहरूको घुइँचो र सक्रियता बढ्दै गयो। बनासर र  वृन्दावनमा अध्ययन गर्ने भूटानी विद्यार्थीहरूले नयाँ जोस र जाँगर बटुल्दै सन् १९९२ मा ‘भूटान स्टूड़ेन्ट वेलफेयर कमिटी’को गठनका साथै पत्रिका प्रकाशनको कार्य पनि आरम्भ गरे। सन् १९९२ मा भूटानी शरणार्थी समस्याको समाधान गरी पुन: स्वदेश फिर्ने अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले  विद्यार्थीहरूलाई  एकीकरण गर्दै जनजागरण गर्न उक्त संस्थाले  ‘भूटानी नव सन्देश’ नामक वार्षिक पत्रिकाको प्रकाशन आरम्भ गर्‍यो। सन् १९९२ देखि २००२  सम्म नौ  अङ्क प्रकाशित भएको उक्त पत्रिका भागवत निरौला (अङ्क १), दामोदर भण्डारी (अङ्क २), रामकृष्ण ढकाल (अङ्क ३,४) केशव प्याकुरेल (अङ्क ५), यदुराम भण्डारी (अङ्क ६,७) र लक्ष्मीनारायण ढकाल (अङ्क ८,९) का सम्पादनमा  निस्किएको पाइन्छ। यी पत्रिकाहरूमा समसामयिक राजनैतिक विषय सम्बन्धित लेखहरू,खोजमूलक र ऐतिहासिक आलेखहरूका साथै कविता,एकाङ्की, नाटक, निबन्ध, कथा आदि प्रकाशनमा आएका छन् । त्यसरी नै वृन्दावनबाट सन् १९९६ मा ‘भूटान राष्ट्रिय छात्र सङ्गठन,शाखा (वृन्दावन) ले ‘भूटानी दीपक’ नामक पत्रिकाको प्रकाशन आरम्भ गर्‍यो  राजनैतिक,समसामयिक स्वरूप बोकेता पनि यी पत्रपत्रिकाहरूमा विभिन्न विधाका रचनाहरू प्रकाशित भएका पाइन्छन्। उक्त संस्थाले अर्को वर्ष लगत्तै नाम परिवर्तन गर्दै उक्त पत्रिकालाई  ‘स्वर्ण दीपक’ नामले प्रकाशित गरेको थियो। यी दुवै अङ्कहरूमा अन्य सहयोगीहरू रहेता पनि श्रीनारायण काफ्लेको प्रमुख सम्पादकत्व रहेको थियो।

बनारसको भूमिबाट सं.२०५४ सालमा ‘सनातन सन्देश’ नामक एउटा अर्को पत्रिकाले जन्म लियो । यो पत्रिका भूटान वैदिक सेवासमिति द्वारा  डा. हरिप्रसाद अधिकारीको प्रधान सम्पादकत्वमा खेमनाथ अधिकारी र देविचरण खनालका सक्रियतामा  प्रकाशित भएको पाइन्छ । वैदिक सनातन धर्मको संरक्षणलाई मुख्य लक्ष्य राखिएर प्रकाशित गरिएको यस पत्रिकामा अनेक धार्मिक, दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र समसामयिक रचनाहरू प्रकाशित भएका छन्। एउटा अङ्क पछि यस पत्रिकाले पनि निरन्तरता भने पाउन सकेन । त्यस्तै भूटानी राजनैतिक आन्दोलनका क्रममा सं.२०५९ मा घनश्याम रेग्मीको “छचल्का’, सन् १९९० मा हरिप्रसाद अधिकारीका सक्रियतामा ‘भूटानमा मानवाधिकारको हनन’ र  ‘मानवाधिकारको चीरहरण’ जस्ता कृतिहरू पनि प्रकाशित भएका पाइन्छन्। सन् २००४  मा प्रकाशित लक्ष्मीनारायण ढकालको कविता सङ्ग्रह ‘भूमिपुत्र’ सम्भवत: अहिलेसम्म बनारसका पृष्ठभूमिबाट प्रकाशित भएका नेपाली भाषाका कृतिहरूमा सबैभन्दा कान्छो कृति हो ।

पछिल्लो समयमा नेपाली भाषा शिक्षणका लागि पुस्तक तयार पार्ने छत्रपति फुएल र खिम खतिवडा पनि मूलत: बनारसकै उत्पादन हुन् । छत्रपति फुएलको ‘नेपाली भाषा शिक्षक’ (सन् २००४, भूटानबाट प्रकाशित) र खिम खतिवडाको ‘हाम्रो  नेपाली भाषा’ भाग १ (सन् २०१७) र भाग दुई (२०१८ अमेरिकाबाट) प्रकाशित छन् । आफ्ना स्वतन्त्र प्रकाशनहरू बाहेक बनारसबाट प्रकाशित हुने अन्य नेपाली पत्रपत्रिका जस्तै उदय, अयन, एकता, यात्री र हिमज्योतिमा पनि भूटानी विद्यार्थीका रचनाहरू  प्रकाशित भएका छन् ।

निष्कर्ष

भाषा हराए गोर्खा जानु, विद्या हराए काशी जानु‘  भन्ने पुरानो उखान अनुसार नेपालीभाषी भूटानीहरू पनि परापूर्व कालदेखि काशी र काशीका आसपासका क्षेत्रहरूमा गएर शिक्षा ग्रहण गर्ने प्रचलन रहेकाले भूटानको भाषा,साहित्य र शिक्षामा उक्त व्यक्तिहरूको निकै ठुलो योगदान रही आएको छ। भूटानमा सामाजिक पहल मै स्थापित र सञ्चालित पारम्परिक संस्कृत पाठशालाहरूमा आरम्भमा संस्कृत कै मात्र पढाइ गराइएता पनि पछिपछि नेपाली विषयलाई पनि पढाइन थालिएको थियो। यी दुवै परिपाटीका विद्यालयहरूमा अध्यापन गर्ने अध्यापकहरू वाराणसी तिरबाट दीक्षित व्यक्तिहरू नै हुन्थे। संस्कृत र कर्मकाण्डका प्राथमिक विषयहरूलाई नेपाली माध्यममा पढाइने हुनाले पनि नेपाली भाषाले स्वरुपगत अग्रगामिता हासिल गर्न सकेको थियो भन्ने कुरो नकार्न मिल्दैन। त्यसोत दक्षिणी भेकमा मात्र नभएर पूर्वोत्तर भूटानका डुक्पाहरू पनि राम्ररी नेपाली बोल्ने गर्दथे भने आरम्भमा कतिपय सरकारी कागजातहरू नेपाली भाषामा नै चलाईन्थ्यो ।  सरकारी ऐन र प्रतिवेदनहरूका नेपाली रूपान्तरण पनि  प्रकाशित भएका पाइन्छन्।

भूटानमा नेपाली भाषा शिक्षण गर्ने शिक्षक मात्रै होइन, नेपालमा शरणार्थी शिविरमा नेपाली भाषा शिक्षण गर्ने अधिकांश शिक्षकहरू पनि संस्कृत शिक्षा कै उपज हुन्। सन् १९९३ मा स्थापित ‘नेपाली भाषा परिषद्, भूटान’को स्थापना र विकासमा उनीहरूको भूमिका उल्लेखनीय छ । यसरी पत्रपत्रिकादेखि साहित्यिक कृतिहरूको प्रकाशनका साथै नेपाली भाषाको पठनपाठनमा भारतको बनारस लगायतका शैक्षिक केन्द्र तथा त्यहाँबाट उद्भव भएको भाषिक चेतना,चिन्तन र ज्ञानले भूटानको नेपाली भाषा र साहित्यको विकासमा ऐतिहासिक भूमिका निर्वाह गरेको कुरामा दुर्इमत छैन। वर्तमानमा पनि बनारस / वृन्दावनतिर भूटानका विद्यार्थीहरू अध्ययन गर्न गइरहेका हुनाले त्यसको प्रभाव पछिसम्म पनि भूटानमा केही न केही परिरहने देखिन्छ। भूटानमा नेपाली भाषाको खस्कँदो अवस्थामा नेपाली अक्षर चिन्ने चिनाउने तिनै भारततिर गएर अध्ययन गर्ने व्यक्तिहरू नै हुने निश्चतप्राय: छ । त्यसरी नै अब पुनर्वासमा भाषा-साहित्यले गम्भीर चुनौती  खडा गरेको छ। नयाँ पुस्तालाई भाषाको शिक्षा र युवा पुस्तालाई साहित्यको शिक्षण व्यवस्था अबको प्रमुख  चुनौती  हो। यी चुनौतीहरूको दीर्घकालीन समाधान खोज्न अब प्राज्ञिक वर्गले कम्मर नकसे यसको कुनै अर्को विकल्प छैन। यो संस्था भूटानी समुदायको प्राज्ञिक थलो हो र यसमा आशाका किरणहरू उदाउँनै पर्छ।

सन्दर्भ सामग्री-

) सम्बन्धित लेखक र सम्पादकहरू सँगको अन्तर्वार्ता।
) विभिन्न पत्रपत्रिकाहरू “ड्रुक लोसेल,क्युन्सेल, र अमर भूटानको विवरण।
) बनारसको भूटानी  छत्र सङ्गठनको कार्यालय र डा.हरिप्रसाद अधिकारी।
) भूटान लिटरेचर डट कम (साहित्य परिषद्,भूटान)।
) आफ्नो स्वयंको खोज,अध्ययन र डायरी सङ्कलन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *