‘हाम्रो नेपाली भाषा’को आवश्यकता र विशेषता

प्रतिबेदन प्रस्तोता
प्रस्तोता

खिम खतिवडा
मिन्निसोटा, अमेरिका

पृष्ठभूमि
नेपालीहरू नपुगेका मुलुकहरू विश्वमा सायदै होलान् । अनि हामी नेपालीभाषी भूटानीहरू पुनर्वास भएपछि त यो संख्या अझ बढेको छ र डायस्पोराको नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण अनि संवर्द्धन  गर्ने दायित्व हाम्रो काँधमा पनि आएको छ । अथवा भनौँ, हामीलाई यो जिम्मेवारी अझ बढेको छ ।

कुनै पनि समाजको परिचय उसको संस्कृतिले दिन्छ र संसारमा कुन संस्कृति कति धनी छ भन्ने कुरा त्यसको भाषा र साहित्यले दर्शाउँछ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस समाजको साहित्य र संस्कृति दुवै लोप भएर जान्छन् अनि साहित्य र संस्कृति लोप भए भने समाजको कुनै अस्तित्व रहँदैन । र, अस्तित्व खोज्ने क्रममा त्यो समाज अन्य समाज र संस्कृतिमा विलीन हुनपुग्छ । संसारमा यस्ता धेरै समाज वा समुदाय छन् जसले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न नसकेर विलीन भएका छन्; अन्य समाजसँग घोलिएका छन् ।

नेपाली भाषा साहित्य
हाम्रो नेपाली संस्कृति पनि विश्वका समृद्ध संस्कृतिमध्ये एक हो किनकि हाम्रो नेपाली भाषा र साहित्य पनि त्यत्तिकै समृद्ध छन् अनि विश्व साहित्यसँग तुलना गर्न योग्य । अझ स्पष्टसँग भन्ने हो भने नेपाली साहित्य पनि विश्व साहित्यसँग पौँठेजोरी खेल्न सक्षम छ । किनकि नेपाली भाषा आफैँमा समृद्ध छ, यसको व्याकरण व्यवस्था व्यवस्थित छ र शब्दभण्डार परिपूर्ण छ ।  अनुकरणात्मक शब्दहरू त नेपाली भाषाका आफ्नै मौलिक विशेषता हुन् ।

त्यसैले नेपाली भाषाको संरक्षण र संवर्द्धन गर्नु भनेको नेपाली साहित्य र संस्कृतिको विकासमा सहयोग गर्नु हो र नेपाली साहित्य र संस्कृतिको विकासमा सहयोग गर्नु भनेको आफ्नै अस्तित्वको, आफ्नै स्वाभिमानको रक्षा गर्नु हो । यतिमात्र होइन; नेपाली संस्कृति विभिन्न जाती, धर्म र सम्प्रदाय मिलेर बनेको एउटा साझा संस्कृति हो, र यिनीहरूबीच सद्भाव बढाउन, मैत्री बढाउन अनि सहकार्य गर्न पनि नेपाली भाषाले ठूलो भूमिका खेलेकोछ ।

तर, यस्तो गौरवमय इतिहास बोकेका, यस्तो विशाल भाषा, साहित्य र संस्कृतिका धनी हामीहरू यसको संरक्षण र विकासमा एकजुट भएर आजैदेखि लाग्न सकेनौँ भने आजको बीस–तीस वर्षपछि हामी को थियौँ र कहाँबाट आएका थियौँ भन्ने केही नामोनिसान पनि नरहन सक्छ । विश्वमा यस्ता धेरै राष्ट्रहरू छन् जहाँ नेपालीहरू पुस्तौंदेखि ठूलो संख्यामा बसोबास गर्दै आइरहेका छन् तर तिनीहरूको कुनै अस्तित्व छैन । मात्र तिनीहरूको थरले नेपाली रहेछन् भनेर चिनाउँछ ।

bपुनर्वास नेपाली भाषा
 हामी नेपाली भाषी भूटानीहरू पनि तेस्रो मुलुकमा पुनर्वास भएर बसोवास गर्नथालेको पनि दश वर्ष नाघि सकेको छ । यो लामो समयमा हामी मध्ये धेरै जसोले आर्थिक रूपमा धेरै उन्नति पनि गरेका छौँ, यसमा कुनै शङ्का छैन । यस उन्नतिले हामीलाई देश छोडेर भाग्दाका पीडाहरू र दुई दशकसम्म शरणार्थीको बिल्ला लगाएर दिनप्रतिदिन मर्दै–बाँच्दै बिताएका ती कहाली लाग्दा दिनहरू बिर्सन धेरै मद्दत गरेको छ । तर, यसरी भौतिक रूपमा केही उन्नति गर्न सफल भएतापनि आध्यात्मिक, सांस्कृतिक, साहित्यिक एवं भाषिक रूपमा भने हामी अझै पिछडिइ रहेकाछौँ र यसको ज्वलन्त उदाहरण हो– हाम्रा युवावर्ग, जसको ठूलो संख्या आज लक्ष्यविहीन भएर, संस्कार–संस्कृतिहीन भएर गलत बाटातिर लम्किरहेका छन्र आफ्नो भविष्य अन्धकारतिर धकेलिरहेकाछन्।  हामीले यो वर्गलाई बेलैमा सम्हाल्न सकेनौँ भने भोलि हाम्रा स–साना भाइबहिनीहरूले पनि तिनीहरूकै अनुसरण गर्नेछन्, तिनीहरूकै पछि लाग्नेछन् अनि हाम्रो अस्तित्व इतिहासका पानामा सीमित हुन पुग्नेछ; यसमा कुनै शङ्का छैन ।

पुनर्वासमा भाषा साहित्यको विकासमा भएका प्रयास
म ‘गिलास आधी खाली छ’भन्नु भन्दा ‘आधी भरी छ’ भन्न रुचाउँछु । मैले यहाँ अब सबै सिद्धियो, अब केही गर्न सकिन्न भन्न खोजेको पनि होइन; मैले  यो सबै यथार्थ देखाउन खोजेको मात्र हो । अझै पनि सुधारका संभावना र बाटाहरू प्रशस्त छन् । र, मेरो दृष्टिमा अमेरिका लगायत विभिन्न राष्ट्रमा पुनर्वासको विकल्प रोजी स्थायी बसोवास गर्दै आएका हाम्रा नेपाली भाषी भूटानी तथा अन्य विदेशी नेपाली साहित्यकारहरूबाट पनि नेपाली भाषा र साहित्यका विविध विधाहरूमा, विशेषगरी गीत र गजलका क्षेत्रमा धेरै प्रशंसनीय कार्यहरू भएका र भइरहेका पनि छन् । त्यस्तै विभिन्न सांस्कृतिक तथा खेलकूद कार्यक्रमहरूको आयोजना, विभिन्न रेडियो तथा प्रत्यक्ष कार्यक्रमहरू (फेसबुकमा) पनि भइरहेका छन्। त्यसैले म ज्ञात–अज्ञात ती सम्पूर्ण नेपाली भाषा, साहित्य तथा संस्कृति प्रेमी महानुभावहरूलाई अन्तर्हृदयबाट धन्यवाद दिन चाहन्छु ।

तर, मेरो व्यक्तिगत चिन्तन र प्रयास भने विशेष गरी डायस्पोरामा बसोवास गर्ने नेपालीभाषी समाजमा भोलिका दिनहरूमा पनि ती गीत, गजल र कविता सुन्ने, ती कार्यक्रमहरूलाई माया गर्ने श्रोता वा दर्शकहरूको खडेरी नपरोस् भन्ने रहेको छ । मेरो बिचारमा भाषा भनेको मूल हो, जरो हो र हामीले मूललाई नै बचाउन सकेनौँ भने हाँगा र पातहरू त त्येसै सुक्न सक्छन् । अर्को कुरा, आज हामी हाम्रा बुबाआमाहरूसँग भएको संस्कृतिको अथाह ज्ञानराशिलाई हाम्रो आउँदो पिँढीमा हस्तान्तरण गर्न, र उहाँहरूसँग भएका कथा, व्यथा र पीडालाई आत्मसात गराउन असमर्थ भइरहेका छौँ र यसको एउटा प्रमुख कारण भाषा पनि हो किनकि आज हाम्रो समाजमा पहिलो र चाौथो वर्गबीच, अर्थात् हाम्रा हजुर बुबा, हजुर आमा र हाम्रा नानीबाबुहरू बीच लगभग बोलचाल बन्ध हुने अवस्था आइसकेको छ ।

यसरी नै नेपाली भाषा शिक्षण एवं संवर्धनका सम्बन्धमा पनि हाम्रो समाजका कतिपय विज्ञहरूबाट धेरै राम्रा चिन्तन अनि प्रयासहरू भएका भएता पनि ती कामहरू पर्याप्त छैनन् । यसै क्रममा अमेरिकाका विभिन्न राज्य र शहरहरूमा र हाम्रा नेपाली भाषी भूटानी लगायत अन्य नेपालीहरू भएका क्यानाडा, अस्ट्रेलिया लगायत अन्य मुलुकहरूमा पनि केही मात्रामा भाषा कक्षाहरू सञ्चालन भइरहेका छन्र केही ठाउँमा कक्षा सञ्चालन गर्ने प्रयास पनि भइरहेको छ जुन अत्यन्त प्रशंसनीय कार्य हुन् । तर यी कक्षाहरू संचालन गर्न र निरन्तरता दिन विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको छ । र, यी समस्याहरूमा समसामयिक पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सामग्री र तालिम प्राप्त शिक्षक-शिक्षिकाहरूको अभाव पनि एउटा प्रमुख समस्या रहेको छ ।

a‘हाम्रो नेपाली भाषा’को आवश्यकता विशेषता
र, मैले यो ‘हाम्रो नेपाली भाषा’ नामक पाठ्यपुस्तक लेखेर यसै आवश्यकताको अलिकति भए पनि परिपूर्ति गर्न खोजेको हो । यो पाठ्यपुस्तक विशेष गरी नेपालबाहिर बस्ने नेपालीभाषी समुदायको आवश्यकतालाई नै ध्यानमा राखेर लेखिएको छ त्यसैले यस पुस्तकले उक्त समुदायमा रहेको देश, काल, परिस्थितिअनुरूप अथवा भनौँ समयसापेक्ष्य पाठ्यपुस्तकको अभावलाई केही मात्रामा भए पनि अवश्य पूरा गर्नेछ भन्ने विश्वास लिएको छु ।

१. परिवेश
अब यहाँ प्रश्न उठ्न सक्छ कि नेपालबाट धेरै खाले पाठ्यपुस्तकहरू प्रकाशित छन्र तिनै पुस्तक झिकाएर पढाए भइगयो नि, किन योपुस्तक चाहियो ? हो, यो अत्यन्त सान्दर्भिक प्रश्न हो । हेर्नुहोस्, नेपालबाट प्रकाशित पाठ्यपुस्तकहरू दुई प्रकारकाछन् – एउटा कपुरी क, गाईगोडे ग, भन्ने जस्ता पुरानो परम्परामा लेखिएका र अर्को आधुनिक शिक्षण पद्धतिमा आधारित । तर मैले आधुनिक भाषाशिक्षण पद्धति अपनाएरै लेखिएका भएपनि नेपालबाट प्रकाशित पाठ्यपुस्तक डायस्पोरामा बस्ने नेपाली भाषी समाजका लागि उपयुक्त देखिनँ किनकि नेपालबाट प्रकाशित प्रायःसबैजसो पाठ्यपुस्तकहरू नेपाली परिवेशमा, जस्तै त्यहाँको राजनैतिक, सामाजिक, धार्मिक, भौगोलिक आदि परिवेशमा लेखिएका छन् । त्यसैले हामीले यहाँ शुरुशुरुमा ‘माइलो गुच्चा खेल्छ’, ‘आमा चिठी लेख्नु हुन्छ’ भनेर सिकाउनु भन्दा ‘माइकल आइप्याड्मा भिडियो हेर्छ, ‘आमा फेसबुकमा फोटा हेर्नुहुन्छ’ भन्दा धेरै प्रभावकारी शिक्षण हुन्छ । यस्तै एउटा ठूलो हतियार बोकेको जुँगे मान्छेलाई ‘क्षत्री क्ष’ भनेर सिकाउनु र, नेपालको झण्डालाई देखाउँदै ‘यो हाम्रो झण्डा हो’ भनेर सिकाउनु कतिको सान्दर्भिक हुन्छ त्यो मैले भनिरहनु आवश्यक नहोला ।

२. पाठ्यभार
अनि अर्को कुरा, ती सम्पूर्ण पाठ्यपुस्तकमा हप्ताको कमसेकम ६-७ घण्टीको लागि आवश्यक पाठ्य सामग्री एवं क्रियाकलापहरू राखिएका छन्र यो हुनु जरुरी पनि छ किनकि नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । यसरी हेर्दा घण्टीको ४०–४५ मिनटको दरले मात्रै हिसाब गर्ने हो भने पनि हप्तामा कक्षामै थोरैमा चार–पाँच घण्टा पढाउनु पर्ने हुन्छ र दशवर्षको भाषा शिक्षणको आफ्नै अनुभवका आधारमा भन्नु पर्दा अरु सात–आठ घण्टा गृहकार्यलाई छुट्याउनु पर्नेहुन्छ ! अब हाम्रो परिप्रेक्ष्यमा कुरा गर्दा हामीले हप्तामा एक–दुईघण्टा, शनिवार वा आइतवार, कक्षामा पढाउनु पर्ने हुन्छ र गृहकार्य दिने सम्भावना पनि कमै रहन्छ । त्यस्तै बर्खे विदामा घुम्न जानु पर्ने सभ्यता, कहिले के अनि कहिले केको सभ्यता पनि जोड्दा वर्षभरिमा हामीसँग चानचुन ७०–७५ घण्टा (हप्ताको १.५ घण्टाको दरले) रहन्छ । तसर्थ नेपालबाट प्रकाशित एउटै कक्षाको पाठ्यपुस्तक पढाइसक्न पनि हामीलाई दुई-तीन वर्ष लाग्न सक्छ ।

त्यसैले हाम्रो नेपाली भाषामा यसको पूर्ण ख्याल राखिएको छ । यस पाठ्यपुस्तकको पहिलो भागमा १६ वटा पाठ छ भने दोस्रो भागमा १३ वटा पाठ छन्र ती प्रत्येक पाठलाई ४ देखि ६ घण्टासम्मको पाठ्यभार छुट्याइएको छ । यसरी हेर्दा  यी पुस्तकहरू लगभग ४८-५० हप्तामा पूरा हुन्छन्र रहेका हप्ताहरू वार्षिक मूल्याङ्कन वा विदालाई छुट्याउन सकिन्छ । यही क्रम आउँदा भागहरूमा पनि रहनेछ।

३. भाषिक शीप
‘हाम्रो नेपाली भाषा’ पाठ्यपुस्तक भाषा शिक्षणका अत्याधुनिक सिद्धान्तमा आधारित रहेको छ । यस पुस्तकमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषाका सम्पूर्ण शीपको विकासलाई ध्यानमा राखिएको भए तापनि सुनाइ र बोलाइलाई बढी जोड दिइएको छ किनकि हाम्रो सन्दर्भमा हाम्रा नानीबाबुहरूले शुद्धसँग नेपाली बोली मात्र दिए भने पनि ठूलो उपलब्धी हुन्छ ।

४. सम्प्रेषणात्मक अनि विद्यार्थी केन्द्रित
त्यस्तै यो पाठ्यपुस्तक सम्प्रेषणात्मक अनि विद्यार्थी केन्द्रित पाठ्यपुस्तक हो । यसमा ८० प्रतिशतभन्दा बढी काम विद्यार्थीले गर्नुपर्छ भने शिक्षकको भूमिका सहयोगीका रुपमा मात्र रहन्छ । अर्को शब्दमा भन्दा यस पाठ्यपुस्तकमा शिक्षक-शिक्षिकाको भूमिका विशेष गरी विद्यार्थीहरूलाई उदाहरण दिने, निर्देशन दिने र सहयोग गर्ने मात्र रहन्छ ।

५. सरल अनि रोचक
यो पाठ्यपुस्तक अत्यन्त सरल अनि रोचक शैलीमा लेखिएको छ । यो पुस्तक पढाउन विज्ञ नेपाली शिक्षक-शिक्षिकाको आवश्यकता पर्दैन । सामान्य रूपमा नेपाली पढ्न र लेख्न सक्ने व्यक्तिले पनि यो पुस्तक सजिलै पढाउन सक्छ । तर यसको तात्पर्य शिक्षक-शिक्षिका चाहिँदै चाहिँदैन भन्ने पनि होइन । यदि कक्षामा गएर योग्य शिक्षक-शिक्षिकाको निर्देशन अनुसार क्रियाकलापहरू गर्दा भाषाको सिकाइ चौगुना हुन्छ ।

यस पुस्तकमा कपुरी क, खरायो ख अथवा क– कलम, ख– खरायो भन्ने जस्तो पुरानो शैलीमा वर्णहरू सिकाइएको  छैन ।यसमा गीतको माध्यममा वर्णहरूसिकाइएका छन् ।जस्तै– व्यञ्जनवर्ण सिकाउन ‘आऊ क, ख पढौँ’भन्ने शीर्षकको गीत (पाठ१) र स्वरवर्ण सिकाउन ‘अब अ, आ पढौँ’ भन्ने शीर्षकको गीत (पाठ२) राखिएको छ ।

त्यस्तै यस पुस्तकको अर्को विशेषता हो यहाँ सिधै क, ख, ग, घ अथवा अ, आ, इ, ई भनेर लेख्न सिकाइएको पनि छैन । यहाँ सबैभन्दा पहिले सजिला अनि एकै खालका वर्णहरू लेख्न सिकाइएको छ । जस्तै— उदाहरणका लागि व्यञ्जन–वर्ण सिकाउन प्रयोग गरिएका भाग १, पाठ १ का २ देखि १२ सम्मका अभ्यासहरू र स्वरवर्ण सिकाउन प्रयोग गरिएका पाठ २ का २ देखि ८ सम्मका अभ्यासहरू लिन सकिन्छ ।

यस पुस्तकमा रहेका आकर्षक रङ्गीन चित्र, विभिन्न शीपमूलक तर सरल अभ्यास र क्रियाकलापहरूले पनि विद्यार्थीको रुचि जगाउन पर्याप्त सहयोग गरेका छन् जुन कुरो तपाईंले पुस्तक हेर्नु भयो भने आफैँअनुभव गर्न सक्नुहुन्छ।

६. अभ्यास पुस्तिकाको शैली
यो पाठ्यपुस्तक अभ्यास पुस्तिकाको शैलीमा लेखिएको छ अर्थात् प्रायः सम्पूर्ण अभ्यासहरू पुस्तकमा नै लेख्न सकिन्छ । हाम्रा विद्यार्थीहरूलाई यहाँको तरिकामा एउटा पेजमा लेखाउने गरियो भने एक हप्ता पछाडि कक्षामा आउँदा त्यो पेज कता पुगेको हुन्छ कता पत्तै हुँदैन । त्यस्तै एउटा कापी बनाउँदा पनि कहिले कापी नल्याउने, कहिले अर्कै कापी लिएर आउने जस्ता समस्याहरू झेल्नुपर्ने अनुभव पनि हामीसँग छँदैछन् । त्यसैले एयटा पुस्तक र एउटा कलम बोके पुग्ने हुँदा यस पाठ्यपुस्तकले ती सबै झन्झटहरूबाट मुक्त हुन पनि सहयोग गर्दछ । कलम बिर्सने रोगका लागि भने केही कलम अथवा सिसाकलमहरू सम्बन्धित विद्यालय वा कक्षा सञ्चलन गर्ने ठाउँमा राख्न सकिन्छ ।

७. विभिन्न विधाका पाठ
यस पाठ्यपुस्तकमा विभिन्न विधाहरूलाई समेट्ने प्रयास गरिएकोछ । जस्तै भाग १ मा ७ वटा गीतवा कविता, २ वटा कथा, ४ वटा गद्य वा निबन्ध, ३ वटा संवाद छ भने भाग २ मा ३ वटा कविता, ३ वटा कथा, २ वटा गद्यवा निबन्ध, ३ वटा संवाद र १ वटा मनोवाद र १ वटा जीवनी छन् । विद्यार्थीलाई यी विधाहरूमा प्रवेश गराउनका लागि आवश्यक अभ्यास र क्रियाकलापहरू पनि राखिएका छन् ।  आगामी भागहरूमा पनि यो विधि कायमै रहनेछ ।

८. भाषा व्याकरण
यस पुस्तकमा भाषा र व्याकरणलाई सँगसँगै लगिएको हुँदा नेपाली व्याकरण पढाउनका लागि छुट्टै पुस्तकको खाँचो पर्दैन त रयहाँ व्याकरणको सैद्धान्तिक पक्षलाई भन्दा व्यवहारिक पक्षलाई बढी जोड दिइएको छ । अझ स्पष्टसँग भन्नु पर्दा, यस पाठ्यपुस्तकमा व्याकरणका नियम वा परिभाषा सिकाउनु भन्दा त्यसको व्यवहारिक प्रयोग गराउने प्रयास गरिएको छ । यस पाठ्यपुस्तकमा व्याकरणको जुन नियम सिकाउन चाहेको छ सम्बन्धित पाठमा त्यही विषयलाई यथा सम्भव प्रयोग गरिएको छ । जस्तै– कालका पक्षहरू सिकाउन त्यही पक्षको बोध गराउने पाठको निर्माण र क्रियापदहरूको प्रयोग गरिएको छ । त्यसरीनै क्रियाका भाववाअर्थ, पदसङ्गति, विरामचिन्ह, करण–अकरण, अव्यय, सातबारकानाम, बाह्र महिनाका नाम, संख्या आदि सिकाउनका लागि पनि त्यसै विषयसँग सम्बन्धित पाठ वा अभ्यासहरूको निर्माण गरिएको छ । यतिमात्र होइन, यस पाठ्यपुस्तकमा प्रत्येक मात्रा सिकाउनका लागि पनि एक एकवटा पाठको निर्माण गरिएको छ ।

त्यस्तै सम्बन्धित शीप वा व्याकरणको नियमलार्ई अभ्यास गराउन विभिन्न अभ्यासरू बनाइका छन् र विद्यार्थीले ती अभ्यासहरू गर्न सम्बन्धित पाठलाई बारबार प्रयोग गर्नुपर्दछ । यसो गर्दा विद्यार्थीले एकातिर चाँडै त्यो विषय सिक्दछन् भने अर्कातिर उनीहरूको शब्दभण्डार पनि बढ्दै जान्छ । उदाहरणका लागि भाग १ को मात्राको अभ्यास गराइएका पाठहरू— पृष्ठ २१, २४, ३०, आदि र भाग २ का काल आदि व्याकरणका अभ्यासहरू गराइएका पाठहरू— पृष्ठ २३, ३९, ४२, ४६, ५३, र अन्तीम अभ्यासहरूलाई लिन सकिन्छ । त्यस्तै यस पाठ्यपुस्तकमा रहेका प्रत्येक अभ्यासहरू प्रयोगात्मक छन् । त्यसैले यसमा रहेका प्रत्येक अभ्यासको विशेष महत्व छ र ती अभ्यासहरू भरेर’ होइन बुझेर’अघिबढ्नुअत्यन्तजरुरीहुन्छ।

९. रचनात्मकता एवं उच्च दक्षता
यस पाठ्यपुस्तकमा प्रत्येक विद्यार्थीमा रहेको रचनात्मकता एवं उच्च दक्षतालाई विकास गर्न पनि भरपूर प्रयास गरिएको छ, जो तपाईं प्रत्येक पाठमा देख्न सक्नुहुन्छ । जस्तै केही उदाहरणका लागि– भाग १ मा पृष्ठ ८, १३, १६, १९,  (अभिभावकहरूलाई पनि संलग्न गराइएको छ) २२, २५, ३१, ३४, ३७, ४०, ४३, ४६, ४९, ५३, ५८, परिशिष्ट आदि र भाग २ मा पृष्ठ ५, ११, १६, २१, २५, २६, ३१, ३६, ४०, ४५, ४६, ५१, ५२, ५३, ५९, ६४, ६९, अन्तिम अभ्यासहरू र  परिशिष्ट आदिलाई लिन सकिन्छ (यो सामान्य उदाहरण मात्र दिइएको हो) ।

१०. व्यावहारिक तथा नैतिक  शिक्षा
यस पाठ्यपुस्तकमा व्यावहारिक तथा नैतिक  शिक्षालाई पनि ध्यान दिइएको छ । जस्तै भाग १ मा— ‘ज्ञानी बन्नू’ – आदर/सत्कार, ‘कृष्ण र मृग’ – दया/माया, ‘संसार’ – पर्यावरणको रक्षा, ‘धन्यवाद साथी’ – सरसफाइ/कृतज्ञता, आदि र  भाग २ मा— ‘सात बार सात दिन’ – सात बारको ज्ञान, ‘मलाई चकलेट पनि’ – संख्याबोध/सामानको सूची बनाउने, ‘रामको दिनचर्या’ – दैनिकी/समयको सदुपयोग, ‘असल मान्छे बन’ – मानवता/सच्चरित्र, ‘मूर्ख मित्र’ – सत्सङ्गति, ‘खाने कुरा नफालौँ’ – खाद्यान्नको रक्षा, ‘नाइँ म अझै हेर्ने’ – लत/स्वास्थ्य, ‘को ठूलो’ – दया/मानवता आदि ।

११. ‘परिशिष्ट’
‘परिशिष्ट’ यस पाठ्यपुस्तकको थप विशेषता हो । यसमा आवश्यक थप सन्दर्भ सामग्रीहरू राख्ने प्रयास गरिएको छ । दैनिक प्रयोगमा आउने शब्दहरूको    (क) सचित्र शब्दकोष विद्यार्थीहरूको शब्दभण्डार बढाउन सहायक हुनेछ । यद्यपि पाठहरूमा पनि शब्दभण्डार बढाउन पर्याप्त सामग्रीहरू उपलब्ध छन् ।

वर्षभरिको शैक्षिक उपलब्धिको मूल्याङ्कन गर्ने/गराउने उद्देश्यले (ख) आदर्श प्रश्नपत्र वा मूल्याङ्कन पत्र राखिएको छ तर यो एउटा उदाहरण मात्र हो । आवश्यक लागे योग्य शिक्षक-शिक्षिकाहरूले आफ्नै तरिकाको मूल्याङ्कन विधि अपनाउन सक्नेछन् ।  (ग) व्याकरणका नियम परिभाषाहरू भने विशेष गरी शिक्षक, वयस्क विद्यार्थी वा उच्च दक्षता भएका विद्यार्थीहरूलाई काम लाग्न सक्ने आशा गरिएको छ । त्यसैले प्रत्येक पाठमा राखिएका व्याकरणका सैद्धान्तिक पक्षसँग सम्बन्धित अभ्यासहरू (प्रायःअन्तिमअभ्यास) ऐच्छिक रूपमा अभ्यास गराउन सकिन्छ ।

१२. क्रेडिट सिस्टम
‘हाम्रो नेपाली भाषा’ पाठ्यपुस्तकको शृङ्खला अमेरिका लगायत विश्वका कतिपय मुलुकका पाठ्यक्रममा अपनाइने क्रेडिट सिस्टममा (credit system) आधारित बनाएर लाने प्रयत्न गरिएको छ । स्थानीय स्तरमा भाषा कक्षाहरू संचालन गर्नु हाम्रो यो पहिलो चरणको कार्य हो र हाम्रो देस्रो चरणको कार्य भनेको हाम्रा आआफ्ना स्टेट वा क्षेत्रका स्कूल वा कलेजहरूमा नेपाली भाषालाई पनि स्पेनिस, जर्मन, चाइनिज आदि भाषालाई जस्तै स्थान दिलाउनु हो । यसो गर्न सकियो र हाम्रा नानीहरूले आफ्नै मातृभाषा पढेर क्रेडिट ल्याउन पाए भने त्यो ठूलो कुरो हुन्छ । यसका लागि विभिन्न प्रयासहरू पनि भइरहेका छन्— जस्तै वाशिंटन स्टेट र पेन्सिलभेनिया स्टेटमा यो कार्यको महत्वपूर्ण थालनी भएको छ । भोलिका दिनहरूमा यी संख्या बढ्दै जालान् तर ती स्थानीय स्कूल वा राज्य सरकारहरूले खोई तिमीहरूसँग कस्तो पाठ्यक्रम छ ? विद्यार्थीले क्रेडिट कसरी पाउँछन् भन्दा हामीसँग के उत्तर छ ? तर हाम्रो नेपाली भाषामा यस कुरालाई पनि ध्यानमा राखिएको छ । त्यसैले यस शृङ्खलाका सबै भागहरू पढिसक्दा निम्न माध्यमिक वा माध्यमिक तहमा निर्धारित क्रेडिट आवर्स (credit hours- contact and outside work) पूरा हुनेछन् । तसर्थ यस शृङ्खलाले एकातिर संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा विश्वका कतिपय मुलुकहरूमा, निम्न माध्यमिक वा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई ऐच्छिक अथवा अनिवार्य रूपमा राखिएको अन्तर्राष्ट्रिय भाषाको २–३ क्रेडिट प्राप्त गर्न सहयोग गर्नेछ भने अर्कातिर विभिन्न ठाउँमा व्यक्तिगत वा संस्थागत रूपमा चलिरहेका भाषा कक्षाहरूको आवश्यकतालाई पनि पूरा गर्नेछ ।

१३. शृङ्खलात्मक पाठ्यक्रम
मैले यो पाठ्यपुस्तक भाग १ देखि ५ सम्मको शृङ्खलामा प्रकाशित गर्ने उद्देश्यले आवश्यक पाठ्यक्रम निर्धारण गरी प्रतिवर्ष प्रत्येक भागहरू क्रमशः प्रकाशित गर्दै जाने उद्देश्य लिएको छु । यसै अनुरूप गत वर्ष, मार्च १२, २०१७ मा  भाग १ र यसपाली, अप्रैल १५, २०१८ मा भाग २ विमोचित भएका छन् भने भाग ३ द्रुत गतिमा प्रकाशनतिर लम्किरहेको  छ । भाग ३ मा व्याकरणका साथसाथै केही बोध र अभिव्यक्ति पक्षलाई पनि समेट्ने प्रयास गरिएको छ भने अन्य भागहरूमा बोध,  अभिव्यक्ति र साहित्यिक विधाहरूलाई विशेष जोड दिइनेछ ।

नेपाली भाषाको संरक्षण संवर्द्धनका उपायहरू
आज हाम्रो काँधमा आफ्नो समुदायको, आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने र हाम्रा भाविसन्ततिलाई  हस्तान्तरण गर्ने ठूलो दायित्व आएको छ, जसलाई म एउटा सौभग्य पनि ठान्दछु । किनकि यदि हामी सबैले आज मैलेपनि मेरो समाजको लागि, मेरोमातृभाषाको लागि केही गर्ने मौका पाएको छु भनेर सोच्न सक्यौँ भने, मेरो पनि यसका लागि केही जिम्मेवारी छ भनेर आफ्नो कर्तव्यबोध गर्न सक्यौँ र आ–आफ्नो तर्फबाट जेजति सहयोग वा योगदान दिन सकिन्छ त्यसको लागि अघि बढ्न सक्यौँ भने हामी अवश्यपनि सफल हुनेछौँ । किनकि मेरो विचारमा अझैपनि धेरै सुधार र विकासका सम्भावना वा विकल्पहरू छन्र यी मध्ये कतिपय कार्यहरू व्यक्तिगत वा पारिवारिक रूपमा गर्न आवश्यक छ भने कतिपय कार्यहरू सामुहिक वा सांगठनिक रूपमा गर्न आवश्यक छन्।

१. घरघरमा नेपाली वातावरण
यक्तिगत रूपमा एकातिर हामी आ–आफ्नो घरमा बोलचालको भाषा नेपाली बनाउन सक्छौँ भने अर्कातिर वृद्ध बुबाआमा भएको घरमा (प्रायः सबैका घरमा छन्) ‘पहिलो र चौथो वर्गको समय वा हजुरबा र नातिको समय’ भनेर कमसेकम हप्ताको एकदिन भए पनि गाउँखाने कथा, लोककथा, भूटानका कथा, सरकारले गरेका अत्याचारका कथा आदि भन्न लगाउने र सुन्ने लगाउने गर्न सकन्छि । अँगेनाका वरिपरि बसेर गाउँ खाने कथा भन्ने, लोक कथा भन्ने पनि एउटा नेपाली परम्परा नै हो र यहाँ त्यस्तै अँगेनो नभए पनि फायर प्लेस त प्रायः सबैका घरमा हुन्छन् । यसो गर्दा एकातिर घरमा नेपाली वातावरण बन्दछ र ससाना नानीबाबुहरूलाई नेपाली सिक्न सजिलो हुन्छ भने अर्कातिर हाम्रा आमाबुबाहरूलाई एकछिन भए पनि भुलिने वा मनको बह पोख्ने माध्यम हुन्छ । यसरी नै समय समयमा सबै परिवार बसेर नेपाली भिडियोहरू, टेलिभिजन वा अनलाइन कार्यव्रmमहरू, टेलिश्रृङ्खला वा चलचित्रहरू हेर्ने गर्न पनि सकिन्छ ।

२. अभिभावक जागरण
व्यक्तिगतरूपमा मात्र कार्य गरेर हामो भाषा र साहित्यको विकास हुँदैन, हामीले सामूहिक वा सांगठनिक रूपमा पनि धेरै काम गर्न आवश्यक छ । सामूहिक रूपमा गर्नुपर्ने पहिलो काम हो ‘अभिभावक जागरण’ । किनकि आज हामीमध्ये कतिपय अभिभावकज्यूहरूबाट ‘‘अमेरिकामा आएर पनि नेपाली पढाउने ?’’ ‘‘किन पढाउनु पर्‍यो नेपाली नानीहरूलाई अमेरिकामा ?’’ भन्ने गरेको पनि सुनिन्छ । त्यस्तै हामीमध्ये कतिपय अभिभावकहरू आफ्नो नानीले अंग्रेजी जानेकोमा भन्दा नेपाली नजानेकोमा गर्व गर्छन् अनि आफ्ना आफन्त वा छरछिमेकलाई गर्वसँग “मेरो नानीले त नेपाली नै बोल्दैन” भनेर सुनाउँछन् ।  मैलै यहाँ अमेरिका शब्द प्रयोग गरेँ, तर यस्ता विचार अमेरिकाका मात्र नहोलान्, अरुतिर पनि सुन्न पाइन्छ होला । उहाँहरूको विचार पनि एक प्रकारले ठिकै हो किनकि नेपाली भाषा नजान्दैमा, नेपाली संस्कृति र संस्कारको ज्ञान नहुँदैमा तपाईं–हाम्रा नानीबाबुहरू डाक्टर, इन्जिनियर हुनबाट, अथवा भनौँ देशको उच्च ओहदामा पुग्नबाट कदापि बञ्चित हुँदैनन् । यति मात्र हो; उनीहरूलाई आफ्नो पृष्ठभूमि के हो थाहा हुँदैन, आफ्नो परिचय के हो थाहा हुँदैन अनि आफ्नो संस्कार र संस्कृतिबाट अनभिज्ञ रहन्छन् । जब आफ्नै साथीभाइले तँलाई आफ्नो भाषा के हो थाहा छैन ? तेरो संस्कृति के हो थाहा छैन ? भनेर खिल्ली उडाउन थाल्छन् तब यदि उसमा अलिकति पनि आफ्नोपन बाँकी रहेछ भने, आफ्नो अस्तित्वको बोध रहेछ भने उसले तपाईं–हामीलाई नै धिक्कार्नेछ । अनि नेपाली भाषा यति मीठो रहेछ, नेपाली साहित्य र संस्कृति यति विशाल रहेछन्, तर मलाई बेलैमा किन सिकाउनुभएन भनेर प्रश्न गर्दा हामीसँग कुनै उत्तर हुँनेछैन ।

३. युवा जागरण तथा संलग्नता
यसरी नै हाम्रा नवयुवाहरूमा पनि नेपाली भाषा प्रति अरुचि बढ्दै गएको देखिन्छ र यदि हामीले यो वर्गलाई जगाउन सकेनौँ र भाषा, साहित्य र संस्कृतिको संरक्षण अनि संवद्र्धन गर्ने जिम्मेवारीको बोध गराउन सकेनौँ भने हामीले जति हातखुट्टा बजारे पनि असफल नै हुनेछौँ किनकि हाम्रो समाज बिस्तारै यसै वर्गको नेतृत्वमा जान लागेको छ । त्यसैले यस वर्गलाई आफ्नो भाषा, साहित्य र संस्कृतिको मूल्यबोध गराउँदै यसको संरक्षण र संवर्द्धनमा सक्रिय संलग्नता गराउनु अत्यन्त जरुरी छ । प्रारम्भिक रूपमा भाषाकक्षाहरूमा स्वयंसेवकका रूपमा संलग्न गराउन सकिन्छ र यदि त्यसको लागि उनीहरूलाई हाईस्कूलका लागि चाहिने  ‘भोलेन्टर क्रेडिट’ पनि दिलाउने व्यवस्था गर्न सकियो भने यो कार्य धेरै प्रभावकारी हुनसक्छ ।

४. प्रतियोगिताको आयोजन
यसका अतिरिक्त नेपाली लोक गीत वा लोक नृत्य एवं कथा, कविता, निबन्ध, भाषण, वादविवाद आदि प्रतियोगिताहरूको आयोजना गरेर पनि युवाहरूमा भाषा–साहित्य प्रति रुचि जगाउन सकिन्छ ।

५. नेपाली भाषाकक्षा संचालन
अमेरिकाका विभिन्न स्टेटलगायत विश्वका विभिन्न मुलुकहरूमा केही मात्रामा नेपाली कक्षाहरू संचालन भइरहेका भए तापनि ती पर्याप्त छैनन् । यसलाई अझ व्यापक, सरल, सरस र प्रभावकारी बनाउँदै निरन्तरता दिनु आवश्यक छ ।

६. शिक्षणसामग्रीको विकास
नेपाली भाषा कक्षामा विद्यार्थीहरू आकर्षित नहुनुको एउटा प्रमुख कारण हो समसामयिक पाठ्यपुस्तक र पाठ्यसामग्रीको अभाव । त्यसैले हामीले समसामयिक पाठ्यव्रmम निर्माण, पाठ्यपुस्तक लेखन तथा प्रकाशन र बाल गीत, बाल कथा, कार्टून चित्र, कमिक्स, आदि जस्ता श्रव्य–दृश्य पाठ्यसामग्रीको  विकास गर्नु पनि अत्यन्त जरुरी छ ।

७. शिक्षक तालिम
हामीसँग तालिम प्राप्त शिक्षक–शिक्षिकाहरूको सङ्ख्या न्यून छ । उपलब्ध स्वयंसेवक शिक्षक– शिक्षिकाहरू सबै शैक्षिक पृष्ठभूमिबाट नआएकापनि हुनसक्छन् । त्यसैले हामीले त्यस्ता शिक्षकशिक्षिकाहरूलाई सहयोग गर्न विशेषगरी भाषाकक्षाहरू संचालन भइरहेका स्थानहरूमा समयसमयमा शिक्षक तालिमको आयोजना गर्नु पर्दछ।

यसरीनै सम्बन्धित पाठ्यपुस्तकको शिक्षक निर्देशिका बनाएर प्रत्येक शिक्षकको हातमा पुर्याउन सकियो भने शिक्षण अझ प्रभावकारी हुन्छ । यसका लागि एउटा मानक पाठ्यक्रम र पाठ्यपुस्तकको विकास गरियो भने अझ सजिलो हुन्छ ।

यसै सन्दर्भमा म आज यसै मञ्चबाट यहाँ उपस्थित विशिष्ट साहित्यकारहरू, भाषाविद्हरू, समाजका बुद्धिजीवीवर्ग लगायत फेसबुकको माध्यमबाट हामीलाई हेरिरहनुभएका नेपाली भाषाप्रेमी सम्पूर्ण अभिभावक, गुरुवर्ग, र शिक्षक–शिक्षिकाहरूलाई विनम्र के अनुरोध गर्न चाहन्छु भने— के ‘हाम्रो नेपाली भाषा’ पाठ्यपुस्तक र यसमा अपनाइएको पाठक्रम डायस्पोराको नेपाली समुदायको भाषा शिक्षणमा एकरुपता ल्याउनका लागि मानक पाठ्यपुस्तकको  भूमिका खेल्न योग्य छ ? यदि छैन भने यसका कमीकमजोरीहरू केके छन् ? के ती कमजोरीहरू सुधार गर्न सकिने छन् ? यदि यो पाठ्यपुस्तक हाम्रा नानीबाबुहरूका लागि उपयुक्त छैन भने किन र कसरी छैन ? कृपया यी पाठ्यपुस्तकहरू र मैलै तयार पारेको पाठ्यक्रमलाई हेरेर, मूल्याङ्कन गरेर मलाई सल्लाह दिनसक्नुहुन्छ ? यदि यो पाठ्यपुस्तक हाम्रो लागि उपयुक्त छैन भने भनिदिनुहोस् म अरु भागहरू लेख्ने दुःखै गर्दिनँ, र यदि यो पाठ्यपुस्तक उपयुक्त छ र समसामयिक छ भने यसलाई कसरी डायस्पोरामा बसोबास गर्ने हाम्रा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको हातमा पुर्याउन, यसको अभ्यास गराउन र भाषाशिक्षणमा एकरूपता ल्याउन सकिन्छ ? के साहित्य परिषद्ले एउटा मूल्याङ्कन समिति गठन गरेर यस कार्यको जिम्मा दिन सक्छ ? यो मेरो विनम्र अनुरोध साहित्य परिषद, भूटान र यहाँहरू सबैलाई !

८. दूरशिक्षा/अनलाइन क्लास यसरी केही स्थानमा भाषाकक्षाहरू संचालान भइरहेका भएपनि व्यापक अनि सर्वसुलभ रूपमा संञ्चालन गर्न अझै सकिएको छैन। संचालन भइरहेका कक्षाहरूमा पनि कतिपय अभिभावकहरू चाहँदा चाँहदैपनि आफ्ना नानीहरूलाई लान नसकेको अवस्था पनि छ । त्यसैले आजको यस कम्प्यूर–युगका सुविधाहरूलाई प्रयोग गरी विभिन्न अनलाइन कक्षाहरूर, रेडियो, टेलिभिजन लगायत अन्य  विविध विधिहरूको प्रयोग गरेर विभिन्न भाषासाहित्य र संस्कृतिसम्बन्धी कार्यक्रमहरुको आयोजना गर्न पनि आवश्यक देखिएको छ । यसैकुरालाई ध्यानमा राखेरनै मैले ‘हाम्रो पाठशाला’ को स्थापना गरेको हो ।

९. सहकार्य
नेपाली संस्कृति विभिन्न जाति, धर्म र सम्प्रदायहरू मिलेर बनेको एउटा सुन्दर बगैँचा झैं छ । नेपाली भाषा, साहित्य, संस्कृति, संगीतरकलाको विकासमा सबै जातिका साहित्यकार र कलाकारहरूको उत्तिकै योगदान छ र यी सबै जातजाती, धर्म र सम्प्रदायलाई एकसूत्रमा बाँध्ने  काम यदि कसैले गरेको छ भने त्यो होने पाली भाषा ! त्यसैले व्यक्तिगत रूपमा हाम्रा आ–आफ्नै मान्यता र विश्वास भएता पनि भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवद्र्धनमा भने हामीले सहकार्य गर्नै पर्दछ । किनकि यदि भाषा र संस्कृतिनै रहेन भने हामी, हामीनै रहँदैनौँ ! त्यसैले हामीले धर्म र संस्कृतिको भिन्नतालाई बुझेर एक भएर अघि बढ्नु नितान्त आवश्यक छ ।  यसकासाथै टेक्नोलोजी/कम्प्यूटरका विज्ञहरूसँग पनि सहकार्य गर्नु जरुरी छ ।

१०. नेपाली भाषालाई मान्यता प्रदान
हाम्रो भाषा संरक्षण अभियान अन्तर्गतको पहिलो स्तरको अन्दोलन अभिभावक जागरण, घरघरमा नेपाली भाषाको वातावरण र स्थानीय स्तरमा धेरैभन्दा धेरै भाषा कक्षाहरूको संचालन गर्ने हुनु पर्दछ भने दोस्रोस्तरको आन्दोलन भने स्थानीय वा राज्यस्तरका विद्यालय एवं महाविद्यालयहरूमा नेपाली भाषालाई पनि स्पेनिस, जर्मन, चाइनीज आदि भाषाहरूलाई जस्तै मान्यता प्रदान गराई विद्यार्थीहरूले आफ्नै भाषा पढेर क्रेडिट प्राप्त गर्न सक्ने सुविधा प्रदान गर्ने हुनु पर्दछ । त्यसैले यसका लागि पनि हामी सब एक भएर विभिन्नस्तरबाट लाग्नु पर्ने हुन्छ ।

११. उच्च शिक्षाको परिकल्पना

यसरी नेपाली भाषालाई विद्यालय एवं महाविद्यालयस्तरमा पु¥याउन सकियो भने भोलिका दिनहरूमा नेपाली भाषा र साहित्यको उच्च शिक्षाको रूपमा अध्ययन गर्न चाहने विद्यार्थी पनि अवश्य हुनेछन् । त्यसैले त्यस्ता विद्यार्थीहरूको आवश्यकता कसरी पूरा गर्ने भन्ने विषयमा पनि हाम्रो ध्यानाकर्षण हुनु जरुरी छ । यो अहिलेको लागि प्राथमिक विषय नभए पनि यसका सम्मन्धमा पनि खोज÷अनुन्धान आरम्भ गर्नुपर्ने हुन्छ । किनकि यो स्तरमा पुगेपछि हामीलाई तालिम प्राप्त दक्ष शिक्षक–शिक्षिकाहरूको पनि ठूलो आवश्यकता पर्नेछ ।

१२. कन्द्रीय नेपाली शिक्षा समितिको आवश्यकता
यी माथि उल्लेख गरिएका विभिन्न कार्य क्रमहरूलाई योजना गर्न र कार्यान्वय गर्न अनि डायस्पोराको नेपाली भाषा शिक्षणमा एकरुपता ल्याउन पनि एउटा केन्द्रीय नेपाली शिक्षा समितिको अत्यन्त आश्यकता देखिएको छ । र मेरो विचारमा यस समितिको गठन व्यक्तिगतरूपमा केही विद्वान् वा बुद्धिजीवीहरू भेला भएर गर्नुभन्दा एउटा कानूनीरूपमा मान्यता प्राप्त गरेको संस्थाको अधीनमा गर्नु राम्रो हुन्छ । र, मलाई नेपालीभाषी भूटानी समाजको नेपाली भाषा र साहित्यको विकासमा लामो समयदेखि ठूलो योगदान पुर्याउँदै आएको ‘साहित्य परिषद्, भूटान’ ले यसको नेतृत्व लिन सक्नु पर्छ जस्तो लाग्दछ ।

उपसंहार
आउनुहोस हामी सबै मिलेर हाम्रो भाषा, साहित्य, संस्कृति र संस्कारको संरक्षरण र संवद्र्धनमा एकजुट भएर लागौँ । फलानो व्यक्ति वा संस्थाले के गर्यो के गरेन भने र लेखाजोखा गर्नमा समय व्यतित गर्नु भन्दा मैले के कति सहयोग गरेँ भनेर आफूलाई प्रश्न गर्नु उचित हुन्छ र आफ्नोतर्फबाट जेजति सहयोग गर्न सकिन्छ गर्ने प्रयास गर्नु पर्दछ । यहीभाषा, साहित्य र धर्म–संस्कृतिको रक्षा गर्न भन्दै हामी देश छोडेर हिँड्यौँ अनि लामो समयसम्म अभाव र अपमानको सामना पनि गर्यौं  । आज भाग्यले भनौँ वा दुर्भाग्यले भनौँ सम्पूर्ण भौतिक सुविधाहरूले सम्पन्न मुलुकहरूमा बसोबास गर्नआइपुगेकाछौँ । यदि हामीले चाह्यौँ र एक भएर अघि बढ्न सक्यौँ भने यहाँ सम्पूर्ण साधन र स्रोतहरू जुटाउन सक्छौँ । वास्तवमा भन्ने हो भने हामीसँग यहाँ मनबाहेक अरु सबै कुरा छन् । त्यो मन पनि यदि बेलाबेला ‘म को हूँ ? मेरो अस्तित्व के हो ? मैले वा मेरा आमाबुबाले भूटान किन छाडेको हो ? के अब हामी यत्तिकै बिलिन हुन लागेका हौँ त ? यदि हामीलाई हराएरै जानु थियो भने हामीले किन भूटान छाड्यौँ होला ? के यदि हामीले भूटान सरकारले नेपाली पुस्तक डढाउँदा साथ दिएको भए, उसले भने जस्तै भाषा बोलिदिएको भए अनि संस्कार–संस्कृति मानिदिएको भएपनि हामीले हाम्रा ती सम्पूर्ण श्रीसम्पत्ति छाडेर हिड्नु पर्ने थियो होला त ?’ भनेर प्रश्न गर्ने गर्यौं भने अवश्यपनि जुटाउन सकिन्छ ! र, यो काम हामीले नै गर्नुपर्छ । यदि हामीले नै गर्न सकेनौँ भने हामी पछिको पिँढीले त पक्कै पनि गर्ने छैन किन कि त्यो पीडा, त्यो कथा अनि त्यो व्यथा त हामीले नै बोकेका छौँ ।

हाम्रो पाठशाला

अन्तमा जाँदाजाँदै म नेपाली भाषा, साहित्य, संगीत, काला र संस्कृतिप्रेमी विद्वद्वर्ग, अभिभावक र विद्यार्थी भाइबहिनीहरूलाई अर्को पनि एउटा खुशीको खबर दिनचाहन्छु । पहिलो कुरा त अघि माथि नै चर्चा गरिसकिएको छ कि हामीले धेरैतिर भाषाकक्षाहरू सञ्चालन गर्न सकिरहेका छैनौँ र जहाँ–जहाँ जेजति चलिरहेका छन् त्यहाँ पनि कतिपय अभिभावकहरू चाहँदाचाहँदै पनि विविध कारणवश आफ्ना नानीबाबुहरूलाई कक्षामा लान सकिरहेका छैनन् । त्यसैले मैले विश्वभरि छरिएर बसेका नेपाली मनहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अनलाइन स्कूल ‘हाम्रो पाठशाला’ पनि सञ्चालनमा ल्याएको छु । त्यसैले अब तपाईं यो पाठ्यपुस्तक Hamro Pathashala –  www.hamropathashala.org मा गएर घरैमा बसीबसी आफ्ना नानी बाबुहरूलाई पढाउन सक्नु हुन्छ ।

हालमा यस पाठशालाका नेपाली भाषा र श्रीमद्भगवद्गीता गरी दुईवटा विभागहरू मात्र सञ्चालनमा छन् र ती पनि बालकै छन् तर निकट भविष्यमा नै भाषा, साहित्य, शिक्षण, संस्कार, संस्कृति, धर्म, अध्यात्म, योग, ध्यान एवं जीवन–दर्शन सम्बन्धी विभिन्न विभागहरू सञ्चालनमा ल्याउने र अध्ययन– अध्यापन गराउने उद्देश्य लिएको छ । यसरी नै समसामयिक पाठ्यव्रmमको निर्माण, पाठ्यपुस्तक लेखन तथा प्रकाशन, बाल गीत, बाल कथा, कार्टून चित्र, कमिक्स, आदि श्रव्य–दृश्य पाठ्यसमग्रीको विकास, शिक्षक निर्देशिकाको निर्माण तथा प्रकाशन र विभिन्न विषयका प्रत्यक्ष तथा अप्रत्यक्ष कक्षा संचालन गर्नुका साथै अभिभावक जागरण, युवा जागरण, कथा, कविता, निबन्ध, भाषण, वादविवाद आदि प्रतियोगिताको आयोजन जस्ता विभिन्न चेतनामूलक कार्यव्रmमहरूको पनि यथासम्भव आयोजना गर्ने जस्ता विभिन्न लक्ष्यहरू हाम्रो पाठशालाले लिएको छ ।

त्यसैले यहाँहरू सबैलाई ‘हाम्रो पाठशाला’ मा पनि घुम्न जानुहोस्, हेर्नुहोस्अनि के कसरी यसलाई अझ सरल, सरस अनि समसामयिक बनाउन सकिन्छ ? के कस्ता सुधारहरू ल्याउनु जरुरी छ ? कृपया मलाई सृजनात्मक सुझाव दिनुहोस भनी अनुरोध पनि गर्नचाहन्छु । यसले मलाई ठूलो बल मिल्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *