प्रतिशोधको आगो
गंगाराम लामिटारे
ओहायो, अमेरिका
सधैँ हात-खुट्टा पोल्यो,जिउ दुख्यो भन्दै कामबाट आउने रूद्रे आज हाँस्दै घर भित्र पस्यो । रूद्रे धेरै खुसी र हर्षित पनि थ्यो । आज यसका अनुहारमा किन घाम लाग्यो भनेर पत्नी दीपालाई पनि आश्चर्य भयो । अर्कालाई पीडा दिएर आफूलाई शक्तिशाली र खुसी ठान्ने प्रवृत्ति मूर्ख र दम्भीहरूमा हुन्छ । सायद रूद्रे पनि त्यही वर्गको एउटा हिस्सा हुनुपर्छ । कहिले नहाँस्ने मानिस एक्कासि हाँस्यो भने त्यो झन् डर लाग्दो हुन्छ । कहिले नबोल्ने एक्कासि बोल्यो भने त्यसमा पनि केही स्वार्थ छिपेको हुन्छ । स्वास्नीले जहिले दइलोमा उभिएर उसको स्वागतमा तैनाथ हुर्नुपर्थ्यो । रूद्रे खैरेले मार्यो नि भन्थ्यो । खुइय्या गर्थ्यो र बर्बराउदै घरभित्र पस्थ्यो र स्वास्नीलाई थर्काउँथ्यो । जहिले लोग्नेको खुट्टा बाँड्नुपर्ने । जिउमा मालिस गर्दिनुपर्ने । स्वास्नी घरमा उसको सेवा गर्थी । रूद्रे एउटा वायर हाउसमा काम गर्थ्यो ।स्वास्नी मान्छेले बाहिर काम गर्ने हैन । घरको काम गर्नु र लोग्ने सेवा गर्नुपर्छ भन्थ्यो । र स्वास्नीलाई काम गर्न जानबाट रोक्थ्यो । उसको यही दैनिकी थियो । आज अपर्झट लोग्नेमा आएको परिवर्तले स्वास्नी दीपालाई आश्चर्यचकित मात्र बनाएन अपितु हर्षले रोमाञ्चित पनि बनायो । उसले मन मनै इश्वारसँग भनी‘प्रभु, मेरो श्रीमानलाई सद्बुद्धि दिनुभएकोमा धन्यवाद ! यो खुसीको दियो निरन्तर बलिरहोस् ।’
– – – – – — – – – – – – — – – – – –
रूद्रेलाइ भेट्नकै लागि नवीन सिकागोबाट कलम्बस आएको थियो। रूद्रे कामबाट आउनुभन्दा दुइघण्टा पहिला नवीन उसका घरमा आएको थियो । नवीन नास्ता खाएर बाथरुम पसेको थियो । बाथरुमबाटै उसले रूद्रे दम्पतीको संवाद सुनिरहेको थियो । हाय रुद्र, भन्दै नवीन एक्कासि बाथरूपबाट निस्कियो । सोफामा बसिरहेका रूद्रेलाइ अङ्कमाल गर्न पुग्यो । अचानक अङ्कमाल गर्न आएको नवीनलाई देखेर छक्कपर्दै रुद्रले भन्यो‘ अरे मित्र,कति बेला आयौ ? कमसे कम आउँदै छु भनेर फोन किन नगरेको ? मित्रको स्वागतका लागि म कामबाट छुट्टी मिलाउथें ।’ रूद्रेका प्रश्नहरूको सरसरती उत्तर दिँदै नवीनले भन्यो‘तिमीलाई सर्प्राइज दिनकै लागि फोन नगरी आएको । २ घण्टा भयो यहाँ आइपुगेको । म के ठुलो मान्छे हुँ र स्वागत गर्नुपर्छ ।’ हुन पनि यो रूद्रे र नवीनको १० वर्षपछिको भेट थियो । नवीन न्यु योर्क र नागराफल्सको ५ दिने भ्रमणमा हिँडेको थियो । उसको अमेरिकाको यो पहिलो भ्रमण थियो । यस भ्रमणलाई अझ रमाइलो बनाउनका लागि एउटा जान्ने साथीको आवश्यकता थियो । रूद्रे क्याम्पमा पढ्दाको उसको सहपाठी थियो । यस यात्राका लागि पुरानो मित्र रूद्रेलाइ सम्झेर नै उ कलम्बस आएको थियो । साथीको स्वागतमा रुद्रले बेलुका भव्य पार्टीको आयोजना गर्यो । ब्राण्डी र सेकुवा पार्टीका मुख्य आकर्षण बनेका थिए । ब्राण्डीले भरिएका पेलाको चियर्स र चुस्कीसँगै उनीहरूबिच नेपालमा पढ्दाका कुराहरू भए । कुखुराको सेकुवा टोक्दै स्कुलमा सजाय पाएका कुराहरू पनि भए । र अमेरिका आएपछि भोगेको भाषिक कठिनाइका साथै काम र दामका कुराहरू पनि भए ।
– – – – – — – – – — – —-
रूद्रेका अनुहारमा चमक थियो । आँखामा तेज थियो । बोलीमा ओज थियो र शरीरमा अभूतपूर्व स्फूर्ति थियो । अप्रत्याशित यी सबै गुणहरू रूद्रेमा कहाँबाट आए भनेर नवीनका मनमा पनि खुल्दुली चल्यो । जिज्ञासु भएर नवीनले सोध्यो‘ रुद्र, आज प्रमोसन भयो कि चिट्ठा पर्यो ? भयङ्कर खुसी देखिन्छौ त’ ? । ब्राण्डीले रम रम भएको रूद्रेले जबाब दिँदै भन्यो‘ के के प्रमोसन र चिट्ठा पर्नु मित्र ! मलाइ इग्लिसमा फेल पार्ने सर हाम्रो कम्पनीमा हायर भएको छ । त्यसलाई आज ओरेण्टेशन दिएर आएको । उ भोलिदेखि मेरै अण्डरमा काम गर्छ । उहाँ म उसको विद्यार्थी । यहाँ उ मेरो विद्यार्थी । ‘ए, सरसँग काम गर्न पाइने भो भनेर पो खुसी भएको रुद्र तिमी ? ’त्यसो हैन मित्र, अब त्यसलाई छोड्दै छोड्दिन । रोटी जस्तै पेलल्छु । उहाँ उसको पालो । अब यहाँ मेरो पालो । कहाँ जाला मछली मेरै डढिया’ भन्दै रूद्रे गर्जियो । रिसले मुर्मुरिदै ब्राणडीको गिलास मुठ्यायो र झ-याप्प फुटायो ।
– – — – – – – – — – – – – – – – — – – – – — –
जति नै दूध पिलाए पनि अन्ततः सर्पले अमृत होइन बिसै बढाउँछ । मूर्खलाई जति नै शिक्षा दिए पनि त्यो हो हो पाडरी नै हुँदो रहेछ । जस्तै ठुलो डढेलोहरू पनि संयम र नियन्त्रण गर्न सकिन्छ । तर सानै भए पनि प्रतिशोधको झिल्को नियन्त्रण गर्न भयङ्कर कठिन हुँदो रहेछ । क्याम्प छोडेको पनि १० वर्ष बिते । देश बदलियो । काम बदलियो ।लुवाइ-खुवाइ बदलियो तर मानिसको सोच-चिन्तन कहिले पनि बदलिएन ।यही सत्यलाई रूद्रेको व्यवहारले उजागर गर्यो । जसले शिक्षा दियो । त्यही शिक्षकप्रतिको रूद्रेको उग्र आक्रोश ! विद्वेष, विद्रोह ,आवेग र प्रतिशोध देखेर नवीन आश्चर्य चकित भयो । नवीनले संझाउदै भन्यो‘ एउटा कम्पनीको सुपरभाइजर भएँ भन्दैमा कसैलाई विभेद गर्न मिल्छ ? ‘मैले विभेद गरेको होइन मित्र । फेल गराएको दण्ड त दिनैपर्यो नि ।’ रूद्रेको अहङ्कार र विद्वेषपूर्ण अभिव्यक्ति सुनेर नवीनलाई असाध्य रिस उठ्यो। झर्किदै उसले भन्यो‘ पढ्ने बेलामा चाहिँ जहिले कक्षाबाट भाग्ने अनि परीक्षामा फेल गर्यो भनेर प्रतिशोध लिन मिल्छ ? फेरि त्यो पनि नेपालको कुरा ! त्यसमा पनि १५ वर्षअघिको । उहाँ फेल गरायो भनेर यहाँ रिस फेर्न पाइन्छ ? आज जुनपदको घमण्ड गर्दै छौ रुद्र ! त्यसमा तिनै सरको परिश्रम र योगदान छ । यदि उनले नपढाएको भए आज कुन गल्लीमा भौँतारिइरहेका हुन्थ्यौ ! जसले आँखा देखायो,त्यसैको आँखा फुटाउँछु भन्न लाज लाग्दैन ! आज जुन उच्चाइमा छौ त्यो तिनै सरहरूको त्याग र सपर्पणले हो । बदमासी गर्दा गाली गरे होला । राम्रो होस भनेर परीक्षामा स्टिक पनि गरे होला । त्यो कसैको भविष्यमाथि खेलबाड गर्ने उद्देश्यले अवश्य थिएन । उनीहरूले कहिले पनि आफ्नू कर्तव्य र दायित्व बिर्सिएनन् । उनीहरूबाट सामान्य गल्तीहरू भए होलान् । तर सामान्य गल्तीलाई असामान्य प्रतिशोधको पहाडले थिच्ने दुसाहस कहिले गर्नुहुँदैन । त्यस बेला शिकक्षहरू अटल भएर नउभिएका भए न क्याम्प नै बन्थ्यो । न त स्कुल नै निर्माण हुन्थ्यो । न त आज सुपरभाइजर,मेनेजर,पाइलट,डक्टर,नर्स र मिलियन डलरको मालिक भएको डङ्का नै पिट्न सकिन्थ्यो । पुनर्वासपछिको सफलताको पृष्ठभूमि त्यही क्याम्पको शिक्षा हो । र पहाड जस्तै स्थिर भएर पढाउने तिनै समाज सेवी शिक्षकहरूको योगदान हो भन्ने कहिले पनि नबिर्स । गुणको बदला बैगुनले होइन मित्र । गुणको बदला सेवाले दिनुपर्छ । कृतघ्न भएर होइन, कृतज्ञ बन्नु पर्छ । मानिसलाई प्रतिशोध र अंकारले होइन प्रेम र सदाचारले जीतनुपर्छ।‘ नवीनको फडकार सुनेर रूद्रे ट्वाल्ल परेर हेरेकै हेरै भयो ।
सुन्दर सृजना ! धेरैको मनलाई छुन सक्ने कथा !