प्रश्नहरु
सवाल नै सवालहरु
प्रश्नचिन्हका थुप्राहरु
यतिबेला
मेरो टाउकामा
चक्कर लगाउँदै छन् ।
यतिबेला
म
इतिहास कै सबैभन्दा अफ्ठ्यारो घडीमा
उभिएको छु —
‘म को हुँ ?’ को उत्तर थाहा छैन
आखिर मानिसलाई केले पहिचान दिन्छ ?
हिजै मात्र बुबाले
मेरो जीउमा जनै नदेख्दा
आँखाभरि आँसु लिएर
‘तँ को होस ?’ प्रश्न गर्दा
म
उत्तरविहीन निस्शब्द खडा रहेँ ।
आखिर
मेरो धर्म के हो ?
मेरो जात के हो ?
हामी किन बाँच्छौं ?
अनि कसका लागि बाँच्छौं ?
आफ्नो लागि मात्र त
पक्कै बाँच्दैनौं
तर
अरुका लागि मात्र पनि बाँचेका होइनौँ
प्रश्नहरु —
इतिहासलाई नै जटिल बनाइदिएका उत्तरहरु !
अमेरिकाका हजुरबुबा
अस्ट्रेलियाकी फुपू
खै कता
डेनमार्ककी छोरी
परिवार के हो ?
उत्तर कठिन भएका प्रश्नहरु !
इतिहासले अनुत्तरित परेका प्रश्नहरु ! !
आखिर यी प्रश्नहरु गर्नु किन ?
जब प्रश्नका उत्तरहरु
तिम्रो पेट पाल्न सक्दैनन्
भोकले मर्न लागेका
तिम्रा सन्तानहरुको
भोक मेट्न सक्दैनन्
तिमी मान या नमान
प्रश्नहरु
यी प्रश्नहरु बेकार छन् ।
मलाई यो पनि थाहा छ —
पेट भोको हुँदा
कुनै प्रश्नभन्दा
अन्न प्यारो लाग्छ
कसैले रोटीको टुक्रा देखाएपछि
के गर्नेरु
कसले सोच्छ होला ?
सोच्नु नै किन ?
शरीर नै नरहे
दिमागको के काम र ?
तर अघाएपछि
थुप्रै प्रश्नहरु सोधिने छन्
थाहा छ ?
ती नै प्रश्नहरुले
मलाई फेरि भोको भएको
अनुभव गराउने छन्
अघाएको पेट लिएर
म भोकै भएको
अनुभव गरिरहेको हुनेछु ।
प्रश्न फेरि छ —
भोलि भोकै हुँला भनेर
आज म
खाऊँ कि नखाऊँ ? ?