प्रश्नहरु
प्रदीप लोहागुन
कालेबुङ, भारत
प्रश्नहरुले नै बनाउँदो रहेछ इतिहास
प्रश्नहरुले नै गर्दो रहेछ परिवर्तन
जीवनमा प्रश्नहरु नहुनु भनेको त;
धरतीलाई सुन्दर देख्ने
सपनाहरु नहुनु जस्तै पो रहेछ !
प्रश्नहरुले नै ढाल्दो रहेछ सत्ता
प्रश्नहरुले नै दिँदो रहेछ दण्ड
प्रश्नहरुले नै दिलाउँदा रहेछन् हक-अधिकार
प्रश्नहरुले नै जगाउँदो रहेछ आशा,
प्रश्नहरुको शक्ति भनेको त
धरतीलाई सुन्दर देख्न चाहने मानिसहरुको
आँखाको नानी पो रहेछ !
प्रश्न, जस्तो कि शेलीले गरे
रोप्छौ अन्न-बाली उठाउने अर्कै छ
खोई तिम्रो अंश ?
प्रश्न, जस्तो कि मार्क्सले गरे
मेहनत गर्छौ तिमी, सुख भोग्ने अर्कै छ
खोई तिम्रो अधिकार ?
प्रश्न, जस्तो कि गान्धीले गरे
देश तिम्रो हो, राज गर्छ अरु
खोई तिम्रो स्वतन्त्रता ?
प्रश्न, जस्तो कि लेखनाथले गरे
पिञ्जरामा तिम्रो विचार कुज्याँउने अर्कै छ
खोई तिम्रो विद्रोह ?
प्रश्नहरुको खापैखाप सिँढी चडेर
पुगिँदो रहेछ स्वर्ग,
त्यो स्वर्ग, जहाँ मान्छे हुनुको अर्थ लाग्छ ।
जीवनमा प्रश्न नहुनु भनेको त
टाउकोमा गिदी नहुनु जस्तै पो रहेछ
जीवनमा प्रश्न नहुनु भनेको त,
मुटुमा रगत नहुनु जस्तै पो रहेछ,
जीवनमा प्रश्न नहुनु भनेको त
छात्तीमा आगो नहुनु जस्तै पो रहेछ ।
के तिम्रो टाउकोमा गिदी छ ?
के तिम्रो मुटुमा रगत छ ?
के तिम्रो छात्तीमा आगो छ ?
के तिम्रो जीवनमा प्रश्न छ ?