प्रसङ्ग ईश्वर र धर्मको
प्रकाश आङदेम्बे
दमक, झापा, नेपाल
उत्तर: सृजना म विश्वासमा विश्वास गर्दिनँ । विश्वास त्यहाँ गरिन्छ जहाँ सत्य र तथ्यको कुनै आधार रहँदैन । संसार विश्वासले अडिएको छ भन्ने रोगी परिभाषासँग म सहमत छैन । विश्वास भन्दा शंकामा भर पर्छु । शंकाले जिज्ञासा पैदा गराउँछ । जिज्ञासा विज्ञानको आमा हो । ठिक विश्वास त्यसको विपरित । नभएको भ्रम वा कुरामा अनावश्यक तवरले हो भन्न लगाउने काम हो विश्वास । पश्चिमी मुलुकहरु कुनै कुरामा विश्वास गरि हाल्दैनन् । उनीहरु हरेक नयाँ कुरामा जिज्ञासा अथवा शंका गर्छन् । शंका भनेका खोज पनि हो । हरेक कुरामा शंका गर्ने भएकोले पश्चिमा देशहरु विज्ञानमा अगाडि बढेका हुन् तर हामीहरु कुनै नयाँ वस्तु पायौं भने त्यसलाई हो न हो विश्वास गर्छौँ अथवा खोज गर्दैनौँ । हामीले खोज नगरेकै कारण विज्ञानमा पछि छौं । अबको समय भनेको हामीले अनावश्यक विश्वास गर्ने समय होइन, हरेक वस्तुमा, पनमा, चिन्तनमा, विचारमा, दर्शनमा तथ्य र तर्क र कारण खोजी गर्नु पर्दछ ।
ईश्वर भनेको मानव जातिलाई अनुशासनमा डोहोर्याउने एउटा प्रतीक मात्र हो । भावरहित, परिभाषारहित, गतिरहित या आकाररहित शुन्यता (दबिअप जयि) को अवस्था हो ईश्वर । ईश्वरले निर्माण (गति) गरेको सबैभन्दा सुन्दर मन्दिर भनेकै मान्छे हो । हामीले देखेको मन्दिर भनेको त मान्छेले वनाएको मात्र हो । हामीलाई लाग्छ, ईश्वरलाई फूल, फल चढाएर खुशी बनाउँ । मलाई फूलवारी उजाड बनाएर मन्दिर सजाउने भक्तहरु देख्दा अचम्म भाव पैदा हुन्छ । सामान्य अर्थ, यदि ईश्वरले सारा संसारको सृजना गरेको हामीलाई लाग्छ भने फेरि उसैद्वारा निर्मित बनस्पतिले कसरी उसैको पुजा गर्नु ?
अर्को कुरा मैँले आजसम्म जति पनि धर्मका पण्डित, पुजारी वा रक्षक सम्झनेहरु छन् उनीहरु सबै स्वर्गको बखान गर्छन् । मरेपछि यसरी स्वर्गमा जाने, मरेपछि यस्तो पवित्र स्थानमा कसरी पुग्ने, भन्ने अनावश्यक भ्रमहरु फैलाउँछन् । मृत्यु पछिको भ्रामक कुराहरु बखान गरेर मान्छेहरुको बाँच्ने आधारमा धक्का दिने गर्छन् प्रत्येक धर्म र पण्डितहरुले । उनीहरु धर्म र ईश्वरको नाममा मान्छेलाई मानसिक पीडा दिएर लुट्न चाहान्छन् । त्यसो त मान्छेको मनोविज्ञान नै आजकल यस्तो छ , भएको कुरामा भर नपर्ने तर नभएको कुरामा विश्वास गर्ने । म प्रत्येक धर्मका पण्डित सम्झनेहरुलाई के भन्न चाहान्छु भने यसरी तर्करहित, तथ्यरहित, जीवनविरुद्ध धर्म र ईश्वरको वकालत गर्ने अधिकार तिमीहरुलाई छैन ।
जीवनभन्दा ठूलो सत्य र तथ्य अरु केही छैन । यति ठूलो ब्रह्माण्डमा पृथ्वीमा मात्र मानव जीवनको अवशेष हुनु त्यसमा पनि चौरासी लाख जीवमध्ये मान्छे भएर जन्मन पाउनु भनेको पञ्चतत्वको पनि सुन्दर संयोग हुनु पर्दछ । मान्छे हुन पाउनु नै सबैभन्दा ठूलो प्राप्ति हो । संयोगले पाएको यही सुन्दर जीवनलाई धर्मका ठेकेदार सम्झने पण्डितहरुले अनावश्यक स्वर्गको डर देखाएर मानसिक ब्लैकमेल गरेर आज लुट्न चाहिरहेका छन् । म ती लुटेरा पण्डितहरुलाई प्रश्न गर्न चाहान्छु, यदि तिमीमा सामर्थ्य नै छ र मानव जीवनप्रति जिम्मेवार र बौद्धिक आफुहरुलाई सम्झन्छौ भने आजैदेखि धर्मलाई मृत्युवादी होइन जीवनवादी बनाउने काममा प्रयोग गर । मरेपछि कसरी जीउने, स्वर्गमा कसरी जाने भन्ने वहियात कुरा छाड, सट्टामा यही जीवनलाई कसरी धर्तीमा सुन्दर पार्ने । जीवनको सही मार्ग के हो भनेर सिकाउने काम गर । किनकि स्वर्ग मरेपछि देखिने र भेटिने कुनै काल्पनिक स्थान होइन सार्थक र आनन्दित जीवनले भोग्ने यहीं धर्तीको मानवीय भोगाइको प्रतीक हो ।
Hi Prakashji, this is Surendra ”Vivash Bhutanee”! You are my idol. I am still alive. Keep on growing contributing something special to all who speak and love Nepali language. I hope your philosophy will surely lead Nepali society to the way of high thinking and a great achievement!