प्राप्ति मात्र प्रेम होइन

Partiman Siwa, born in Chirang Bhutan in 1972 and lived his early days at Daifam Bhutan, is one of the first to appear and pass SLC (School Leaving Certificate- a secondary level school education) examination in the early 90s in Bhutanese Refugee Education history. Since then, after receiving proper literary nourishment and education from the then ‘Nepali Bhaasaa Parishad-Bhutan’ (which was subsequently reformed in 2011 to Literature Council of Bhutan), has developed a strong lineage towards Bhutanese Nepali literature.

From those early days, he has committed himself in writing poetry and other literary works contributing to Bhutanese Nepali literary field. His first published book “dobharu” (Nepali: डोबहरू) in 2001 established him as a dynamic poet. After completing his higher secondary education from Biratnagar, he earned a BS in Biology (Zoology) from Bhadrapur, Nepal.

Presently, resettled in Ohio, America, he is still giving continuity in his literary works with a stronger presence. He believes in preserving the mother tongue “Nepali” and its literature and handing it to our coming generations and so on.

प्रतिमान सिवा
ओहायो, अमेरिका

रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो र बुढी औँलाले स्कृनलाई तल-माथि सारी रहेको थियो तर कुनै कुरामा उसको मन भने पटक्कै अडिएको थिएन । आम प्रयोगकर्ताले झैँ उसले पनि फेसबुकको कैयौँ स्ट्याटस र पोस्टहरूमा नपढिकनै लाइक ठोकिरहेको थियो, धमाधम । बेलाबेला टाउको उठाएर ढोकातिर र सिसाबाट बाहिरतिर नजर डुलाउँथ्यो । उसलाई छट्पटिले भित्रैदेखि काउकुती लगाइरहेको थियो ।

हुन त प्राय: सबैजसोलाई पर्खिनु या कुनै कुराको इन्तजार गर्नु जस्तो गाह्रो अरू केही लाग्दैन। एक एक पल घण्टौँ जस्तो पट्यार लाग्दो र कहिले नटुङ्गिने सिङ्गो युग जस्तो अनुभव हुन्छ जब कसैको वा केही कुराको पर्खाइमा समय काट्नु पर्ने अवस्था आउँछ । रोशनलाई पनि यो आधा घण्टा बिताउन बहुत कठिन भैसकेको थियो । एउटा सिङ्गो लम्पट र अनुत्पादक युग बिताएको थियो यो आधा घण्टामा रोशनले । दुई पटक जति त्यहाँका एयाट्यान्डेन्टले ऊ सामु आएर क्षणिक नै भए पनि मीठो र शङ्कास्पद मुस्कान छर्दै जिज्ञासा राखेका थिए,
‘हजुरलाई म केही सहयोग गर्न सक्छु?’

सुरुमा त उसले, ‘नो, आई एम फाईन’ भनेर टारेको थियो तर दोस्रो चोटि उसलाई एक किसिमको अप्ठ्यारो महसुस हुन थालेको थियो । त्यसैले ऊ जुरुक्क उठ्यो अनि चारैतिर एकसरो नजर घुमाएपछि बिस्तारै कदम बढायो- बाहिर ढोकातिर । पर्खाइको छटपटीले कायल बनिसकेको रोशन वास्तविक्ताबाट या यथार्थबाट हराई सकेको थियो र उसको मन अन्तै कतै उडी रहेको थियो, एउटा आफ्नै वेगमा, आफ्नै तरङ्गमा- कसैलाई खोज्दै, कसैलाई सोच्दै । बाहिर निस्कँदै गर्दा ढोकामा झन्डै ठोकिएको थियो एकजना गोरी अर्धबैंसे नारीसँग ।
‘माई ब्याड । आई एम सारी म्या’म’ भन्दै सरमले रातो भएर बाहिरिएको थियो ।

अमेरिकी सभ्यतामा यस्ता कुरालाई खुब ख्याल गरिन्छ । असभ्य भएको ठानिन्छ । त्यसैले होसियारी र सतर्क हुन अत्यन्तै जरुरी हुन्छ यदि कुनै आगन्तुकले यस समाजमा आफूलाई घुलमिल गराउन चाहन्छ भने । रोशन यस्ता कुरामा अभ्यस्त भइसके पनि आज चुकेको थियो जसको कारण बनिन् अबोध रीना । अनुहार निक्कै हिस्सी परेको र गोरी हुँदाहुँदै पनि एसियाली चेहरा बोकेकी ती स्त्री आकर्षक त थिइन नै तर किन हो किन उसलाई देखिरहे जस्तो भान भयो रोशनलाई ।
‘आई एम फाईन’ भन्दै भित्र पस्दै फर्केर छड्के नजरले रोशनलाई हेरी, मानव गल्ती सबैमा हुन्छ भन्ने भावनाले । तर रोशनको ध्यान अन्यत्रै केदृत भएकाले ती स्त्रीको अनुहारलाई नियाल्ने खासै प्रयास गरेन र जरुरी पनि ठानेन किनभने ऊसँग फिक्री गर्नु पर्ने विषय अहिले छुट्टै छ ।

आफ्नो लापरबाही र अभद्र व्यवहारबाट सर्मिन्दा बन्नु परेपनि माफी पाएकोमा आफैलाई सौभाज्ञमानी ठान्दै एकछिन आफ्नो विषयवस्तुमा तरङ्गिएपछि पुन: तिनै स्त्रीलाई बिचार्न थाल्यो । मनमा कुरा खेल्न थाल्यो । शङ्का उपशङ्काहरू उत्पन्न हुन थाले । कतै यिनै रीना होइनन् ? अनुहार त एसियाली नै छ । पन्ध्रवर्ष अघिको धिमा यादहरुको टुक्रा टुक्रीहरु जोडेर एउटा तस्बिर तयार पार्ने प्रयास गर्‍यो । फेरि अर्को मनले भन्यो, ‘हैट, रीनालाई नचिन्नु मेरा लागि ठूलो सरमको कुरो हो । हाम्रो सम्बन्धको अपमान हो । मैले रीनालाई नचिन्नु ?’ फेरि सोच्यो, पन्ध्रवर्ष अघिको कुरा हो । यती लामो समयमा के के हुन्छ हुन्छ नि ? मानिस जन्मिएर, हुर्किएर मर्न पनि सक्छ । फेरि, छोरी मान्छेमा छिटो परिवर्तन आउँछ भन्छन् । यस्तै अन्तर्द्वन्दहरुले उसको मन हुँडल्न थाल्यो । झ्वास्स उसलाई याद आयो, हिजो टेक्स्ट म्यासेजमा म अलिक ढिला हुन्छु होला भन्ने लेखेकी थिई रीनाले ।

रोशनभित्र एक किसिमको बिधुतीय तरङ्ग शिरदेखि पाउसम्म फैलिएर गयो, सम्पूर्ण शरीरलाई नै चिसो बनाएर । हतारहतार उसले टेक्स्ट म्यासेज माथि सार्‍यो, माथि… माथि….., केही विशेष कुराको उत्खनन गरेझैँ खोतली रहेको थियो । निक्कै बेरपछि स्क्रीनमा उसको औँला टक्क अडियो । निकै बेर घोरियो र आफ्नो हत्केलाले अनुहारलाई पुछ्यो ।

मे महिनाको बेला, सिन्सिन्नटीमा लगभग लोभ लाग्दो मौसम हुन्छ । पचास भन्दा माथिकै तापक्रम भएपनि शीतल बतासको प्रवाहले मन त्यसै फुरुङ्ग पार्ने वातावरणमा प्राय सबै नेपाली मूलका बासिन्दाहरू आ-आफ्नो करेसाबारीमा (ब्याक-यार्डमा) वर्ष भरिका लागि साग-सब्जी (विशेष गरेर खोर्सानी, टमाटर, रायोसाग, पालङ्गे, लौका र फर्सी, इत्यादि) रोप्न व्यस्त हुने समय हो यो मौसम । तरैपनि रोशनको अनुहार भरि चिटचिट पसिना निस्केका थिए । कुनै कुराले उसको आँतमा आगो जलाएको थियो । गर्मी बढाएको थियो र बेचैनी उत्पन्न गराएको थियो ।
फर्केर ढोकामा हेर्‍यो, तिनै स्त्रीलाई खोज्दै उसको नजरले ढोकादेखि लिएर पर परसम्म स्क्यान गर्‍यो । कतै नदेखेपछि कालो सिसालाई चिरेर क्याफे भित्र डुलायो उसको तिखो नजर । एउटा टेबल छेउमा बसेर यताउता नजर घुमाउँदै मोबाइलमा औँला कुदाई रहेकी थिई । लाग्थ्यो, ऊ पनि कसैको पर्खाइमा बेचैईन थिई । हतारहतार ऊ भित्र पस्यो। टेबल छेउ पुज्ञो अनि उसको अगाडि मूर्ती झैँ ठिङ्ग उभियो, दोधारको मुस्कान अधर भरी टाँसेर ।

अपरिचित पुरुष आफ्नो अगाडी आएर यसरी ठिङ्ग उभिएको देखेर जुरुक्क उठी र अनुहारमा नियाली उत्सुक्ताको दृष्टि रोशनको सामुन्ने तेर्स्याउँदै । नहिच्किचाईकन सम्पूर्ण साहस बटुलेर सिधै सोध्यो रोशनले ।
“तिमी रीना होइन ?”
टाउको हल्लाउँदै स्वीकृति जनाई अनि उसको पालो सोधी –
“अनि तिमी रोशन होइन त ? कस्तो परिवर्तन भएछौ, मैले त चिन्नै सकिनँ । वा……उ, यु लुक सो ह्यान्ड्सम ।”
“मलाई त भन्न पनि सरम लागिरा’छ, मैले पनि ठम्याउनै सकिन । पन्ध्रवर्षमा तिमी पनि कोहिनूर जत्तिकै भएछौ ।”
संसारका सबै कुराहरूलाई भुलेर बेपर्वाह मुस्कुरायो रोशन अनि फैलायो उसको दुवै हातहरू मानौँ, युगौँ पहिले हराएका खुसीहरू समेट्नलाई तयार छ ऊ आज ।
अमेरिकी शैलीको अभिवादनमा समेटिए दुवैजना एक अङ्गालोमा धेरै बेर । बडो आनन्द महसुस भएको थियो दुवै जनालाई एक अर्काको अङ्गालोमा कसिन पाउँदा यतिका वर्षपछि ।

रीना यतै सिन्सिनाटीमै आइपुगेकी छ भन्ने खबर रोशनलाई उसको मिल्ने साथी चन्द्रले केही दिन अघि वालमार्टमा भेट्दा सुनाएको थियो र रीनाको फोन नम्बर पनि हाता लगाइदिएको थियो । चन्द्रलाई राम्ररी थाहा थियो कि रोशनले आफ्नो जीवन भरको समय खर्चिएर भएपनि खोजेरै छोड्ने थियो । त्यहाँ देखि यता रोशनको मन त्यसै एकदम हलुङ्गो, भुवा जस्तो फुरुङ्ग भएर भावनामा माथि माथि कल्पनाका तरङ्गहरूलाई हातेमालो गर्दै उडिरहन्थ्यो । बिनासित्ती मुस्कुराउँथ्यो अनि कहिले कहीँ त्यसै झसङ्ग भई झस्किन्थ्यो ।
फोनमा सामान्य कुराकानी भएपनि दुवैजनाले एक अर्कालाई विगतका १५ वर्षमा देखेका थिएनन् । लम्बा-चौडा कुराहरू गरिरहनु भन्दा बरु उनीहरूले चाँडो भन्दा चाँडो भेटेर सुख दु:खका र विगत-वर्तमानका कुरा गर्ने सङ्कल्प गरेका थिए जस कारण आज एउटै अङ्गालोमा बाँधिएका थिए । रीनाले रोशनको हृदयको सङ्गितबद्ध धड्कनमा आफ्नो हृदयको धड्कन पनि मिसाई दिएकी थिई भने रीनाको बढ्दो चापको फ्वाँफ्वाँ स्वस-प्रस्वास प्रक्रियाले रोशनलाई त्यसै आँखा चिम्लिन प्रेरित गरेको थियो ।

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०

करिब पन्ध्र वर्ष अघिको कुरो हो ।
रोशन र रीना दुवैजना बैँसले उन्मत्त भएका अल्लारे ठिटा-ठिटी थिए । तर शालीन स्वभावका थिए । उत्ताउलोपन र कामुक्तालाई सजिलै संयमले लक्ष्मण रेखाभित्रै कायम राख्दथे ।

एक बेलुकी, रतुवा बगरको डिलमा छलिएर तलतिर र मास्तिर गरेर दुवैजना ढुङ्गामा बसेका थिए । भावुक देखिन्थे । कुनै साझे समस्याले गाँजेको हुनुपर्छ । रोशनले धेरै बेर कलकल बगेको पानीमा ढुङ्गा छप्ल्याङ्ग छप्ल्याङ्ग हान्दै घोरिएपछि बल्ल बोल्यो ।
“अब कसो गर्ने रिनु ?”
“कसो गर्ने र अब। कहीँ नभाको हुतिहारा ! मर्नु नि बरु, डाडुमा पानी उमालेर ।” जस्तो खस्रो बोली त्यस्तै अनुहार बनाएर ठूलठूला आँखा पर्लक्क पल्टाउँदै हेरी रोशनलाई । आँखामा रिस थियो, आवेग थियो र त्यही ज्वालाभित्र अथाह मायाको प्रलय पनि थियो । जसरी ऊ रिसको ज्वाला उगेल्दै थिई त्यसको ठिक विपरीत रोशन शान्त थियो । मानौँ उसले केही सुनेन वा सुनेर पनि त्यसले केही असर गरेन ।
“दुई दुई वर्ष भइसक्यो लठारिएर हिँडेको, जाबो यती आँट गर्न सक्दैन ।” फेरि उस्तै कड्किई ।

हो । जब माईधारबाट सबै शिविर सात शिविरहरूमा बाँडिए, त्यही समय देखि उनीहरूको परिचय भएको थियो। बेल्डाँगी एकको सेक्टर एफमा नयाँ भिट्टा वितरण हुँदै गर्दा ठट्यौलीमै चिनापर्ची भएको थियो । त्यो चिनापर्चीले ग्रीनभेल एकेडेमीको दुई वर्षको अध्यान अवधि भरीमा युगल जोडी बनाइदिएको थियो यी दुवैजनालाई । अहिले आएर छुट्टिन नसक्ने भैसकेका थिए । एक अर्कालाई खुब माया गर्थे । रीनालाई मन पराउने अरू केटाहरूले नानाथरीका हल्ला फिँजाईदिन्थे तर पनि उनीहरू वास्ता गर्दैन थिए ।
“म हुतिहारा होइन । तर भोलि के हुन्छ त्यो पनि सोच्नु पर्‍यो नि ।” रोशनले शान्त तर निक्कै गम्भीर भएर बोल्यो ।
“जे हुन्छ देखै जाला ! भोलिको किन सोच्नु पर्‍यो? आजको सोच्नु नि । ” – बडो अठोटले बोल्दै अलिकति मुस्कुराई ।

“सबै कुरा आफूले सोचे जस्तै हुनु हो भने सबै राजा भइहाल्थे नि ।”

“सबै कुरा आफूले सोचे जस्तै हुनु हो भने सबै राजा भइहाल्थे नि । तिमीले सोचे जस्तो सजिलो कहाँ होला र ?” कहिले कहीँ दार्शनिक झैँ बोल्थ्यो रोशन र यही कुरा रीनालाई साह्रै मन पर्थ्यो ।
“तिम्रो घरपरिवारले स्विकार्नु पनि पर्‍यो नि । उनीहरूलाई समाजमा कति गाह्रो हुन्छ ?”
“मेरो घरपरिवारले स्विकार्छन् र बिहे गरौँला भनेर बसेऊ भने तिम्रै आँखाको अगाडी अर्कैले सिन्दूर हाल्छ अनि बौलाएर हिँड्नु परेको बेला थाहा पाउँछौ ।”
रोशन मज्जाले झस्क्यो। छाँगाबाट खसेझैँ लाग्यो । यती बोलिसकेपछि मैले के बोलेँ भनेर उसलाई पनि भित्र चस्स घोच्यो । मानौँ, बाण दुईधारे थियो, दुवैजनालाई प्रहार गर्‍यो ।
जुरुक्क उठी अनि रोशन बसेकै ढुङ्गामा ऊ पनि टाँसिएर बसी र रोशनलाई अङ्कमालमा कसी मज्जाले । रोशनलाई भने मान्छेले देख्लान् भन्ने त्राही थियो । आफूलाई छुटाउने कोसिस गर्‍यो ।
“यो जात कसले बनायो होला है?” मसिनो तर रुन्चे स्वरमा सोधी ।
“खै ! जातीय भेदभाव घोर अन्याय हो। कलङ्क हो । यो वेद, गीता अथवा कुनै शास्त्रमा वर्णबिभेद गर्नु पर्छ भनिएको छैन । यो एउटा कुप्रथा हो । यसलाई उन्मुलन गर्नुपर्छ भनेर सबैले भाषण त छाँट्छन् तर ब्यवाहारमा कसैले उतारेको देखेको छुइन ।”  रोशनले आफ्नो धारणा व्यक्त गर्‍यो ।
“जब जब म एकान्त पाउँछु, यी तीन कुरामा बहुत रुन्छु । आफैलाई धिक्कर्छु ।” रोशनलाई भक्कानो फुटेझैँ भयो । बोली पनि रुन्चे भयो ।
“के के तीन कुरा ?”
उसले रीनाको अनुहार गहिरिएर धेरै बेर नियाल्यो अनि ऊ पर पर क्षितिजतिर टोलाउँदै एकनासे स्वरमा बोली रह्यो ।
“एक त म सानो जात, अछुत भएर जन्मिनु पर्‍यो, मेरा बा-आमाले छोएको, पकाएको तिम्रा बा-आमाले खाँदैनन्, मान्छे नै भएपनि बेला बेला पशु भन्दा धेर घृणा गर्छन् ।

अर्को: न देश, न राष्ट्रियता, न पहिचान, न माटो – जीवनभरिको भिखारी ‘शरणार्थी’ हुनु पर्‍यो ।”
“अनि तेस्रो चैँ ?”
“तेस्रो? गरिब हुनु जस्तो ठूलो पिडा के हुन्थ्यो र ? अनेकौँ इच्छा, आकाङ्क्षा र रहरहरू मारेर जिउनु परेको छ ।”
“गरिबीलाई त भाग्य अथवा नियति मान्नु गलत हो रोशन । तिम्रा-मेरा बाबु-आमा गरिब भए भन्दैमा हामीले वहाँहरूलाई दोष दिने होइन । हामीले आफ्नो मेहनत र पौरखले बदल्न सक्छौँ यो कुरालाई, तर जात?……………………”
“बरु मपनि तिम्रै जातमा जन्मेको भए कति राम्रो हुन्थ्यो है ।” अघि रसाई सकेका आँखा पुछ्दै रोशनको हात च्याप्प समाई ।
“रोशन, मैले अगि के के भने, नरिसाउ है ।”
“म बुझ्छु, त्यो तिम्रो रिस होइन, मप्रतिको माया हो ।” रोशनले उसको निधारमा स्नेहालु चुम्बन गर्‍यो ।

“भोलि यही भेटौँ ल, साँझ पर्न आँटी सकेछ । मलाई घरमा खोज्न थाले होलान् ।” रीना डरसरीको स्वरमा बोली । बिस्तारै दुवैजना आ-आफ्नो बाटो लागे ।
“अब अर्को हप्तातिर त एसएलसिको रिजल्ट पनि आउँछ होला ।” छुट्टिँदै गर्दा रोशनले चिन्ता जताएको मात्र थियो उता रीना पड्की हाली।
“यता आफ्नो रिजल्टतिर चैँ ध्यान देऊ, एसएलसि त पास भई हालिन्छ नि ।”

साँच्चै, दुवैजना पढ्नमा अब्बल थिए । धेरै युवा युवतीहरू प्रेम जालमा फसेपछि पढाइमा कम्जोर हुन्छन् । उनीहरू भने प्रेममा बाँधिएपछि झन् एकजुट भएर लागि परेका थिए पढाइमा । यही देखेर रीनाका बा-आमाले उनीहरूको सङ्गतलाई शङ्काका दृष्टिले हेरिहालेका थिएनन् । आफ्नो अध्यानमा एक रत्ती पनि कमी आउन दिएका थिएनन् त्यसैले नतिजाको केही फिक्री थिएन ।

गर्मीको मौसम । मान्छेहरू बेलुकीको खाना खाइसकेर प्राय सबैजसो रतुवाको चौँरीमा चिसो हावाको खोजीमा निस्किने गर्थे । फाट्टफुट्ट मान्छे देखा पर्न थालिसकेका थिए त्यसैले दुवैजना हतारहतार आफ्नो बाटो लागे ।

दुवै परिवारमा राम्रै सम्बन्ध थियो । आवतजावत र बोलिचाली पनि उस्तै थियो। हिजोआज दुवै घरका परिवारलाई केही हदसम्म उनीहरूको सम्बन्ध थाहा हुन थालेको थियो । रीनाका बाबु-आमा पढे-लेखेका थिए। कुरो बुझ्थे । रोशन उनीहरूलाई खुब मन पर्थ्यो। सोझो, पढाइमा अब्बल र एकदम व्यवहारिक थियो । फट्याँई गरेर हिँडेको कहिल्यै देखेनन् । त्यसैले यत्तिको केटो हाम्रो छोरीको लागि योग्य छ भन्ने उनीहरूलाई भित्री मनमा लागेता पनि छोरीले जातै चैँ फालेर नगइदिए हुन्थ्यो भन्ने थियो । बाक्लो ठाउँ । हो हल्ला धेरै हुन्छ। समाजमा बेईजती र हटक हुने ठूलो डर थियो । यता रोशनको बाबु आमालाई भने रीनालाई बुहारी बनाउन पाए साह्रै राम्रो हुन्थ्यो भन्ने थियो । समाजको सेखी झार्न पाइन्थ्यो भन्ने घमण्ड भित्र भित्रै हुर्किँदै थियो । रोशनले भनेझैँ सबै आफूले चिताए जस्तो कहाँ हुन्थ्यो र?

उता रीनाका बडी बाले अब छोरीको बिहे गर्नुपर्छ, हुर्की सकी भन्दै घरमा रीनाका बाबु-आमालाई दबाब दिन थालेका थिए । सायद रीनाको तल्लो जातको केटासँग सम्बन्ध भएको र त्यसले निम्त्याउने सामाजिक लान्छाना एक इजोतिलो ब्राह्मण परिवारलाई उपयुक्त होइन भन्ने डर थियो होला । केही दिन त रीनाका बाबु-आमाले छोरी राजी छैन भनेर टारेका थिए । तर एक एक गरेर केटा देखाउन थाले पछि उनीहरू पनि गले । एक मनले सोचे, सामाजिक लान्छाना जस्तो ठूलो सरमको कुरो अरू के नै होला र । केटो छान्ने क्रम चल्न थाल्दै थियो, रीनाले छनक पाइहाली ।

शनिवार बेलुकी झोँक्किएर गई र रोशनलाई पाखुरामा समातेर तिमीसँग कुरा गर्नु छ भन्दै घिस्याउँदै पर सिसौघारी छेउको चौँरीमा लगी । रोशन भने वाल्ल परेर यो के गरेको, मान्छेले देख्छन् भन्दै हात खुस्काउन प्रतिवाद गरिरह्यो । चौँरीमा घाँसका भारी बिसाएर बसेका केही स्त्रीहरू उनीहरूलाई हेर्दै खासखुस गर्दै थिए । रीनाले केही वास्तै गरिन ।

“यदि तिमी साँचो हृदयले मलाई प्रेम गर्छौ भने यो हप्ताभित्र मलाई भगाउन सक्छौ कि सक्दैनौ? भन !”  रोशनको नाकमा औँला ठड्याउँदै रीनाले आक्रोश पोखी ।
“हैन, तिमी फेरि किन बौलायौ आज? त्यस्तो के को हतार पर्‍यो बिहे गर्नलाई ?” रीना कस्तो अप्ठ्यारो स्थितिमा परेकी छ भन्ने उसलाई अनुमानै थिएन ।
“के हुनु र । त्यत्ति पनि थाहा पाउँदैनौ? घरमा मेरो बिहेको कुरो चल्दै छ । पर्सि केटा मलाई हेर्न आउँदैछ । यत्रो दुईवर्ष मैले सच्चा हृदयले तिमीलाई प्रेम गरेँ। एक एक पल तिम्रो मायामा बाँधिएँ । यो दुईवर्षका प्रत्येक दिन प्रत्येक क्षण तिम्रो साथमा रमाएँ । अब अहिले परीक्षाको बेला आएको छ रोशन ।”

“म पनि लाटो हुँइन, कुरा बुझ्छु । तर आवेगमा आएर निर्णय गर्नु उचित छैन । हामी बिहे त गरौँला तर हाम्रो जात मिल्दैन । समाजले हामीलाई र हाम्रो सम्बन्धलाई स्विकार्दैन । हाम्रो पारिवारिक सम्बन्ध टुट्छ । यी सबै कुरा सोचेकी छौ तिमीले?” दुई हातले रीनाको गाला सुम्सुम्याउदै रोशनले बडो भावुक भएर सम्झायो रीनालाई ।
“हाम्रो यो दुई वर्षको प्रेम यात्रामा तिमीले कुनै दिन, कुनै बेला पनि कामवासनाको दृष्टिले मलाई हेरेनौ, छोएनौ । आम युवकहरू झैँ मौकाको नाजायज फाइदा तिमीले लुटेनौ । तिमीले मलाई सम्मानजनक प्रेम गरेऊ । यो नै मेरा लागि सबै भन्दा ठूलो कुरा हो । जात, नाता गोता र सम्बन्ध भन्दा ठूलो हो मेरा लागि, त्यसैले म तिमीलाई गुमाउन चाहन्न । रोशन, प्लिज, प्लिज…….. मेरो कुरा बुझ्ने कोसिस गर ।” धरधरी आँसु झारेर ग्वाँग्वाँ रोई रीना ।

“प्राप्ति मात्र प्रेम होइन रीना। त्यागमा पनि प्रेम हुन्छ । आनन्द हुन्छ । अनुपस्थितिमा प्रेम अझ गाढा बन्छ ।”

“प्राप्ति मात्र प्रेम होइन रीना । त्यागमा पनि प्रेम हुन्छ । आनन्द हुन्छ । अनुपस्थितिमा प्रेम अझ गाढा बन्छ । बस्, सच्चा हृदयले स्विकार्नु पर्छ ।”
“ए! तिमी मलाई त्यागेर रमाउने ? आनन्द लिने ? कहीँ नभाको दार्शनिक । भो, पर्दैन मलाई तिम्रो दर्शन सुन्न । यदि यो हप्ताभित्र मलाई भगाउने आँट आयो भने मलाई लिन आउनु । नत्रभने सायद, यो जुनी भरिको अन्तिम भेट यही हुनेछ । अब तिमीलाई भेट्न पनि बन्देज लगाउन थालेका छन् ।”  एकदम आक्रोशित स्वरमा रुँदै यती भनेर ठुँई ठुँई घरतिर लागी । रोशन निकै बेर रुन्चे अनुहार लगाएर उभिई रह्यो । अनि बिस्तारै घरतिर लाग्यो ।

सेक्टर सेक्टरमा कुरो चल्न थाल्यो, रीनाको बिहे अर्कै केटासँग हुने भयो । रोशनका हितैसीहरु सहानुभूति जनाउँथे भने बैरीहरू खुच्चिङ मच्चाउँथे । उता विवाहको तिथि मिति तोकियो । दुलही पक्षमा धूमधाम तयारी हुन थाल्यो तर कसैले पनि रीनालाई देखेको थिएन । घाइँघुइँ कुरा सुन्दा, फेरि रोशनलाई भेट्न जान्छे भनेर बिर्तामोड आफन्तकामा लगेर राक्खेका छन् रे ।
दिनदिनै रोशनको हालत बिग्रँदै गएको थियो । झोक्राइ रहन्थ्यो । खानामा रुचि राख्दैन थियो र प्राय दोहोरो कुरा पनि गर्दैन थियो रे । बेला बेला ‘म हुतिहारा होइन’ भन्दै कराइ रहन्थ्यो रे ।

सुरु सुरुमा त सामान्य प्रेमवियोग हो भन्ठानेर सम्झाई बुझाई गर्थे उसका बा-आमा । तर बिस्तारै धेरै नै असन्तुलित देखिन थालेपछि विराटनगर डा० शेर्चनकाँ जँचाउन सम्म लानु पर्ने अवस्थामा पुगेको थियो रे ।

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०

रोशनका आँखा रसाइसकेका थिए । अङ्कमालबाट छुट्टिँदै गर्दा नजानिँदो हिसाबले उसले आँखा पुछेको थियो । रीनाको मुहार धेरै खुलेको थियो, उज्यालो चमक थियो । खुसी देखिन्थिई ।

कहाँबाट सुरु गर्ने, के बोल्ने । दुवैजना अलमल्ल परे निकैबेर । केवल एक अर्काको आँखामा आँखा मिसाएर मुस्कुराइ रहे अनि मसिना केटाकेटी जस्तो सर्माइ रहे ।
बल्ल होस आएझैँ गरेर झस्किँदै रोशन बोल्यो,
“जाऊँ, गाडीमै गएर कुरा गरौला”
“अनि तिमीलाई मैले फेसबुकमा, इन्स्टाग्राममा कति खोजेँ, भेटिनँ । के छ तिम्रो आइ० डी० ?”
“यसरी साक्षात् भेट्नु थियो त कहाँ फेसबुकमा भेटिन्छ त ।” रीनाले मीठो मुस्कान छर्दै उत्तर दिएकी थिई ।
“अस्ति फेसबुक आइ०डी० माग्दा किन नदिएकी त?”
“मलाई तिमीलाई साक्षात् हेर्नु थियो, छुनु थियो, तिम्रो आभास पाउनु थियो र पुराना खाटाहरू पुर्नु थियो त्यसैले नदिएकी ।”

“रीना, खोइ के कुरा गर्नु, धेरै छन् भन्नु पर्ने अनि सुन्नु पर्ने।” रोशनले गाडीमा बस्दै भनेको थियो ।
“रोशन, समय एउटा लामो वा सिङ्गो लम्पट होइन । यो पल पल जोडिएर बनेको हो । प्रत्येक पलको आफ्नै अस्तित्व र गुणहरू हुन्छन् । तिमी समयको जुन टुक्राबाट सुरु गर्छौ, म त्यसैलाई नवीन सुरुवात मान्नेछु ।”
तात्पर्य र प्रसङ्ग नबुझेकाले रोशन एकछिन अलमल्ल पर्‍यो । अनि भन्यो, ” मेरी छोरीहरू, अनु र प्रिया साथै श्रीमती विष्णुले तिमीलाई भेट्ने रहर गरेका छन् । यदि फुर्सद छ भने मेरो घर जाऊँ र उतै गफ गरौँ, हुन्न ?”

“तिमी उनीहरूसँग पनि मेरो कुरा गर्छौ ?” रीनालाई विश्वास लागेन ।
“मैले बिहे गर्ने बेलामा हाम्रो सम्बन्ध बारे विष्णुलाई सबै सुनाएको छु र उनी तथा छोरीहरू तिमीलाई सम्मान गर्छन् । अनि तिम्रो कतिजना बालबच्चा छन् त ?”
“प्राप्ति मात्र प्रेम होइन ? अनुपस्थितिमा प्रेम झन गाढा बन्छ रोशन ।”
“के भन्छौ तिमी रीना ? दार्शनिक झैँ कुरा गर्छौ त ।”

“हो रोशन! तिमी यती काँतर निस्किन्छौ भन्ने मैले सोचेकै थिइनँ त्यतिखेर । तिमीलाई पागल भयो भनेर औषधी खुवाउन थाले । मैले हाम्रो वियोग सम्झनै सकिनँ । अनि तिमीले भनेका वाक्यहरू सम्झँदै त्यो हाम्रो प्रेमलाई अनन्त रूप दिने निर्णय गरेँ र बिहेको अघिल्लो दिन बिर्तामोडबाट भागेँ । यी, तिम्रो अनुपस्थितिमा हाम्रो प्रेमलाई झन् प्रगाढ बनाउँदै अहिलेसम्म साँची राखेको छु र त्यसैको आधारमा बाँचिरहेको छु ।”

“वास्तवमा, सत्य हो रहेछ । प्राप्ति मात्र प्रेम होइन रहेछ । वियोगमा पनि आनन्द हुँदो रहेछ । तिमीले मलाई जीवनको ठूलो पाठ सिकायौ, तिमीलाई म हृदयदेखि सम्मान गर्छु ।” यसो भन्दै रीनाले दुवै आँखाबाट आँसु झारी र प्रेमपूर्वक रोशनलाई न्यानो अङ्गालो हाली, गम्लाङ्ग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *