प्रियः बन्द आँखी-झ्याल खोल न
डूकनाथ नेपाल, गान्तोक/सिक्किम-
वर्षौं भएन र अब त,
तिमी र म यहाँ आएको ?
यो खोली जस्तो घर,
माचिसका डिब्बाजस्ता कोठाहरु,
यही कोठाको सामुन्ने खुल्ने,
एउटा नक्काशीदार ढोका,
त्यही ढोकाबाट हामी भित्रिएका थियौं
हाम्रो जोवनका अनगन्ती वैंशालु दिनहरु
त्यही ढोकाबाट बाहिर भागेछन्-
छोराले क्रिकेट खेल्ने
सिकुवा पनि त्यहीं रै’छ
छोरीले भाँडाकुटी खेलेको
एउटा सानो कुना पनि त्यहीं रै’छ
काँग्योले तानेर उखेलेका
तिम्रो र मेरो टाउकाका अनगन्ती
सेतो र कालो कपालका गुच्छाहरु पनि
त्यहीं भएको एउटामात्र
गमलाको फूलको फेदमा फुलेको रै’छ !
यही ढोकाबाट न हो-
बुहारी भित्रिएर छोरा लिएर गई
यही ढोकाबाट न हो छोरी,
जीवनभरको उदासी दिएर गई
एक युग भयो त्यो पछाडिपट्टि खुल्ने
आँखीझ्याल नखोलेको
आज त्यो पछाडिपट्टि खुल्ने
सानो आँखीझ्याल खोल न-
त्यता पनि त एउटा संसार छ-हेरौं
त्यहाँबाट देखिने, चैतमा चाँप फुल्ने एउटा डाँडा छ
त्यो डाँडापारि पैयौं फुलेर
छोरी माइत बोलाउने एउटा गाउँ छ,
शिरीष फुल्ने पाखा र
बनमारा फुल्ने एउटा कान्ला छ
त्यो कान्ला छोडेर
शिरीष फुल्ने पाखालाई माया मारेर
चाँप फुल्ने डाँडाको देउरालीलाई नमस्ते गरी
हिउँदको एक बिहान
लछेप्रै परेको तुसारो –चर्याप चर्याप टेक्दै
खुशी खोज्न आएको थिएँ म यहाँ
मनभरि कल्पना, शरीरभरि-वैंश
नशा र रगतभरि-उन्माद
आँखाभरि छालजस्ता सपना बोकेर,
आज पनि पल्लोपट्टि
आँखीझ्याल खुल्ने गाउँहरुमा
पैयौं फुल्दो रै’छ, शिरीष फुल्दो रै’छ
आज पनि त्यतातिर हर्कबहादुरहरु
पैयौं फुल्दा रमाउन सक्दा रहेछन्
रमाउनैको निम्ति
विदेशी फूल र खुशी चाहिन्न रै’छ
रमाउनैको निम्ति
‘स्व’ भन्ने कुरालाई बेच्नु छैन रै’छ
पैयौंको फूल र वनमारा झार पनि
खुशीको विषय हुँदा रै’छन्
शिरीषको फूल पनि
पारिजात जस्ता अजम्बरी हुँदा रै’छन्
हामीले भने यो सबै झ्याल-ढोका बन्द गरेर
कुन खुशी खोजियो कुन्नि !
शायद तिम्रो गाउँमा
पैयौं, लालुपाते र वनमारा फुल्ने
कान्ला थिएन कि ?
यो जीवनको अपरान्हमा
छिमेकीले जे सोचे पनि सोचोस्
त्यो पल्लो गाउँतिर खुल्ने
सानो आँखीझ्याल खोल त-
म एकपटक हर्कबहादुरको आँखाले
त्यो चाँप फुल्ने देउराली डाँडा र
पैयौं फुल्ने पाखाहरु हेर्नुपर्यो
भोलि कसले रजाइँ गर्ला
त्यो भित्ता र पाखाहरुमा
आज मैले वैंशमा छोडेर आएको
चिसो बतास पिउनुपर्यो-
प्रिय- एकैपल्ट त्यो उत्तापट्टि खुल्ने
सधैं बन्द रहेको सानो आँखीझ्याल खोल त,
म त्यो देउराली पारिको गाउँलाई
नमस्ते गर्नुपर्यो !