प्रेम, प्रेम-दिवस र साहित्य
सम्पादकीय
सबै समाज र संस्कृतिमा प्रेमको उदय मानव जातिको उदयसँगै भएको हो। प्रेम मानव जातिको मात्र सम्पत्ति होइन; प्रेमभाव अरू जनावरहरूलेसमेत मुखरित गर्ने कुरा मनोवैज्ञानिकहरूले बताएका छन् । विज्ञहरूका अनुसार जनावरहरूले मान्छेले जस्तै रोमान्टिक प्रेम महसुस गर्छन् वा गर्दैनन् यकिन छैन तथापि जनावरहरूले मान्छेले जस्तै भावनाहरू अनुभव गर्न सक्छन् भन्ने कुरामा विज्ञहरू विश्वस्त छन्।
प्रेममा असीमित शक्ति हुन्छ । प्रेमले मान्छेहरूबिच सामीप्य निर्माण गर्छ । प्रेमले मान्छेलाई असीम खुसीको संसारमा पुर्याउँछ वा प्रेमले मान्छेको मुटु टुक्रा-टुक्रा पारिदिन्छ । प्रेमले मान्छेलाई पुरै परिवर्तित गरिदिन सक्छ । यस्तो परिवर्तन सकारात्मक हुन सक्छ । यस्तो परिवर्तन नकारात्मक पनि हुन सक्छ । धेरैले मानेका छन् कि प्रेमको अन्त्य हुँदैन । प्रेम अमर हुन्छ । प्रेम अविनाशी हुन्छ ।
समाजमा साहित्यको अस्तित्व युगौँदेखि कायम छ। साहित्यमा प्रेमको अस्तित्व पनि युगौँदेखि कायम छ। साहित्यको शक्ति प्रेमको शक्तिभन्दा कुनै अर्थमा कम छैन । लेखकहरूले आफ्ना मनका भावना पोख्न कापी-कलमको सहारा लिने गर्छन् । यी भावनाहरूमा सुख, शान्ति र अमनचयनका मिठासहरू मुछिएका हुन सक्छन्। यी भावनाहरूमा उन्मादका नदीहरू बगेका हुन सक्छन्। यी भावनाहरूमा उदासीका बादलहरू मडारिएका हुन सक्छन्। यी भावनाहरूमा विद्रोहका हुङ्कारहरू घन्किएका हुन सक्छन् । यी भावनाहरूमा अन्तर्हृदयका प्रेमिल गुञ्जनहरू प्रतिध्वनित हुन सक्छन् ।
संसारभरि लेखिएका र लेखिने गरेका साहित्यका अनेकन् विधाहरूमा यस्ता प्रेमिल गुञ्जनहरूले प्रमुखताका साथ मुखरित हुने अवसर पाएका छन्। यस्ता प्रेमिल झंकारभित्र प्रेमका अनेकन् रूप हुन सक्छन् । रुमानी उडान-भावुक सम्मोहन । सामाजिक सद्भाव-अविचलित मित्रता । पारिवारिक मोह-आध्यात्मिक मीमांसा। कर्तव्यपरायणताका गाथा-आत्मप्रेमका जिजीविषा । आदि ।
त्यसैले त गाइएका हुन् राम-सीताका “आदर्श प्रेम” कथाहरू। त्यसैले त सुसेलिएका हुन् राधा-कृष्णका अटुट प्रेम कहानीहरू । त्यसैले त तरङ्गित बनेका हुन् क्लिओपेट्रा-मार्क एन्टोनीका प्रेमसमर्पणका दर्दहरू । त्यसैले त लेखिएका हुन् लैला-मज्नुका अनन्त प्रेमका वियोगान्त गाथाहरू । त्यसैले त झङ्कृत भएका हुन् रोमियो-जुलियटका पहिलो नजरबाट अङ्कुराएका तीव्र उत्कटता अनि प्रेमोत्कर्षहरू। त्यसैले त लोकभाका बनेका हुन् मुना-मदनका कारुणिक चित्कारहरू ।यी त भए अभिलेखिकृत कथाहरू । त्यस्ता कति कथा होलान् जो कहिल्यै लेखिएका छैनन्; जो कहिल्यै लेखिने छैनन् ।
यस्तै माया-पिरती प्रकट गर्न आधुनिक युगमा प्रेम दिवस एउटा माध्यम भएको छ । यो प्रेम र स्नेहको उत्सवको रूपमा विकसित हुँदैछ। सन्त भ्यालेन्टाइन नाम गरेका एक वा दुई जना क्रिस्चियन पादरी सहिदहरूलाई सम्मान प्रकट गर्ने दिनको रुपामा सुरु भएको यो पर्व रोमान्टिक, सांस्कृतिक, उपभोक्तावादी व्यावसायिक संस्कारको नमुना पनि बन्दैछ ।
प्रेमको पूजा गर्ने, प्रेमलाई उत्सवको रुपामा मनाउने चलन नयाँ होइन। संसारभरि नै विभिन्न स्वरूपमा यस्ता उत्सवहरू मनाइन्छन्। भारतीय उपमहाद्वीपमा पौराणिक कालमा कामदेवलाई मानवीय प्रेम र वासनाको देवताको रूपमा आराधना गरिन्थ्यो । माध्यमिक कालमा यौनिकताप्रतिको सामाजिक धारणा परिवर्तन हुन थालेपछि कामदेवलाई देवताको रूपमा पूजा गर्ने चलनमा ह्रास आयो । भारत र छिमेकी देशहरूमा प्रेम दिवसले ९० को दशकबाट मात्र ठाउँ पाएको मानिन्छ ।
अमेरिकालगायत अरू धेरै विकसित देशहरूमा प्रेम दिवसलाई ठुलो पर्वको रूपमा मनाइन्छ । नेसनल जियोग्राफिक न्युजका अनुसार अमेरिकामा मात्र प्रत्येक वर्ष यस दिन झन्डै २०० करोड कार्ड वितरण हुने गरेकोछ । त्यस्तै एबीसी न्युजका अनुसार यस दिन झन्डै २० अर्ब को कारोबार हुने गरेकोछ ।
आर्थिक कारोबार र व्यावसायिकताका कुरा त आफ्ना ठाउँमा छँदै छन्, यो दिन र यस पर्वका वरिपरि विकसित हुने घटनाक्रमहरू साहित्यिक लेखनका लागि पनि मानिन्छन् । भ्यालेन्टाइन कार्डमा लेखिने “साहित्य”को आफ्नै महत्त्व छ ।यस पर्वमा प्रेम, स्नेह र आत्मीयताको बहार छाओस् । हाम्रो साहित्य-लेखनमा प्रेम दिवस सहायक बनोस् । हाम्रा तमाम लेखक तथा पाठकहरूमा प्रेम दिवसको हार्दिक शुभकामना !