प्रेम

दिपेन ढुङ्गाना
पेन्सिलभेनिया

ढोकाको घण्टी बारम्बार बजेपछि भने मेरो ध्यान भङ्ग भयो । बिस्तारै गएर खोलेँ ।

“आज पनि त्यही मुसा हेर्दै टोलाउँदै त बसेको होला । ढोका खोल्न यत्रो बेर लाग्छ? किन यति सारो गरेको ड्याड?” भित्र पस्नसाथ छोरी रिसाउँदै बरबराइ ।

म पनि झर्किएँ, “धेर नकरा एक शब्द नबोल । मुसा तेरै आमाको अर्को रूप हो ।”,

छोरी झन् च्याँठी । उसको आक्रोश पढ्दो छ, “ यही बेला ब्याइ फ्रेन्डले तनाव दिएको छ । फेरी पागल जस्तो कुरा गर्दै बस्नु तपाई चैँ । ”

फन्किदै गएर कोठाको ढोका बन्द गरी । म फेरी मुसाले किचनको छेउमा बनाएको प्वालमा हेर्दै चु चु गर्दै बोलाउन् थालेँ। किचन एरियाको खाना बनाउने चुलो र सामान राख्ने स्टोरको बिच भाग तिर लगभग २, ३ ओटा जति औँला छिर्ने प्वाल बनाई सकेको थियो मुसाले ।

मेरी श्रीमती बितेको पनि ५ वर्ष भई सक्यो, छोरी २१ लागिसकी छ । आजभोलिका केटाकेटीलाई लाज सरम लाग्दैन । बाउआमाकै छेउमा आफ्नू जोडीको बारै खुलेरै कुरा गर्छन् । मेरी छोरी त झन् एक कदम अघि छ उसको ब्याइ फ्रेन्ड बेला बेलै घरमा बोलाउँछे । घरका कामहरू लाउँछे सपिङ गर्ने, कतै घुम्न जाने यस्तै यस्तै ।

मलाई मुसा मेरो जीवनमा आए देखी केही गर्न मन लागेको छैन । बाहिर जान घुम्न मन पर्दैन । घरमै रहन ठिक लाग्छ ।

४ महिना अघिको कुरो हो । मेरी श्रीमती बितेको पछि उनका हरेक सामानहरू अझै जोगाएर राखेको छु ।  एक दिन दिउँसो मेकअपका केही सामानहरू असरल्ल भुईँ भरी छरिएका देखेँ । उनको लिबिस्टिकको बट्टा फुटेर केही मात्रामा रातो रङको रेखा भुईँमा कोरिँदै किचन छेउको प्वालसम्म पुगेको देखेँ।  तर कसरी ? केही बेर कसरी भन्ने सोच मग्न भएँ । मुसाको उपद्रो रहेछ भन्ने बुझेर मैले कसैलाई केही भनिन्।

दिन बित्तै जाँदा यस्तै तरिकाले कहिले श्रीमतीको हाते घडी राखेको ठाउँबाट हराउने, कहिले औँठी कहिले पोते हराउने हुन थाल्यो । कोठा देखि पहिल्याउँदै आउँदा किचन नजिकको त्यही दुलोको छेउमा अड्किरहेको देखेँ ।

यो मुसो अचम्मको थियो । छोरीको र मेरो सामान कहिले नचलाउने तर श्रीमती कै मात्र झिकेर लाने गर्थ्यो । अति हुन थालेपछि म सोच्न थालेँ सायद मेरी श्रीमती नै मुसाको रूपमा आएकी हुन कि!

त्यसपछि म न्यास्रो मानेर घरमै बस्न थालेँ । बाहिर घुमफिर गर्न छाडेँ । किचनमा बसेर त्यो प्वालतिर मुसाको त्यो दृश्य हेर्न मलाई आनन्द आउन थाल्यो । म मुसो भोकाएको होला भनी खाना राखिदिने गर्थेँ ।  मुसा बिस्तारै मसँग नडराई आउने खानेकुरा खाने बनी सकेको छ।

 श्रीमतीको लुगा काट्ने गर्न थालो र मेरो जीवनकै अभिन्न अङ्ग बन्न गयो । म एकोहोरिएको थिएँ, लाग्थ्यो मुसो मेरै श्रीमतीको अर्को रूप हो । कसैले मुसाबारे नराम्रो भन्यो भने रिस उठ्थ्यो । आक्रोशित भई त्यो मान्छेसँग झम्टिने, हिर्काउन मन पर्ने ।

छोरीको पनि यादै हुन छाड्यो, के गर्दै छिन् । कहाँ गइन् हेरचार गर्न पनि छाडी दिएँ । एक दिन

छोरी रिसाएर कोठाबाट आई र सोधिन्,

“ड्याड ममिले मलाई गिफ्ट दिएको घडी खै ” म केही बोलिन् । उक्त घडी मुसाले लगेर त्यसको फित्ता काटी दिएको देखेको थिएँ। ऊ खोज्दै किचनमा पुगी जहाँ  मुसाको दुलो थियो । घडी प्वाल छेउमा देखेपछि दगुरेर आई ।

“म मार्छु मुसालाई विष दिएर कुन दिन, “ छोरीको रिस र आक्रोशित व्यवहार देखेर बाहिर निस्कन लागेकी मेरी उनी छोरीको डरले प्वालमा आएर पनि भित्रै पसिन् ।

मैले एक झापड लगाएर भने “के रे फेरि बोल्” मलाई मुसा प्रति प्रेम थियो । त्यसैले हुर्केकी छोरीलाई मैले हात लगाएँ ।

“मेरो भन्दा धेरै तपाईँलाई मुसाको माया लाग्दो रहेछ । मैले अब बुझेँ ”

छोरी रुँदै कोठा तिर गइन् । मैले मुर्मुरिदै भनेँ,  हो सही भनिस् ।

शनिवारको दिन भएकाले छोरीको ब्याइ फ्रेन्ड आएको थियो। म सधैँ झैँ किचनको प्वालनेर नै थिएँ । मुसो आफ्नो चुच्चो मुख देखाउने भित्र बाहिर गर्दै थियो । म खाने कुरा दिई रहेको थिएँ । भित्र कोठामा छोरी र उसको ब्वाइ फ्रेण्ड गफ गर्दै थिए । सानो आवाज बाहिरसम्म आउँदै थियो ।

“ड्याडको मुसासँग अब्सेसन् धेरै हुन थाल्यो । के ताल हो ?” छोरीले भनी ।

 “कि साईक्याट्रिककोमा लगौँ?” उसको ब्वाइ फ्रेण्ड भन्दै थियो ।

“हैन हैन अरू कुनै उपाय छैन?” छोरी उसलाई सल्लाह माग्दै थिई । यस्तै के-के भन्दै गफ गर्दै थिए मैले त ध्यान दिन  पनि छाडेँ।

दिनहरू यसै गरी चलिरहेको थियो ।एक दुई हप्ता पछि मलाई सपिङ जान पर्ने भयो । मेरी उनीका सामानहरू सकिएका र मैले खाने  पनि थिएनन् । लगभग २ घण्टा जति पछि जब म बजारबाट घर फर्के । डोर बेल बजाएँ छोरीले ढोका खोलिन । चाबी लाएर ढोका खोलेँ ।

ढोका खोल्ने बित्तिकै मुसा मार्ने औषधी देखेँ टेबलमा । अरे ! म छक्क परेँ । टेबल माथिको प्याकेट खोलेर अलिकति चलाएको जस्तो देखिन्थ्यो । के हो यो ? म आत्तिएर तल हेरे भुईँमा मेरी श्रीमतीले खाना खाने थालमा अलिकति खानासँग विष मोलेको जस्तो थियो । छेउमा  मुसा मरिरहेको थियो । छोरी ? छोरी? जोडले कराएँ तर छोरी कोठा भित्र थिइन् ।

मलाई भाउन्न भयो के गरौँ ? कसौँ गरौँ?  भयो संसार अँध्यारो भयो । मरौँ जस्तो भयो । केही समय बितेपछि मैले छोरीलाई बोलाएँ ।

म अर्धबेहोसमा थिएँ ।  त्यसको १५-२० मिनेट पछि मैले छोरीको ब्याइ फ्रेन्डलाई कल लगाएँ।  मैले रुँदै उसलाई बोलाएँ । निकै बेर पछि ऊ आयो ।  ढोका खुल्लै थियो म सोफाबाट अर्धचेतन अवस्थाको म ,सकिसकिन उभिएँ ।

उसले वरिपरि हेर्‍यो, छेउमा मुसा लडिरहेको थियो श्रीमतीले खाने थालको छैवैमा । यता पट्टि छोरीको थालमा खाँदा खाँदै छोडिएको अलिकति उनलाई मन पर्ने चाउमिन, जुन उनको फेव्रेट खाना हो भनेर मलाई मात्रै थाहा थियो । टेबलमा पिधँसम्मै पुगेको विषको प्याकेट र डाइनिङ टेबलको छेवैमा चेयरबाट भुईँमा लडेको छोरीको लास ।

ऊ आत्तिँदै रुन कराउन गर्न थाल्यो,

“ओ गड! यो के भयो मैले त मुसालाई मात्रै मार्न भनेर विष हालेर गएको थिएँ । अरू प्याकेट टेबलमा राखेर गएको थिएँ । तिमीले चैँ किन विष खाएर मर्नु पर्‍यो मेरी माया?

“म तिम्रो बाबाको उपचार गर्नु साईक्याट्रिककोमा लगेर भनेकै थिए त ।  किन यसरी मलाई छोडेर गयौँ? ”

ऊ बिलौना गर्नै लास माथि रुन थाल्यो । मलाई होस घुरे जस्तो भयो । म यतिकै थचक्कै भुईँमा बसेर आवाज ननिकाली रुन थाले, “हे भगवान् यो के भयो यस्तो? मैले मेरै एक्ली छोरीलाई के गरे त्यस्तो ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *